विचार

राष्ट्रिय विसंगति : कारण र समाधान
SHARES

कात्तिक १६, २०७५

    वर्षौंदेखि समयले ठेलेको र बाध्यताले पेलेको बीस–उन्नाइसबाहेक एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिक गतिरोधको अन्त्यसम्बन्धी विषयका पक्ष विपक्षबाट अभिमतीय लेख रचनाको बाढी भने आएकै हो। कालो बादलमा चाँदीको घेरा भनेझैँ यो गतिरोध हुनत चिन्तन–मन्थन–प्रकाशनको एउटा सुअवसरै हो तर सुन्नुपर्नेले नसुनेपछि यो धेरैजसो अरण्यरोदनमै सीमित रहन बाध्य पनि नभएको छैन। तैपनि जारी छन् देब्रे/दाहिने ढल्किएर वा सोझै उभिएर भालुलाई सुनाई आइएको चीरवाचित उही विषयवस्तुकै नवपुराणहरू। 

    विवादास्पद, कठिन र खत्राजन्य परिस्थितिबाट हुनेसम्म तर्किन चाहनु एउटा कुरा हो तर कासी जाने भन्दै कुत्तीतिर लागियो भने थाहा हुनासाथ जसरी होस् अबिलम्ब फर्किनैपर्छ, जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनै पर्छ– जस्तै मन नपरे पनि, कठिनाइ भए पनि। लाग्छ, कुनै शल्यक्रियाको संघार आइपुगेको छ, वास्तविक शल्यक्रियाको सातसाले, छयालीससाले र त्रिसठ्ठीसाले भन्दा पनि वास्तविक। 

    मान्छेका जीवनमा जस्तै राष्ट्रका जीवनमा पनि कहालीलाग्दा दिन आउँछन्, खासगरी जब ड्राइभर अनविज्ञ पर्छ, विज्ञ भएको भ्रमग्रस्त वा बहानाबाज अथवा विज्ञ नै भएर पनि अवसरवादी पर्छ वा लापरवाह वा देशका र देशको अग्रगतिका दुश्मन चिन्दैन वा तिनलाई आवश्यकतानुसार शक्ति वा सीप वा दुवै कुराले ऐँचमा वा सिमानामा राख्न सक्दैन वा त्यो वास्तविकता स्वीकार गरी जनतालाई साँचो कुरो बताएर उचित आह्वान र्गनपट्टि नलागी पंचायतमा झैँ आफ्ना एकमुठ्ठी पक्षधरलाई थैलो बाँड्दै रामरौसका तामझाम वा मिठासभरि तीजका कुरा गरेर सवारलाई भुल्याउँदै, दबाउँदै, आपसमा लडाउँदै वा विभिन्न किसिमका पीडा र समस्यामा पारेर धम्क्याउँदै, तर्साउँदै समस्यामा अल्झाउँदै राष्ट्रिय गति प्रवाहलाई ढिल्याउँछ वा गलत दिशोन्मुख गराउँछ। 

    नेपाली इतिहास पनि भ्रमण चक्रको यस्तै कुनै बिन्दुमा आइपुगेको जस्तो देखिन्छ, जहाँ बाध्यतावश कुशल चालकको अभिनय जारी छ किनकि ऐतिहासिक गतिक्रमको यस्तै एउटा विकल्पको कल्पनाहीन बिन्दुमा रातदिन उद्देश्यहीन लडिरहने यस हिमाली काखका टुक्रे राज्यहरूलाई मिलाएर सागरमा गागर भनेझैँ विविध संस्कृतिहरूको एउटा रमणीय फूलबारी बनाउने कल्पना प्रस्फुटित हुन्छ पृथ्वीनारायण शाहका मनमा र रामकृष्ण कुँवर, कालु पाँडे, बिसे नगर्ची, बिराज बखेती आदि हुँदै त्यसलाई सर्वांगीण विकासद्वारा सम्पन्न-अक्षुण्ण पार्ने लक्ष्य र त्यसका निमित्त एकजुट गतिशील हुने अथक सक्रियताको संकल्प एवं लगन स्वरूप अन्ततः विश्व मानचित्रमा एउटा नवराष्ट्र मूर्त पनि हुन्छ। तर निर्माणको अभियान नसिद्दिँदै, संभवतः पृथ्वीको शेष नहुँदै, वैचारिक अन्योल, भावनात्मक संवेदनहीनता र त्यसबाट जन्मिएको आफू छउन्जेल जसरी पनि राज गर्ने, मरेपछि डुमैराजा भन्ने घातक सोचको अन्धसुरुङमा पस्छ यो देश- भासमा परेको हात्ती वा आँधीमा परेको जहाज जस्तै र करिब ७२ वर्षसम्म एकपछि अर्को रक्तस्नानबाहेक गन्तव्यहीन रहन्छ। उस्तै रक्तरंजित अभियानमार्फत् जंगबहादुरले पुन गन्तव्य दिन्छन् तर व्यक्तिगत शक्ति, आत्मश्लाघा र निजी सुखमा केन्द्रित, त्यो पनि वृहत् राष्ट्रिय उत्थानसम्बन्धीे दूरगामी लक्ष्य तथा जनभावनात्मक संवेदनशीलतातर्फ शून्य नै रहन्छ। 

    २००७ सालमा त्यही वृहत् लक्ष्यतर्फ उन्मुख हुन खोजेको यो देश पुनः उही वैचारिक अन्योल, भावनात्मक संवेदनहीनता र भौतिक अपांगताकै सिकार हुनपुग्छ, जुन क्रमशः आठवर्षे अन्योल, डेढवर्षे प्रजातन्त्र, तीसवर्षे पंचायत, दशवर्षे सशस्त्र अभियान तथा तीन विशाल जनआन्दोलनका बाबजुद हालसम्म पनि कायमै छ। यसरी पल्लो ७२, बीचको १०४ र ओल्लो ६२ समेत यो मुलुक क्रमशः अघोषित–विकसित, घोषित–सुनियोजित र अघोषित–बदनियोजित प्रच्छन्न अराजकतामा निरन्तर कठ्याङ्ग्रिएको छ। पछिल्लो यथार्थ त झन् तावाबाट झरेर भुङ्ग्रामा परेको भनेजस्तै वैधानिक अराजकताको झन् कठोर छद्म संजालमा परेर ओल्लो घाट न पल्लो तीर भएको छ अर्थात् समृद्ध नेपाल र सुखी नेपालीको सुनाराभित्र विचलनका झन्झन् विकराल ढाट तेस्र्याउँदै रहने नाटकीयता फेलापरेको छ। अर्थात् पानी सङ्लिएपछि त्यसैअनुसार गरूँला भन्ने तर उपायपूर्वक धमिलै राख्ने र धमाधम माछाचाहिँ मारिरहने अघोषित–बदनियोजनको फेलापरेको छ।

    हाललाई यसो हुनु बाध्यता पनि भएको छ, कारण :

    १. देशको आर्थिक–सामाजिक–प्रशासनिक तथा संरचनात्मक परिवेश सितिमिति नसम्हालिने गरी लथालिंगिएको छ। प्रथमतः आजसम्म स्वर्णमय झूटा सैद्धान्तिक सपना बाँडेर आन्दोलनका निमित्त शैक्षिक–वर्गीय–व्यावसायिक–सरकारी–स्वतन्त्र सबै जनशक्तिलाई स्वतस्फुर्तदेखि परप्रेरणा, उक्साहट, दबाब, छलछाम अनेक माध्यमद्वारा उपयोग गरियो। यस क्रममा राष्ट्रिय हितका निमित्त भनेर राष्ट्रिय हितमा भन्दा कता हो कता धेरैचाहिँ केही त्यससँग मिसाएर, केही त्यति स्वाङ पनि नपारी अलग्गै  दलीयदेखि व्यक्तिगत स्वार्थका निमित्तसमेत गुटगतदेखि व्यक्तिगत लाभका गोप्य–खुला, मर्यादित–अमर्यादित अनेक आश्वासन, प्रलोभनसहित हिंसात्मक/अहिंसात्मक, आवश्यक/अनावश्यक काममा प्रयोग गरियो।

    यो देशलाई वास्तवमै व्यवस्थित–गतिशील गर्ने हो भने साम्यवाद, पुँजीवाद, जातिवाद, संघवाद, क्षेत्रवाद वा कुनै फलानैवाद होइन, कानुनको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य चाहिएको छ। अर्थात् वाद, जात, क्षेत्र, साइनो, पद, केही नहेरी आवश्यकता र योग्ताअनुसारको काम, कामअनुसारको दाम वा दण्ड चाहिएको छ।

    ब्यारेकबाट निकालिएको सेना जस्तै यो शक्तिलाई अन्ततः अभियानपश्चात् पनि साविक स्थितिमा नफर्काई, गर्नुपर्नेलाई दण्डित–पुरस्कृत नगरी अवसरअनुसार गर्ने मनसायवश जात–वाद–वर्ग–लिंग–क्षेत्र आदिका सूत्रमार्फत् औँलामा लट्काइराखिएकै छ। फलतः देशमा उद्देश्य, आस्था, उत्साह, विश्वास, नैतिक–चारित्रिक मूल्य आदि पूर्णतः खलबलिएको छ। यसलाई सम्हाल्न लर्तरो इच्छाशक्ति, नैतिक–चारित्रिक बल, वैचारिक स्पष्टता, प्रजातन्त्र र विधिको शासनप्रति अविचल प्रतिबद्धता, उच्चस्तरीय कार्यकुशलता तथा सक्षम भौतिक–राजनीतिक–सांगठनिक परिवेशबिना संभव छैन। तर यी आदर्श, क्षमता र परिवेश विद्यमान नेतृत्वसँग पनि नभएको टड्कारिँदै छ। 

    २. तेस्रो विश्वका धेरैजसो, खासगरी भौतिक–जैविक साधनले सम्पन्न तर शैक्षिक–प्राविधिक परिपक्वतामा पछाडि, अन्धविश्वासजनित रुढीमा जकडिएका, जातीय–धार्मिक–लिंगीय–वर्गीय आदि विविधतालाई व्यवस्थापनको सट्टा हिंसात्मक सीमासम्म चर्काइएका, अनुशासनहीन–लक्ष्यहीन–दायित्वहीन नेतृत्वद्वारा लोकतान्त्रिक संस्कार र वृहत् राष्ट्रिय लक्ष्यको सट्टा अवसरवाद–क्षणिक भौतिक लाभ–हिंसात्मक हदसम्म शक्तिको दुरूपयोग जस्ता मानसिकता एवं आदतमा ढालिएका र उसै बेला शक्ति राष्ट्रहरूका आर्थिक–सामरिक हितका तानातानमा च्यापिएका झन् ससाना राष्ट्र आज विश्व राजनीतिक दाउपेचका क्रसरोड भएका छन्। नेपाल यसको दीर्घभुक्तभोगी हो। तर हालसम्मका नेपाली नेतृत्वमा यस वैश्विक दाउपेचबाट स्वीट्जरल्यान्ड आदिले झैँ सक्षमतापूर्वक उपरोक्त कमजोरीको आन्तरिक व्यवस्थापन तथा बाह्य कूटनीतिक परिचालनद्वारा आफूलाई सकुशल अगाडि लाने इच्छाशक्ति भएको वा त्यसो गर्न सक्नेमा विश्वास भएको वा त्यस्तो बौद्धिक–चारित्रिक–कूटनीतिक सक्षमता र परिवेश भएको  देखा पर्न सकेन। उल्टो आन्तरिक प्रतिस्पर्धाका निमित्त राष्ट्रिय हितको समेत मूल्यमा ती शक्तिलाई खेल्न दिने र आफू पनि खेलिरहनेमा बदनाम छ।

    ३. यस दुखद् स्थितिका बाबजुद नेपाली जनतामा अभिसंचित राष्ट्रियता, लोकतन्त्र, शान्ति र आपसी सहिष्णुताप्रतिको अटल आस्था तथा विश्व समुदायमा स्वतन्त्र, अक्षुण्ण, विभिन्न किसिमका विशेषताले सम्पन्न एउटा लोकप्रिय मित्रराष्ट्रका रूपमा स्थापित नेपालको हैसियत, सम्मान र व्यवहारका कारण आन्तरिक तथा बाह्य दुवै असुरक्षाबाट मुक्त यस देशलाई अवसरको लाभ स्वरूप यत्तिकैै राखेर आपसमा असहमत जस्तो देखाउँदै (खानेकुरामा भने तुरुन्त सहमत हँुदै), बेलाबेला केही कार्यकर्ता जुधाउने–मराउने नाटक गर्दै यही अराजक धमिलोमा, प्रचण्डका शब्दमा पच्चीसौँ वर्ष (इतिहासका २३८ वर्ष जस्तै) दुहिरहनुभन्दा सजिलो न अरू उपाय छ, न उपाय खोजिरहनै परेको छ। हुन पनि ‘टुटेका फुटेका रङरोगन खुस्केका फगत क्यारेमका गोटी’को बिम्ब बनेको वर्तमान नेतृत्वसँग साम्यवाद, जातिवाद, संघवाद, क्षेत्रवाद जस्ता अनेक चीरअमूर्त सपना/बहाना र तामझाममा खोजीखोजी जनभावनालाई अल्झाउँँदै–अलमल्याउँदै त्यतिले नपुग्दा जहाज, रेल, बिजुलीको चुलो जस्ता, दन्त्यकथाको बूढो बाघलेझैँ सुनका बाला देखाएर सोझा बटुवाको सिकार गरिरहनेबाहेक अरू कुनै योजना, आत्मबल र सीप देखिन सकेन।

    ४. संविधान लागू त भयो तर विचरो स्वयं बाटो ओगटेर बसेको गजधम्म पहाड भएको छ भने भ्रष्टाचार, महँगी, असुरक्षा जस्ता विसंगति जीवनका अनिवार्य अंग भएका छन्। तर स्थिति जति लथालिंग भए पनि त्यसमा खेल्न सक्ने र खेलिआएका राजनीतिका, निजामती–जंगी–नोकरशाहीका, उद्योग–व्यापार–जमिन्दारीका, शिक्षा–कला–साहित्य–समाजसेवाका, बाहुबल–बन्दुक–बदचलनका ठूला अर्थात् राज्य संचालनका निर्देशक र तामेलदार वा सारथि र सहायक सबै ठूलामा  सत्तासुखको स्वतः बन्दै–बद्लिँदै रहने स्वतस्फुर्त साझेदारी भइसकेपछि यत्तिकै खेलिरहन कसले रोक्ने? किन रोक्ने? शक्ति–साधन–स्थानहीन सधैँ कुण्ठित बाँच्ने सर्वसाधारणको न चिन्ता, न डर। हिजो पनि तिनीहरू कुण्ठितै थिए, आज पनि छन् र भोलि पनि रहनेछन्, अर्को २०० वर्षै किन नहोस्! 

    वस्, टुंग्याउनीमा के मात्र थप्न बाँकी रहन्छ भने यो देशलाई (जुनै देशलाई पनि) वास्तवमै व्यवस्थित–गतिशील गर्ने हो भने साम्यवाद, पुँजीवाद, जातिवाद, संघवाद, क्षेत्रवाद वा कुनै फलानैवाद होइन, (कुनै वाद पनि सम्पूर्ण हुँदैन भन्ने सत्य विश्व इतिहासले पटक पटक प्रमाणित गरिसकेको छ), कानुनको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य चाहिएको छ। अर्थात् वाद, जात, क्षेत्र, साइनो, पद, केही नहेरी आवश्यकता र योग्ताअनुसारको काम, कामअनुसारको दाम वा दण्ड चाहिएको छ, जसको सुरुवात दाम खाने तर काम नगर्ने विगत–वर्तमानका हर्ताकर्ताहरूबाटै हुनुपर्ने हो। 

    तसर्थ सार्वभौम नेपाली जनताका लागि जे छ, २३८ वर्षदेखि हिँडेजस्तो गर्ने तर जनदबाबवस मौकामौकामा नारा बदलेर बुख्याचाझैँ एकै ठाउँमा हल्लिएर नजानिँदोगरी बाटो छेकेर बसेको यो अलमलका नायकत्वलाई अझै देख्नु नदेख्नु र तिनीहरूको पुच्छर निमोठेर हिँडाउन सक्नु नसक्नुमै छ अथवा छ निरन्तर आलोचित नेतृत्वले यसो मात्र होइन भनेर प्रमाणित गर्नुमा!

प्रकाशमणि दहाल

दहाल समसामयिक राजनीतिकलगायत विषयमा कलम चलाउँछन्।

prakashmanidahal@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]