विचार

आशीर्वादको अर्थ
SHARES

कात्तिक २, २०७५

    आश्विन शुक्ल पक्षको दशमी अर्थात् विजयादशमीको दिन नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको पूजा विसर्जन गरी मान्यजनको हातबाट लगाइने प्रसाद (टीका र जमरा)को ठूलो महत्त्व छ। उत्तिकै महत्त्व छ, मान्यजनले दिने आशीर्वाद वा आशिर्वचनको।

    आशीर्वाद अर्थात् आफूभन्दा सानाको कल्याणको कामना वा शुभेच्छा प्रकट गर्ने मन्त्र वा वचन। हामी वैदिक सनातन धर्मावलम्बीहरू संस्कार, श्राद्ध, पूजाआजा आदि गर्दा संस्कृत मन्त्रहरूको प्रयोग गर्छौँ। यस्ता अनुष्ठानमा शान्तिकामना र आशीर्वाद वचन पनि संस्कृत भाषामै पढिन्छ।

    गुरुमुख गरी वेद पढेका वा वेदमा पहुँच हुनेहरूले वैदिक मन्त्रको प्रयोगद्वारा प्रियजनको कल्याणको कामना गर्छन्। ‘श्रीर्वर्चस्वमायुष्यम्...’ यो वैदिक मन्त्रको भावार्थ हुन्छ, ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य र पशु (वाहन) प्राप्त होस्। असल सन्तान प्राप्त होऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्ष बाँच।’

    विजयादशमीको सन्दर्भमा प्रचलित एक मन्त्र छ,

    आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।

    ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।।

    शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते।

    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

    (‘शौर्यं शान्तनवे’ ठाउँमा कतैकतै ‘दानं सूर्यसूते’ पनि पाइन्छ।)

    अर्थात्, तिमीलाई ऋषि द्रोयाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु प्राप्त होस्। दशरथको जस्तो श्री होस्। शत्रुनाश गर्ने भगवान् रामको जस्तो शक्ति प्राप्त होस्। नहुष राजाको जस्तो ऐश्वर्य पाऊ। वायुको जस्तो गति होस्। दुर्योधनको जस्तो सम्मान प्राप्त होस्। शान्तनुपुत्र भीष्मको जस्तो शूरता होस् वा सूर्यपुत्र कर्णको जस्तो दानशीलता होस्।, बलरामको जस्तो बल होस्। कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता प्राप्त होस्। विदुर जस्तो ज्ञानी होऊ। नारायण(भगवान् विष्णु) को जस्तो कीर्ति संसारभर फैलियोस्।

    यो पुरुषलाई टीका लगाइदिँदा पढिने मन्त्र हो। यो मन्त्रमा पौराणिक पात्रहरूका राम्रा\राम्रा एक\एक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ, आशिष दिइएको छ। शुक्ल यजुर्वेदाचार्य आमोदवर्धन कौण्डिन्न्यायनका अनुसार यो श्लोक कुन ग्रन्थबाट निकालिएको हो भन्ने खुल्दैन।

    यसैगरी स्त्रीका लागि यी मन्त्र प्रयोग हुन्छन् :

    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।

    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

    सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।

    शरण्ये त्रयम्बके गौरि नारायणि नमोऽस्तुते।।

    शरणागतदीनार्तपरित्राणपरायणे।

    सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तुते।।

    यी तीन देवीको उपासना गर्ने मन्त्र हुन्। मन्त्रमा आएका देवीहरूले रक्षा गरुन् भन्ने अर्थमा यी मन्त्रको प्रयोग हुन्छ। यसैगरी प्रियजनलाई अाशिष दिन यी मन्त्रको पनि प्रयोग हुन्छ,

    मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः ।

    शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव।।

    अव्याधिना शरीरेण मनसा च निराधिना।

    पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम्।।

    अर्थात् हरेक कार्यमा सफलता प्राप्त होस्। तिम्रो मनोकांक्षा सिद्धि होस्, तिम्रा कुभलो गर्नेको बुद्धि नाश होस्। मित्रहरू बढ्दै जाउन्। शारीरिक र मानसिक निरोगी भएर सय वर्षसम्म बाँच।

    भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसिदतु।

    तुष्यन्तु त्वां सदा देवाः संपदः सन्तु सुस्थिराः।।

    देवीदेवताले सधैँ कल्याण गरुन् भन्ने अर्थ यो मन्त्रले बोकेको छ। शिव, महालक्ष्मीलगायत देवीदेवताको कृपादृष्टि तिमीमा परिरहोस् भन्ने कामना गरिएको छ। विजयादशमीमा पनि सम्भव भएसम्म संस्कृत भाषामै आशिर्वाद दिइन्छ।

    हिजोआज आफूलाई विद्वान् भनाउन चाहनेहरूले संस्कृत भाषाका आशिषमन्त्रको औचित्य छैन भन्दै संस्कृत मन्त्रको गलत अर्थ लगाउने गरेका छन्। घुमाइफिराइ आफूलाई विद्वान् देखाउन आफूद्वारा सिर्जित श्लोकहरू सिफारिस गर्ने गरेको पाइन्छ। सनातन धर्मावलम्बीहरूका लागि संस्कृत वचन महत्त्वपूर्ण हुन्। यसैगरी यी आशिर्वचनहरू कहिल्यै पुराना र असान्दर्भिक हुँदैनन्। ईश्वरको कृपादृष्टि आफूमाथि नपरोस् भन्ने चाहना राख्ने को होला र! विद्या, बुद्धि, श्री र दीर्घायु प्राप्त गर्न नचाहने को होला र!

    सनातन धर्मावलम्बीहरूका लागि संस्कृत वचन महत्त्वपूर्ण हुन्। यसैगरी यी आशिर्वचनहरू कहिल्यै पुराना र असान्दर्भिक हुँदैनन्। ईश्वरको कृपादृष्टि आफूमाथि नपरोस् भन्ने चाहना राख्ने को होला र! विद्या, बुद्धि, श्री र दीर्घायु प्राप्त गर्न नचाहने को होला र!

    संस्कृत भाषामा पहुँच नहुनेहरूले आफ्नै नेपाली भाषामा प्रियजनको कल्याणको कामना गर्छन्। लौकिक रूपमा प्रियजनहरूको अवस्था हेरी आशीर्वाद दिने चलन छ। ठाउँ र परिस्थितिअनुसार आशीर्वाद फरक फरक हुन सक्छन् तर उद्देश्य एउटै हो, आफ्ना प्रियहरूको भलो कामना। ‘सन्तानले डाँडाकाँडा ढाकून्’, पहिले पहिले बुढापाकाले दिने यो आशीर्वादलाई अहिले गलत अर्थ लगाउने गरेको पाइन्छ। सन्तान डाँडाकाँडा फैलियून् भनेको सन्तान ठाउँठाउँमा पुगुन्, उनीहरूको कीर्ति सबैतिर फैलियोस्, उनीहरूको कीतिमार्फत् म पनि चिनिन सकूँ भन्ने कामना होला।

    डाँडाकाँडा’को शब्द परिवर्तन गरेर अहिले मुलुक वा ‘विश्वभर’ भन्नुपर्ने अवस्था आएको छ। आफ्ना सन्तान सबैतिर पुगुन् कीर्ति चलोस् भन्ने इच्छा कसको नहोला र! यस्तै ‘हिँड्दा ठेस नलागोस्’ भन्ने आशीर्वाद सामान्य छ तर गुढ अर्थ, कुनै पनि काम गर्दा बिघ्न नआओस्, सफलता मिलोस् भन्ने नै हो। ‘शिरबाट केश नझरोस्’, भनेको कतै असफलता देख्न नपरोस् भनेको होला।

    मातापिता, गुरु, हजुरबुबा, हजुरआमालगायतले दिने आशिर्वादको ठूलो महत्त्व छ। सनातन धर्मअनुसार उनीहरू देवताका स्वरूप हुन्। उमेर र अनुभवले पाका भएकाहरूले दिएका आशीर्वादले मानिसको जीवनमा ऊर्जाको काम गर्छ र सुमार्गमा चल्न प्रेरणा दिन्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]