विचार

सनातन परम्परामा नामकरण संस्कार
SHARES

ne.wikipedia.org
मंसिर २९, २०७५

    नाम ब्रह्माण्डमा रहेका कुनै पनि सजीव वा निर्जीव वस्तुको पहिचान हो। नाम लिनेबित्तिकै कुनै पनि वस्तुको स्वरूप मस्तिष्कमा आउँछ। मानिसकै सन्दर्भमा पनि कुनै व्यक्तिको नाम लिँदा उसको मुहार आँखामा घुम्न थाल्छ। नदेखेकै भएपनि नामकै आधारमा मान्छेको स्वरूप यस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ। 

    नामको आवश्यक्ता किन पर्छ भन्ने प्रश्नमा मनुस्मृतिमा यस्तो वचन पाइन्छ– आयुर्वर्चोऽभिवृद्धिश्च सिद्धिव्यवहृतेस्तथा...अर्थात् आयु वा तेजवृद्धिका लागि र सांसारिक व्यवहारका लागि मानिसलाई नामको आवश्यक्ता पर्दछ। राम्रो नाम र नाम अनुसारको काम गर्दा आयु र तेजवृद्धि हुने कुरामा दुईमत नहोला। वीरमित्रोदयमा पनि यस्तै भावार्थ बोकेको एउटा श्लोक छ– नामाखिलस्य व्यवहारयेतुः शुभावहं कर्मसु भाग्यहेतु\नाम्नैव कीर्ति लभते मनुष्यस्ततः प्रशस्त खलु नामकर्मः।

    नाम राख्ने कहिले ?

    बालक जन्मेको केही दिनभित्र नाम राख्ने नाम राख्ने चलन संसारका सबै समुदायमा पाइन्छ। नेपाली सन्दर्भमा विभिन्न समुदायमा जन्मेको ३, ७, १० वा ११ दिनमा नाम राख्ने चलन छ। कतिपय समुदायमा छैटौं दिनमा नाम राखी (यसलाई छैठी गरेको पनि भनिन्छ) ११ दिनमा न्वारानका दिन सुनाउने चलन छ। मूल वैदिक विधानअनुसार सुत्केरी भएका दशौँ दिनमा ब्राह्मणलाई राखी बाबुले नाम राख्ने विधान पारस्कर गृह्यसूत्रमा बताइएको छ (दशम्यामुत्थाप्य ब्राह्मणान् भोजयित्वा पिता नाम करोति)। 

    हिन्दू परम्पराअनुसार शिशुको नाम राम्रो, शुद्ध र संस्कृत भाषाको हुनुपर्ने बताइएको छ। नक्षत्रअनुसारको नाम राख्ने पद्धति वेदङ्ंग ज्योतिषमा पाइन्छ। धर्मसिन्धुमा पनि यसको विधान छ। पारस्कर गृह्यसूत्रमा बालकको नाम राख्ने यस्तो विधान उल्लेख छ– द्वयक्षरं चतुरक्षरं वा घोषवदाद्यन्तरन्तस्थं दीर्घाभिनिष्ठानं कृतं कुर्यान्न तद्धितम् अर्थात् दुई अक्षर वा चार अक्षरको, सुरुमा घोषसंज्ञक, माझमा अघोष, अन्तिम अक्षर दुई मात्रायुक्त, कृदन्तान्त नाम राख्नू, तद्धितान्त होइन। 

    शिवराज आचार्य कौण्डिन्न्यायनको वैदिक धर्म मूल पुस्तकअनुसार (दो.सं.पृ ४९३\९५) गृह्यसूत्र मनुस्मृति आदि ग्रन्थहरूमा १० दिनमै नाम राख्ने उल्लेख छ तर याज्ञवल्क्य स्मृतिमा भने एघारौँ दिनमा गर्नु भन्ने निर्देश छ। १० दिनमा सुतक अन्त्य गरी ११ औँ दिनमा नामकरण गर्ने बताइएको छ। यसैलाई अनुसरण गर्दै दश रात्रि बिताएर सुत्केरी भएको एघारौं दिनमा न्वारान गर्ने चलन वैदिक सनातन समाजमा चलेको देखिन्छ।

    नाम के राख्ने?
    धर्म विशेषमा आफ्ना आस्थाका देवी–देवताको नाम राख्ने चलन छ। सनातन समाजमा पहिले पहिले देवताका नामबाट आफ्ना बालबालिका का नाम राख्ने चलन रहेको थियो। नारायण, शिव, उमा, लक्ष्मी, सरस्वती राम, कृष्ण, सीता आदि नाम राखी छोराछोरीलाई बोलाउँदा अञ्जानमै भएपनि भगवानको नाम पनि उच्चारण हुने र धर्म हुने विश्वास पनि गरिन्छ। 

    श्रीमद्भागवत महापुराणमा अजामिल नामको पात्रले जीवनभरि पापकर्म गरेको र मृत्युको समयमा भयभीत भई छोरालाई नारायण, नारायण भनी बोलाउँदा विष्णुका दूतहरू लिन आएको बताइन्छ। छोराछोरीलाई बोलाउँदा भगवान्को नाम उच्चारण भइरहने लालसा त छँदैछ, देवीदेवताको नाम राख्दा छोराछोरी उनीहरूजस्तै गुणवान् बन्ने विश्वास पनि हुन्छ। अन्य धर्ममा पनि आस्थाका आधारमा देवतासम्बन्धित नाम प्रयोग भएको पाइन्छ।

    यस्तै समाजमा ख्याति कमाएका व्यक्तिहरूको नामबाट पनि आफ्ना शिशुको नाम राख्ने चलन छ। कतिपय समुदायमा बारबाट पनि बालकको राख्ने चलन देखिन्छ। सोमबार जन्मेको भए सोम, मंगलवार जन्मेको भए मंगल आदि। पर्व विशेषमा जन्मिँदा सोहीअनुसारको नाम पनि राखिएको पाइन्छ। लक्ष्मीपूजाका दिन जन्मिएको लक्ष्मी, रामनवमीका दिन जन्मिएको राम, कृष्णाष्टमीका दिन जन्मिएको कृष्ण र माघशुक्ल पञ्चमीका दिन जन्मिएको भए सरस्वती आदि। नामसँगै आउने उपनाम प्रसाद, कुमार, बहादुर, गुप्त, दास भने जातिविशेषमा प्रयोग हुँदै आएको छ। 

    शास्त्रमा के छ?

    हिन्दू परम्पराअनुसार शिशुको नाम राम्रो, शुद्ध र संस्कृत भाषाको हुनुपर्ने बताइएको छ। नक्षत्रअनुसारको नाम राख्ने पद्धति वेदङ्ंग ज्योतिषमा पाइन्छ। धर्मसिन्धुमा पनि यसको विधान छ। पारस्कर गृह्यसूत्रमा बालकको नाम राख्ने यस्तो विधान उल्लेख छ– द्वयक्षरं चतुरक्षरं वा घोषवदाद्यन्तरन्तस्थं दीर्घाभिनिष्ठानं कृतं कुर्यान्न तद्धितम् अर्थात् दुई अक्षर वा चार अक्षरको, सुरुमा घोषसंज्ञक, माझमा अघोष, अन्तिम अक्षर दुई मात्रायुक्त, कृदन्तान्त नाम राख्नू, तद्धितान्त होइन। 

    यस्तै बालिकाको नाम राख्दा अयुजाक्षरमकारान्तं स्त्रियै तद्धितम् (११७) अर्थात् बालिकाको नाम राख्दा तीन अक्षर आदिमा विषम अक्षर, अन्त्यमा दीर्घ आकार भएको तद्धितान्त शब्दको प्रयोग गर्नुपर्छ। यस पद्धतिअनुसार नक्षत्रका देवताको आधारमा नाम राख्ने विधान वेदाङ्ग ज्योतिषमा बताइएको छ– नक्षत्रदेवता ह्येता एताभिर् यज्ञकर्मणि÷यजमानस्य शास्त्रज्ञैर्नाम नक्षत्रजं स्मृतम्  (शुक्ल यजुर्वेदअन्तर्गतको वेदांग ज्योतिष श्लोक ३५)। 

    मनुस्मृतिमा ब्राह्मणको नाम मंगलकारी, क्षत्रियको बल, रक्षा वैश्यको धन पुष्टियुक्त एवं शूद्रको सेवाभावयुक्त हुनुपर्ने बताइएको छ। यसैगरी स्त्रीहरूको नाम सुकोमल, मंगलकारी तथा मनोहरी हुनुपर्ने बताइएको छ। जातीय सूचकका लागि ब्राह्मणको नामको अन्त्यमा शर्मा, क्षत्रियको बर्मा, वैश्यको गुप्त र शूद्रको नामको अन्त्यमा दास राख्ने विधान छ।

    कृत्तिका नक्षत्र भएका दिनमा जन्मेका बालकको नाम नक्षत्रदेवता अग्निको आधारमा राखिन्छ जस्तै अग्निदत्त, अग्निरूपा आदि। यस्तै रेवती नक्षत्रको जन्म छ भने नक्षत्रदेवता पूषाअनुसार पूषदत्त, पूषरूपा आदि। मनुस्मृतिमा ब्राह्मणको नाम मंगलकारी, क्षत्रियको बल, रक्षा वैश्यको धन पुष्टियुक्त एवं शूद्रको सेवाभावयुक्त हुनुपर्ने बताइएको छ। यसैगरी स्त्रीहरूको नाम सुकोमल, मंगलकारी तथा मनोहरी हुनुपर्ने बताइएको छ। जातीय सूचकका लागि ब्राह्मणको नामको अन्त्यमा शर्मा, क्षत्रियको वर्मा, वैश्यको गुप्त र शूद्रको नामको अन्त्यमा दास राख्ने विधान छ।

    पछि फलित ज्योतिषको प्रभाव बढ्दै जाँदा नक्षत्रको पाउअनुसार राशिमा आधारित नाम राख्ने परम्परा चलेको देखिन्छ। २७ वटामध्ये प्रत्येक नक्षत्रलाई ४ भाग (ज्योतिषीय भाषामा पाउ भनिन्छ) लगाइएको छ। १२ मध्ये एक राशिमा ९ पाउ समाविष्ट हुन्छ। राशि भन्नाले चन्द्रमा रहेको राशि भन्ने बुझिन्छ। चन्द्रमा लगभग सवा २ दिन एउटा राशिमा रहने गर्दछ। एक राशिमा पूरा २ र अर्को नक्षत्रको एक पाउ समाविष्ट हुन्छ अर्थात् एक राशिमा ९ पाउ रहने गर्दछ। जस्तो मेष राशिअन्तर्गत पहिलो नक्षत्र अश्विनीका चार पाउ चु, चे, चो, ला, भरणीको ली, लु, ले, लो र कृत्तिकाको पहिलो पाउ अर्थात् ओ गरी ९ वटा अक्षर हुन्छन्। 

    यी ९ वटा अक्षरबाट सुरु भएका मानिसको राशि मेष हुन्छ। बालक जन्मेको दिनको नक्षत्रको कुन पाउमा परेको छ सोही पाउको नामाद्याक्षरबाट नाम राख्ने चलन छ जस्तै अश्विनी नक्षत्रको दोस्रो पाउ रहेका बेला जन्मेका शिशुको नाम चेतनाथ\चेतना राखिन्छ। सामान्यतया न्वारानमा ज्योतिषी वा पुरोहितले राखिदिएको नाम धर्मकर्म आदिमा मात्र प्रयोग गर्ने र व्यवहारका लागि अरु नै नाम चलेको देखिन्छ।

    हिजोआज

    छोराछोरीको नाम राख्ने चलनमा पनि व्यापक फरक आइसकेको छ। आमाबाबुहरू नयाँ नयाँ नामको खोजीमा देखिन्छन्। एकताका नेपाली आमाबाबुलाई आफू आधुनिक भएको देखाउन छोराछोरीको नाम पनि अंग्रेजी शैलीको राखिदिने लहड चलेको थियो। यससँगै आफू पनि बा, बाबु, बुबाबाट ‘ड्याडी’ र आमाबाट ‘मम्मी’ हुने लालसा जागेको थियो। तर हिजोआज आफ्नै मौलिक तथा संस्कृत शब्दका नामहरू चल्न थालेका देखिन्छन्। नाम अरुको छोराछोरीको भन्दा भिन्न पार्ने व्यवहारमा त्यति नचलेका शब्द खाज्ने होड चलेको देखिन्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]