थाहा संवाद

‘उदयपुर सिमेन्ट उद्योगलाई तरुण अवस्थामा पुर्‍याएँ’
SHARES

पुस ११, २०७५

    उदयपुर : सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। २६ वर्ष पहिला स्थापना भएको उद्योग विभिन्न समस्याले निजीकरण हुने अवस्थामा पुगेको थियो। देशमा भएको राजनीतिक अस्थिरतासँगै उदयपुर सिमेन्ट उद्योग जीर्ण बन्दै गएको थियो तर पछिल्लो समय महाप्रबन्धकका रूपमा सुरेन्द्रकुमार पौडेल आए। त्यसपछि उदयपुर सिमेन्ट उद्योगले एकाएक मुहार फेर्दै गयो। त्यही जीर्ण सरकारी उद्योगलाई आशालाग्दो र भरलाग्दो बनाउने महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसँग थाहाखबरकर्मी विदुर कटुवालले गरेको कुराकानी प्रस्तुत छ।

    उदयपुर सिमेन्ट उद्योगको वर्तमान अवस्था कस्तो छ?

    उदयपुर सिमेन्टको वर्तमान अवस्थामा जवान बन्दै गएको छ। उदयपुर सिमेन्टले पूर्ण क्षमताअनुसार उत्पादन गरी बजारमा बिक्री गर्न सक्ने भएको छ। बजारले मागेअनुसार दिन सक्ने भएको छ। उद्योगको पूर्ण मर्मतपछि तरुण उदयपुर सिमेन्ट उद्योग बनेको छ। 

    पाँच वर्षअघिसम्म खस्कँदै गएको उदयपुर सिमेन्ट कसरी एक्कासि तरुण बन्दै गयो? 

    यसमा मैले यसो गरेँ, उसो गरेँ भन्दिनँ। म कर्ममा विश्वास गर्ने मान्छे। मैले एउटा टिम फर्मेसन गरेँ। ठूलो उद्योग हो, धेरै कर्मचारी, जुन ठूलो संख्याका कर्मचारी उद्योगको स्टिमभन्दा बाहिर बसेका थिए, ती कर्मचारीलाई पहिचान गरेँ। जो धेरै वर्षदेखि नेतृत्वमा थिए, तिनीहरूले गर्ने विभागहरूको नेतृत्वमा हेरफेर गरेँ। 

    कुनै पनि उद्योगहरू चलाउने भनेको कर्मचारी, मजदुर र नियमले नै हो। यी सबैलाई मैले एकजुट बनाएँ। यहाँ राजनीतिक पार्टीसँग आवद्ध कर्मचारी थिए। कर्मचारी मजदुर संगठन सबैको साथ सहयोग पाएँ। पूर्ण रूपमा उद्योगको मर्मत गरेँ। त्यसैले सफलता मिल्दै गएको छ। अहिले उदयपुर सिमेन्टलाई तरुण अवस्थामा पुर्‍याएका छौँ।

    भनेपपिछ मजदुर संघ संगठनका नेताहरूलाई विशेष रूपमा एकजुट बनाउनुभयो? 

    मुख्य गरेर मजदुर संगठनको साथ सहयोग नै अहिले उपलब्धि हो। उद्योगमा सात तहसम्मकाृ कर्मचारी मजदुर संगठनमा आवद्ध छन्। हरेक कर्मचारी कुनै न कुनै मजदुर संगठनमा छन। रातभर चल्ने उद्योग हो। कुनै कर्मचारी भनौँ वा मजदुर, रातीको समय ड्युटी पर्ने कर्मचारीले काम गर्न छाडेका थिए। मैले ती कर्मचारीलाई ड्युटीअनुसार काम गर्ने बनाएको छु। रातीको १२ बजे काम गर्ने मजदुर कर्मचारी साथीहरूले पनि जिएमले निद्रा बिगारिदियो भन्नुभएन। किन काम गर्ने, किन उद्योग चलाउनुपर्छ भन्ने सोच विकास गरिदिनुभयो। त्यसमा सबै पार्टीका मजदुर संगठनका नेताहरू सबैले साथ पनि दिनुभयो। मुख्य गरी उद्योगका कर्मचारी वा मदजुरको सोचमा परिवर्तन ल्याएँ।

    अरू काम केके गर्नुभयो?

    उद्योगबाट उत्पादित सिमेन्टको बजार, विभिन्न सरोकारवालासँग जोडिएका सवाल, आर्थिक वित्तका कामहरू सबै मैले नै हेरेको छु।बजार, बैंक, विभाग, मन्त्रालयसँग समन्वय गरेको छु। प्रधानमन्त्रीदेखि सकैको साथ सहयोग मिल्यो। सबै पक्ष एकजुट नभएको भए आज उदयपुर सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गर्ने थिएन। उद्योगमा आमूल परिवर्तन ल्याउनका लागि गर्नुपर्ने काम सबै गरेको छु। सबैको साथ सहयोग पाएको छु। 

    तपाईंलाई उदयपुर सिमेन्ट उद्योग संचालन गर्न सरकारका सबै निकायहरूबाट साथ सहयोग मिल्यो तर तपाईंभन्दा अगाडिका महाप्रबन्धकहरूलाई किन मिलेन? उद्योगलाई धराशायी बनाउँदै उद्योगलाई निजीकरण गर्नुपर्छ भन्ने अवस्थामा पुर्‍याइएको थियो? 

    म पेसाले चार्टर एकाउन्टेन्ट। मेरो पर्सनल इथिक्स, प्रोडक्ट कन्डक्ट, के काम गर्नुहुन्छ, के काम गर्नु हुँदैन भन्ने थाहा छ। अर्को कुरा, महाप्रबन्धक हुनुअघि म चार्टर एकाउन्टेन्ट पेसामा थिएँ। त्यसैले मलाई धेरै कुरा सिकाएको छ। मैले सरकारी संस्थामा नेपाल टेलिकमदेखि खानेपानी संस्थादेखि सबैमा कुनै न कुनै काम जोडिएर गरेको छु। चाहे अडिट होस् वा अन्य काम पनि मैले गरेको छु। त्यसो भएकाले मलाई राम्ररी थाहा थियो- सर्वजानिक संस्था कसरी चल्छ, समस्या के हो? मजदुर युनियनहरूका समस्या के हुन्? त्यसलाई कसरी समाधान गर्ने, कुन मजदुरका कुरालाई वास्ता गर्ने, कुन कुरालाई वास्ता नगर्ने। यस्ता सबै ज्ञान भएकाले पनि मलाई सजिलो भयो। मैले नेपाल र भारतका सबैजसो उद्योग तथा व्यापारिक प्रतिष्ठानसँग जोडिएर काम गरेको छु। त्यसैको अनुभव पनि प्रयोग गरेर काम गरेको हुँ।

    नेपालमा सरकारी उद्योग/संस्थानहरू किन धराशायी बन्दारहेछन्? बुँदागत रूपमा भनिदिनुहोस् न?

    कोही मान्छेले पिएचडी गर्ला। ऊ सिद्धान्तमा जान्ने होला तर अभ्यासमा पक्कै सक्दैन। हाम्रो बुझाइ, टेक्निकल इस्टिच्युटमा टेक्निकल मान्छे नै चाहिन्छ भन्ने छ। कति कुरामा यो सही छ तर यो सिमेन्ट फ्याक्ट्री बनाउने, सिमेन्ट उत्पादन गर्ने कुरामा सही छैन। टेक्निकल कुराहरू बजारमा जति पनि किन्न पाइन्छ तर म्यानेजमेन्ट पाटोका कुराहरू पाइँदैन। त्यो नै मुख्य कुरा हो।

    विशेष गरेर चार्टर एकाउन्टेन्टहरू, म्यानेन्जमेन्ट पढेकाहरूले उद्योगहरूको लिड गर्नुपर्छ। हिजोका दिनमहरू पोलिटिकल मान्छेहरू अलिक बढी खोजियो। त्यसले गर्दा पनि काम हुन सकेन।

    त्यसो भए हिजोका दिनमा सरकारी संस्थान, उद्योगमा राजनीतिक नियुक्तिले समस्या पारेको थियो? अधिकांश सरकारी संस्था वा उद्योग धराशायी बन्नुमा राजनीतिक नियुक्ति नै प्रमुख कारक हो? 

    होइन, मेरो पनि राजनीतिक नियुक्ति नै हो नि त! ती राजनीतिक नियुक्ति गर्ने चस्माहरूले कुन मान्छे उपयुक्त छ वा छैन भनेर छान्नुपर्‍यो। काम गर्न सक्छ कि सक्दैन भनेर छुट्याउनुपर्‍यो अनि मात्र सबै कुराको सम्भव छ। उदयपुर सिमेन्टमा नपढेको मान्छे त को आएको थियो र? सबै धेरैधेरै पढेलेखेका नै आएका थिए। 

    यो कमर्सियल विजनेस हो। यसको आफ्नै थिम, मूल्य, मान्यता हुन्छ। जस्तो : धागो गाँठो पार्दा तरिका पुर्‍याएर खोल्नुभयो भने खुल्छ। तरिका पुगेन भने काट्नुपर्छ। त्यो गाँठो परेको धागोलाई फुकाउन पनि जान्नुपर्छ। कहाँ समाउने, कहाँ टेक्ने, के काम गर्ने, के काम नगर्ने थाहा पाउनुपर्छ। मैले यिनै कुरा थाहा पाएँ अनि गरेँ।

    गाँठो परेको ठाउँ पत्ता लगाएर फुकाउँदा कति गाह्रो भयो?

    मैले भन्न खोजेको कुरा हो भने उद्योगको उत्पादन कम भयो। उद्योगकै कर्मचारी र मजदुरले एउटा एउटा समस्या सामाधान गर्दै जाऔँ भन्नुभयो। मैले भने बहुरूपमा समस्या सामधान गर्दै जाऔँ भने। किनभने एक पटक सट डाउन हुँदा हिट गर्न धेरै समय लाग्छ। एक पटक सट डाउन गर्दाको सबै समय प्रयोग गरियो। पछिल्लो ३३ दिनको सट डाउनमा सबै कुरामा टच गरिएको छ। 

    भन्नुको मतलव सबै कुराको मर्मत गरिएको छ। उद्योगका सबै कुरा मर्मत गरिएको थियो। उद्योगमा आउने समस्याहरूलाई आजै हेरिहाल्ने, भोलिलाई नराख्ने गरिएको छ। त्यसैले गर्दा उद्योग स्थापना भएको २६ वर्षपछि पूर्ण रूपमा मर्मत गरिएको छ। त्यही भएकाले पूर्ण क्षमतासाथ उत्पादन गरिएको छ। 

    उदयपुर सिमेन्ट उद्योगले साँवा र व्याज गरेर साढे दुई अर्ब रुपैयाँ तिरिसकेका छौँ। अहिले त्यो पुरानो कुरालाई म मान्न तयार छैन। नेपाल सरकार र उदयपुर सिमेन्ट उद्योगबीच एउटा सम्झौता छ। त्यसमा कुनै पनि विदेशी विनिमय दरको एक्सचेन्ज लस सरकारले व्योहोर्छ भनेर लेखिएको छ। जुन बेला सिमेन्ट उद्योग बन्ने प्रोजेक्ट सकिएर अहिलेसम्म आउँदा करिव छ अर्व ४४ करोड रुपैयाँ पुगेको छ।

    अब आउने दिनमा उद्योगका समस्याहरू केके हुन सक्छन्?  

    आज हामीले साढे २३ घण्टामा ८५० मेट्रिक टन उत्पादन गर्‍यौँ। करिव सात दिनमा हामीले फुल फेजमा उत्पदन गरिरहेका छौँ। अबका दिनको समस्या र च्यालेन्ज भनेको फुल फेजमा उत्पादन गर्न टिकाइरहनु हो। 

    २६ वर्ष पुरानो केमिकल फ्याक्ट्री हो। केमिकल फ्याक्ट्रीको मेसिनको आयु हुन्छ। कति बिग्रन्छ, फेर्नुपर्छ, मर्मत गर्नुपर्छ। अब हामीलाई व्याकअप चाहियो। गुणस्तरीय इक्विपमेन्टहरू चाहियो। एउटा इक्विपमेन्ट बिग्रेपछि अर्डर गरेर आउँदा कम्तीमा छ महिना हामीलाई लाग्छ। यो पुरानो स्टिमको सिमेन्ट फ्याक्ट्री हो। यसका कतिपय इक्विपमेन्टहरू पनि पाइँदैन। अबको च्यालेन्ज भनेको इक्विपमेन्टको डिजाइन गरेर तयारी राख्नु हो। त्यसका लागि विभिन्न कम्पनीहरू खोज्नु र तयारी बस्नु हो। मुख्य इक्विपमेन्टहरू तयारी हुनुपर्‍यो। त्यसका लागि ठूलो धनराशि चाहिन्छ। ठूलो प्लानिङ पनि चाहिन्छ। 

    विद्युत आपूर्तिमा समस्या छैन?

    विद्युततर्फका समस्या धेरै छन्। हजार जिब्रा भएका शेष नागले पनि वर्णन गर्न सक्दैन। तर विद्युततिरको समस्या पनि सामधान हुँदै गएको छ। सुधार हुँदै गएको छ। हिजोको जस्तो विद्युतको समस्या छैन। चेन्ज ओभरमा समस्या थियो। अहिले सातै मिनेटमा चेन्जओभर हुन थालेको छ। त्यसका लागि विद्युत प्राधिकरणलाई धन्यवाद। 

    हामीले डेडिकेटर फिडरमा पैसा तिरिरहेका छौँ, जुन भनेको डबल पैसा तिरिरहेका छौँ। डबल पैसा तिरेपछि हामीले मागेजति विद्युत चाहियो। यदि नदिने हो भने हामीलाई डबल पैसा लिने डेडिकटर फिडरबाट हटाइदिनुपर्‍यो। 

    उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता दोब्बर बनाउने योजना कहाँ पुग्यो? 

    अहिले जसरी हामी फुल फेजमा उत्पादन गरिरहेका छौँ, त्यो पनि क्षमता विस्तारै हो। तीन सय, साढे तीन सय मेट्रिक टन उत्पादन गर्दै ८०० मा पुगेका छौँ। त्यो पनि क्षमता विस्तार नै हो। योचाहिँ बनिरहेको बाटोमा हामी हिँड्यौँ। अब हिँड्नलाई बाटो छैन। अब साधन स्रोतको जरुरी छ।

    यसको डिपिआर बनाउनका लागि चार करोड रुपैयाँ लाग्छ। ठूलो प्लान मात्र बनाएर हुँदैन। मजदुर पनि चाहिन्छ। १८ सय मेट्रिक टन बनाउने भनेर प्रोपोजल मन्त्रालयमा बुझाएका छौँ। मन्त्रालय पोजिटिभ छ। सरकार र मन्त्रालयले गर्ने भए लोन लिएर गर्नुहोस् भनेका छन्। त्यो क्षमता बढाउन भएको क्षमतामा पुग्नुपर्‍यो नि! 

    उदयपुर सिमेन्ट उद्योगले धेरै सरकारी ऋण तिर्न बाँकी छ भन्ने थियो। अहिले त चर्चा पनि हराउन थाल्यो नि?

    उदयपुर सिमेन्ट उद्योगले साँवा र व्याज गरेर साढे दुई अर्ब रुपैयाँ तिरिसकेका छौँ। अहिले त्यो पुरानो कुरालाई म मान्न तयार छैन। नेपाल सरकार र उदयपुर सिमेन्ट उद्योगबीच एउटा सम्झौता छ। त्यसमा कुनै पनि विदेशी विनिमय दरको एक्सचेन्ज लस सरकारले व्योहोर्छ भनेर लेखिएको छ। जुन बेला सिमेन्ट उद्योग बन्ने प्रोजेक्ट सकिएर अहिलेसम्म आउँदा करिव छ अर्व ४४ करोड रुपैयाँ पुगेको छ।

    आजको दिनम्म आउँदा उदयपुर सिमेन्ट उद्योगभन्दा ठूलो फ्याक्ट्री चार अर्ब रुपैयाँमा बनिरहेका छन्। २६ वर्षअघि छ अर्ब रुपैयाँमा ८०० मेट्रिक टन क्षमता भएको फ्याक्ट्री बनाउन अहिले हेर्दा पनि व्यावहारिक छैन। मैले यो कुरा अर्थ मन्त्रालय, महालेखामा पनि राखेको छु। यस विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयबाट एउटा कमिटी बनेको छ। त्यसले केही निष्कर्ष निकाल्छ होला। सबै तिर्नुपर्‍यो भने उदयपुर सिमेन्टको केही पनि रहँदैन। सरकारले ६० प्रतिशत सरकारको पैसा भनेको छ। ४० प्रशितशत मात्र लोन भनेर लेखिएका कागजी प्रमाणहरू छन्। ६० प्रतिशत सरकारले नै व्यहोर्ने भनेर सम्झौता छ। त्यो ६० प्रतिशत सरकारले व्यहोर्दा हामीले ४० प्रतिशत मात्र तिर्नुपर्छ। ४० प्रतिशत मात्र तिर्दा उदयपुर सिमेन्ट उद्योग क्षमता विस्तारमा पनि सहजै अघि बढ्छ।

    समग्रमा हेर्दा, कागजी प्रक्रियालाई पनि हेर्दा उद्योगको ऋण छ वा छैन पनि सरकारले गर्ने निर्णय हो। त्यो सबै उद्योग स्थापना हुँदाका कागज नै हुन्। 

    उद्योगको प्रदूषण कसरी नियन्त्रण भयो?

    संसारमा उद्योग बन्द हुनुको मुख्य कारण भनेको प्रदूषण हो। उद्योगसँग पैसा, उत्पादन हुँदाहुँदै पनि बन्द भएका संसारका धेरै उदाहरणहरू छन्। म यस कुरामा प्रष्ट थिएँ। प्रदूषण् नियन्त्रण गर्नुपर्छ भन्ने लक्ष्य पनि लिएँ। मैले टिम बनाएर अध्ययन पनि गरेँ। केही काम बाँकी रहेर प्रदूषण भएको थियो। सानो लगानीमा विज्ञहरू ल्याएर नियन्त्रणको काम गर्‍यौँ।

    तीन करोड रुपैयाँको टेन्डर आह्वान गरेका थियौँ। एक करोड ५० लाख रुपैयाँमा टेन्डर पर्‍यो। त्यसैले उद्योगले उद्योगबाट उड्ने धुलो धुवाँ नियन्त्रण गर्न इलेक्ट्रो स्टारिक पावर मेसिन जडान गर्‍यौँ। त्यसैले ठीक गर्‍यो। करिव अब १० वर्षका लागि उद्योग प्रदूषणमुक्त पनि भयो।

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]