विचार

नवरात्र र विजयादशमी
SHARES

असोज २७, २०७५

    पुराणअनुसार वर्षमा चारवटा नवरात्रका विधान छन् तीमध्ये शारदीय (आश्विन शुक्ल पक्षमा पर्ने) र (वासन्ती चैत्र शुक्ल पक्षमा पर्ने) प्रचलनमा छन्। नेपाली सनातनीहरूले शारदीय नवरात्रलाई महत्त्व दिन्छन्। हाम्रो धार्मिक आध्यात्मिक साँस्कृतिक सामाजिक र आर्थिकलगायत विभिन्न पक्षसँग यसले तादाम्य राख्छ। त्यसैले शारदीय नवरात्रलाई बडादशैँ पनि भनिन्छ।

    नवरात्रको विधि

    नवरात्रको विधान शाक्त परम्परा(मातृशक्तिको उपासना) बाट आएको हो। यो पौराणिक हो। वेदमा यो किसिमको अनुष्ठानको विधि पाइँदैन। विभिन्न पुराणमा यसको विधि पाइन्छ। विशेषगरी दुर्गा भगवतीका विभिन्न रूपको आराधना गर्ने निर्देश पाइन्छ। यसैगरी शक्तिकी देवी महाकाली, समृद्धिकी देवी महालक्ष्मी, विद्याकी देवी महासरस्वतीको अर्चना गरिन्छ।

    भारत र तराईमा अाश्विन शुक्ल पक्षका १० दिनलाई दशहरा भनिन्छ। नाम फरक भए पनि, विधि केही फरक भए पनि लक्ष्य आध्यात्मिक शान्ति प्राप्त गर्नु नै हो। बल, सम्पत्ति र विद्याले परिपूर्ण हुने कामना राख्नु नै हो।

    नवरात्र कति दिन?

    नव अर्थात् नौ रात्र अर्थात् रात। भवानी दुर्गाका एक एक रूपको आराधना गरी नौ दिन पूरा गर्ने र भोलिपल्ट बिहान विसर्जन गरी टीकाप्रसाद ग्रहण गर्ने विधान पाइन्छ। त्रेतायुगमा भगवान् रामले नौ दिन देवीको उपासना गरेको र दशौँ दिन रावणमाथि विजय प्राप्त गरेको सन्दर्भ आउँछ। दशौँ दिन बिहान विसर्जन गर्ने र राजा महाराजा विजययात्राका लागि प्रस्थान गर्ने चलन थियो। 

    तिथिका कुरा

    वैदिक कालगणनामा तिथि टुट्दैन। बिहान सूर्योदयसँगै लाग्ने तिथि अहोरात्र रहन्छ। भोलिपल्ट बिहान सूर्योदय भएपछि मात्र अर्को तिथि लाग्छ। तर अहिले चलेका पात्रोहरूमा त्यो प्रावधानलाई अंगीकार गरेको पाइँदैन। जतिसुकै वेला एउटा तिथि सकिई अर्को लाग्न सक्छ।

    वैदिक कालगणनाअनुसार गत सोमबार औँसी थियो। मूल वैदिक धर्मका अनुयायीहरूले मंगलबार घटस्थापना गरे। आधुनिक कालगणना अपनाउनेहरूले मंगलबार बिहान केही समय औँसी रहने कारण बुधबार घटस्थापना गरे। आधुनिक कालगणना अँगाल्ने नेपाल र भारतका सरकारी मान्यता पाएका पञ्चांगहरूले बुधबार घटस्थापना उल्लेख गरेका थिए। आधुनिक ज्योतिषका ग्रन्थहरूमा औँसीले छोएको प्रतिपदा नभई द्वितीयाले छोएको प्रतिपदामा घटस्थापना गर्नुपर्ने विधान पनि पाइन्छ।     

    दशैँ कसरी?

    दशैँ नेपाली तद्भव शब्द। दशमी संस्कृत शब्द कुनै पनि पक्षको १०औँ दिन। यही दशमीबाट अपभ्रंश हुँदै दशैँ (दशैँ) बनेको हो। नाै दिनसम्म शक्तिकाे उपासना गरी विजयका लागि प्रस्थान गरिने दिनका रूपमा दशमीको महत्त्व छ। भारत र तराईमा अाश्विन शुक्ल पक्षका १० दिनलाई दशहरा भनिन्छ। नाम फरक भए पनि, विधि केही फरक भए पनि लक्ष्य आध्यात्मिक शान्ति प्राप्त गर्नु नै हो। बल, सम्पत्ति र विद्याले परिपूर्ण हुने कामना राख्नु नै हो।

    शक्तिपूजाको औचित्य

    राजा महाराजाले युद्धमा निक्लनुअघि नवरात्र अनुष्ठान गरी गर्न लगाई दशमीको दिन प्रसाद ग्रहण गरी निस्किने परम्परा रहेको थियो। अहिले राज्य विस्तारका लागि लडाइँ गर्नुपर्ने अवस्था छैन। त्यसोभए किन गर्ने नवरात्र उपासना? आध्यामिक भावना कायम राख्न। आफू, समाज र राष्ट्रमा भएका दुर्गुणहरू विरुद्ध लड्न। 

    सामान्य मानिस पनि पनि शक्तिविना केही गर्न सक्दैन। असत्यविरुद्ध लड्न महाकालीको धनशक्तिका लागि महालक्ष्मीको विद्याशक्तिका लागि महासरस्वतीको कृपा हुनुपर्छ, यसैकारण पनि शक्तिपूजाको महत्त्व छ।

    कसरी गर्ने?

    नवरात्रका विधि विभिन्न छन्। पौराणिक तान्त्रिक आदि। विभिन्न अभिष्ट पूरा गर्न चाहनेहरूले तान्त्रिक विधिको प्रयोग गर्छन्। सिद्धि प्राप्त गर्छन्। हामी वैदिक सनातनीहरूले चाहिँ देवी भागवत, दुर्गासप्तशती पाठलगायतबाट अाध्यात्मिक शान्तिको कामना गर्छौँ।

    घटस्थापना र जौ छर्ने प्रक्रिया

    सामान्यतया घटस्थापनाको दिन कलशमा जौ टाँस्ने चलन छ। नेपाली र मैथिली विधिअनुसार जौ टाँस्ने विधान पाइन्छ। वेदी बनाएर जौ त्यसै दिन छरिन्छ नेपालकै केही ठाउँमा घटस्थापनाको भोलिपल्ट जौ रोप्ने चलन छ। घटस्थापनाको भोलिपल्ट बिहान चन्द्रमा देखेपछि जौ छर्ने गरिन्छ। जमरा छर्ने प्रक्रिया चन्द्रमासँग पनि सम्बन्धित रहेको बुझ्न सकिन्छ।

    सामान्य मानिस पनि पनि शक्तिविना केही गर्न सक्दैन। असत्यविरुद्ध लड्न महाकालीको धनशक्तिका लागि महालक्ष्मीको विद्याशक्तिका लागि मासरस्वतीको कृपा हुनुपर्छ, यसैकारण पनि शक्तिपूजाको महत्त्व छ।

    जमराको महत्त्व

    घटस्थापनामा छरेका जौ नाै दिनमा अाकर्षक बन्छन्। घाम देख्न नपाएका तर देवीमाहात्म्यले अभिमन्त्रित्र जमरा मान्यजनको हातबाट लगाउने परम्परा छ नेपालीहरूको। वैदिक ग्रन्थहरूमा जौलाई रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने र यज्ञयज्ञादिमा उपयोगी ओज वस्तुको रूपमा लिइएको छ।

    सनातन संस्कारअनुसारका देवकार्यमा जौको प्रयोग प्रशस्त गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश...अर्थात् जौलाई अन्नको राजा मानिएको छ। श्रीमद्भागवत पुराणमा वामन अवताररूपी नारायणको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको उल्लेख छ। 

    आयुर्वेदमा सानादेखि असाध्यसम्मका रोग निको बनाउन जमराको रस प्रयोग हुन्छ। औषधीय रूपमा महत्त्वपूर्ण जमरामा रहेका अनेक गुणले गर्दा प्रसादस्वरूप कान वा शिरमा सिउरिने परम्परा चलेको हो। नौ दिनसम्म सूर्यको किरण पर्न नपाएको पहेँलो जमरा लगाउने सनातन धर्मावलम्बी नेपालीहरूको मौलिक संस्कृति हो।

    विजया दशमीका अाशिक

    दशमीको दिन बिहान देवी विसर्जन गरी मान्यजनको हातबाट प्रसाद ग्रहण गरिन्छ। नवदुर्गाको प्रसादसँगै मान्यजनले दिने आशीर्वाद विशेष मानिन्छ। विजयादशमीको प्रसाद लगाइदिनेले वैदिक, पौराणिक र लौकिक वचनले आशीर्वाद दिन्छन्। ‘श्रीर्वर्चस्वमायुष्यम्...’ वैदिक मन्त्रको भावार्थ हुन्छ– ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य, पशु (वाहन) प्राप्त होस्। असल सन्तान प्राप्त हऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्षको आयु बाँच।’ 

    विजया दशमीका लागि सरल र चल्दै अाएको संस्कृत मन्त्र छ, आयुर्द्रोणसुते श्रियो दशरथे... अश्वत्थामाको जस्तो आयु प्राप्त होस्, कीर्ति दशरथको जस्तो... इत्यादि। यो मन्त्रमा पौराणिक पात्रहरूका राम्रा राम्रा एक\एक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ। मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः... अर्थात् मनोकांक्षा सिद्धि होस्, मित्रहरू बढ्दै जाउन्, निरोगी भएर सय वर्ष बाँच। यी अाशीर्वादले मानिसलाई उज्यालो र सत्यको मार्गमा हिँड्न प्रेरित गर्छन्।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]