विचार

पुरुषार्थमा विश्वास राख्नेलाई मात्र दिन्छिन् लक्ष्मीले साथ
SHARES

कात्तिक २१, २०७५

    औँसी तिथि देवपूजाका लागि उपयुक्त मानिँदैन। यसलाई पितृको सम्झना गर्ने वा श्राद्धादि कर्म गर्ने दिनका रूपमा लिइन्छ। पितृको सम्झना गर्दा शान्त भएर गर्नुपर्छ। देवपूजा गर्दा शंखघण्ट, डमरुलगायत बजाएर उत्सव मनाइन्छ। तर वर्षका १२ मध्ये कार्तिक कृष्ण अमावास्या (औँसी) मा देवता (देवी) को पूजा गर्ने परम्परा छ। साँझमा दीपावलीसहित लक्ष्मीपूजा गरी उत्सव मनाइन्छ। पौराणिक ग्रन्थहरूका अनुसार औँसीको रातमा लक्ष्मी उत्पत्ति भएको दिनको रूपमा यसबेला उनको पूजा आराधना गरिएको हो। 

    उत्सवका अनेक नाम

    तिहारका तीन दिनमध्ये प्रमुख औँसीलाई मानिएको छ। कार्तिक कृष्ण औँसीको रात्रिलाई सुखरात्रि  भनिन्छ।

    विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे

    महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।

    कौमुदी–महोत्सव वा कौमोदिनी–महोत्सव, दीपमालिका, दीपावली वा दीपोत्सव पनि यसका नाम हुन्। साँझ, निशा वा रात्रिमा विधिपूर्वक लक्ष्मी र उनका भाइ कुवेरको पूजा गर्ने विधान छ। यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य र समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख छ। 

    लक्ष्मीको आराधना, उपासना गर्ने परम्परा भने अनादि कालदेखि चल्दै आएको पाइन्छ। पुराणहरूमा आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमा र यसको १५ दिनपछि आउने कार्तिक औंसीमा गरिने लक्ष्मीपूजाको विधान बताइएको पाइन्छ। यस्तै भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन महालक्ष्मी व्रतको विधान पनि छ, तर यस प्रकारका विधान वेदमा पाइँदैन। 

    लक्ष्मीलाई सफासुग्घर मन पर्ने भएको ठाउँमा रहने मान्यताअनुरूप कार्तिक कृष्ण औँसीका दिनघर चोटाकोठा सफा गर्ने, औँसीको रात भएपनि सकेसम्म बत्ती बाली उज्यालो पार्ने चलन छ। सफासुग्घर पार्नु वा उज्यालो पार्नुको अर्थ परिश्रमले मात्र लक्ष्मी प्राप्त हुन्छिन् भन्ने हो। लक्ष्मीलाई उज्यालो मन पर्नुकोे अर्थ जहाँ राम्रो काम गरेर वा अर्काको चित्त नदुखाई प्राप्त भएको धनमात्र स्थिर हुन्छ भन्ने हो।

    लक्ष्मीको अाराधना

    वेदमा लक्ष्मीलाई श्री, पद्मा, लक्ष्मी आदिले स्तुति गरिएको छ। ऋग्वेदअन्तर्गतको श्रीसूक्तमा श्रीको रहस्य निरुपण गरिएको छ। सोह्र ऋचामा विभाजित श्रीसूक्तमा सुवर्णसमान पीत वर्णकी, हरिणी रूपधारिणी, सुवर्णमिश्रित रजतको माला धारण गरेकी, चन्द्रमासरी प्रकाशमान तथा चन्द्रमा जस्तै संसारलाई शीतलता प्रदान गरेर प्रसन्न पार्ने, चञ्चला, हिरण्मय शरीर भएकी लक्ष्मीको आराधना गरिएको छ। कामना गरिएको छ, ‘चन्द्रमा समान प्रकाश भएकी, प्राकृतिक कान्तियुक्त, आफ्नो कीर्तिले देदीप्यमान, स्वर्गलोकमा इन्द्रादि देवगणबाट पुजित, अत्यन्त दानशीला, कमलको मध्यभागमा विराजमान भएकी सम्पूर्ण जगतको रक्षा गर्ने, आश्रयदात्री लक्ष्मीले दरिद्रता नाश गरुन्।’ 

    श्रीसूक्तको आठौँ ऋचामा लक्ष्मीकी ज्येष्ठ बहिनी दरिद्राको चर्चा गर्दै भोक, प्यासरूपी मललाई धारण गर्ने दरिद्राको नाशका लागि लक्ष्मीको आराधना  गरिएको छ। यसैगरी बाह्रौँ ऋचामा लक्ष्मीका चार पुत्र आनन्द, कर्दम, चिक्लीत र श्रीतको चर्चा गर्दै उनीहरूलाई समेत माता लक्ष्मीलाई आफ्नो कल्याणार्थ आराधना गरिएको छ। यसैगरी ऋग्वेदकै लक्ष्मीसूक्तअन्तर्गतको तेह्रौ श्लोकमा पुत्र–पौत्र धन–धान्य एवं दीर्घायुले भरिपूर्ण गरिदिने विष्णुपत्नी लक्ष्मीको आराधना गरिएको छ। यजुर्वेदमा पनि विभिन्न अध्यायहरूमा श्रीरूपी लक्ष्मीको चर्चा गरिएको पाइन्छ। यजुर्वेदको ३१ अध्यायको २२ ऋचामा श्री र लक्ष्मीको चर्चा गरिएको छ। अथर्ववेदमा पनि विभिन्न प्रसंगमा लक्ष्मीको वर्णन गरिएकोे पाइन्छ। 

    पौराणिक ग्रन्थहरूमा भगवान् विष्णुकी पत्नी भएकाले लक्ष्मीलाई ‘विष्णुप्रिया’ नामले पुकारिएको छ। राजाहरूको ऐश्वर्यका रूपमा रहने भएकीले राज्यलक्ष्मीका रूपमा समेत उनको ख्याति छ। स्कन्द, भविष्य र पद्मलगायतका पुराणहरूले लक्ष्मीको चर्चा गर्नुका साथै उनको आराधना र पूजाविधि समेत उल्लेख गरेका छन्। देवीभागवत पुराणको नवौं स्कन्ध ४१\४२ अध्यायमा दुर्वासा ऋषिको अपमान गर्नाले देवराज इन्द्रले श्राप पाएको, श्रीसम्पत्ति र राज्यलक्ष्मीविहीन भएको प्रसङ्ग आउँछ। पछि ब्रह्माजीको सल्लाहले महालक्ष्मीको उपासना गरी इन्द्रले पुनः आफ्नो राज्यलक्ष्मी तथा श्रीसम्पत्ति पाए। 

    यसरी उत्पत्ति भइन् लक्ष्मी

     यसैगरी ती अध्यायहरूमा लक्ष्मीको उत्पत्तिबारे वर्णन छ। जब सम्पूर्ण देवता र दानव एकत्रित भएर समुद्र मन्थन गर्नथाले, त्यहाँबाट विविध किसिमका वस्तुहरू निस्कन थाल्यो। यसैबेला मन्थनबाट बहुमूल्य वस्तुहरूसहित लक्ष्मी प्रकट भइन्। समुद्रबाट उत्पन्न भएकी हुनाले लक्ष्मीलाई क्षीरोद नामक समुद्रबाट उत्पन्न भएकी हुनाले लक्ष्मीलाई क्षीरोदतनया अर्थात् समुद्रकी छोरी भनिन्छ। 

    समुद्र मन्थनको विस्तृत वर्णन गरिएको छ, श्रीमद्भागवत पुराणको अष्टम स्कन्धमा। आठौं अध्यायमा समुद्र मन्थनको अन्त्यमा लक्ष्मी प्रकट भइन्। उनको सौन्दर्य, यौवन रूप रंग र महिमाले देवता, दानव र मनिस सबैको चित्त मोहित भयोे। ‘हामीले पाए हुन्थ्यो’ भन्ने इच्छा सबैले राखे। यसै क्रममा देवराज इन्द्रले आफ्नै हातले एउटा विचित्रको आसन ल्याएर अर्पण गरे। पृथ्वीले अभिषेकमा चाहिने सबै औषधी चढाइन्। गाईहरूले पञ्चगव्य र वसन्त ऋतुमा पाइने फलफूल ल्याएर अर्पण गरे। 

    ऋषिहरूले विधिपूर्वक उनलाई अभिषेक गरे। गन्धर्वले गाउने, अप्सराहरूले नाच्ने, वाद्यवादकहरूले मृदंग, डमरु, शंख, वीणा आदि विविध वाद्ययन्त्र बजाएर स्वागत गर्न लागे । हातमा कमल लिएर सिंहासनमा विराजमान भएकी देवी लक्ष्मीलाई समुद्रले रेशमी वस्त्र उपहार दिए। ब्रह्माले कमल, वरुणले वैजयन्ती माला, विश्वकर्माले विविध गहना, सरस्वतीले मोतीको हार र नागहरूले कुण्डल आदि अर्पण गरे। देवताहरूले एक\एक वस्तु दिएपछि लक्ष्मी हातमा कमलको माला हातमा लिएर वरको खोजी गर्न लागिन्। अन्तमा भगवान् विष्णुलाई वरमाला पहिराई उनकी अर्धाङ्गिनी भएर रहिन्।

    लक्ष्मीका नाम अनेक

    अमरकोषमा लक्ष्मीको लक्ष्मीः पद्मालया पद्मा कमला, श्री, हरिप्रिया ६ नाम उल्लेख छ। यस्तै इन्दिरा, लोकमाता, रमा, भार्गवी, लोकजननी, क्षीरसागरकन्या नामबाट पनि पुकारिन्छ। 

    पुराणहरूमा लक्ष्मीका अन्य रूपहरूको पनि चर्चा गरिएको छ। श्रीमद्भागवतमा भगवान् कृष्णले जब जब धर्तीमा अन्याय अत्याचार बढ्छ, विभिन्न रूप लिएर सज्जनहरूको रक्षा र दुष्टहरूको विनाशका लागि अवतार लिन्छु भन्ने प्रसंग आउँछ। भगवानले मानव रूप लिँदा लक्ष्मी पनि सीता, राधा, रुक्मिणी आदि विभिन्न नामबाट सहचारिणीका रूप लिएको पुराणहरूमा आउँछ। मार्कण्डेय पुराण, देवीभागवत, पद्मपुराणमा दुष्टविनाशका लागि लक्ष्मीले विभिन्न रूप लिएको प्रसंग उल्लेख छ। श्रद्धालुहरूको रक्षार्थ रहेका अष्टमातृकामध्ये लक्ष्मी पनि एक हुन्।

    जहाँ भगवान् विष्णु र लक्ष्मीको प्रसंग आउँछ, त्यहाँ लक्ष्मी विष्णुको पाउ समाएर बसेको आउँछ। विष्णुले आफ्नो पुरुषार्थको बलबाट लक्ष्मीलाई वशमा राखेका हुन् यसैकारण सबैमा कल्याण भाव राख्ने र पुरुषार्थमा विश्वास राख्नेलाई मात्र लक्ष्मीले साथ दिन्छिन् भन्ने मान्यता छ। आलस्य, निन्द्रा, असन्तोष, अधर्म आदि दुर्गुण भएका स्थानलाई शीघ्र परित्याग गर्ने विष्णुपुराणमा उल्लेख छ।

    यसरी प्राप्त हुन्छिन् लक्ष्मी

    लक्ष्मीलाई सफासुग्घर मन पर्ने भएको ठाउँमा रहने मान्यताअनुरूप कार्तिक कृष्ण औँसीका दिनघर चोटाकोठा सफा गर्ने, औँसीको रात भएपनि सकेसम्म बत्ती बाली उज्यालो पार्ने चलन छ। सफासुग्घर पार्नु वा उज्यालो पार्नुको अर्थ परिश्रमले मात्र लक्ष्मी प्राप्त हुन्छिन् भन्ने हो। लक्ष्मीलाई उज्यालो मन पर्नुकोे अर्थ जहाँ राम्रो काम गरेर वा अर्काको चित्त नदुखाई प्राप्त भएको धनमात्र स्थिर हुन्छ भन्ने हो। कुकर्म वा कालो काम गरेर कमाएको धन स्थिर हुँदैन वा त्यसको सह हुँदैन भन्ने तथ्यलाई मनन गर्न सक्नुपर्छ।

    लक्ष्मीको आराधना गर्दै भनिएको पनि छ– सहस्रदल भएको कमलको कर्णिका बस्ने महालक्ष्मीको कान्ति शरद पूर्णिमाको करोडौं चन्द्रमाको शोभालाई हरण गर्ने हुन्छ। विशेषगरी धनसम्पत्तिको कामना गर्नेहरूले लक्ष्मीको आराधना गरेको पाइन्छ। यस्तै समाजमा ‘लक्ष्मी र सरस्वती सँगसँगै रहन सक्दैनन्’ भन्ने भनाइ चलेको पाइन्छ।

    धन हुनेसँग विद्या हुँदैन, विद्याले सम्पन्न व्यक्ति सम्पत्तिविहीन हुन्छ भन्ने यसको अर्थ हो। विद्याले सम्पन्नहरू भौतिक सम्पत्तिभन्दा ‘विद्यारूपी धन’बाट सन्तुष्ट हुन्छन्। नीति भन्छ– विद्याले विनय दिन्छ, विनयबाट पात्रको निर्माण हुन्छ। पात्रबाट धन प्राप्त हुन्छ। धनबाट धर्मप्राप्ति हुन्छ। यसै भनाइबाट पनि अनीतिबाट आर्जित स्थिर हुँदैन भन्ने बुझ्न सकिन्छ। 

    तस्विरहरूमा जहाँ भगवान् विष्णु र लक्ष्मीको प्रसंग आउँछ, त्यहाँ लक्ष्मी विष्णुको पाउ समाएर बसेको आउँछ। विष्णुले आफ्नो पुरुषार्थको बलबाट लक्ष्मीलाई वशमा राखेका हुन् यसैकारण सबैमा कल्याण भाव राख्ने र पुरुषार्थमा विश्वास राख्नेलाई मात्र लक्ष्मीले साथ दिन्छिन् भन्ने मान्यता छ। सत्य, दान, व्रत, तप, धर्म, पराक्रम र सरलता भएका व्यक्तिको घरमा निवास गर्ने विष्णुपुराणमा उल्लेख छ। आलस्य, निन्द्रा, असन्तोष, अधर्म आदि दुर्गुण भएका स्थान लक्ष्मीले शीघ्र परित्याग गर्ने बताइन्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]