विचार

प्रेममा रमाउने पुर्वेली शैली
SHARES

मंसिर २९, २०७५

    मंसिरको मध्य महिना। रात छिप्पिँदो छ। जाडो बढ्दो छ। मौसमअनुसार रात चिसै होला तर प्रेमी–प्रेमिका र आफन्तको हात र साथले दिने तातोलाई मौसमको चिसोले सायदै जित्न सक्ला! 

    निकै ठूलो आवाजमा घन्किएको बाजा र ड्रम सेटको धूनले शहर नै थर्किएको छ। कोही म्युजिकको तालमा कम्मर मर्काइरहेका छन्। युवा युवतीहरू शहरको कोलाहलमा चुस्कीको तालमा निकै मस्किँदै छन्। चिनजानकाहरू नाता लगाएर बोलिरहेका छन्, अपरिचितहरू सोल्टी सोल्टीनीको नातामा। त्यही भीडमा मैले पनि एउटा सोल्टीको नाता भिरेको छु। 

    त्यो महोलले कुनै विकसित मुलुकको पूर्वीय संस्कार र सभ्यता झल्काइरहेको आभास भइरहेको छ। यो हो नेपालको पूर्वी भूगोल धरानमा मध्यरातमा देखिएको दृश्य। लाग्दैन मलाई– नेपालको संस्कार र संस्कृति असभ्य तरिकाले विकास भइरहेको छ।

    काम विशेषले पूर्वी नेपालका लगभग सबै जिल्ला घुमेको छु तर यस्तो कला, संस्कृति र संस्कारमा घुलमिल हुने अवसर मिलेको थिएन अहिलेसम्म। मंसिर महिनामा धरान पुग्ने मौका मिल्यो। पूर्वका साथीले धरानको कालो बंगुर खुलाउन बगरकोट लगे। रेस्टुरेन्ट जता हे¥यो, उतै प्याक छन्। झिलिमिली वातावरणमा अर्केष्टाहरूले धुम मच्चाइरहेका छन्। केटाकेटीहरू (धेरैजसो प्रेमी–प्रेमिका) वाइन र ह्विस्कीको तालमा छन्। र पनि निकै पारिवारिक छ माहोल। 

    कोही पनि जाँड रक्सीको सुरमा अपशब्द बोल्ने, अनावश्यक होहल्ला र वादविवाद गरेका छैनन्। रातीको १२–१ बज्दासम्म पनि कसैलाई घर जान हतार भएको छैन। परिवारका सदस्यले गाली गर्लान्, छोराछोरी कता गए भनेर आत्तिएलान् भन्ने चिन्ता छैन कसैलाई। 

    काउन्टरमा एक जना मात्र युवती छन् र पनि निर्धक्क छन्। मध्यरातमा पनि न उनलाई कसैको डर छ, न जँड्याहाहरूको धम्की नै खानुपरेको छ वा अपमान नै सहनुपरेको छ! समय बित्दै, मात चढ्दै जाँदा सबै एउटै टेबलमा जम्मा हुन्छन् र सुरु हुन्छ– धान नाच।

    हार्दिकताले एकआपसको हात समाई गोलाकारमा उभिएर तरुनी तन्नेरीद्वारा रोमाञ्चक शैलीमा नाचिने धान नाच रहेछ। अपरिचितहरूको भीडमा सुरुमा निकै धक लागिरहेको थियो। त्यहाँको रंगीन माहोलमा सोल्टीको नाता लगाएर घुलमिल हुन मलाई क्षणभर पनि लागेन। ‘सोल्टी सोल्टीनी’को आग्रहमा नजानेको भाकामा धान नाचमा नघुमी सुखै भएन। 

    म जानकार होइन तर धान नाचको प्रकृति सुदूरपश्चिमको देउडा जस्तै लाग्यो तर भाषा र भाका अलि फरक। यो पूर्वीय सभ्यतालाई एक पटक पश्चिम र मध्यपश्चिमको सांस्कृतिक माहोलसँग तुलना गर्न मन लाग्यो। पश्चिममा यति धेरै स्वतन्त्रता छैन, त्यसमा पनि खस आर्यहरू त निकै पछि छन् वा उनीहरू यस्तो माहोलमा रमाउनै जान्दैनन्। 

    धान नाच हात समाएर नाच्ने एउटा सांस्कृतिक परंपरा अर्थात् प्रेम अभिव्यक्त गर्ने शैली हेर्दा सामान्य जस्तो लागे पनि रमाइलो विशेषता हुँदोरहेछ। नाता पर्ने वा जेठाजु बुहारीसँगै नाच्न नमिल्ने। प्रेमी–प्रेमिकाको जोडी नाचमै रमाउने। विविधताले जोडेको हाम्रो देश। देश गुनाको भेष र शैली!

    त्यो संस्कारको विकास नै भएको छैन। रेस्टुरेन्ट कल्चर नै छैन। छ भने विशेष पार्टी र पर्वहरूमा मात्र। र पनि यस्तो सभ्यता देखिँदैन। असुरक्षित हुने डरले हो वा चलन नै त्यस्तै! महिलाहरू निर्धक्कसँग रातभरी यसरी पुरुषसँग सँगै रमाइलो गर्दैनन् वा रुचाउँदैनन्। गरे भने पनि लुकिछिपी डरै डरमा मात्र।

    संघीय राजधानीमा बस्नेहरूकै छोराछोरीले प्रेम अभिव्यक्त गर्न लुकीछिपी पार्क धाउनुपर्छ। फेरि त्यस्ता पार्कहरू नै पो कहाँ छन् र! त्यसमाथि परिवार वा साथीभाई कसैले देख्ला, गाली गर्ला वा केके सोच्ला भन्ने डर! दुवै जनाको सहमतिमा होटल जाँदा प्रहरीले छापा मार्छ अनि अवैध धन्दा गरेको अभियोगमा प्रहरी खोरमा वा मिडियाको नजरमा पर्नेहरू धेरै छन्। र त हाम्रो शहरमा अभिसाप बनिदिन्छ माया–प्रेम। 

    शहरमा गुलाबको भाउ महँगिएको छ तर गुलाब दिने वा लिने वातावरण नै छैन। हुनत गुलाबमा प्रेम पोखिने होइन तर प्रेम लुकाउने ठाउँ मानिएको मुटुको रङसँग मिल्दो गुलाबले प्रेमको प्रतीकको रूपमा ठाउँ पाएको छ। गुलाबसँगै आकाशका तारा, चन्द्रमा प्रेम अभिव्यक्त गर्दा प्रयोग गरिने बिम्ब भएका छन्। तर प्रेम व्यक्तिको स्वच्छ एवं अटल इमान्दारीसँग जोडिएको हुन्छ। त्यसैले त प्रेममा न त रङको भेदभाव हुन्छ, न जातको, न धनको न त उमेरको नै। पृथक लाग्यो प्रेमी–प्रेमिकाको प्रेम व्यक्त गर्ने र प्रेममा रमाउने पूर्वीय शैली। 

    साहित्यकार जगदीश घिमिरेले आफ्नो ‘अन्तर मनको यात्रा’ पुस्तकमा लेखेका छन्– ‘मान्छेको सबैभन्दा ठूलो सुख मलाई कसैले माया गर्छ भन्ने विश्वास हो।’ त्यही दरिलो विश्वास थियो ती पूर्वीय तरुनी तन्नेरीमा। तर मुखले मेरो मनमा मायाको समुद्र छ भनेर दाबी गरे पनि व्यवहारमा त्यो संवेदनशीलता भएन भने त्यो चेपारे हुन्छ, माया होइन।

    धान नाच हात समाएर नाच्ने एउटा सांस्कृतिक परंपरा अर्थात् प्रेम अभिव्यक्त गर्ने शैली हेर्दा सामान्य जस्तो लागे पनि रमाइलो विशेषता हुँदोरहेछ। नाता पर्ने वा जेठाजु बुहारीसँगै नाच्न नमिल्ने। प्रेमी–प्रेमिकाको जोडी नाचमै रमाउने। विविधताले जोडेको हाम्रो देश। देश गुनाको भेष र शैली!

    रागरसको नशामा फस्दै जाँदा युवक युवतीले तीन दिन तीन रातसम्म पनि लगातार नाच्न सक्ने र यसबीचमा कतिपय केटाकेटीको ख्यालख्यालमै गहिरो माया बस्न जाँदा विवाहमा समेत परिणत हुनेरहेछ। जे होस्, प्रेम र प्रेमीहरू हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहनेछन्। फरक यत्ति हो, प्रेम व्यक्त गर्ने शैली फरक पर्दै छ। ती प्रेमिल जोडीहरूले अनुभव गर्न सकून् कि पुराना सबै प्रेम कथा बिर्साउने गरी पवित्र मायाको अर्को कथा बन्न सकूँ।

बोमलाल गिरी

लामो समय रेडियो पत्रकारिता गरेका गिरी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]