समाज

हराउँदै परम्परागत देउसीभैलो
SHARES

कात्तिक २३, २०७५

    धनकुटा : तिहारको अवसरमा खेलिने परम्परागत देउसी भैलोको मौलिक परम्परा हराउँदै जान थालेको छ। जिल्लामा पछिल्लो समय देउसीभैलो खेल्ने तरिका नै परिवर्तन हुँदै गएको छ। समयको परिवर्तनसँगै विभिन्न संघसंस्था, क्लब लगायतले सामूहिक रुपमा देउसी खेल्न थालेका छन्।

    सामूहिक रुपमा देउसी खेलिने भए पनि पहिलेको जस्तो घरघरमा पुगेर देउसी माग्ने चलन हराउँदै गएको र विद्यालय, सडक र खुल्लाचौरमा बसेर देउसी खेल्ने क्रम बढेपछि मौलिक परम्परा नै हराउने हो कि भन्ने चिन्ता लाग्न थालेको छथर जोरपाटी गाउँपालिका –६ का ढुण्डीराज थापाले बताए।

    परम्परागत रूपमा भट्याएर नेपाली भेषभूषा र बाजागाजाका साथ सांस्कृतक उत्सवका रूपमा मानिने देउसी भैलोमा दिइने स्वैच्छिक दानको सट्टा विभिन्न पाश्चात्य संगीत र ढाँचामा प्रस्तुत भई होहल्ला मच्चाउने, जबरजस्ती रकम असुल्ने माध्यम पनि बन्दै गएको देखिन्छ।

    समूहमा खेलिन्छ देउसीभैलो

    तिहारको बेलामा समूहमा मिलेर गाउने गीत हो, देउसी। यो गीत गाउँदा साधारणतः एक जना मुख्य व्यक्ति र अन्य ‘देउसी रे’ भन्ने व्यक्तिहरु रहेका हुन्छन्। भट्याउने व्यक्ति आवश्यकताअनुसार परिवर्तन भइरहन्छन्।

    देउसी भाका भट्याउँदा एक जनाले नेतृत्व गरी भट्याउन सुरु गरेपछि अरूले बाजा र तालीको साथमा देउसिरे भन्दै उत्साह र उमंग थप्दै साथ र समर्थन दिने गर्छन्। तीन दिनसम्म खेलिने देउसी भैलोको रुप विस्तारै परिवर्तन हुँदै जान थालेको छ। घरघरमा पुगेर खेलिने देउसी हिजोआज चौतारी, खुल्लाचौर, सडक र विद्यालयमा बसेर खेल्ने प्रवृति बसेको छ।

    धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको थियो। साथीभाई जम्मा भएर दुख, दुखका भावना व्यक्त गर्ने, एकता र सद्भावको वातावरण सृजना एवं मनोरञ्जन प्रदान गर्नु देउसीभैलोको सांस्कृतिक एवं सामाजिक विशेषता रहेको छ।

    बर्सेनि घट्दै देउसी खेल्ने संख्या

    लक्ष्मीपूजाको साँझदेखि भाइटीकाको दिनसम्म चोक चोकमा देखिने देउसीभैलो खेल्नेको संख्या बर्सेनि घटदै गइरहेको छ। स–साना केटाकेटीले निकालेको देउसीभैलोबाहेक गाउँघरमा पाका मानिसहरूको मौलिक रूपमा खेलेको देउसीभैलो देख्‍न छाडिएको छ। देउसीभैलो खेल्न जानका लागि कोही भेला नभएको धनकुटाका दिपेन थापाले बताए। कतिपय ठाउँमा देउसी खेल्ने भन्दा कोही नआएकाले देउसी खेल्न नपाएको उनले गुनासो गरे। धेरै जसो युवापुस्ता विदेशिएकाले पनि देउसी भैलेको संख्यामा कमी आएको उनले बताए।

    देउसीमा विकृति बढ्दै

    तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ। क्लब, समूह, सहकारीलाई देउसी भैलोले छोएको छ। बालक, युवा र वृद्धसम्म तिहारको देउसी भैलोमा झुमिरहेका छन्। तर देउसी भैलोको मौलिकता भने बर्सेनी हराउँदै गएकोमा धनकुटा २ का बलबहादुर थापाले चिन्ता व्यक्त गरे। उनले भने, ‘हाम्रा गाउँघरका सोरठी लगायतका संस्कृति देख्नै नपाइने स्थिति आयो, देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ।’

    परम्परागत देउसी भैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेको छ। विशेष गरी युवायुवतीका कारण देउसी भैलोको मौलिकता मेटिने चिन्ता बुढापाकाले गर्न थालेका छन्। मादल, बाँसुरी, खैँजडी लगायतका बाँजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसी भैलोलाई हिजोआज पश्चिमेली संस्कृतिले प्रभावित गरेको थापाको भनाइ छ।

    बुढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्दैन। पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन। उनीहरु बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन्। परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैँजडीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाका बताउँछन्। देउसीभैलो खेलेर तिहारमा रमाईलो गर्ने चलन पछिल्लो समय मनोरञ्जनमा मात्र सिमीत भएको छैन सामाजिक कामका लागि आर्थिक स्रोत संकलनको माध्यम बनेको छ भने सांस्कृतिक अतिक्रमणका कारण मौलिकता हराउँदै गएको हो।

    संस्कृति जोगाउन सक्रिय

    केही युवा समूहहरु र ज्येष्ठ नागरिहकहरू परम्परागत रुपमा मादल, खैजडी जस्ता बाजाको साथमा नै संस्कृति जोगाउने कार्यमा सक्रिय हुन थालेका छन्। अहिले आफूहरू पश्चिमा संस्कृतिमा मात्र रमाउँदा भावी पुस्ताहरुले आफ्नो लोक संस्कृति पढ्न मात्र पाउने भएकाले आफूहरु परम्परा जोगाउने कार्यमा लागेको उनीहरू बताउँछन्। हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धनकुटा २ भीरगाउँको मधुगंगा भजन कृतन समूहले परम्परागत भैलो खेलेका छन्।

    ‘संस्कृतिमा सबैको नाम, जोगाउने हाम्रै काम’ नारासहित आफूहरुले सचेतनाका लागि भैलो खेलेको समूहका सचिव सुनिता दाहालले बताइन्। उसो त वृद्धवृद्धाहरू पनि संस्कृति जोगाउन उत्तिकै लागिपरेका छन्। ज्येष्ठ नागरिकले परम्परागत रुपमा भेलो खेलिरहेका ज्येष्ठ नागरिक ज्ञानबहादुर थापाले आफूहरुको सानो प्रयासबाट केही मात्रामा भए पनि सकारात्मक प्रभाव पर्नेमा विश्वस्त रहेको बताए।

ईश्वर थापा

थापा थाहाखबरका धनकुटा जिल्ला संवाददाता हुन्। ईमेल : ishwor.press@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]