साहित्य

तिहारमा गाइने खैँजडी भजन
SHARES

तस्विर सौजन्य– स्व. रेवतीरमण सापकोटा
कात्तिक २२, २०७५

    तिहारमा द्यौसी भैलोसँगै विशेषगरी क्षत्रीबाहुन बसेको समाजमा तिहारदेखि ठूलीमा द्यौसी भैलौसँगै खैँजडी भजन गाउने चलन छ। नेपाली साहित्यमा लोकभजनको नामले प्रचलित खैँजडी भजनमा प्राय क्षत्रीबाहुन समुदायका व्यक्तिहरू सहभागी हुने भएपनि दर्शक र श्रोताको रूपमा समाजका सबै समुदाय र वर्गले मनोरञ्जन लिइरहेका हुन्छन्।

    खैँजडी भजन विशेषगरी श्रीमद्भागवत महापुराण, देवीभागवत, शिवपुराण, रामायण, महाभारत, श्रीस्वस्थानी व्रतकथा आदिका कथामा आधारित हुन्छन्। यी ग्रन्थहरूबाट कुनै एक देवीदेवता वा अन्य पात्रलाई उठाएर टुक्रा झिकी त्यस टुक्रालाई लम्ब्याउँदै भजन गाउने गरिन्छ। यो भजनमा पद्य र गद्य दुवैको मिश्रित प्रयोग हुन्छ। सुरुमा कथानकका अंशलाई गद्यात्मक रूपमा र पछि पद्यात्मक संरचनालाई भजनको रूपमा गाउने गरिन्छ। कम्तीमा ८\९ जनाको टोली गोलाकार भई बसेर एक जनाले भट्याउने, केहीले खैँजडी लिने गर्छन्। 

    मुख्य व्यक्ति बीचमा बसेर भट्याउँछ उसले नारायण भन्दै छोडेका पंक्तिलाई राम राम राम... भन्दै टिपेर खैजडीको तालसँगै नृत्य गर्न थाल्छन्। एउटा भजन एक\दुई घण्टामा सकिने पनि हुनसक्छ। भजन गाउनेको खुबीअनुसार एउटै कथामा रात बित्न पनि सक्छ।

    खैँजडी भजन गाइने सबै ठाउँमा सर्वप्रथम मंगलाचरण गाएर मात्र भजन गाउने क्रम अघि बढ्छ। भगवान् गणेश, सरस्वतीसहित अन्य देवीदेवताको आराधना गरी भजन सुरु गरिन्छ। बिघ्नबाधा हटाइदिन बिघ्ननाश गणेशलाई र विद्याकी देवी सरस्वतीलाई गलामा आएर बास गरिदिन आग्रह गर्दै भजन सुरु हुन्छ। 

    वामन अवतारको भजन

    प्रस्तुत भजन श्रीमद्भागवत महापुराणको अष्टम स्कन्धको हो। दानवका राजा बलिले भगवान् वामन अवतारलाई तीन पाउ जग्गा दान दिने क्रममा पाताल भासिनुपरेको कथा यो भजनमा आउँछ–

    राम राम राम राम 

    ब्रह्माजीकी दिति र अदिति भन्ने छोरी थिए। दितिका छोरा दानवहरू भए। अदितिका छोराहरू देवताहरू भए। आफ्ना छोराहरूलाई दानवहरूले खेदेको देखेर आज अदीतिले नामी असल ठूलो छोरो जन्माउनु पर्यो भन्ने विचार गरिन्। आफ्ना पति ऋषि कश्यपको सल्लाहले अदीतिले पनि भगवान् नारायणमा आफ्नो तन मन पूर्ण रूपले लाएर

    नारायण

    हरि हरि

    गरिन् तपस

    होऽऽऽ हो हो गरिन् तपस

    हरेराम गरिन् तपस

    हो हो गरिन् तपस

    चतुर्बाहु नारायणको गरिन् तपस

    हो हो चतुर्बाहु नारायणको गरिन् तपस

    नारायण

    हरि हरि

    जब तपस्या गरिथिन्, भगवान् खुशी हुनुभो र आउनुभो। आज किन सम्झ्यौ त ? वरदान मागन त, अदिति भनेर नारायणले भन्दाखेरी अरु त केही चाहिँदैन, हजुरजस्तो छोरो मेरो कोखबाट जन्म होस्। मैले यही मागेँ भनीकन अदितिका यस्ता कुरा सुनीकन नारायणले भन्नुभो,

    नारायण

    हरि हरि

    हुन्छ हवस् लौ

    होऽऽऽ हो हो हुन्छ हवस् लौ

    हरेराम हुन्छ हवस् लौ

    हो हो हुन्छ हवस् लौ

    भरे भरे दर्शन दिउँला हुन्छ हवस् लौ

    हो हो भरे भरे दर्शन दिउँला हुन्छ हवस् लौ

    नारायण

    हरि हरि

     यसरी भगवान् नारायणले म तिम्रो गर्भमा प्रवेश गरेर तिम्रा छोरा भई जन्मनेछु, भनीकन फर्केर जानुभो। अनि अदिति छोरा जन्मने बेला कुर्न थालिन्। यसरी नारायण भगवान वामनको रूपमा अदितिको गर्भमा गएर बस्नुभएथ्यो, महिना पुग्यो छोरो जन्म्यो। कस्तो राम्रो भन्देखिन्– हरेराम, राम, राम, राम।

    छोटो, सानो, पुड्के, यस्तो वामन अवतार भएर छोरो जन्म्यो। यसरी पैदा भएको अदितिले,

    नारायण

    हरि हरि

    देखिन् झलक्क

    होऽऽऽ हो हो देखिन् झलक्क

    हरेराम देखिन् झलक्क

    हो हो देखिन् झलक्क

    साना नानी वामनलाई देखिन् झलक्क

    हो हो साना नानी वामनलाई देखिन् झलक्क

    नारायण

    हरि हरि

    आज भन्दा भोलि भन्दा पर्सि भन्दा आठ वर्षको उमेर भयो। ब्रह्माजीका नाति हुनाले व्रतबन्धादि चूडाकर्म सारा कर्म मै गर्दिन्छु भन्ने उहाँको सङ्कल्प भएको हुनाले हरेराम, राम, राम, राम। व्रतबन्धमा त सबैलाई निम्ता गर्नुपर्छ रे ! आज वामन अवतार भगवानको व्रतबन्ध गर्ने भनेर उतातिर,

    नारायण

    हरि हरि

    खल्बल ठूलो भो

    होऽऽऽ हो हो खल्बल ठूलो भो

    हरेराम खल्बल ठूलो भो

    हो हो खल्बल ठूलो भो

    सारा सहरमा मुलुकभरमा खल्बल ठूलो भो

    हो हो सारा सहरमा मुलुकभरमा खल्बल ठूलो भो

    नारायण

    हरि हरि

     यसरी खल्बल ठूलो भो। चन्द्रमालाई निम्तो गयो। सूर्यलाई निम्तो गयो। यता भगवतीलाई पनि निम्तो गयो। उतातिर भृगु ऋषिलाई पनि निम्ता गयो। व्रतबन्ध गरिएका वटुकलाई यौटा यौटा कुरा दिनुपर्ने हुनाले चन्द्रमाले छाता दिनुभयो। सूर्यले गायत्री मन्त्र दिनुभयो। इन्द्र महाराजले दण्ड भनेको लठ्ठी दिनुभयो। बृहस्पतिले कमण्डलु दिनुभयो।

    यसरी घुमेर आउँदा भगवतीले भिक्षा दिनुभयो,

    नारायण

    हरि हरि

    ए भारी रमाइलो

    होऽऽऽ हो हो भारी रमाइलो

    हरेराम भारी रमाइलो

    हो हो भारी रमाइलो

    नारायणको व्रतबन्ध भारी रमाइलो

    हो हो नारायणको व्रतबन्ध भारी रमाइलो

    नारायण

    हरि हरि

    यसरी रमाइलो भयो, गायत्री मन्त्र सुनाइयो, व्रतबन्धादि कर्म सकियो। देशान्तर जाने बेला भयो। अब देशान्तर जानुपर्छ। देशान्तर जाँदा त सिंगार पट्टार गर्नुपर्छ, राम्रो हुनुपर्छ भनेर सिंगारियो। सानो पुड्के सिंगारपट्टार गर्दाखेरी त झन् कति राम्रो नि ! कसरी विदा गर्ने ? ए बुबा, देशान्तर गएर घुमेर आउँछु भन्दा ए बाबु लौ, भनी कश्यपले शिरमाथि हात राखी बिदा दिनुभएथ्यो। आठ वर्षको बालख, केटो।

    पिताम्बरको धोती फेरेको, पिताम्बरकै धोतीको सप्को काँधमा ओडेको, कमण्डलु हातमा बोकेर लुरुलुरु,

    नारायण

    हरि हरि

    होऽऽऽ हो हो गए सरासर

    हरेराम गए सरासर

    हो हो गए सरासर

    हर्षै मन गरीकन गए सरासर

    हो हो हर्षै मन गरीकन गए सरासर

    नारायण

    हरि हरि

    बलि राजाको अश्वमेध थियो रे। बलि राजा कस्ता थिए भने स्वर्ग, मत्र्य, पाताल तीनै लोकको राजा भएका। आज यस्ता बलिका घरमा तीन पाइला जग्गा माग्न भनेर गएको, त्यो पुड्के। त्यो पुड्के त्यसै त्यहाँ गएको होइन भनेर यस्ता वचन जब बलिका दरवारका पटाङ्गिनीमा गएर उभिएका थिए। कौसीमा बसेका नरनारीहरूले देखे कस्तो राम्रो बच्चा। हामीले त देखेकै थिएनौँ।

    यस्तो राम्रो बालखलाई त दूध ख्वाउन पाएपनि हुन्थ्यो नि,  के गर्नु, भनेर बलिकी छोरी मालावती भन्ने पनि भन्न लागिछ,

    नारायण

    हरि हरि

    कोही दिन कोही बारमा

    होऽऽऽ हो हो कोही दिन कोही वारमा

    हरेराम कोही दिन कोही वारमा

    हो हो कोही दिन कोही वारमा

    तिम्रो दूध पान गर्छु कोही दिन कोही बारमा

    हो हो तिम्रो दूध पान गर्छु कोही दिन कोही वारमा

    नारायण

    हरि हरि

    भन्नुभो रे, वामन अवताररूपी नारायणले। अहिले त होइन कृष्णअवतार हुँदा तिम्रो दूध अवश्य खाइदिउँला भन्नुभएथ्यो। पछि पुतनाको दूध खाइदिनुभयो गोकुलमा। यस्तो जोगी त अघि देखेकै थिइन भनेर बलि राजा आफैँ भिक्षा लिएर आए। ओहो, त्यस्तो भिक्षा त म लिने होइन। मलाई त केही चाहिँदैन। जम्मा तीन पाइला दिए पुग्छ। वामनका यस्ता वचन सुनी 'जोगीलाई किन चाहियो जग्गा ? म तपाइँको जीवनभरिलाई पुग्नेगरी दिन्छु, सेवकहरू दिन्छु' भने महाराज बलिले।

    'मैले दिएको दानमा अरुले केही थप्नु नपर्नेगरी दिन्छु', बलिका यस्ता वचन सुनेर वामन भन्नुहुन्छ, 'मलाई खाली तीन पाइला जमिन मात्र दिनुस्, राजा !' यस्तो सुनेर बलि राजा पनि,

    नारायण

    हरि हरि

    माने आश्चर्य

    होऽऽऽ हो हो माने आश्चर्य

    हरेराम माने आश्चर्य

    हो हो माने आश्चर्य

    मनमा गुन्दा कुरा सुन्दा माने आश्चर्य

    हो हो मनमा गुन्दा कुरा सुन्दा माने आश्चर्य

    नारायण

    हरि हरि

    'यसरी आश्चर्य मानेर के गर्नु। जोगी त तिमी होइनौ क्यारे ! जोगी भए त खानेकुरा माग्थ्यौ। यति जमिनले के गर्नु तैपनि म दिन्छु। ए बाबु, म दिन्छु लौ।' 'ए बलि तँ खुस्कन्छस् है' भन्दैथिए शुक्राचार्य। शुक्र त बलिका पुरोहित। आफ्ना यजमानलाई भरिसक्के त बचाउनुपर्यो नि। अब बलि वामनलाई दान दिन लागे। 'ए गुरु, तिम्ले मलाई चिनेनौ। म यति जाबो दान गर्न पनि डराउने हुँ र !' 

    अब बलिको सर्वस्व जाने भो भनेर करुवाको टुटामा गएर जल नखस्ने पारिदिनुपर्यो भन्दा पानी झरेन भनेर कुशको टुप्पाले घोच्दा,

    नारायण

    हरि हरि

    आँखो फुट्न गो

    होऽऽऽ हो हो आँखो फुट्न गो

    हरेराम आँखो फुट्न गो

    हो हो आँखो फुट्न गो

    गुरु भन्ने शुक्रजीको आँखो फुट्न गो

    हो हो गुरु भन्ने शुक्रजीको आँखो फुट्न गो

    नारायण

    हरि हरि

    एउटा जोगीलाई तीन पाउ जमिन दिनु कुन ठूलो कुरा हो र ! मजस्ता तीनै लोकका अधिपतिलाई, फेरि यति राम्रा जोगीलाई किन नदिनु। ओहो ! आज बल्ल पो चिनेँ हजुरलाई। मलाई बचाउने हजुर। मलाई परमपद लगाउन हजुरको सवारी भएको रहेछ मैले चिनिसकेँ। अब त झन् किन नदिनु।' यति भनेर बलि जमिन दान गर्न लागे।

    वामन अवतार भगवानले एक पाउमा कमण्डलु राख्नु भो। अर्को पाउले जमिनमा राख्नु भो सारा संसार ढाक्यो। अर्को पाइला राख्न त जमीन नै छैन,

    नारायण

    हरि हरि

    छैन क्यै पनि

    होऽऽऽ हो हो छैन क्यै पनि

    हरेराम छैन क्यै पनि

    हो हो छैन क्यै पनि

    मनमा गुन्दा कुरा सुन्दा छैन क्यै पनि

    हो हो मनमा गुन्दा कुरा सुन्दा छैन क्यै पनि

    नारायण

    हरि हरि

     'हेर् बलि, तँ सकिन्छस् भनेर त भनेकै थिएँ नि', भनेर शुक्राचार्यले भन्दा 'हे प्रभुनाथ ! ईश्वरको दर्शन पाएँ भने त भैगो नि, अब। मैले चाहेकै यही हो। यो अश्वमेध यज्ञ गरेको पनि ईश्वरको कृपा हुन्छ कि भनेर हो। यहाँ तीनलोकको राजा भएर पनि उहाँ गएर पनि ईश्वरको सामुन्नेमा बस्न पाउनुजस्तो अहोभाग्य के होला।'

    यति कुरा बलिको सुनेर वामनरूपी भगवान् पनि,

    नारायण                                         

    हरि हरि

    लागे सम्झाउन

    होऽऽऽ हो हो लागे सम्झाउन

    हरेराम लागे सम्झाउन

    हो हो लागे सम्झाउन

    वर देखाई पर देखाई लागे सम्झाउन

    हो हो वर देखाई पर देखाई लागे सम्झाउन

    नारायण

    हरि हरि

    'हेर, बलि तिम्ले पातालमा गएर बस्नुपर्यो। म पनि तिम्रो सामुन्ने गएर द्वारपाल भएर बसुँला। तिमी धन्दा नमान' भनेर बलि भन्ने राजालाई सप्त पातालमा लाने क्रममा लाग्नुभएका वामन अवतार नारायणले पनि हाँस्तै हाँस्तै बलिलाई पाताल पुर्‍याउनुभो। कुनै दिनमा हे बलि, म तिम्रो द्वारपाल भई आउँला अहिले धन्दा नमान,

    नारायण                                  

    हरि हरि                                  

    हाँसी मुसुक्कै                              

    होऽऽऽ हो हो हाँसी मुसुक्कै                  

    हरेराम हाँसी मुसुक्कै         

    हो हो हाँसी मुसुक्कै

    हुकुम भयो बलिराजलाई हाँसी मुसक्कै        

    हो हो हुकुम भयो बलिराजलाई हाँसी मुसुक्कै

    नारायण

    हरि हरि।।

    त्यसबेला विष्णुले देऊ शिर भनी मागेकाले भई देऊ शिर बाट अपभ्रंश देउसीको गाथा चलेको विश्वास रहेको छ। आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई भगवान् विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको स्मरण गर्दै मानिसहरूले द्यौसी भैलो खेल्ने परम्परा चलाएका हुन् भन्ने विश्वास गरिन्छ।  त्यसैले पनि देउसी भैलो खेल्नेहरू भन्ने गर्छन्–

    हामी त्यसै आएनौँ बलि राजाले पठाको

    हे अाैँसीबारो गाईतिहारो भैलो। 

    (यो भजन सिन्धुपाल्चोक जिल्लाको साबिक सिपापोखरे गाविस–७, दुलालडाँडाबाट २०६७ सालमा स‌ंकलन गरिएको हो। यो भजन स्व‍.रेवतीरमण सापकोटाले गाएका हुन्।)
     

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]