राजनीति

'राजदूतहरूको योग्यता भनेकै मनमा देशप्रेम'
SHARES

'शोभा बढाउन राजदूत नपठाऔँ, काम गरे पुरस्कार नगरे फिर्ता'

मंसिर २१, २०७५

    काठमाडौं : देशको नेतृत्व गरेर विभिन्न मुलुकमा जाने राजदूतहरू कस्ता हुनुपर्छ? कस्ता मानिसलाई सरकारले राजदूत नियुक्त गरेर पठाउन हुन्छ? उनीहरूको योग्यता के हुनुपर्छ? र, वर्तमान विश्वमा राजदूतहरूले कस्ता काम गरेर देशको हित हुन्छ?

    सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइको तीन दिन पहिले संघीय संसदको संसदीय सुनुवाइ समितिले पूर्व-राजदूतहरूको संस्था 'एसोसिएसन अफ फरमर करिअर एम्बासडर अफ नेपाल' (अफक्यान)का पादाधिकारीसँग यी प्रश्नको जवाफ जान्न खोजेको थियो। सरकारले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्‍य र युएईका लागि कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ उनीहरूको सुनुवाइ आइतबारका लागि निर्धारण गरिएको छ।

    समितिमा आफूहरूलाई बोलाउनुको आशय बुझेका पूर्व-राजदूतहरू पुष्करमानसिंह राजभण्डारी, डा. रामभक्त पिबी ठाकुर, प्रह्लादकुमार प्रसाईं, रुद्रकुमार नेपाल र निरन्जनमानसिंह बस्नेतले माथिका प्रश्नको समाज जवाफ दिए, 'राजदूत भएर जाने व्यक्तिमा देशप्रेम हुनुपर्छ।'

    राजदूत भएर जाने व्यक्तिमा आफ्नो देश र जुन देशमा राजदूत भएर जाने हो त्यसको बारेमा ज्ञान हुनुपर्ने उनीहरूको भनाइ थियो इजरायलका लागि पूर्वराजदूत प्रह्लादकुमार प्रसाईंको। उनले राजदूतले आफ्नो देशको बारेमा थप अध्ययन गरेर जानुपर्ने बताए। 'जुन देशमा जाने हो त्यो देशको इतिहास, संस्कृति, साहित्य थाहा भयो भने विभिन्न भेटमा उनीहरूसँग त्यसको उल्लेख गर्दा उनीहरूले नजिकको महसुस गर्छन्। उनीहरूका नाम चलेका साहित्यकार, कलाकार, संस्कृतिकर्मीको प्रशंसा गर्नुपर्छ।' इजिप्टका लागि राजदूत रहिसकेका रामभक्त पिबी ठाकुरले राजदूत भएर जाने व्यक्तिले जुन देशमा जाने हो त्यो देशको भाषा जान्नुपर्ने बताए। उनले पोर्चुगल र चीनको भाषा नजाने पनि उनीहरूको भाषामा सामान्य जानकारी राख्नुपर्ने र अंग्रेजी भाषामा दक्ष हुनुपर्ने धारणा राखेका थिए।

    राजदूतको कार्यप्रगतिअनुसार दण्ड र पुरस्कार दिनुपर्छ

    पछिल्लो समय मात्रै विभिन्न देशका राजदूतहरूबारे विवाद आइरहेका छन्। विशेषगरी राजनीतिक नियुक्तिबाट राजदूत बनेकाहरूको बारेमा विवाद आइरहेको छ। राजदूत भएर गएपछि उसको हरेक व्यवहारले देशको पहिचान दिने समितिमा आएका पूर्वराजदूतहरूको धारणा थियो।

    राजनीतिक नियुक्ति लिएका राजदूतहरूले विभिन्न लोभमा गलत काम गर्ने र अर्कोतर्फ परराष्ट्र मन्त्रालयमा लामो समय काम गरेर राजदूत बनेका (करिअर डिप्लोमेट) ले कामै नगरी राजदूतको कार्यकाल सिध्याउने गरेका छन्। यसको समाधानका लागि सबै राजदूतको विभिन्न समयमा परीक्षा लिनुपर्ने पूर्वराजदूतहरूको धारणा थियो। पूर्वराजदूत ठाकुरले भने, 'जो राजदूत जान्छ उसले परराष्ट्र मन्त्रालय वा संसदीय समितिमा जहाँ भए पनि गर्न सक्ने कामबारे प्रतिबद्धता जनाउनुपर्छ।' ठाकुरले थपे, 'देशअनुसार परराष्ट्रमन्त्रालयले निश्चित निर्देशिका तयार पार्नुपर्छ र यी काम गर्नैपर्छ भन्नुपर्छ सक्छु भन्यो भने नियुक्ति दिनुपर्छ नभए अर्कोलाई ल्याउनुपर्छ। शोभा बढाउनका लागि पठाउन लागेको होइन भन्नैपर्छ।'

    अफक्यानका अध्यक्षसमेत रहेका पूर्वराजदूत राजभण्डारीले सरकारले लक्ष्य पूरा नगर्ने राजदूतहरूलाई फिर्ता बोलाउनुपर्ने बताए। 'राजदूतको निश्चित ड्युटी हुन्छ। उसले आफ्नो काम पूर्ण गरेन भने फिर्ता बोलाउनुपर्छ', उनले भने, 'अहिलेका राजदूत जिम्मेवार छैनन्। अहिले कुनै पनि राजदूतलाई तिमीले यो काम पूरा गरेनौँ भनेर फर्काएको सुनेको छैन। राजनीतिक कारणा वा अन्य कारणले होला तर काम गर्न नसकेको भनेर छैन। अब कार्यदिशा पूरा नगर्ने राजदूतहरूविरुद्ध एक्सन लिन जरुरी छ।'

    मलेसियाका लागि पूर्वराजदूत निरन्जनमानसिंह बस्नेतले संविधानमा राजदूतहरूले के गर्ने भन्नेबारे स्पष्ट व्यवस्था भएको र त्यसको कार्यान्वयन गर्नुपर्ने बताए। बस्नेतले त्यो कार्यान्वयन गर्नमा नेपालले कमजोरी गरिरहेको धारणा राखेका थिए। परराष्ट्र मन्त्रालयलाई कुन देशका राजदूतहरूले के गरिरहेको छ भन्नेबारे मासिक रूपमा जानकारी भए पनि राजनीक कारणले कारबाही हुन नसकेको धारणा राखे।

    राजदूतहरूलाई सरकारले निश्चित काम दिनुपर्ने र त्यसको परिणाम खोज्नुपर्ने उनीहरूको धारणा थियो। नेपालले राम्रो काम गर्ने राजदूतलाई पुरस्कारस्वरूप अर्को राम्रो ठाउँमा पठाउनुपर्ने अथावा नेपालमा नै पनि राम्रो अवसर दिनुपर्ने र राम्रो काम नगर्नेलाई बीचमै फिर्ता बोलाएर कारबाही गर्नुपर्ने बताए।

    व्यक्तिगत रूपमा राजदूत क्षमतावान हुनुपर्छ

    पूर्व-राजदूतहरूले नयाँ नियुक्त भएर जाने राजदूतहरू व्यक्तिगत रूपमा नै क्षमतावान हुनुपर्ने बताए। उनीहरूले राज्यले धेरै लगानी गर्न नसक्ने भएकाले पनि राजदूत व्यक्तिगत रूपमा क्षमतावान हुनुपर्ने धारणा राखेका हुन्।

    पूर्वराजदूत प्रह्लादकुमार प्रसाइले इजरायमा राजदूत हुँदा एक प्रध्यापकको धारणा प्रस्तुत गर्दै नेपालजस्ता देशका राजदूत व्यक्तिगत रूपमा नरम हुनुपर्ने, व्यवहारमा कूटनीतिक हुनुपर्ने धारणा राखे। उनले राजदूतले आफ्नो उपस्थिति जनाउनुपर्ने बताए। 'राजदूतले आफ्नो देशको प्रतिनिधित्व गर्ने र त्यो गर्नका लागि उसले सुरुमा आफ्नो उपस्थिति अनुभूति गराउनुपर्ने हुन्छ' एक प्राध्यापकको भनाइ उदृत गर्दै प्रसाईंले थपे, 'साना मुलुकका राजदूतहरू बढी सक्षम हुनुपर्छ किनभने उनीहरूसँग आर्थिक शक्ति र सैन्य शक्ति छैन। त्यसैले उनीहरूले आर्थिक र सैन्य शक्तिका आधारमा कूटनीति संचालन गर्न सक्दैनन्। उसको कूटनीति भनेको नरम कूटनीति हो। त्यो भनेको ऊ बढी नरम हुनुपर्छ। अनि ठूला मुलुकका राजदूत जोसुकै भए पनि हुन्छ, किनभने उसको सैन्य र आर्थिक शक्ति छ। कुनै देशलाई तलाई सहयोग दिन्नँ भनेर त्यो देशलाई आफ्नो वशमा राख्न सक्छ। तर, सानो मुलुकको राजदूतले गर्न सक्दैन। सानो मुलुकको राजदूत बढी क्रियाशील र नरम हुनुपर्छ।'

    सरकारले कतिपय अवस्थामा धेरै लगानी गर्न नसक्ने अवस्था हुने भएकाले पनि राजदूत व्यक्तिगत रूपमा सक्षम हुनुपर्ने धारणा थियो पूर्वराजदूत ठाकुरको। उनले त्यसका लागि राजदूत आफैँले विभिन्न कार्यक्रमका लागि लगानीको व्यवस्था गर्नसक्ने क्षमता पनि राख्नुपर्ने धारणा राखे।

    त्यसका लागि सरकारले राजूत भएर जानेहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने ठाकुरको धारणा थियो। उनले हालपनि परराष्ट्र मन्त्रालय अन्तर्गतको 'इन्स्च्युट अफ फरेन अफेयर्स'ले राजदूत नियुक्त भएकालाई एक हप्ता तालिम दिने गरेको जानकारी दिँदै त्यसलाई एक महिना बनाउनुपर्ने धारणा राखे। त्यसैगरी राजदूतहरूले विभिन्न सन्धिबारे र अन्तर्राष्ट्रिय कानुन तथा जुन देश जान लागेको हो त्यो देशको कानुनको बारेमा पनि जानकार हुनुपर्ने बताएका थिए।

    राजदूत व्यक्तिगत रूपमा क्षमतावान भयो भने देशको प्रतिष्ठा बढ्ने, देशमा लगानी आउने, पर्यटक भित्र्याउन सकिने, सरकारले प्राथमिकतामा राखेका विषय कूटनीति क्षेत्रबाट कार्यान्वयन हुने, अन्तर्राष्ट्रिय फोरमहरूमा देशले सफलता पाउने, उच्चस्तरीय भ्रमण हुने र देशको प्रचारप्रसार सकरात्मक ढंगले हुने पूर्वराजदूतहरूको भनाइ थियो।

    राजदूतको अधिकतम र न्यूनतम उमेर कति?

    अहिले सरकारले राजदूत हुनका लागि न्यूनतम उमेर ३५ वर्ष राखेको छ भने अधिकतम उमेर तोकेको छैन। र, राजदूतको अधिकत उमेर कति हुनुपर्ने र न्यूनतम कति हुने भन्ने विषयमा पनि समितिमा पूर्व-राजदूतहरूसँग छलफल भएको थियो।

    समितिका सभापति लक्ष्मणलाल कर्णले पूर्वराजदूतहरूलाई उमेरहद कति राख्दा हुन्छ भन्ने जिज्ञासा राखेका थिए। जसको जवाफमा पूर्वराजदूत ठाकुरले ३५ वर्ष कम भएको र त्यसलाई ४५ सम्म पुर्‍याउनुपर्ने धारणा राखे। 'ओहदाको प्रमाणपत्र बुझाउँदा पनि सम्बन्धित देशको राष्ट्रपतिले कस्तो बच्चालाई पठाएछ भन्ने सोच बनाउन सक्छ', उनले थपे, 'अधिकतममा भने जति पनि राख्दा हुन्छ। उसको क्षमतामा भरपर्छ कोही ५० वर्षको नै पनि काम नलाग्ने हुन्छ। कोही ७०-७५ वर्षमा पनि तन्दुरुस्त हुन्छन्।'

    कति उमेरको व्यक्ति राजदूत हुने भन्ने विषयमा पूर्वराजदूत राजभण्डारीको धारणा भने फरक थियो। 'उमेरले मान्छेको बौद्धिक क्षमतालाई जज गर्दैन' उनले भने, 'उसले धारण गर्नसक्ने र परिणाम दिनसक्ने क्षमताको आधारमा कामको जिम्मेवारी दिनुपर्छ।' उनले मलेसियाका ९३ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित मोहम्मद महाथिर र बेलायतमा २४ वर्षको युवा प्रधानमन्त्री भएको उदाहरण दिँदै उमेरको हद लगाउन आवश्यक नभएको बताए।

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]