समाज

औपचारिक कार्यक्रममा मात्र देखिन्छ अचेल परम्परागत गहना

मंसिर २६, २०७५

    दार्चुला : दार्चुलाको दुहुँ क्षेत्रका महिलाहरू कालो उनी राडीमा रातो धागोको किनारा, सेतै पटुकी, सेतै मुणेठी (टाउको राख्ने) र परम्परागत गरगहनामा सजिएका स्थानीय नृत्य र देउडा प्रदर्शन गर्छन्, उनीहरूलाई हेर्नेको घुइँचो नै लाग्छ। तर उनीहरूले लगाएका परम्परागत लुगा र गरगहना भने अन्य दिनमा देख्न सकिँदैन।कसैले लगाउँदैनन्। यी लुगा र गरगहना लगाउन विशेष अवसर नै कुर्नुपर्छ।

    ‘पुराना पहिरन र गरगहना लगाउनै छोडिएको छ, कहिले केही अवसर आयो भने मात्रै लगाउँछौँ।’ दुहूँ गाउँपालिका ४ का ४८ वर्षीया राजु कुवँरले भनिन्। पुराना लुगा र गरगहना हेर्न औपचारिक कार्यक्रमहरू कुर्नुपर्ने अवस्था आएको दुहूँ गाउँपालिका २ का ७५ वर्षीय जयसिंह धामीको भनाइ छ।

    पुरानो रीतिथितिसँगै लुगा र गहना पनि बिर्सिँदै गएकोमा महाकाली नगरपालिका–१ का ८८ वर्षीय धनरामसिंह धामी पनि दुखेसो गर्छन्। ‘अहिले त लगाउने पनि के के लुगा र गहना आएका छन्, पुराना त कसैले लगाउँदैनन्। सबैले आफ्नो रीतिरिवाज बिर्सिनु राम्रो होइन’, उनी भन्छन् ।

    दोस्रो जनआन्दोलनको सफलता र योसँगै उठेको पहिचानको मुद्दाले पुराना लुगा र गहना लगाउने चलन पुनः सुरु भएको नेकपाका महिला नेतृद्वय उर्मिला कार्की र ताराकेशरी कुवँरको भनाइ छ। पहिचानको मुद्दाले व्यापकता नपाएको भए औपचारिक कार्यक्रममा पनि यी लुगा र गरगहना देख्न मुस्किल पर्ने उनीहरूको भनाइ छ।

    सबैसँग छैनन् गहना 

    परम्परागत रूपमा लगाइने लुगाहरू प्राय सबैको घरमा हुने भए पनि गहना भने हुनेखानेको घरमा मात्रै पाइन्छन्। ‘जसको आर्थिक अवस्था राम्रो थियो उनीहरुले पुराना गहना किनेर राखेका छन् र बेचेका पनि छैनन् तर सबैको घरमा पुराना गहना भेटिँदैनन्।’ दुहुँ गाउँपालिका –२ का ७३ वर्षीय धनबहादुर बम भन्छन्। ‘बाआमाले बनाएर राखेका पुराना गहना मात्रै छन्। अहिले त न पुराना गहना बनाउने ठाउँ नै पाइँदैन, अनि कसैले बनाउँदैनन् पनि।’ महकाली नगरपालिका –२ का ४० वर्षीया उजली बडालले भनिन्।

    गहना सम्पन्नतासँग जोडिएकाले सबैसँग नहुने भन्दै पहिले पनि जो धनिमानि थिए उनीहरूसँग मात्रै सबै किसिमका गहना हुन्थे, अरुसँग थोरै थोरै मात्रै। दुहुँ गाउँपालिका–४ का ६२ वर्षीया रामसिंह कुवँरले भने। ‘शिरदेखि पाउसम्मका गहना त हुनेखानेसँग मात्रै हुन्थे, तर कसैसँग सुता, कसैसँग माला, कसैसँग काकन, कसैसँग वाहा मात्रै हुन्थे ।’ विगत स्मरण गर्दै दुहुँ गाउँपालिका ४ का ५२ वर्षीया देउमती कुवँरले भनिन्।

    एउटै नथले दश जनाको बिहे 

    सबैसँग गहना नहुने भएकाले गाउँमा एक जनासँग भएको गहनाले सबैको बिहे गराउने गरेको  स्थानीय जयसिह धामी बताउँछन्। ‘जोसँग गहना छ, उससँग बिहेको दिनका लागि गहना मागेर बिहे गरिन्थ्यो, मैले नै एक नथले १० जनाको बिहे गराएको छु।’ उनले भने। ‘फिर्ता गर्न मिल्ने भएकाले बिहेका दिन सबैले गहना लगाउँथे तर अन्य बेला जोसँग छ, उसले मात्रै’, उनले थपे।

    यस्ता छन् शिरदेखि पाउसम्मका गहना

    चाँदका हुने परम्परागत गहनाहरू शिरमा लगाउने झुमझुमी, चन्द्राहारदेखि खुट्टामा लगाउने पैडासम्म हुन् । झुमझुमी एक कानदेखि अर्को कान र सिउँदोदेखि निधारसम्म ढाक्ने चन्द्राहार, नाकमा लगाउने फुली, बुलाकी र नथ, कानमा लगाउने ढेरी, घाटीमा लगाउने कण्डश्री, सुता, हैकल, अङज्याङमाला, जौमाला, पट्टी र पोति, नाडिमा लगाउने बाहा र काकन तथा पछ्यौरी अड्क्याउने सारा जेउडी अहिले औपचारिक कार्यक्रममा मात्रै देख्न पाइन्छ।

पदम बडाल

बडाल थाहा खबरका दार्चुला समाचारदाता हुन्। Email : badalpadam@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]