साहित्य

दरबारमा बसेर राणाशासनको विरोध गर्न 'पिँजडाको सुगा'
SHARES

पुस १७, २०७५

    पूर्वीय दर्शनलाई आत्मसात गर्दै आफ्ना रचनामार्फत मानिसमा आध्यात्मिक चेतना भर्ने र सरस रूपमा नैतिक सन्देश प्रवाह गर्ने कविको रूपमा परिचित छन्– लेखनाथ पौड्याल (१९४१–२०२२)।

    गण्डकी अञ्चलको कास्की अर्घौ अर्चलेमा पं. दुर्गादत्त र वसुन्धरादेवीको जेठा छोरा पौड्याललाई नेपाली कविता काव्यलाई माध्यमिक कालबाट आधुनिक कालमा पुर्‍याएको श्रेय दिइन्छ। कविशिरोमणिको उपाधि समेत पाएका पौड्याल नेपाली साहित्यका त्रिमूर्तिमध्येका एक हुन्। ८२ वर्षे जीवनयात्राका क्रममा करिब तीन चौथाइ भाग साहित्य साधनामा बिताएका पौड्यालले नेपाली साहित्य अझ विशेषगरी कवितामा विधामा आएका परिवर्तनलाई अनुभव गर्न पाए।

    पौड्यालले आफ्नो जीवनकालमा नेपाली कवितामा स्वच्छन्दतावादी, प्रगतिवादी, प्रयोगवादी अनेकौं वेगआए पनि उनले आफ्नो छवि भने शास्त्रीयलेखन र परिष्कारवादीकै रूपमा बनाए। बाबुबाट संस्कृत स्तोत्र, अमरकोश, सप्तशती आदि पढेर अध्ययनको सुरुआत गरेका पौड्यालले औपचारिक शिक्षालाई भने मध्यमाभन्दा अघि बढाउन सकेनन्। काठमाडौंस्थित रानीपोखरी तीनधारा पाकशालामा बसेर पढेका यिनी मध्यमा पढ्दापढ्दै कवितालेखनप्रति आकर्षित भएका थिए।

    एकातिर राणाहरूकै जागिरमा रहनु अर्कोतिर उनीहरू विरोध सम्भव नहुने हुँदा हास्य र व्यंग्यका माध्यमबाट उजागर गर्न थाले। विशेषगरी नीतिगत र आदर्शोन्मुख विचार व्यक्त गर्दै सामाजिक सुधारको चेतना भर्ने काम पौड्यालले गरे।।

    वनारसबाट प्रकाशित हुने कविताकल्पद्रुम पत्रिकामा  १९६१ मा रचना छापिएपछि उनको कवितालेखन यात्रा अघि बढेको बताइन्छ। १९६२\६३ मै त्यहीँबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरूमा समस्यापूर्ति र अन्य फुटकर कविता प्रकाशित हुने क्रम बढ्यो। केही समय उनका रचनामा त्यतिबेला राममणि आचार्यलगायतले चलाएको हलन्त बहिस्कार अभियानलाई सहयोग गरे। यसैको आधारमा आचार्यको साथ लागेर पौड्याल दरबार पस्न सफल भए। सुरुमा राणाका केटाकेटीलाई पढाउने जिम्मा पाएका पौड्याल पछि हजुरिया बनाइए।

    संस्कृतको राम्रो ज्ञान भएका कारण दरबारमा यिनी पुराणवाचकका रूपमा पनि रुचाइएका थिए। जीविका चलाउने माध्यम भएपछि यिनी केवल काव्य साधनामा लागिरहे। यसबेला यिनले लेखेका रचनाहरूले शोषण र उत्पीडनलाई व्यंग्यका माध्यमबाट प्रकट गर्न थाले। एकातिर राणाहरूकै जागिरमा रहनु अर्कोतिर उनीहरू विरोध सम्भव नहुने हुँदा हास्य र व्यंग्यका माध्यमबाट उजागर गर्न थाले। विशेषगरी नीतिगत र आदर्शोन्मुख विचार व्यक्त गर्दै सामाजिक सुधारको चेतना भर्ने काम पौड्यालले गरे।

    हड्डीको पिंजरा शरीर, उसमा मैना ‘म’ भन्ने चरो
    त्यो क्याँ क्याँ गरदो छ शान्ति–रसको पानी–विना भै खरो।
    चारा इन्द्रिय–लभ्य यो विषयको लाखौं खन्याए पनि
    भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी।।
        (‘पिंजराको प्यासा मैना’ लालित्य भाग– १ बाट)

    १९७० मा शोकप्रवाह खण्डकाव्य, १९७३ मा ऋतुविचार, बुद्धि विनोद, सत्यकलि संवाद, १९७४ मा सुक्तिसिन्ध, १९८६ मा गीताञ्जली लगायतका खण्डकाव्य लेखेर एकातिर प्रकृतिको छटा वर्णन गरे भने अर्कोतिर पूर्वीय दर्शनमार्फत नैतिक तथा आध्यात्मिक ज्ञान दिने काम गरे। १९७४ मा लेखिएको ‘पिँजराको सुगा’ मार्फत तत्कालीन शासनप्रति व्यंग्य गर्न सफल भए। पिँजराको सुगालाई पात्र बनाएर सरल माध्यममा लेखिए पनि राणाशासनलाई पिँजरा र नेपाली जनतालाई सुगाको रूपमा चित्रण गरे।

    अर्कोतिर यसै कवितामार्फत कहिल्यै नमर्ने आत्मा शरीररूपी पिँजरामा थुनिएको आध्यात्मिक चेत पनि दिए। १९९१ मा शारदाको प्रकाशनसँगै यिनको कवितायात्रा पनि मौलाउने अवसर पायो। शारदा, उद्योग र गोरखापत्रमा छापिएका अरुणोदय, जीवनगंगा, कालमहिमा गौथलीको चिरबिरि, बुद्धिविनोद, सत्यसन्देश, विज्ञानको मोह लगायतका रचनाले यिनलाई कवितालेखनको उचाइमा पुर्‍याउँछ।

    यो समयमा यिनी आफ्नो लेखनमा भएको क्लिष्टतालाई सुधार गर्दै झर्रोपन अगाँल्न थालेका देखिन्छन्। राणाशासन हटी प्रजातन्त्रको उदय भएसँगै २००८ सालमा आएको अमरज्योतिको सन्देश, तरुणतपसी, मेरो राम, प्रजातन्त्रको तापहारी वनवास लगायतका कृति र अन्य फुटकर रचनामार्फत समाजका विविध पक्षहरूलाई समेटेका छन्। विशेषगरी उपदेशमूलक, शिक्षाप्रद र सुधारमुलक विचारको वकालत यी कृतिहरूमा यिनले गरका छन्। पौड्यालले लक्ष्मीपूजा र भर्तृहरिविनोद गरी दुईवटा नाटक पनि लेखे।

    पौड्यालको सिर्जनाकार्यले तीव्रता लिइरहँदा आलोचकहरूले उनको लेखनीलाई पण्डितेपना, आडम्बर, आधुनिकताको अभाव, संस्कृताधिक्य, उपमाजनाउ, माधुर्यको ज्यादा गुलियो, बोलीचालीको भाषाबाट दूर आदि अनेकौँ दोष देखाएर टिप्पणी गर्थे। यसलाई मुखभरिको जवाफ २००२ मा प्रकाशित एउटा निबन्धले दियो तर निबन्ध पौड्यालले लेखेको नभई लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए। लक्ष्मी निबन्ध संग्रहमा रहेको ‘पण्डित लेखनाथ पौड्यालको विषयमा’ शीर्षक रहेको निबन्धमा उनले लेखे– ...अवगुणहरू छैनन् भन्न बिलकुल हामी सक्तैनौँ। न त हामी स्तुति मात्र लेखिरहेछौं। न त यहाँ इर्ष्या काम गर्दछ। हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्धन गर्दछ। हामी क्षमाप्रार्थी रहनैपर्दछ। तर हामी लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका रूपमा देख्तछौँ। 

    पौड्यालको सिर्जनाकार्यले तीव्रता लिइरहँदा आलोचकहरूले उनको लेखनीलाई पण्डितेपना, आडम्बर, आधुनिकताको अभाव, संस्कृताधिक्य, उपमाजनाउ, माधुर्यको ज्यादा गुलियो, बोलीचालीको भाषाबाट दूर आदि अनेकौँ दोष देखाएर टिप्पणी गर्थे। यसलाई मुखभरिको जवाफ २००२ मा प्रकाशित एउटा निबन्धले दियो तर निबन्ध पौड्यालले लेखेको नभई लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए।

    देवकोटाले पौड्याललाई खुशी पार्न वा चाकडी गर्न यस्तो लेखेका थिएनन्। यो वेलासम्म देवकोटा र पौड्यालको सामीप्यता नभएको निबन्धबाटै प्रष्ट हुन्छ। यद्यपि मुनामदन लेखिसकेपछि एकपटक पौड्याललाई देखाएका रहेछन्। निबन्धकै एक प्रसंगमा उनले पौड्यालसँग भेटेर पनि उनीबाट ज्ञान लिन नसकको भन्दै खेद प्रकट गरेका छन्। पछि पौड्याल र देवकोटाबीच घनिष्टता बढ्यो।

    पछि पौड्याल, बालकृष्ण सम र  देवकोटा नेपाली साहित्यकै त्रिमूर्तिका रूपमा प्रसिद्ध भए। देश विदेशमा हुने ठूला ठूला कार्यक्रममा तीन महारथीहरू सँगसँगै हुन थाले। २०११ सालमा पौड्यालको रथयात्राका क्रममा रथारोहण गराउने देवकोटा र सम नै थिए। देवकोटाले त पौड्याललाई छाता ओढाएका थिए। यो वेला पौड्याललाई अभिनन्दन गर्दै पाँच हजारको रुपैयाँको थैलीे पुरस्कार दिइएको थियो। औपचारिक पढाइ धेरै नभएको भन्दै पौड्याललाई एकेडेमी (प्रज्ञा प्रतिष्ठान) मा जानबाट वञ्चित गराएको थियो। उनीविना आफूपनि एकेडेमीमा नजाने देवकोटाको अडानपछि पौड्याल सदस्यमा मनोनित भए। 

    पौड्यालका ऋतुविचार, कालमहिमा, सत्यसन्देश, पिँजराको सुगा लगायतका रचना त्यतिबेला मात्र होइन आज पनि त्यत्तिकै लोकप्रिय छन्। यसरी लोकले मन पराएको साहित्यका महारथीहरूले गुरु मानेकाले २००८ सालको भानुजयन्ती पारेर राजा त्रिभुवनले पौड्याललाई कविशिरोमणिको उपाधि दिएका थिए। यससँगै उनले आजीवन २०० रुपैयाँ भत्ता पाए। साहित्यप्रतिको लगावलाई कदर गर्दै दिवंगत भएको चार वर्षपछि अर्थात् २०२६ सालमा पौड्याललाई त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]