समाज

सडक मानवहरूका आश्रममा भाइटीका
SHARES

कात्तिक २३, २०७५

    लमजुङ : भाइटीका लगाउने सुरसार भएपछि मिथुन मानवको मुहारमा खुशी छाउन थाल्यो। आश्रामकी संयोजक अनिता अधिकारी पनि खुशी देखिन्थिन्। सडक मानवहरूले आश्रय लिइरहेका ठाउँ मानव सेवा आश्राम हो र आश्राममा आश्रित मिथुन मानवलाई दाजु मानेर भाइटीका लगाउँदै थिइन् अनिता। ‘मानव सेवासँगै मैले धेरै दाजुहरू पाएको छु’ उनले भनिन्। भाइटीकामा स्थानीय घना खड्काले सहयोग गरिन्।

    सडक मानवहरूलाई आश्राम ल्याएपछि मानव थर दिइन्छ र आश्रितहरूलाई लक्ष्मीनारायण भनेर सम्बोधन गरिन्छ। कोही मानिस आश्राममा सेवाभावले आउँदा मिथुन मानव दुई हात जोडेर नमस्कार गर्छन्। सडकको चिसो छिँडीलाई बिछ्यौना र आकाशलाई छानो सम्झेर कहिले कसैसँग मागेर, कहिले फ्याँकिएका खानेकुरा खाएर गत १० वर्षदेखि मिथुनको जीविका चल्दै आएको थियो। गत तीन वर्षदेखि आश्रममा आश्रित भएपछि मिथुन मानवको दैनिकी फेरिएको छ।

    अहिले मिथुनको निधार भाइटीका, गला सयपत्री फूलको माला र शीर पाल्पाली ढाका टोपीले सजिएको छ। मिथुन मानवसँगै पञ्च मानव, सिजन मानन र ईश्वर मानवले पनि स्वयंसेविका अनिताको हातबाट भाइटीका ग्रहण गरे।

    मानवसेवा आश्रममा हाल ६ जना महिला र ४ जना पुरुष गरी १० जना आश्रित रहेका छन्। सडकमा वेवारिसे अवस्थामा फेला परेका सडक मानवलाई उद्धार गरेर आश्रममा राखेर लालनपालन, औषधोपचार गर्ने र परिवारको खोजी गरी पुनर्मिलन गराइने आश्रामकी संयोजक अनिताले बताइन्। उनका अनुसार अहिलेसम्म नौ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने चार जनाले आश्राममै देहत्याग गरिसकेका छन्।

    सदरमुकाम बेसीसहरस्थित मानवसेवा आश्रममा सहयोग गर्ने सहयोगीहरूको चाप कहिलेकाहीँ बढ्ने गर्दछ। खासगरी अधिकांश मानिसहरू मातापिता औँसी, पितृको वार्षिक तिथि, जन्मदिन, संस्थाको वार्षिकोत्सवलगायतका विभिन्न पर्वहरूका अवसरमा सहयोग गर्न आउन थालेका छन्। मानसेवा आश्राममा आश्रित मानवहरूका लागि सहयोगी हातहरूबाट खाद्यबस्तु र नगद प्राप्त हुने गरेको आश्रमका स्वयंसेवक प्रकाश दवाडीले बताए।

    मीठोचोखो खुवाउने, नयाँ लुगा लगाइदिने संस्कार बढेसँगै आमाबाबु नहुने छोराछोरीले आश्रममा रहेका वृद्ध–वृद्धालाई आमाबाबु मानेर भेट्ने, सहयोग गर्नेहरूको संख्या बढेको स्वयंसेवक दवाडीले बताउँछन्। आश्राममा साहरा लिएर बसेका मानवहरूका लागि दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ मानव सेवा आश्राममा सहयोगीहरूको संख्यामा वृद्धि भएको हो।

    ‘सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियान’द्वारा सञ्चालित मानवसेवा आश्रमको हेटौँडा केन्द्रीय कार्यालय हो भने लमजुङ जिल्लाको बेसीशहर शाखा कार्यालय सञ्चालन गरिएकको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]