धर्म-संस्कृति

शरीर र अात्माको महत्त्व बुझ्न म्हपूजा
SHARES

कात्तिक २२, २०७५

    भक्तपुर : नेपाल संवतको नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्।

    म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न तयार गरी म्हपूजाको तयारी गरिन्छ। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर शुद्ध बनाइन्छ। पानीको मण्डला बनाई त्यसमाथि तेलको मण्डला बनाइन्छ।  अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाको सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता (शिरदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ। 

    घरका सदस्यहरु क्रमशः घरको मूलीदेखी लस्करै मण्डला अगाडि पारेर बस्छन। मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरंगी कपडाराखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ।    

    सुकुन्दा बालेर चामलको पिठोबाट बनाइएको गणेशपूजा गरी सुरु गरिन्छ। यो पूजा घरको नकीं (मुली महिला)ले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत रूपमा पूजा गरी खेलइता (बत्ती) बालेर घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी (चामलको रोटी),पञ्चरंगी फुलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आँखे आदी राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुले(काठको पाठी)ले खन्याइ म्हपूजा गरिन्छ। म्हपूजा गर्दा बत्ती निभाउनु हुँदैन भन्नेमान्यता छ। 

    पूजा सकिएपछि क्रममा विमिरो, कोखा, फूलको माला र सयपत्री फूल सहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ। त्यसपछि बत्ती ननिभ्दै नकींले तलदेखि लक्ष्मीपूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ। रातभर त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ।

    म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकींबाट खेःसगं(अण्डा सगुन) लिने परम्परा रहेको छ। नेवार समुदायमा हरेक शुभकार्यमा सुगुन लिनेदिने प्रचलन रहेको छ। खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ। यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ। भोज खाइसकेपछि सलादको रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ।

    म्हपूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्न सक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ। साथै शरीरमा कुनै रोगव्याधि नलागोस्, सँधै स्वस्थ हुनसकुँ भन्ने कामनासमेत गरिन्छ। म्हपूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिविदहरू बताउँछन्।

    सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हपूजालाईआत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउँछन्। ‘मानव संसारमा आत्मा भन्दा ठूलो केही पनि छैन। यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस्। यसले सारा जगतमा ज्ञानको ज्योती फैलाओस् भनी यो पूजा गरिन्छ।’ उनले भने। ‘आत्मसन्तुष्टि नै सबभन्दा ठूलो कुरा हो। त्यसैले हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौँ।’ 

    म्हपूजा मानव सभ्यता, सँस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उनको कथन छ। ‘हाम्रो शरिर पञ्च तत्वले बनेको हुन्छ। पञ्च मकारको रुपमा लिँदा अण्डालाई मैथुनको रूपमा लिइन्छ। जसमा प्राण छ, प्राण भएपछि सृष्टि हन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पुर्‍याएको छ’, उनी भन्छन्। 

    इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ आफूलाई चिनेर सारा संसारलाई चिन्नको लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु भन्ने भावना उत्पन्न गर्न यो पर्वको महत्त्व भएको बताउँछन्। संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतिक पूजा नै म्हपूजा रहेको उनको भनाइ छ। ‘म्हपूजा यमपञ्चकको चौथौ दिनमा गरिन्छ। त्यसको अघिल्लो दिन अर्थात् औँसीको दिन लक्ष्मी पूजा। जुन दिन कोजाग्रत पूर्णिमा देखि औंसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ। यही सम्पन्नताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो’,उनले भने।

    प्रा.डा‍. श्रेष्ठका अनुसार म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो। नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा यसलाई मनाउँदै आएको छ। यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतिक दैनिक जीवनमा प्रयोग हुने कुचो र नाङ्गलो, गाग्री, करुवा, सिलौटा, चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ।’ 

    यसै दिन पारेर नेवारले नयाँ संवत् समेत मनाउँछन्। म्हपूजाको दिन शंखधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको बताइन्छ। म्हपूजाकै अवसर पारेर शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् सुरु भएको कथन पाइन्छ। यही खुशीयालीमा आज पनि म्हपूजाकै दिन पारेर नेपाल संवतलाई धुमधामका साथ मनाउँछन्। 

     

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]