फिचर

छिन्ताङ हत्याकाण्डका सहिद परिवारले राहत नपाएको गुनासो
SHARES

०३६ मा खोकु, छिन्ताङ र आँखिसल्लामा किसान आन्दोलनलाई दबाउन १६ को हत्या

मंसिर ५, २०७५

    धनकुटा : ०३६ मा भएको छिन्ताङ हत्याकाण्डमा सहिद भएका धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखिसल्लाका सहिद परिवारले हालसम्म कुनै राहत नपाएको गुनासो गरेका छन्। धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सरकारले गत पुसमा सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो। तर, पनि हालसम्म आफूहरूले कुनै राहत नपाएको सहिद पुत्रमान थुलुङ राईका छोरा बलराम राईले गुनासो गरे। ‘प्रजातन्त्र प्राप्तिका लागि आफ्ना अभिभावकहरुले ज्यान गुमाए। तर, परिवारले अहिलेसम्म राज्यबाट कुनै राहत महसुस गर्न पाएका छैनन्।’

    फरक विचार राखेको भन्दै ०३६ मा तत्कालीन निरंकुश पञ्चायती सरकारले धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखिसल्लाका १६ सर्वसाधारणलाई ०३६ कात्तिक २३ देखि २९ गतेसम्म गरेर एक हप्ता लगाएर हत्या गरेको थियो। उक्त साताभर छिन्ताङ आतंकित थियो। बारुदको धुवाँ र तत्कालीन सैनिक प्रहरीको ज्यादतीले सर्वसाधारण आतंकित बनेको घटना पीडित परिवारले अझै स्मरण गरिरहेका छन्।

    तर, हालसम्म नेपालमा ठूला परिवर्तन भइसक्दा पनि राज्यले छिन्ताङ काण्डका सहिदका परिवारलाई उपेक्षा गरेको सहिद परिवारको भनाइ छ। छिन्ताङ हत्या काण्डमा मारिएका व्यक्तिलाई अघिल्लो सरकारले राष्ट्रिय सहिद घोषणा गरेको एक वर्ष हुन लागे पनि पीडित परिवारलाई हालसम्म कुनै सुविधा उपलब्ध नगराएको पीडित परिवारले बताएका छन्। पीडित परिवारलाई सहिद घोषणा गरेको बारे हालसम्म औपचारिक जानकारीसमेत नगराएको सहिद हांखीमा साईँली राईको छोरा झलकमान राईले गुनासो गरे।

    घटनामा राजनीतिक विचार बोकेकाको मात्र होइन, केही गृहणी, सुत्केरीदेखि गोठालासम्मलाई गोलीको निशाना बनाइएको थियो। उक्त घटना छिन्ताङ हत्या काण्डको रूपमा इतिहासमा चर्चित छ। घटना भएको झन्डै चार दशकपछि मात्रै सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो। घटनामा ज्यान आहुति गर्ने व्यक्तिलाई वर्षौंदेखि राज्यले उपेक्षा गरे पनि झन्डै चार दशकपछि राष्ट्रिय सम्मान दिएको ठानेका थियौँ’, सहिद पुत्र योगेन्द्र राईले भने, ‘तर हालसम्म सहिद परिवारले पाउनुपर्ने केही सेवासुविधा पाएका छैनौँ।’

    सहिद परिवारले विशेषगरी ०४६ र ०६२/६३ का राजनीतिक परिवर्तनपछिका प्रधानमन्त्री र दलका नेतासमक्ष ज्ञापनपत्र पेस गर्ने दिनचर्या बन्दै आएको छ। यसैगरी राष्ट्रिय सहिदको घोषणा, राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्रलगायत माग अघि सार्दै आएको सहिद पुत्र योगेन्द्रले बताए।

    आफूहरूले पटक-पटक सबै राजनीतिक दलका प्रमुख र सरकार प्रमुखहरूलाई भेटे पनि आस्वासन दिने काम मात्र भएको अर्का सहिद धनवीर दमाईंका छोरा सोमबहादुर दमाईंले बताए। वार्षिक रूपमा मनाइने सहिद स्मृति दिवस र कहिलेकाहीँ राजनीतिक दल विशेषले ओढाउने दोसल्लाले मात्र आफूहरुको मन शान्त नबनेको सहिद परिवारहरुको भनाइ छ।

    को हो त छिन्ताङ हत्याकाण्डको दोषी?

    छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए। ०३६ सालको खोकु, छिन्ताङ र आँखिसल्लामा भएको किसान आन्दोलनलाई दबाउन १६ जनाको हत्या गरेको आरोप कम्युनिस्ट पार्टीहरूले थापालाई लगाउँदै आएका छन्। त्यही आरोपको कारण बहुदल आए पनि राजनीति कार्यक्रम लिएर उनी धनकुटाको छिन्ताङ कहिल्यै नगएकाले छिन्ताङ घटनाको नैतिक जिम्मेवारी थापाले लिएको बताउने पनि छन् तर त्यसको आधिकारिक जिम्मेवारी भने थापाले लिएका थिएनन्। अर्कोतिर थापाकै छोरा सुनीलबहादुर थापा अघिल्लो सरकारको मन्त्री हुँदा आफ्नै प्रस्तावमा ०३६ सालका १६ जना, जनयुद्ध सरकार पक्षबाट मारिएका ५ जना र विद्रोही पक्षबाट मारिएका ५ जनालाई सरकारले सहिद घोषणा गरेको दाबी गर्छन्।

    तर, छिन्ताङ हत्या काण्डपछि बसेको तत्कालीन कम्युनिस्‍ट पार्टीको समीक्षा बैठकमा ‘आफ्नै नेतृत्वको सही भूमिकाको अभाव’ भनिएको थियो। जसलाई त्यहाँ आन्दोलनको जिम्मेवारी दिएर पठाइएको थियो, उसको कमजोरीका कारण छिन्ताङमा घटना भएको तत्कालीन कम्युनिस्‍ट पार्टीको समीक्षामा बताइएको थियो।

    के के भयो सहिदका नाममा?

    छिन्ताङ प्रजातान्त्रिक आन्दोलनको क्रममा ०३६ साल कात्तिक २६ गते सहिदभूमि गाउँपालिका–१, का पुत्रमान थुलुङ राई, कात्तिक २७ गते सहिदभूमि गाउँपालिका–३, का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो। त्यस्तै त्यसै गाउँपालिका–१, का भैरवबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि कात्तिक २७ गते नै हत्या गरिएको थियो।

    पञ्चायती सरकारले सहिदभूमि गाउँपालिका–६, का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने कात्तिक २८ गते र सहिदभूमि गाउँपालिका–३, की श्रीमाया राई (हाङखिमा साइँली) को कात्तिक २९ गते हत्या गरेको थियो। सहिदभूमि गाउँपालिका–६ का झगेन्द्र राईको भने माघ १८ गते हत्या भएको थियो। ती सहिदको स्मृतिमा छिन्ताङमा सहिद पार्क निर्माण गरिएको छ। यहाँ सहिदका अर्धकदका सालिक राखिएका छन्।

    यी सालिकमा प्रत्येक वर्ष माल्यार्पण गरिन्छ। सहिद स्मृति दिवसमा गरिने केही औपचारिक कार्यक्रमले केही दिन त्यस क्षेत्रमा चहलपहल बढ्छ। सरकारले केही वर्ष अगाडि सहिद परिवारलाई एक लाख रुपैयाँको दरले राहत उपलब्ध गराएको सहिद गंगाबहादुर तुप्रिहाङ राईकी श्रीमती सुकमाया राईले बताइन्।

    छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रूपमा राजनीतिक दलहरूले तँछाडमछाड गर्दै आइरहेका छन्। सहिद स्मृति दिवसमा गरिने औपचारिक कार्यक्रमले केही दिन चहलपहल बढे पनि बाँकी दिन सहिद परिवारले अभावको सामना भोगिरहेकै हुन्छन्। यसकारण राज्यले छिन्ताङका सहिद परिवारका विषयमा सोच्नुपर्ने बेला आएको छ। सहिदभूमि गाउँपालिकाका १६ जना सहिदहरूको ४०औँ स्मृति दिवसको अवसर पारेर सहिद स्मृति प्रतिष्ठान छिन्ताङ र सहिदभूमि गाउँपालिका धनकुटाले सम्मान गरेको छ।

    सहिद स्मृतिसभा कार्यक्रमको आयोजना गरी सहिद स्मृति प्रतिष्ठान र सहिदभूमि गाउँपालिकाले छिन्ताङ हत्याकाण्डका १६ जना र १० वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका त्यस क्षेत्रका ५ जना सहिदका परिवारलाई नगद ५ हजार र सम्मान–पत्रद्वारा सम्मान गरिएको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रूपलाल राईले बताए। हाल आएर सहिदभूमि गाउँपालिकाले जुन सहिदलाई जहाँ मारिएको त्यो ठाउँमा एउटा एउटा स्मारक बनाउने तयारी गरेको गाउँपालिकाले जनाएको छ।यस्तै, सहिद परिवारलाई उचित राहत र सहिदभूमि गाउँपालिकालाई प्रदेश १ कै नमुना गाउँपालिका बनाउने योजना रहेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बताए।

    एक दशकमा पनि पूरा भएन स्मृति पार्क

    ०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका सहिदहरूको स्मृतिमा धनकुटाको सहिदभूमि गाउँपालिकाकामा निर्माणाधीन स्मृति पार्क एक दशक बितिसक्दासमेत पूरा हुन सकेको छैन। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा सहिदभूमि गाउँपालिकाको दुई र तीन नम्बर वडामा पर्ने पाताल डाँडामा निर्माणाधीन स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या भएर पाताल डाँडा जोड्ने सडक, भ्युटावर, सामुदायिक भवन र खानेपानीलगायत पूर्वाधारको २५ प्रतिशतकाम अझै बाँकी छ। ऐतिहासिक पर्यटकीयस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित निर्माण थालिएको स्मृति पार्कसम्म पुग्ने सात किलोमिटर मोटरबाटो ग्राभेल गर्ने भनिए पनि उक्त काम अझै पूरा भएको छैन। भ्युटावर र खानेपानीका पूर्वाधार पनि अधुरै छन्।

    सहिदका बारेमा विवाद

    छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको भए पनि उनीहरूलाई मार्न सहयोग गर्नेलाई पनि एउटै तरिकाले सहिद घोषणा गरेकाले सहिद परिवारले विमति जनाएका छन्। छिन्ताङ हत्याकाण्ड हुँदा प्रधानपञ्च रहेका गोविन्द बालिङसहित चारजना पूर्वपञ्च र एकजना राप्रपा कार्यकर्तालाई पनि सहिद घोषणा गरिएकोमा सहिद परिवारले विमति जनाएका हुन्। उनीहरू माओवादी द्वन्द्वकालमा माओवादीबाट मारिएका थिए।

    ‘तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउँदा खोकु छिन्ताङमा रक्तपात मच्चाउने नाइकेलाई पनि सहिद घोषणा गरिनुमा हाम्रो आपत्ति छ।’ सहिद हाङखिमा साइँली राईका छोरा भलकमानले भने, ‘तत्कालीन शासकलाई दमन गर्न सुराकी गर्ने नाइके पनि सहिद भन्दा थप चिन्ता लागेको छ।’

ईश्वर थापा

थापा थाहाखबरका धनकुटा जिल्ला संवाददाता हुन्। ईमेल : ishwor.press@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]