फिचर

पौरखी मीनाको सफलता
SHARES

‘५ पास भएपछि आमालाई बुबाले भन्नुभयो- अब यसलाई पढ्न एक सुको नदिनू’

कात्तिक २४, २०७५

    कैलाली : कुमाल जातिको परम्परागत पेशा माटोको भाँडो बनाउने हो तर मीनालाई यो स्वीकार्य भएन। बाउ, बाजेले माटोको भाँडो बनाएको देखेकी मीनाले त्यसमा आफ्नो भविष्य भने उज्यालो देखिन। 

    कैलालीको भजनी नगरपालिका- ३ भजनीकी मीना सुधीराम कुमालकी पाचौँ छोरी हुन्। उनीभन्दा जेठा चार जना र कान्छा पाँच जना रहेका छन्। चरम गरिबीमा जन्मिएर, हुर्किएर पनि पौरख गरी सफलता र सम्पन्नता हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् मीना।

    २०७१ सालमा लघु उद्यम विकास कार्यक्रमबाट ब्युटी पार्लर सिकेकी मीनाको अहिले दिनचर्या नै फेरिएको छ। उनले अहिले दाम मात्रै कमाएकी छैनन्, त्योभन्दा धेरै नाम कमाएकी छन्। कुमालकी छोरी कुलाइनमा लागे भन्नेहरू अहिले उनीसँग सीप सिक्न आउने गरेका छन्। 

    ‘सुरुसुरुमा त मेरो पसलको बाटो भएर पनि कोही हिँड्डुल गर्थेनन्। अरू कामले नै आवतजावत गरे पनि ब्युटी पार्लर पुगेर आएकी भन्दै व्यंग्य गर्थे’, मीनाले सुनाइन्, 'ती व्यंग्य गर्नेहरू नै अचेल मेरा नियमित ग्राहक भएका छन्।’

    हातमा सीप छैन भनेर बेरोजगार भएर बस्ने र विदेशमा सस्तोमा श्रम बेच्नेहरूका लागि मीना एक गतिलो उदाहरण भएर उदाएकी छन्। सीमान्तकृत वर्गमा जन्मिएकी उनले पुर्ख्यौली पेसा त्यागेर ब्युटी पार्लर संचालन गरी अहिले आफूसँगै अरूलाई पनि स्वरोजगार बनाएकी छन्।

    ‘... त्यसपछि बुबाले पढ्न पैसा दिन छोड्नुभयो’

    पढाइमा सानैदेखि तिख्खर मीना कक्षामा कहिल्यै दोस्रो भइनन्। तर चरम गरिबीले दुई छाक टार्नै धौधौ परेको परिवारमा मीनालाई विद्यालय पठाउन कयौँ पल्ट सोच्न बाध्य भयो। कक्षा ५ सम्म त नि:शुल्क पढ्न पाउँदा त्यति धेरै समस्या भएन, जब ५ पास भइन्, त्यसपछि उनको पढाइमा पूर्णबिराम लाग्ने भयो।

    ‘पाँचमा म फस्ट भएँ। सबै खुसी भए। रातो टीका लगाइदिए। हल्लाखल्ला गर्दै घर पुग्यौँ। आँगनमा मेरा बुबाआमा हुनुहुन्थ्यो। म फस्ट हुँदा सबैभन्दा बढी खुसी मेरो बुबाआमा हुनुपर्थ्यो', मीनाले भनिन्, 'तर मेरा बुबा सबैभन्दा बढी दुखी देखिनुभयो।’ 

    घरमा के भन्ने के नभन्ने मीनाको शब्द फुटेन। पहिलो पल्ट पहिलो हुँदा पनि अविभावकहरूमा कुनै हर्षको महसुस नभएपछि परीक्षाको नतिजाले मीनालाई धेरै बेर खुसी बनाउन सकेन। ‘बुबा जुरुक्क उठ्नुभयो। आमातिर हेर्दै भन्नुभयो', मीनाले भनिन्, 'अब मीना स्कुल जानुपर्दैन। यसलाई एक सुक्को नदिनू।’

    बुबाको त्यो व्यवहारले मीनालाई हाँस्नु न रुनु बनायो। त्यो पल सम्झँदै उनले भनिन्, ‘फस्ट हुँदा अँगालोमा बेर्नुहुन्छ भन्ने सोचेकी थिएँ। बुबाले मलाई हेर्दै हेर्नुभएन। बरु मलाई पाँचमा पाँच पल्ट फेल भएको भए हुन्थ्यो भन्ने लाग्यो। ’

    प्रथम भएको भोलिपल्टबाट विद्यालय जान नपाउनुको पीडाले उनलाई विक्षिप्त बनायो तर हरेस भने खाइनन्।

    ‘त्यति बेला म ११-१२ वर्षकी थिएँ। आफ्नो घरको काम त सबै सधैँ गर्थें, त्यो दिनबाट अरूको घरको पनि काम गर्न थालेँ’, मीनाले सुनाइन्, ‘कहिले धान काट्न जान्थेँ, कहिले धान बोक्न, कहिले इँट्टा बोकेँ, कहिले ढुंगा फोडेँ, यसरी पढाइ खर्च जुटाएँ।’

    पौरखी मीना

    मीनाको घरमा उनीसहित १० भाइबहिनीहरू छन्। उनी पाँचौँ हुन्। केहीको विवाह भयो। केही बाँकी छन्। परिवारमा ठूलो भएका कारण पनि मीनाका बुबाआमाले सबैलाई विद्यालय पठाउन सकेनन्। आफ्नै बलबुतामा उच्च शिक्षासम्म बढेकी मीनाले आफ्नै पौरखमा केही गर्ने अठोट गरिन् तर साथ र सहयोग गरिदिने कोही थिएन। 

    ‘मेलै धेरैलाई भनेर १० हजार ऋण लिएँ। त्यति धेरै रकम त मेरा बुबा बाजेले पनि कसैसँग लिनुभएको थिएन। व्यापार भएन भने तनाव हुन्छ भनेर मैले त्यो पैसा दिएको कसैलाई भनिनँ’, मीनाले भनिन्, ‘१० हजारमा पाँच हजारको र्‍याक बनाएँ, पाँच हजारको सामान हालेँ। पाँच हजारको सामान के आउँथ्यो र!’

    संघर्षबाट जीवन प्रारम्भ गरेकी मीनाले समयक्रमसँगै सफलता हात पार्दै गइन्। १० हजार रुपैयाँ ऋण लिएर पसल संचालन गरेपछि केही समय उनलाई त्यो रकम फिर्ता गर्न हम्मेहम्मे भयो। ‘हामी गरिब परिवार, मेरो खानदानमा त्यति धेरै ऋण कसैले लिएनन्’, मलिन मुहार बनाउँदै सुनाइन्, ‘बुबाले थाहा पाउनुभयो भने कराउनुहुन्छ भनेर बुबालाई नभन्नू है भन्दै समातेँ।’ उनको पसलमा विस्तारै ग्राहकहरू तानिन थालेपछि त्यो पैसा बिना व्याज फिर्ता गरेको गरिन्।

    माग्ने मीना दिने भइन्

    कुमाल जातिको परम्पारागत पेसा संकटमा पर्न थालेको थियो। त्यो संकटले सबैभन्दा बढी संकट मीनाको परिवारमा पार्‍यो। बुबाले माटोका भाँडाहरू बनाउन छाडे। त्योसँगै आर्थिक संकट सुरु भयो। मीनाले आफ्नै आँटले सुरु गरेको ब्युटी पार्लरले अहिले उनको परिवार धानेको छ।

    पढ्ने खर्च नभएपछि कक्षा ६ देखि अध्ययन माया मार्ने अवस्थामा पुगेकी मीना आफ्नै पौरखले आफू मात्रै पढिनन्, भाइबहिनीहरूलाई पनि विद्यालय पठाउन थालिन्। ‘बुबाले पैसा छैन भनेपछि सबैभन्दा बढी पीर लाग्यो। म पढ्न पाइनँ भन्दा पनि भाइबहिनीहरू पढ्न नपाउने भए भनेर चिन्तित भएँ’, मीनाले भनिन्, ‘म पनि पढ्छु, भाइबहिनीलाई पनि पढाउँछु र बुबाआमालाई पनि सुखले पाल्छु भनेर व्यापार सुरु गरेकी हुँ।’ 

    उनले अहिले मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छिन्। त्यही कमाइबाट स्कुटर किनेकी छन्। स्कुटर किनेको प्रसंग कोट्याउँदै भनिन्, ‘कुमाल जातिको कुरा गर्ने हो भने समुदायका हाम्रो जातिमा पहिलो पटक मैले स्कुटर किनेकी हुँ, सुरुसुरुमा त हेर्नेको घुइँचो नै लाग्यो।’

    मीनाको प्रगति देखेर सबैभन्दा बढी खुसी उनका आमाबुबा भएका छन्। अहिले उनीहरूको उमेर सात दशक पार भइसकेको छ। मीनाका दिदीबहिनी र दाजुभाइ गरी १० जना रहे पनि अहिले बुबाआमाकी एक्ली सहारा मीना नै बनेकी छन्।

भानुभक्त आचार्य

आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : bhanuavenues@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]