विचार

अनन्त आनन्दको स्रोत होसपूर्ण जीवन
SHARES

पुस १४, २०७५

    'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक' : महाकवि लक्ष्मीप्रसाद देवकोटा

    हामी लक्ष्य र उद्देश्य बोकेर बाँच्नुपर्छ भन्ने संस्कारमा हुर्के बढेका हौँ। सानै हुँदादेखि परीक्षा वा प्रतियोगितामा प्रथम हुँदा वाहवाही गरेर अबिर दलिदिने। परीक्षामा वा प्रतियोगितामा पछाडि पर्दा होच्याउने संस्कारले हामीलाई महत्त्वाकांक्षी बनाइदिएको छ। हामी अबोध हुँदैदेखि महत्त्वाकांक्षाको संस्कार सिकिरहँदा हामीले जीवनमा कति गुमायौँ, त्यो हामीलाई पत्तै छैन। महत्त्वाकांक्षाले हामीलाई व्याकुल बनायो तर हामीलाई हाम्रो व्याकुलताको कारण थाहा नै छैन।

    अध्यात्म विज्ञानले आजसम्म गरेको उपलब्धिको सार भनेको ‘जीवन अहिले र यहाँ छ’ भन्नु हो। यही सूत्रबोध गर्ने मानिस बुद्ध भए। यही सूत्र नबुझ्ने मानिस जीवन बडो कष्टपूर्ण तरिकाले बाँचिरहेका छन्। हामीलाई ज्ञान छैन तर लक्ष्य बोकेको महत्त्वाकांक्षी चित्तमा वर्तमान क्षणप्रति होसपूर्ण हुनसक्ने क्षमता हुँदै हुँदैन।

    मनोवैज्ञानिक जीवन र अस्तित्वगत जीवन

    विगतको सम्झना र भविष्यको कल्पना गर्न सकिन्छ तर तिनमा बाँच्न सकिँदैन। सम्झना र कल्पना सत्य नभई मनोवैज्ञानिक आयाम मात्रै हुन्। विगतको समय कुनै बेलामा वर्तमानको क्षण थियो। भविष्य पनि भोलि वर्तमानको क्षण हुनेछ। अस्तित्वगत रूपमा वर्तमान मात्रै सत्य हो। जीवन भन्नु वर्तमानको क्षणमाथि क्षणको लामो शृंखला हो। हरेकले बाँच्नुपर्ने वर्तमानमै हो। सवाल त केवल सम्झना र कल्पनाको मनोवैज्ञानिक संसारमा हराउने कि होसपूर्ण भएर अस्तित्वगत संसारमा बाँच्ने भन्ने हो। अनि बाँच्ने आधारमा तदनुरूपको परिणाम भोग्नुपर्ने हुन्छ। कल्पना र सम्झनामा रमाउनेको जीवन दुःखपूर्ण हुन्छ अनि होसपूर्ण भएर बाँच्नेको जीवन महोत्सव हुन्छ। 

    इन्द्रिय सुख र मनको आनन्द 

    आन्तरिक अशान्तिका कारण मानिस भौतिक वस्तुबाट पंच ज्ञानेन्द्रियहरू (आँखा, मुख, नाख, कान र छाला)को संवेगलाई सन्तुष्ट पारेर प्राप्त हुने सुख खोज्न थाल्छ। भौतिक सुखका लागि वस्तुको संचय गर्न जरुरी छ। यसका लागि समाजमा प्रतिस्पर्धा गर्नै पर्छ। कुनै भौतिक वस्तुले दिने सुख अस्थायी स्वभावको हुन्छ तर मनको आन्तरिक आनन्द दीर्घकालीन स्वभावको हुन्छ अनि स्वयंमा आनन्दित हुने मान्छेलाई बाहिरी वस्तुको महत्त्व हराएर जान्छ। आफ्नै नाभीको गन्ध खोजेर दौडिरहेको मृगजस्तो आन्तरिक आनन्दमा मजा लिन नजान्दा जीवनभर पंच इन्द्रियको सुखका निम्ति हामी कहिल्यै पनि नटुंगिने यात्रामा बेलगाम दौडिरहेका छौँ। तर मनको आनन्दको अनुभूति हामी किन गरिरहन सकेका छैनौँ त? किनकि हामीले खुसी बाहिरी जगतमा खोज्यौँ, आफ्नै मनमा होइन। आफ्नो मनलाई बोध गर्न साँच्चैको होसपूर्ण हुन जरुरी छ। जीवनमा होसपूर्ण भएर बाँच्ने नै अन्तत: आन्तरिक आनन्दको हकवाला हुन्। 

    होसपूर्ण हुनुको अर्थ

    हामीले जीवनको अधिकांश समय विगतका घटना सम्झेर र भविष्यको कल्पना गरेर बिताएका छौँ। सम्झना र कल्पना गरिरहँदा मात्रै होइन, हामीले ९९ प्रतिशत काम होसपूर्ण भएर गरेका हुँदैनौँ। बुद्ध व्यक्तिले हरेक क्षण क्षणमा सम्पूर्ण रूपमा होसमा रही जीवनलाई भोग्छ, न उसले कुनै कुराको सम्झना गर्छ, न कल्पना नै। शरीरिक रूपमा मात्रै होइन, बुद्ध मानिस मानसिक स्तरमा शत प्रतिशत वर्तमानको क्षणमा उपस्थित हुन्छ। चलाउँदै गरेका औँलाहरू, काँप्दै गरेका ओठहरू, झिम्झिम हुँदै गरेका परेलाहरू इत्यादिलगायत रक्त–प्रवाहजस्ता शरीरभित्रको संवेदना तिनले महसुस गरिरहेका हुन्छन्। आँखाले हेर्दै गरेको, कानले सुन्दै गरेको, छालाले स्पर्श गरेको प्रति तिनीहरू जागरुक हुन्छन्। वासना जागेको, रमाएको, रिस उठेको आदि मनका विभिन्न अवस्थाहरू तटस्थ भएर हेरिरहेका हुन्छन्। तिनीहरू सम्झना गर्छन्, कल्पना गर्छन् वा अन्य कुनै विचार गर्छन्। के गरिरहेको छु भनेर होस राखेर गर्छन्। 

    आन्तरिक आनन्दका लागि होसपूर्ण जीवन

    होसपूर्ण हुनु भनेको जगतमा के भइरहेको छ भन्ने घटनाहरूबारे थाहा पाउनु मात्रै होइन, आफूले गरेका हरेक क्रियाकलापहरू गरिरहेको अवस्थाबारे, बाहिरी वा आन्तरिक कारणले शरीरमा प्रकट हुँदै गरेको संवेदना, मस्तिष्कमा उत्पन्न विचार र मनमा उत्पन्न हुँदै गरेको मनोदशाको सन्दर्भमा तत्क्षण नै निरन्तर मानबाट बोध हुनु हो। होसपूर्ण नहुँदा हामी किन दुःखी हुन्छौँ भन्ने सन्दर्भमा तीनवटा कुराको चर्चा गर्दै छु। 

    पहिलो कुरा, जब हामी होसपूर्ण हुँदैनौँ, हरेक पल पंच इन्द्रियको उपयोग गरिरहँदा केही न केही संस्कार हाम्रो मस्तिष्क र शरीरमा विकास हुँदै गरेको हुन्छ। जस्तै : खाँदै गर्दा जिब्रोको माध्यमले मीठो र नमीठो स्वाद अनुभूति गरिरहँदा हामीले मीठो खान मन पराउने र नमीठो खान मन नपराउने संस्कार विकास गरिरहेका हुन्छौँ। एवं प्रकारले हेरिरहँदा, स्पर्श गरिरहँदा, सुनिरहँदा र सुँघिरहँदा हरक्षण हाम्रो मस्तिष्क र शरीरमा संस्कारको विकास भइरहेको हुन्छ। वर्तमानप्रति होसपूर्ण नहुँदा हामीले नयाँ संस्कार मात्रै बनाएका हुँदैनौँ, सँगसँगै पुरानो संस्कारलाई झन्‌झन् बलियो बनाउँदै लगेका हुन्छौँ। वर्तमानमा आफ्नो मनोभावको अवस्थाप्रति होसपूर्ण नहुँदा पनि हाम्रो मनमा आउने दुःख, पीर, खुसी रमाइलो लाग्नुलगायतका मनोभावहरूको विकास गरिरहेका हुन्छौँ। जस्तै : प्रथम पटक कुनै मानिसले हाम्रोबारे कुरा काट्दा हामीलाई मन दुख्यो। अब अर्को दुरुस्तै प्रवृत्तिको घटनामा हाम्रो मन क्रमशः झन्‌झन् बढी मात्रामा दुख्दै जानेछ। यदि हामीले आजैबाट कसैले हाम्रो कुरा काटेको अवस्थामा दुख्दै गरेको मनप्रति होसपूर्ण हुनेछौँ भने केही पछि अरू कसैले हाम्रो कुरा काट्दा हाम्रो मन दुख्ने हुँदैन। 

    सम्झना र कल्पना बेहोसीका सूचक हुन्। तिनको अवसानमा होस् बलियो हुँदै आउँछ- रात हराउँदै गएपछि प्रकाश छाउँदै आएको जस्तै। जसरी सूर्यको प्रकाशले आफूसँगै न्यानो बोकेर आउँछ, होसले आनन्दलाई उसै गरी सँगसँगै लिएर आउँछ।  

    दोस्रो कुरा, हामी कल्पना र सम्झनामा यस कारण रमाउँछौँ कि हामीलाई हाम्रो वर्तमान अवस्था आनन्ददायक हुँदैन। हामीले विगतको सम्झना गर्दा कि त कष्टपूर्ण समय कि त खुसीको समय सम्झन्छौँ अनि विगतका कुराहरू भविष्यमा दोहरिऊन् र मनले नचाहेका कुराहरू भविष्यमा कहिलै नदोहरिऊन् भनेर कामना गर्छौं अनि भविष्यको कल्पना गर्दा वर्तमानमा भोग्न नपाएका कुराहरूको सुख भोग गर्ने कामना गर्छौं। तर जीवन त केवल वर्तमानमा छ कल्पना र सम्झनामा रमाउनेहरू जबजब कल्पना र सम्झनाबाहिर यथार्थ संसारमा ओर्लन्छन्, तबतब मनले सिँगारेको संसारसँग यथार्थ परिस्थिति मेल नखाँदा मानिसहरू दुःखी हुन्छन्। तर होसपूर्ण भएर वर्तमानमा बाँच्नेहरूले जीवनमा आइपरेका दुःखसुखका अवस्थाहरूमा परिवर्तनको लालसा पालेका हुँदैनन्। होसपूर्ण भएर जीवनलाई हेर्दा थाहा हुन्छ, हरेक कुरा परिवर्तनशील छन्। दिन र रातको चक्रजस्तै आजको खुसीले भोलिको दुःखलाई निमन्त्रणा दिएको हुन्छ अनि आजको दुःखले भोलिको खुसीलाई। परिवर्तनशीलताको यही सत्यलाई गहिराइमा आत्मासात गर्नु नै आनन्दको स्रोत हो।   

    तेस्रो कुरा, मनोवैज्ञानिक आयामको क्षेत्र अथाह छ। हामीसँग सम्झना गर्न वर्षौं लामो विगत छ अनि कल्पनाको क्षेत्रको फैलावट असीमित छ। मनोवैज्ञानिक संसारमा मनलाई उड्न ठूलो आकाश छ। ठूलो र फैलिएको आयाममा मनले बेलगाम चंचल हुने मौका पाउँछ। बसमा राख्न नसकिएको मनमा विचारको बाढी आउँछ। व्याकुलता र अशान्ति आउँछ।

    यसको विपरीत वर्तमानको यो क्षण केवल एउटा विन्दु हो। विन्दुमा अडिँदा मनले खेल्ने ठाउँ पाउँदैन। मन बेलगाम नभई हाम्रो अधीनमा हुन्छ। अधीनमा राख्न सकिएपछि मन शान्त हुन्छ। सम्झना, कल्पना र सोचाइहरू बिलाएर जान्छन्। सम्झना र कल्पना बेहोसीका सूचक हुन्। तिनको अवसानमा होस् बलियो हुँदै आउँछ- रात हराउँदै गएपछि प्रकाश छाउँदै आएको जस्तै। जसरी सूर्यको प्रकाशले आफूसँगै न्यानो बोकेर आउँछ, होसले आनन्दलाई उसै गरी सँगसँगै लिएर आउँछ।  

    होसपूर्ण हुने कसरी?

    वास्तवमा होसपूर्ण हुने सन्दर्भमा ध्यान गर्नु अपरिहार्य हुन्छ। तर सुखसयलका भौतिक वस्तुको संचय र उपभोग गर्न समय खर्चिरहेको यो समाजमा सबै कुरा छाडेर ध्यान गर्न ध्यानको उपयोगितालाई शंकाको दृष्टिकोणले हेर्ने वा विश्वास लागे तापनि आलटाल गरेर ध्यान नगर्ने मानिसको भीड छ। यो सत्यलाई मध्यनजर गरेर यहाँ केही उपायको चर्चा गर्दै छु। तथापि, शिविरमा बसेर ध्यान गर्नुजतिकै यी कुरा प्रभावकारी हुँदैनन्। तर यहाँ भनिएको उपायका सन्दर्भमा छुट्टै समय निल्कान जरुरी छैन। यी कुराहरू सकभर निरन्तर गर्दा राम्रो तर बिर्सिएमा पनि केही छैन। सम्झिएको बेला गर्ने गर्नुहोस्। विस्तारै यस्तो कार्यको समय बढाउँदै लैजानुहोस्। 

    प्रथम कार्य भनेको फुर्सद हुँदा वा गर्न मिल्ने समयमा आफू जुन अवस्थामा हुनुहुन्छ, त्यो अवस्थामा रहेको कल्पना गर्नुहोस्। जस्तै : कुर्सीमा बस्दै गरेको हुनुहुन्छ भने जहाँ जसरी बसेको हो, त्यहीअनुरूपको चलचित्रझैँ सम्झनुहोस्। केही काम गरिरहँदा पनि तदनुरूप नै गर्नुहोस्। तपाईं साँच्चैको फुर्सदमा हुनुहुन्छ भने यसरी सम्झिएपश्चात आँखा बन्द गरेर आफूलाई राम्रोसँग मनले नियाल्नुहोस्। यसरी नियाल्दा शरीरका विभिन्न भागमा संवेदना जाग्दै गरेको हुन्छ। शरीरको जुन भागमा अन्य भागको तुलनामा बढी घनीभूत संवेदना महसुस हुँदै छ, त्यही भागको सकभर सानो क्षेत्रमा मनलाई केन्द्रिकृत गरेर संवेदनालाई महसुस गर्ने गर्नुहोस्। जबजब अवसर प्राप्त हुन्छ, यस्तो गर्ने गर्नुहोस् तर राती ओछ्यानमा पल्टिएपछि निदाउनु अगाडि भने यो प्रक्रिया हरेक दिन गर्ने गर्नुहोस्। यसो गर्दा केही दिनपछि निदाएको बेला हाम्रो मस्तिष्कले आफसे आफ शरीरको संवेदना हेर्न थाल्नेछ।

    दोस्रो कार्य भनेको जे काम गर्दै हुनुहुन्छ, सँगसँगै सोहीबमोजिम मनमनै भन्ने गर्नुहोस्। जस्तै : लेख्दै हुनुहुन्छ भने ‘लेख्दै छु ... लेख्दै छु’ भन्ने, कुनै कुरा हेर्दै हुनुहुन्छ भने ‘हेर्दै छु ... हेर्दै छु।’ त्यस्तै कार्यअनुरूप हिँड्दै छु, उभिँदै छु, बस्दै छु ... इत्यादि भन्ने। यस्ता काम गरिरहँदा सम्भव भएसम्म विस्तृत रूपमा गर्दा अझै राम्रो हुन्छ। उदाहरणका लागि, चम्चाले खाना खाँदै गर्दाको प्रसंगलाई लिऔँ। चम्चाले खाना उठाउँदै गर्दा 'उठाउँदै छु ... उठाउँदै छु..' भन्ने। त्यस्तै, जे गर्दै गरेको हो, त्यहीअनुरूप आँ गर्दै छु, मुखमा हाल्दै छु, चपाउँदै छु, स्वाद लिँदै छु, निल्दै छु भन्ने। यति विस्तृत रूपमा गर्न नसके खाँदै छु मात्र भन्दा पनि हुन्छ। 

    त्यस्तै, रिस उठेको महसुस हुँदा ‘रिस उठ्दै छ ... रिस उठ्दै छ ...’ भन्ने। वासना, खुसी, इर्ष्या इत्यादि जस्तो भाव मनमा जाग्दै छ, त्यहीअनुरूप मनमै भन्ने। यदि विचार, कल्पना वा सम्झना गरिरहेका छौँ भने होस् हुनासाथ विचार आउँदै छ ... विचार आउँदै छ भन्ने। हाई आउँदा, हाच्छ्यूँ आउँदा, खोकी लाग्दा पनि सकेसम्म तदनुरूप मनमनै भन्ने। 

    तर यो सिंगै प्रक्रियामा ‘म’ वा ‘मैले’ जस्ता शब्दको प्रयोग गर्नै हुँदैन। जस्तै : मैले खाँदै छु। म हिँड्दै छु आदि। यी सबै प्रक्रियामा आफैँलाई होसपूर्ण भएर हेर्दै गर्दा हामी भोक्ताभावबाट द्रष्टाभावमा रूपान्तरित हुँदै गरेका हुन्छौँ अर्थात् आफूले गरेको क्रियालाई पनि अरूले गरेको जस्तै गरी हेरिरहेका हुन्छौँ। ‘म’, ‘मैले’ र ‘मलाई’ जस्ता शब्दले भोग्नुलाई जोड दिन्छन् तसर्थ यी शब्दहरू प्रयोग गर्नु हानिकारक हुन्छ।  

    हो, यो काम झन्झटिलो छ तर यसलाई जीवनको रुटिन नै बनाउँदै लैजानुहोस्। केही समयपछि यस्तो कार्य सजिलो लाग्दै जानेछ। मिलेसम्म ध्यान पनि गर्ने गर्नुहोस्। अनन्त आनन्दको हकदार तपाईं पनि हुनुहुनेछ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]