विचार

प्रजातन्त्रप्रति निरन्तर सजगताको अपेक्षा
SHARES

पुस २, २०७५

    नेपाली कांग्रेसका बारेमा नेपाली जनतालाई बढी नै चासो रहेछ भन्ने कुरा यस पटकको महासमिति भेलामा प्राप्त प्रतिक्रियाले पनि देखाउँछ। राजनीतिक वृत्तमा त हुने नै भयो। कांग्रेस वृत्तमा यस कारणले महासमितिको चासो रह्यो कि राज्य संघीयतामा गएपछिको पहिलो महासमिति भेला हो र यस भेलामा नयाँ ढंगको विधान पारित हुनु अनिवार्य छ किनभने आगामी महाधिवेशनमा त्यो कार्यान्वयनमा आउनु अनिवार्य जो छ। विधानका बारेमा मस्यौदाका अवस्थादेखि नै आएका हल्ला र टिप्पणीप्रति एउटा आशंका, भरोसा र निर्भरता जनाउनु छ महासमितिका सहभागीहरुलाई। 

    प्रत्येक महासमितिको बैठक बेला घर्किएर आयोजना गर्दाको खुल्दुली पनि त्यहाँ पाइन्छ। झन् आफ्नै सरकारले निर्वाचन गराउँदा पनि लज्जाजनक हार भएकाले पनि अब कसरी तंग्रिएर उठ्ने र फेरि आफ्नो वर्चश्व कायम गर्ने भन्ने रणनीति जान्न र बुझ्न पनि कांग्रेसजनमा ठूलो लालसा देखिन्छ। 

    हार र जीत राजनीतिको स्वाभाविक प्रक्रिया हो तर हारमा किन हारियो भनेर समीक्षा गर्ने र फेरिफेरिका लागि तत्काल नयाँ रणनीति तयार गर्ने परिपाटी हुँदा पनि आजसम्म कसैले पनि हारका लागि न त आत्मालोचना गरेको पाइयो, न आगामी दिनमा कसरी अगाडि जाने भन्ने रणनीति तयार गरेको नै। त्यसैले पनि सबैले यही भेलाको मौकामा सबै कुरा थाहा पाइने लालसा राखेको पनि देखियो। कांग्रेस अब ब्युँतिन्छ कि ब्युँतिँदैन भनेर पनि कांग्रेसीजनमा बढी चासो देखिने नै भयो। 

    कांग्रेसइतरका लागि आगामी दिनमा उसका विरुद्ध कसरी जाने भन्नका लागि पनि कांग्रेसको यो महासमिति भेलाको निर्णय र प्रक्रियाप्रति चासो आवश्यक पक्कै होला। कांग्रेस चुपचाप भलाद्मी प्रतिपक्षका रूपमा रहँदा पनि जुन आरोप नेकपाको राजनीतिक प्रतिवेदनमा देखाइयो, त्यसले पनि एउटा स्वाभाविक प्रतिक्रिया आउने अपेक्षा सत्तारुढ पक्षले गर्ने नै भयो। सत्तारुढ दलभित्र पनि धेरै यस्ता पक्षहरू छन्, जहाँ कांग्रेस बलियो भए मात्र प्रजातन्त्र सुदृढ हुन्छ भन्ने र कांग्रेसको पतनमा मात्र आफ्नो पक्ष प्रजातन्त्रको हिमायती हुन सक्ने विश्लेषणका साथ देखापरेका छन्। केही प्रजातन्त्रवादी विश्लेषकहरु छन् जो कि कांग्रेस फुटोस् या कांग्रेस जुटोस् भन्छन्। 

    कोही बुद्धिजीवीहरू छन् कि प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको अपरिहार्यता हुँदो रहेछ तर प्रजातन्त्रको सम्वद्र्धनमा भने कांग्रेस चुक्दोरहेछ। यी यस्ता धारणाहरू हुन्, जो अद्र्धसत्यमा आधारित छन्। केही सत्य, केही अनुमान। राजनीति आफैँमा एउटा कला र एउटा विज्ञानको सम्मिलन हो भनेर राजनीतिशास्त्रमा भन्ने पनि गरिन्छ। अनुमान त अनुमान नै हो। तिनै विश्लेषकहरू हुन्, जो २०६४ सालको निर्वाचनपश्चात् पनि कांग्रेसप्रति यस्तै निराशाजनक टिप्पणी गर्थे तर २०७० मा छक्क पर्दै तंग्रिएको कांग्रेसको प्रशंसा गर्दै थिए र अहिले कांग्रेस अब नबौरिने विश्लेषण गर्दै छन्। 

    वास्तविकता के हुनसक्छ भने कांग्रेस संविधानवादको पक्का हिमायती हो, प्रजातन्त्रको पक्का हिमायती हो तर आफ्नो प्रक्रियामा भने जे आउँछ, गर्दै जाने देखियो। आखिर नेपालका सबै प्रजातान्त्रिक संघर्षका दिनमा अग्रगामी मोर्चामा सधैँ त देखिएकै हो, जबकि अरू अलिअलि ‘माछो देखे दुलाभित्र हात र सर्प देखे दुलोबाहिर हात’ भएकै थियो। सायद त्यसैलाई कांग्रेसइतरले आफ्नो रणनीति या ‘पर्ख, हेर अनि अगाडि बढ’को सिद्धान्त अपनाएको भनेका होलान्। 

    संसारभर प्रजातन्त्रका बारेमा नयाँ बहस सुरु भएको छ–अहिलेको संसदीय अभ्यासको प्रजातन्त्र असफल भएको हो वा समय सापेक्ष हुन नसकेको हो? परंपराअनुसारको प्रजातान्त्रिक परिपाटी जनताका आकांक्षाको परिपूर्ति गर्न अक्षम हुन थालेको हो? या जनताका असीमित आकांक्षालाई सम्बोधन गर्न नसकेको हो? यदि विभिन्न नमुनाका प्रजातन्त्रले जनताको अपेक्षा जनप्रतिनिधित्वका हिसाबले पूरा गर्न नसक्दाको परिणाम के हुनसक्ला? त्यस्तो बेलामा कस्तो खालको शासन पद्धतिले जनताका अपेक्षा पूरा गर्नसक्ला? अबको कांग्रेसको सोचाइ यस्तो हुनुपर्ने हो कि त? 

    नेपाली कांग्रेस भनेको नेपालको एउटा दल मात्र होइन, यसको इतिहासले के पनि देखाउँछ भने विश्वमा प्रजातन्त्रका लागि बारम्बार एउटै देशमा आन्दोलन भइरहेका छैनन् तर नेपालमा नै एउटा यस्तो विशेष अवस्था आइरहेको छ, त्यसका लागि अर्थात् प्रजातन्त्र स्थापना, पुनःस्थापना र विकासका लागि अनवरत आन्दोलित र संघर्षरत दल भनेर वास्तवमा परिचित छ। त्यति मात्र होइन, आफूलाई कम्युनिस्ट भन्नेहरूलाई समेत प्रजातान्त्रिक मूलधारमा समाहित गर्न सफल दलको रूपमा समेत परिचित छ। 

    जस्तोसुकै सांगठनिक प्रक्रिया अपनाए पनि कांग्रेसको अन्तर्यमा प्रजातन्त्रको सुवास हुनु आवश्यक छ, चाहे त्यो विश्वव्यापी मान्यताको शासन प्रणालीको स्वरूपमा होस् या आन्तरिक जीवनको संगठनात्मक परिवेशमा।

    तर किन आफ्नो जीवनमा प्रजातान्त्रिक परिपाटीलाई शत प्रतिशत कार्यान्वयन गर्न उदासीन भएको हो कांग्रेस? सायद ती दिन गए, जुन दिनहरूमा अतीतको ब्याजको मीठो फल  चाखिरहन पाइन्थ्यो। अब त वर्तमानका ती समस्याहरूको यसरी समाधान गरिनुपर्छ कि जसले भोलिको प्रजातन्त्रलाई समेत दिशाबोध गरोस्। आगामी दिनमा प्रजातन्त्रमा देखिने संभावित चुनौतीहरूसमेतको आँकलन गरी समाधानका उपायहरू पत्ता लगाउने काम गर्नु आवश्यक भएको सन्दर्भ यही बेलामा देखिन्छ। 

    प्रजातन्त्रको परिभाषा र प्रजातन्त्रवादीको परिभाषामा व्यापक हेरफेर र परिवर्तनका लागि विश्वव्यापी दबाब सुरु भएको यो समय संघारमा नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्रको पर्याय बनेको नेपाली कांग्रेसको सांगठनिक स्वरूपमा र भावी कार्यदिशामा आउन सक्ने परिवर्तनलाई कांग्रेसले कति आत्मसात् गर्न सक्छ भनेर कांग्रेसलाई रुचाउने या नरुचाउने पर्यवेक्षकहरू चनाखो भएर हेरिरहेका छन् र महासमितिका निर्णयहरू पर्खिरहेका छन्। 

    जीवन्त पार्टीमा बहस, छलफल, विवाद, अन्तरसंवाद, अन्तरसंघर्ष र अन्तरविरोध हुनै पर्छ तर त्यसको निचोडबाट आउने परिणामलाई भने इमान्दारीसाथ पार्टीभित्र कार्यान्वयन गर्ने चुस्त सांगठनिक प्रणाली हुनु जरुरी छ। 

    आफ्नै दलमा समेत एकताको सन्देश दिन नसकेको अवस्थामा मुलुकलाई प्रजातन्त्रको पक्षमा एकाकार गराउने क्षमताको कांग्रेस आवश्यक परेको छ। पर्यवेक्षकहरू भन्छन्– ‘प्रजातन्त्रमा कसले पो ग्रहण लगाउला र अब?’ यसै भनिन्थ्यो मिश्रमा पनि। यसै भनिन्थ्यो बंगलादेशमा पनि। यसै भनिन्थ्यो पाकिस्तानमा पनि। यसै भनिन्थ्यो वर्मामा पनि। एउटा बेला आउँदोरहेछ, जब शासकहरूमा आफूले मात्र शासन चलाउने भुत सवार हुन्छ, त्यहीँनेर प्रजातन्त्र धरापमा पर्छ अनि एउटा स्वयंसेवी संस्था चाहिन्छ, जसले प्रजातन्त्रको पक्षमा सधैँ सावधानी गराओस्। नेपालमा, नेपालको आधुनिक इतिहासमा प्रजातन्त्रको न्यास गरेर, ध्यान गरेर र प्रजातन्त्रका पक्षमा जहिले पनि तयार भएको संस्था भनेको नेपाली कांग्रेस नै देखियो। 

    स्वरूपलाई भन्दा परिणामलाई सबैले देख्छन् र त्यसैको चर्चा परिचर्चा गर्दै कठोर आलोचना वा प्रशंसा गर्ने गर्छन्। यो कुरा नेपाली कांग्रेसमा पनि लागू हुन्छ र अहिले त्यही भएको पनि छ। त्यही आत्मवञ्चना र आत्मालोचनाको भुमरीमा महासमितिको बैठक आयोजित छ र प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गर्दै बहस र सुझाव दिइँदै छ। यसलाई एउटा जीवन्त संस्थाको भावी जीवनका लागि तिनै आलोचना नै अमृत रस हुन् भन्नुपर्ने हुन्छ। 

    जस्तोसुकै सांगठनिक प्रक्रिया अपनाए पनि कांग्रेसको अन्तर्यमा प्रजातन्त्रको सुवास हुनु आवश्यक छ, चाहे त्यो विश्वव्यापी मान्यताको शासन प्रणालीको स्वरूपमा होस् या आन्तरिक जीवनको संगठनात्मक परिवेशमा। हिजोका दिनमा प्रजातन्त्रका लागि आफ्ना यौवनका उर्वर दिनहरू कारागारमा बिताउन सक्ने, कुनै लोभ लालचमा नफसी मात्र उज्यालो प्रजातन्त्रको किरणका लागि आफूलाई अन्धकारको गुफामा समेत राख्न सक्ने ती कांग्रेसीजनलाई कसैले प्रजातन्त्रको अर्थ बताउनु पक्कै पनि धृष्टता हुन्छ तर प्रजातन्त्र प्राप्तिपछिका दिनहरूमा देखाएका केही गलत नजिरले अप्रजातन्त्रवादीहरूको बिगबिगी बढ्न पाएकामा नेपालका प्रजातन्त्रप्रेमी तथा विश्वका प्रजातन्त्रप्रेमीहरू अलमलमा छन्। यसको असल उदाहरण भनेको स्थानीय र संसदीय निर्वाचनमा कांग्रेसका साझेदारहरूको अनुहार र तिनका प्रतिको कांग्रेसी व्यवहार अनि तिनले देखाएको कांग्रेसप्रतिको व्यवहार नै स्पष्ट थिए। 

    महासमितिको एउटा भेलाले न त कांग्रेसको राजनीतिक जीवनमा कुनै भूकम्प नै आउला या संगठनमा देखिएको बेहालपनमा कुनै अमृत सिंचन नै होला तर प्रजातन्त्रप्रतिको आस्था अब कस्तो छ भनेरचाहिँ देखाउने नै छ। यदि प्रजातन्त्रप्रतिको अविचल र अटुट आस्थाको स्वरूप मात्र प्रदर्शन गर्न सके र त्यसका लागि आत्मालोचना गर्दै भावी दिनमा प्रजातन्त्रमाथि देखिएका काला बादल फाँड्ने दृढता यो महासमितिले देखायो भने ठूलो उपलब्धि त्यही हुनेछ र नियमित आकस्मिकताको रूपमा सत्ताको बागडोर जसका हातमा भए पनि त्यसले खासै फरक पार्ने छैन।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]