फिचर

रहर लतमा परिणत भएपछि
SHARES

'पोखराकै माटोमा सुस्ताउन चाहन्छु'

पुस १९, २०७५

    काठमाडौं : बेलायतका लाहुरे बुबा। लाहुरे जीवनमा बगाएको पसिना र लामो अनुभवको निष्कर्ष उनले निकाले, 'आफ्ना तीन भाइ छोरा लाहुरे नहून्, देशको माटोमा कृषि पेसा गरेर आफ्नो अस्तित्व स्थापित गरून्।' दुई छोरामध्ये माइला हङकङ लागे। जेठा मल्टिनेसनल कम्पनीतिर। कान्छो छोरा न लाहुरे भयो न कृषिमा लाग्यो। उ नाटकको दुनियाँमा हराउन थाल्यो।

    यो बुबाको टाउको दुखाइको विषय बन्न पुग्यो। छोराहरूको सुन्दर भविष्यको कल्पना गर्ने बुबा आज यो धर्तीमा छैनन्। नेपाली रंगमंच र फिल्मका सफल अभिनेता माओत्से गुरुङले बुबा जिउँदो भएको भए भन्ने थिए रे, 'फिल्म र कृषि उस्तै हो बुबा। दुवैले बजार खोज्छन्। ग्राहकको सन्तुष्टि नै पहिलो धर्म मान्छ फिल्मले।'

    कास्कीमा जन्मिएका उनी विक्रमको ५० को दशकबाट नेपाली रंगमंचमा लागेका हुन्। उनका लेखन र निर्देशनमा धेरै गुरुङ भाषाका फिल्म बनेका छन्। गाउँका अन्य साथी पोखरामा पढ्नका लागि कोठा लिएर बस्थे, उनीचाहिँ अभिनय सिक्नतिर लागे।

    सुस्ताएको पोखराको रंगकर्म पछिल्लो क्रममा जुर्मुराएको छ। कुनै बेला पोखरालाई नाटकको उर्वर भूमि मानिन्थ्यो। साठीको दशकमा नाटकको प्रभाव पोखरामा कम भएको थियो। छिटपुट रूपमा नाटक मंचन नभएका होइनन्, छिटपुट रूपमा रूपमा मंचन गरिएको नाटकले पोखरेली नाटकको विरासतलाई धान्न सक्ने अवस्था थिएन। अब पोखरामा नाटक मंचनले तीव्र रूप लिन थालेको छ। पोखरामा बसेर नाट्यकर्ममा लागिरहेका नाटककार कृष्ण उदासी, पछिल्लो क्रममा रेम विक, परिवर्तन, दिलु गुरुङ, कपिल शर्मा, सौगात पोखरेलहरूले सुस्ताएको पोखरेली नाटकलाई व्युँताउने प्रयत्न गरिरहेका छन्।

    नाटकमा लागिरहँदा पारिवारिक जिम्मेवारीले थिचेपछि केही समय नाटकबाट पर रहेका थिए उनी। आफूले पोखरेली नाटकको स्तरवृद्धि गर्न सक्दो भूमिका खेल्न नसकेको उनले स्वीकार गरे। नाटक सुस्ताउनुका पछाडिको दोष लिन उनी तयार छन्। अब उनी आफ्नो समय नाटकलाई दिन तयार छन्। वर्षौंपछि उनी नाटकमा फर्किएका छन्। 'अटलबहादुरको आतंक' र 'सिरुमारानी' बाट पुन: उनी पोखरेली रंगमंचमा देखिएका हुन्। पारिवारिक जीवनमा चाहिने आधारभूत आवश्यकता बनिसकेपछि उनी पुन: नाटकमा लागेको बताउँछन्।

    अहिलेको पुस्ता नाटक पढेर, बुझेर नाटकबाट नै कसरी जीवन चलाउन सकिन्छ भन्ने नयाँ सोचका साथ नाटकमा प्रवेश गरिरहेका छन्। नाटकप्रति दर्शकले गंभीर हुँदै जाँदा व्यावसायिक रूपमा जीविकोपार्जनको आधार बन्न थालेको उनले बताए। नाटकको क्षेत्रमा उनलाई आदर्श मान्ने नयाँ पुस्ता उस्तै छ। उसो त नेपाली रंगमंचले उनलाई लिएर गर्व गर्छ या गर्दैन, त्यो समयले बताउँछ। तर उनी अभिनित धेरै नाटकले उनको अभिनय कला अब्बल छ भन्ने पुष्टि गरिसकेको छ। उनी अचेल फिल्म निर्माण र अभिनयमा व्यस्त छन्। 

    नाटक होस् या फिल्म, उनी आफूलाई अभिनयको हिसाबले सहज मान्छन्। उनी भन्छन्, 'रमाइलो, सन्तुष्टि र समस्याको चाङ दुवैमा छ।' मानिसहरूले अभिनयको हिसाबले यी दुवै एकै हुन् भन्ने ठान्छन् तर अभिनय, प्राविधिक रूपले, पर्फर्मेन्सका दृष्टिले फरक रहेको उनले बताए। नाटकको दुनियाँबाट लामो समय हराउनुभयो नि? भन्ने थाहाखबरको प्रश्नमा उनी भन्छन्, 'नाटकको दुनियाँबाट हराएको होइन नि। नाटकका लागि अनुकूल समय नमिलेकाले मात्र हराएको जस्तो देखिएको हो।'

    पचासको दशकमा उनी नेपाली नाटकमा आउँदा देखिएको रगंकर्मको अवस्था र अहिलेको अवस्था धेरै फरक रहेको पनि उनले बताए। आफूहरू रहरै रहरले यस क्षेत्रमा प्रवेश गरेको उनी स्वीकार्छन्। अहिले नाटक कर्मका बारेमा जति बुझेर नयाँ पुस्ता आएका छन्, त्यस बेला त्यस्तो नरहेको उनले बताए। उनी भन्छन्, 'हाम्रो समय एकदम उदेक लाग्दो थियो। त्यस बेला नाटक हलको समस्या थियो। अब यो समस्यामा केही सुधार भएको छ।'

    साना नाटकलाई छाडेर चर्चामा आएका नाटकको हिसाबले 'क्रिया : नाम, सर्वनाम, विशेषण', 'भीक्षांदेही', 'मलामी', 'सिरुमारानी', 'अटलबहादुरको आतंक', 'हारेका मान्छेहरू', 'तपस्या'लगायतका १२ वटा नाटक गरेका छन्। फिल्मको हिसाबले गुरुङ भाषाको फिल्म 'रिचमे', 'पतझड', 'काँडा', 'कृपा', 'अचम्मै भो', 'नकैफूँ' फिल्म, 'पाते २' र 'कबड्डी कबड्डी', 'व्हाइट सन', 'पुरानो डुंगा', 'अग्निदहन', 'चङ्गाचेट' नेपाली गरेर फिल्मको संख्या २० बढी छन्। 

    उनको लेखन र निर्देशनमा नयाँ फिल्म 'दयारानी' बैशाखमा रिलिज गर्ने लक्ष्यका साथ सुटिङ भइरहेको छ। यो सिनेमाको नाम विशुद्ध गुरुङ समुदायमा हुने रोधी संस्कृतिमा राम्री युवतीलाई दिइने उपमाबाट राखिएको हो। अहंकारी श्रीमानका कारण एउटी दयालु श्रीमतीले कस्तो खाले पीडा भोग्नुपर्छ भन्ने  कथा नै यस फिल्ममा रहेको छ। यो कास्कीका गाउँहरूमा छायांकन गरिएको उनले बताए।

    केही समयअघिसम्म नेपाली फिल्म विशुद्ध मनोरंजनका लागि बनाइने गरेको थियो। अब यतिले मात्र एउटा फिल्म पूर्ण हुन नसक्ने उनको पनि बुझाइ छ। मनोरंजन सँगसँगै यसले समाज देखाउन जरुरी छ। यसको मतलब फिल्म समाजको ऐना होइन। देशमा सामाजिक, आर्थिक, राजनीतिक रूपमा  चलिआएको, चलिरहेको, चल्न बाँकी संगति र विसंगतिका कथा आउनु जरुरी छ।

    सारमा नेपालीको आफ्नो मौलिक कथा आउन जरुरी छ। नेपालको राजनीतिक परिवर्तनसँगै आंचलिकता, मौलिकता, विभिन्न भेगीय र क्षेत्रीय कथाहरू पनि बन्न थालेका छन्। कुनै बेला एउटै अनुहारले नेपाली फिल्म चल्ने गरेको थियो। अब त्यो अवस्था नभएको र फरक तथा उत्कृष्ट कथामा दमदार अभिनय गर्ने जुनसुकै कलाकारहरूको फिल्म चल्न थालिसकेको उनले बताए। अहिलेको नेपाली फिल्म समावेशी जस्तो देखिएको पनि उनी बताउँछन्। 

    नेपाली फिल्महरू किन चल्दैनन्? भन्ने प्रश्नमा 'नेपाली बजार सानो छ। लगानी कम छ' भन्ने अधिकांश फिल्मकर्मीको जवाफ आउँछ। केही समयअघि एक अभिनेतृले फिल्म बुझ्ने दर्शकको कमी रहेको बताएकी थिइन्। तर गुरुङले फिल्म नचल्नुमा दर्शकलाई दोष दिन नमिल्ने बताउँछन्। कहिलेकाहीँ राम्रा फिल्म नचलिरहेको पनि हामीकहाँ उदाहरणहरू रहेका छन्। यसको मतलव दर्शक अबुझ छन् भन्नु गलत भएको गुरुङको भनाइ छ। फिल्म विश्वस्तनीय र रुचिकर हुनुपर्ने उनको धारणा छ। नेपाली फिल्म नचल्नुको दोष दर्शकले फिल्म मेकरलाई लगाइरहेका छन्।

    फिल्म मेकरहरूले समीक्षकहरूलाई लगाइरहेका छन्। समीक्षकहरूले पुन: फिल्म मेकरहरूलाई लगाइरहेका छन्। यस्तो अवस्था अहिलेको नेपाली फिल्मवृत्तमा रहेको छ। तर गुरुङको बुझाइमा नेपालमा सबैभन्दा धेरै दोषी फिल्म मेकर नै हुन् र नेपाली फिल्म चल्नु नचल्नुको सम्पूर्ण जस अपजस फिल्म मेकरले लिनुपर्छ।

    उनका अनुसार राम्रो र स्तरीय फिल्म बने नचल्ने भन्ने छैन। पछिल्लो क्रममा आएका फिल्महरूले राम्रै आम्दानी गरिरहेको कुरामा जोड दिँदै उनी अझ नेपाली फिल्मको स्तरवृद्धिका लागि राज्यले सिनेमासम्बन्धी उपयुक्त नीति बनाउनुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउँछन्। उनी भन्छन्, 'हामीभन्दा पछाडि सिनेमामा लागेका देशहरूले विश्वस्तरमा छुट्टै पहिचान बनाइसकेका छन्। हामीले जे जस्तो गरिरहेका छौँ, व्यक्तिगत बलबुताले गरिरहेका छौँ। राज्यबाट कुनै पहल नै छैन।'

    विश्वले थाहा पाउनुपर्ने धेरै कथाहरू हामीकहाँ रहेका र नेपालमा क्षमतावान् निर्देशकहरू पनि रहेका उनको भनाइ छ। स्क्रिप्ट राइटर पनि राम्रा र स्तरीय छन्। उत्कृष्ट कलाकार छन्। पात्र चयनमा, लवाइखुवाइमा, बोलीचालीमा केही परिवर्तन भए पनि हाम्रा फिल्म पुराना संरचनामा बन्छन्। 'यो दर्शकका लागि पनि इरिटेट (दिक्कलाग्दो) गर्ने विषय हो', उनी भन्छन्। कथा वाचन शैलीको पुरानो संरचना अहिले पनि पनि भत्कन नसकेको उनले बताए।

    केही फिल्ममा प्रयोग नभएका होइन। यसबाट खास सन्तुष्ट छैनन् उनी। 'हामीले हाम्रा कथाहरू मौलिक तरिकाले भन्न सकेका छैनौँ। हामीले निर्माण गर्ने फिल्म संरचना पनि हाम्रो मौलिक होइन। संरचना परिवर्तन नेपाली फिल्मका लागि आजको आवश्यकता हो', उनी भन्छन्, 'नेपाली फिल्म विश्वस्तरमा पुर्‍याउन राज्यले सिने क्षेत्रलाई जसरी महत्त्व दिनुपर्थ्यो, त्यो नभइसकेको अवस्थाचाहिँ पक्कै हो।'

    यसरी आइपुगे गुरुङ रंगमंचको दुनियाँमा

    कास्कीको स्याक्लुङ- ७ जन्मिए पनि उनी तालबेँसीमा हुर्किए। त्यस बेला उनका एक जना मित्र थिए- ओमप्रकाश गुरुङ। उनले गाउँमा केटाकेटीलाई नाच, अभिनय सिकाउने गर्थे। ओमप्रकाशले सिकाएको अभिनयमा उनी पनि हिस्सा हुन चाहन्थे। एक दिन नाटक गर्ने क्रम एक्लैले गरेर नभएपछि साथीको रूपमा गुरुङलाई बोलाए ओमप्रकाशले। नाटकका पात्रहरूसँग गुरुङको चरित्रअनुरूप उनले काम गराउँथे। उनी ज्ञानी बालकझैँ सबै काम गर्थे। ओमप्रकाशको सहकार्यमा बचपनमा उनले थुप्रै प्रहसनहरूको सम्झना छ उनीसँग।

    प्रत्येक वर्षको फागुमा तालबेँसीमा नाटक गरेको सम्झन्छन् उनी। आफूभित्र अभिनयको बिउ त्यहीँबाट रोपिएको गुरुङ बताउँछन्। 'रहरले नाटकमा लागेको थिएँ, कालान्तरमा लत नै लाग्यो', लामो हाँसो हाँस्छन्। उनी गाउँबाट पढाइका लागि भनेर पोखरा आए तर पोखरा उनी अभिनय सिक्न आएका थिए। पढाइ त बहाना मात्र थियो। उनले वि.सं. २०५३ सालतिर रंगकर्मी अनुप बरालसँग पोखराको त्रिवेणी कल्चर सेन्टरमा अभिनय सिकेका थिए। त्यसताका उनको केही मित्रसँग भेट भयो। अहिले कान्तिपुर टेलिभिजनमा रहेका राजु ह्याकाचा, सूर्य अछामी, लालशोभा गुरुङ, प्रमिला तुलाचन, राजिव तुलाचन, सागर शाह, प्रकाश सिग्देललगायतसँग मिलेर पोखरामा दीर्घजीवी नाटक समूह खोलेर थुप्रै नाटकहरू गरेको सम्झन्छन्।

    मनपर्ने पात्र

    कलाकारलाई मात्र के कुरामा छुट हुन्छ भने उनीहरू फरक फरक पात्रसँग जोडिन पाउँछन्। समाजका भिन्न पात्रको जीवन भोगाइलाई अभिनय गर्ने अवसर पाउँछन्। गुरुङ आफूलाई पनि जुनकुनै कथाको पात्रको जीवन्त अभिनय गर्न सक्छु भन्ने लाग्छ। त्यो पात्र मात्रमा काम गर्न मनपराउँछन् उनी। जीवनका साना तथा सूक्ष्म कुराहरू, जसले जीवनमा ठूलो भूमिका राख्छन्, उनी यस्ता पात्रको खोजी गर्छन् र अभिनयको माध्यमबाट दर्शकको मनसम्म पुग्छन्। उनी प्राय: सोझो पात्रमा अभिनय गर्छन् भन्ने उनलाई मनपराउने दर्शकले टिप्पणी गरिरहन्छन्। धेरै फिल्ममा आफू भिलेन नै रहेको उनी बताउँछन्।

    उनका अब आउन लागेका चारवटा फिल्ममा उनी भिलेन नै रहेका छन्। उनी भन्छन्, 'आफूले गरेका फिल्मका सबै पात्रहरू सुन्दर रहेको छु भन्ने लाग्छ, जसमध्ये कृपा फिल्मको 'ओदे', पुरानो डुंगाको भक्ते, चङ्गाचेटको 'सनिदादा' मलाई एकदमै मन पर्ने पात्र हुन्।'

    उनीसँग ठूला सपना छैनन्। सानो घर होस् भन्ने चाहन्थे, भयो। बाँच्ने आधार होस् भन्ने चाहन्थे, भयो। पोखरामा नै बसेर नाटक गर्न पाइयोस् भन्ने सोच्थे, त्यो पनि पनि पूरा भइरहेको छ। यसका लागि उनले कहिल्यै पनि काठमाडौंको मुख ताकेनन्। आफूले जे गर्ने हो, मनैदेखि गर्छु भन्ने नै रहेको थियो। आत्मसन्तुष्टिका लागि उनले पोखरालाई आधार क्षेत्र बनाए। यतै बसेर नाटक वा फिल्म गर्न पाइरहेको छु भने किन काठमाडौं धाउनु भन्ने नै लागिरह्यो उनलाई।

    आफूलाई केन्द्रमा गएर केन्द्रीय रूपमा स्थापित हुनुपर्छ भन्ने कहिल्यै नलागेको बताउँछन् उनी। यदि कसैले उनको काम हेरेर पोखरामा नै काम लिएर आउँछन् भने ठीकै छ नत्र केही समयअघि गायक विनोद बानियाँले भनेजस्तै पोखरा केन्द्र हो र काठमाडौं उनका लागि मोफसल। आफूले इच्छाएको बाटो हिँडेकाले उनी रगंकर्मबाट सन्तुष्ट छन्। रंगमंचको दुनियाँमा सफल बनेका उनी अबको यात्राबारे भन्छन्, 'पोखरामै बसेर नाटक गर्छु। फिल्म बनाउँछु र पोखराकै माटोमा सुस्ताउन चाहन्छु।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]