मनोरञ्जन

फिदिम तताउँदै नेपथ्य
SHARES

पुस २६, २०७५

    काठमाडौं : पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्वतिरै लाग्ने भएको छ। माघे संक्रान्तिको भोलिपल्ट नेपथ्य फिदिममा प्रस्तुत हुँदैछ।

    प्राचीन समयमा लिम्बूहरूको केन्द्रविन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम। कुनै समय दस लिम्बू क्षेत्रका राजाहरू फेदेन अर्थात् यसै फिदिममा जम्मा भई आपसी कुराहरूको निर्णय लिनेगरेको ऐतिहासिक महत्व यस शहरसँग छ। पूर्वाञ्चलको माथिल्लो यस भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो।

    माघ २ गते यहाँस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जना सुनाउनेछ। कन्सर्ट ठीक छ बजे सुरु हुनेछ।

    दशैंलगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चारवटा सहरको ‘नेपाल यात्रा’गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न शहरहरूबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो। त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ शहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो।

    स्थानीय आयोजक सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवर्द्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ।

    ‘अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौँ,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुने भएको छ।’

    पहिलोपटक नेपथ्यलाई आफ्नो भेगमा निम्त्याउन तत्पर स्थानीय आयोजकहरूका गतिविधिकै कारण पनि यतिबेला पाँचथरमा चहलपहल बढेको छ।‘केहि वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्नसकेको छैन,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘ठूला व्यावसायिक आयोजनाहरूको आफ्नै महत्व छन् । मलाइ भने साना सहरका प्रिय श्रोताको घेरामा पुग्दा अझ आनन्द लाग्छ।’

    गुरुङका अनुसार ‘सुन्दर शान्त नेपाल’कार्यक्रमअन्तर्गत नेपथ्यलाई समेत प्रस्तुत गर्न सन् २००५ मा पनि फिदिमको संभाव्यता अध्ययन गरिएको थियो। फिदिम पुगेरै निरीक्षण गरेता पनि त्यतिबेला व्यवस्थापकीय कारणले त्यो संभव हुन सकेको थिएन। ‘आज त्यो पुरानो सपना पूरा भएको छ,’ गुरुङ भन्छन्, ‘फिदिमवासीका अघिल्तिर प्रस्तुत हुन हामी आतुर छौँ।’

    स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथरबाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीव्र पारिएको छ। त्यसैगरी यी सबै स्थानमा बेग्लाबेग्लै टिकट काउन्टरसमेत राखिएका छन्। सधैजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]