विश्व

छिट्टै आपतकाल लागू हुन्छ : ट्रम्प
SHARES

पुस २७, २०७५

    संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिएका छन्। मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि संघीय सरकारी कार्यालयहरू लगातार बन्द भएको २१ दिन पुगिसकेको छ।

    राष्ट्रपति ट्रम्पले पर्खालका लागि संसदले बजेट पारित नगरे आफूले बजेट स्वीकृत नगर्ने अडान राख्दै आएका छन्। संसद र राष्ट्रपतिको जुहारीका कारण धेरै अमेरिकी संघीय कार्यालयहरू बन्द भएका छन् भने आठ लाखभन्दा बढी कर्मचारी घरबिदामा बसेका छन्।

    राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरिए त्यसविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। आपतकालीन घोषणापछि राष्ट्रपति ट्रम्पले सैनिक परियोजनाको रकमलाई पर्खाल निर्माणमा खर्च गर्न बाटो खुल्नेछ।

    फक्स न्यूज समाचार च्यानलसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्न पाउने आफूसँग अवशिष्ट अधिकार रहेको बताए। तर, उनले यस्तो घोषणा कहिले गरिन्छ भन्ने बताउन चाहेनन्।  विश्लेषकहरूले राष्ट्रपतिले चाल्ने त्यस्तो कदम अधिकार क्षेत्रभन्दा बाहिर हुने र त्यसविरुद्ध अदालतमा मुद्दा पर्ने निश्चित रहेको बताएका छन्।

    राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणाबाट पर्खाल निर्माणका निम्ति बाटो खोलेर आफूले अमेरिकी जनताको सुरक्षाका लागि काम गरेको दाबी गर्न सक्ने छन्। यो स्थितिमा उनले आफू विजयी भएको जनाउँदै कार्यालयहरू खोल्ने छन्।

    राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमण गरेका थिए। उनले स्थानीय सुरक्षा निकायलाई सम्बोधन गर्दै हत्यारालाई अमेरिकाभित्र छिर्न कुनै पनि हालतमा नदिइने दोहोर्‍याए।

    विपक्षी डेमोक्र्याट पार्टीले पर्खालका निम्ति राष्ट्रपतिले माग गरेको करिब ६ अर्ब डलर बजेट विनियोजन गर्न नसकिने दोहोर्‍याउँदै आएका छन्। उनीहरूले पर्खाल निर्माणमा फजूल खर्च हुने र त्यसबाट आप्रवासीको अमेरिका प्रवेशमा कुनै रोकावट नआउने बताएका छन्।

    ट्रम्पले दक्षिणी सीमाबाट प्रवेश गरेका आप्रवासीहरू उत्तरी सीमासम्म फैलिएका बताउँदै त्यस्ता आप्रवासीका कारण हत्या हिंसाका घटना हुन थालेको दाबी गरे। तर, स्वतन्त्र अध्ययनले अवैध आप्रवासीको तुलनामा अमेरिकामै जन्मिएका व्यक्तिबाट बढी हिंसाका घटना हुने गरेको देखाएको छ।

    अमेरिकी संघीय कार्यालयहरू बन्द भएसँगै कर्मचारीहरूले जुलुस निकाली तत्काल कार्यालयहरू खोल्ने वातावरण बनाउन आग्रह गरेका छन्। राजनीतिक स्वार्थपूर्तिका लागि कर्मचारीलाई अचानोमा पारिएको उनीहरूको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]