धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन्। तेस्रो अधिवेशनको आठौँ बैठकलाई बुधवार बिहान प्र...
विराटनगर : नेपाली कांग्रेसमा कोइराला परिवारमा नेतृत्व संकट आएको र बेमेल भएको बताइरहँदा तीनै जना नेता अर्थात् कांग्रेस महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र नेतृ सुजाता कोइरालाले आफूहरू एक भएर अगाडि बढ्ने बताएका छन्।
विराटनगरमा आइतबार आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको प्रदेश १ कार्यालय उद्घाटन गर्दै तीनै जना नेताले एउटै मञ्चबाट कांग्रेस जोगाउन आफूहरू एक हुनेमा विश्वस्त रहन कार्यकर्तालाई आह्वान पनि गरे। जिपी कोइराला फाउन्डेसनको प्रदेश १ कार्यालय उद्घाटन समारोहमा कोइराला परिवारका तीनजना शीर्ष नेता एउटै मञ्चमा भेला भएका थिए।
कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले विपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखेको सपना पूरा गर्न आफूहरू एक हुने बताए। ‘हामीहरू पहिले पनि एक थियौँ, आज पनि छौँ र भोलिका दिनमा पनि एक हुन्छौँ,’ शेखर कोइरालाले भने, ‘विपी, गणेशमान र गिरिजाप्रसाद कोइरालाले देखेको सपना पूरा गर्न हामी एक ठाउँमा उभिनै पर्छ।’
कांग्रेस मात्रै नभएर अन्य पार्टीमा पनि गुट उपगुट रहेको बताउँदै उनले देशमा अहिले नेतृत्वको खडेरी परेको बताए। ‘मधेशी दल होस् वा नेकपा, राप्रपा कुनै पनि दलमा नेताको खडेरी परेको जस्तो देख्छु म,’ उनले अगाडि थपे, ‘जसले देशलाई देशलाई समालेर अगाडि बढ्ने आँट गरेको देखेको छैन, त्यसकारण राजनीतिक अस्थिरता छ, सरकार स्थिर छ तर राजनीति अस्थिरता छ।’
कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका विपी पुत्र सशांक कोइरालाले पनि शेखर कोइरालाको भनाइमा सहमत हुँदै आफूहरू हिजो पनि एक रहेको र भविष्यमा पनि हुने बताए। कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्दै उनले कोइराला परिवारकै सन्तानको रुपमा कार्यकर्ता रहेको पनि दाबी गरे।
‘हामी तीनै जनालाई उभ्याएर धेरै राम्रो गर्नुभयो, हामी एक छौँ, हिजो पनि थियौँ, आज पनि छौँ र भविष्यमा पनि हुनेछौँ,’ महामन्त्री कोइरालाले भने, ‘तपाईंहरू पनि कोइराला परिवारकै सन्तान हो, तपाईंहरूबीचमा पनि एकता हुनुपर्छ।’
कार्यक्रममा कांग्रेस नेतृ तथा जिपी फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भए पनि कांग्रेसमा त्यो कुरा बिर्सिदै गयौँ कि भन्ने लागेको बताए। उनले पनि अरू नेताले जस्तै विपीको सपना र गिरिजाप्रसाद कोइरालाले अगाडि बढाएको कामलाई अन्तिम रूप दिन एक हुनुपर्नेमा जोड दिए।
‘विपीको सपना र गिरिजाप्रसाद कोइरालाले अगाडि बढाएको कामलाई अन्तिम रूप दिनु पर्छ’, नेतृ कोइरालाले भनिन्, ‘हामी एकता हुने कुरामा कुनै समस्या छैन, हामी कम्युनिस्टसँग त मिलेका छौँ। तर, तपाईंहरू पनि मिल्नु आवश्यक छ।’
कार्यक्रममा अवसरमा कार्यकर्ताले नेतृत्वको विषयमा मिलेर जानुपर्ने भन्दै तीनै जना नेतालाई दबाब दिएका थिए। कार्यक्रममा बोल्दै तीनै जना नेताहरूले वर्तमान सरकारको पनि खरो आलोचना गरेका थिए। कांग्रेस अब सुध्रने र देशको नेतृत्व गर्ने विषयमा शंका नगर्न तीनजना नेताले कार्यकर्तालाई आवास्त पार्न पनि खोजेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।