राजनीति

मोरिम्ला नाका निरीक्षण गर्न उपल्लो डोल्पा पुग्यो मन्त्रीको टोली
SHARES

मन्त्रीको स्वागतमा चीनबाट ल्याइयो २०० मोटरसाइकल

मंसिर १, २०७५

    डोल्पा : हिमाली जिल्ला डोल्पाको मोरिम्ला नाका निरीक्षणका लागि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहितको टोली डोल्पा पुगेको छ।

    सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा रहेको नाकाको स्थलगत निरीक्षणका लागि शनिबार मन्त्री महासेठ, संस्कृति, पर्यटन नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी, सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठको टोली हेलिकोप्टरबाट नेपाल–चीन सीमानाका मोरिम्ला पुगेको हो। टोलीले दुई देशलाई ब्यापारिक दृष्ट्रिकोणले जोड्ने नाकाको रूपमा रहेको मोरिम्ला नाकाको विशेष अनुगमन गरेको छ।

    सो अवसरमा यहि आर्थिक वर्षभित्र बेलि ब्रिजको निर्माण गरेर भए पनि जाजरकोटदेखि डोल्पाको दुनैसम्म बाँकी सडक निर्माण गरेर सिधा यातायात संञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्री महासेठले गरे। सम्भावनाको खानी डोल्पालाई सरकारले विकासमा पछि नछोड्ने पनि दावी गरे। 

    करिब १२० किलोमिटर लम्बाई रहेको दुनै–मोरिम्ला सडकको ९० किलोमिटर  ट्याक खुलाउने भए पनि लैनी–धो खण्डमा पर्ने ३० किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको राज्यमन्त्री बुढाले जानकारी दिए। ‘मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक विभागले निर्माण गरेको  छ, दुनै–ल्यासिक्याप २५ किलोमिटर सडकको विकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले ट्याक खुलाइसकेको छ,’ राज्य मन्त्री बुढाले भने, ‘बाँकी ३० किमी सडक निर्माण कडा चट्टानयुक्त भएकाले अहिले २४ करोड बजेट विनियोजन गरिएको छ, यस खण्डको डीपीआर तयार भइसकेकाले सो खण्ड पूर्णरूपमा कार्य सम्पन्न गर्न करिब दुई अर्बको बजेट अनुमान गरिएको छ।’

    उत्तर–दक्षिण लोकमार्गको रूपमा यस सडकलाई पूर्णरूपमा निर्काणकार्य सम्पन्न गर्न सके नेपालकै छोटो लोकमार्गको रूपमा विकास गर्न सकिने अनुगमन टोलीले बताएको छ। साथै तिन्जेमा भन्सार राख्नका लागि सम्भाव्यतासमेत अध्ययन गरिएको छ। भेरी करिडोरको नाम दिइएको मोरिम्ला–दुनै हुँदै जमुनाहा (नेपाल भारत सीमा) जोडने सडकलाई केन्द्र र प्रदेश सरकारले राष्ट्रिय गौरवको नाकाको रूपमा समेत विकास गर्ने लक्ष्य लिएको छ। यस सडकको निर्माण कार्य सम्पन्न भइसकेपछि पाँचहजार ३०० मिटर उचाइमा गाडी गुड्ने छ।

    चीनबाट मोटरसाइकल ल्याएर मन्त्रीसहित र्‍याली

    आजै उपल्लो डोल्पाको तीन्जेमा मन्त्रीसहित मोटरसाइकल र्‍याली निकालिएको छ। अनुगमन टोलीको स्वागतस्वरूप छिमेकी जिल्ला चीनबाट ल्याइएका करिब २०० मोटरसाइकलको र्‍याली निकालिएको थियो। मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माण भइसकेकाले सर्वसाधारणको सुविधाको लागि मोटरसाइकल सञ्चालनमा ल्याइएको स्थानीयले बताए।

    मोरिम्ला नाका खुलाइसकेपछि नेपालकै सर्वाधिक उचाइमा गाडी गुड्ने सडकको रूपमा मोरिम्ला-जमुनाह नाका चिनिने राज्यमन्त्री बुढाले बताए। उनका अनुसार हिमपातका कारण करिब छ महिनामात्रै उक्त नाका संञ्चालनमा आउने भएता पनि प्रविधिको प्रयोगबाट बाह्रैमहिना सञ्चालनमा ल्याउन सकिने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]