समाज

गण्डकी प्रदेशको पर्यटन नीति, ‘अतिथिदेवो भवः’
SHARES

पुस २८, २०७५

    पोखरा : मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारहरू गठन भए। प्रदेश सरकार छुट्टै स्वायत्त निकाय भएकोले आत्मनिर्भर हुन र आर्थिक गतिविधि बढाउन विभिन्न कार्यक्रम अघि सारेका छन्। गण्डकी प्रदेशले भने आफ्नो प्रदेशको मुख्य अर्थतन्त्रको आधार पर्यटन रहेको बताइसकेको छ। त्यसैका लागि तीनसय गाउँमा होमस्टे कार्यक्रमसमेत कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ। अर्का गण्डकी प्रदेशले पञ्चवर्षीय आवधिक योजना निर्माणको लागि छलफलसमेत सुरु गरेको छ। गण्डकी प्रदेशले नेपालकै पर्यटकीय राजधानीको रूपमा पोखरालाई घोषणा गर्न नेपाल सरकारलाइ अनुरोधसमेत गरिसकेको छ।

    पञ्चवर्षीय आवधिक योजनाको तयारी

    पञ्चवर्षीय आवधिक योजनामा फेवातालको एकीकृत संरक्षण, यसको आकार वृद्धिसहितको विभिन्न पूर्वाधार निर्माण गरी यसलाई एसियाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने बताइएको छ। ‘एसियाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा फेवाताललाई निर्माण गर्न सकिन्छ,’ नेपाल सरकारका पूर्वसचिव तथा पर्यटन क्षेत्र प्रबुद्ध विज्ञ समूहका संयोजक सुरेशमान श्रेष्ठले भने, ‘पहिले प्रदेशको र स्थानीय तहको चालु आर्थिक वर्षको बजेट वत्तव्यमा परेका कार्यक्रममालाई समेटेरे काम अघि बढाउनुपर्छ। पर्यटकीय क्षेत्र विकास गर्नका लागि निजी क्षेत्रसँग समन्वय गर्नुपर्छ। फेवाताललाई एसियाकै नमूना बनाउन यहाँका निजी क्षेत्रसँग मिलेर सौन्दर्यकरण गर्न सकिन्छ।’

    अतिथिदेवो भवः कार्यक्रम

    उनले प्रदेश सरकारलाई गण्डकी प्रदेशमा आउने पर्यटक एकपटक मात्र हैन धेरैपटक आउने वातावरण तयार गर्न विभिन्न सुझाबसमेत दिएका छन्। ‘सरकारले मात्र गरेर हुने वाला छैन,’ उनको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘निजी क्षेत्रसँग साझेदारी सबै पर्यटकलाई अतिथिको रूपमा सम्मान गर्न अतिथि देवो भवः कार्यक्रम तत्कालै सुरु गर्नुपर्छ। यहाँ धेरै पर्यटनको सम्भावना भएकोले साहसिक खेल यहाँको मुख्य पर्यटकीय स्रोत बन्न सक्छ।’

    अहिले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, क्यानोनिङ, रक क्लाइम्बिङ, कायाकिङ, स्काई डाइभिङ, हिउँ स्केटिङ, स्की जस्ता थुप्रै खेल सञ्चालना छन्। नयाँ पर्यटकीय गन्तव्यहरूमा भौतिक पूर्वाधारको विकास गर्न र प्रचारप्रचारको लागि प्रदेश सरकारले कन्जुस गर्न नहुने उनको सुझाब छ।

    प्रदेश सरकारले मनाङ र माथिल्लो मुस्ताङ (लोमान्थाङ) लाई विशेष पर्यटकीय क्षेत्रको रूपमा कार्यक्रम बनाउन विज्ञहरूले सुझाब दिएका छन्।

    अब के गर्ने ? यस्तो छ विज्ञको सुझाब

    पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणको गतिले पनि यस क्षेत्रको पर्यटकीय सम्भावना उच्च रहेको विज्ञहरूले बताएका छन्। ‘नेपाली पर्यटक र विदेशी पर्यटकको गतिविधि बढाउन उनीहरू आउजाउ गर्ने साधन पनि बढाउनु पर्छ,’ उनले भने, ‘संघीय सरकारसँग समन्वय गरी हरेक वर्ष एउटा–एउटा नेपाली ध्वजाबाहक वाइडबडी, न्यारोबडी, थप्नुपर्छ। पर्यटन बोर्डसँगको समन्वयमा प्रादेशिक पर्यटन बोर्ड गठन गर्ने, पर्यटन बोर्डले उठाउने पर्यटन शूल्कको १५ प्रतिशत सम्बन्धित क्षेत्रमै खर्च गर्न परामर्श र वातावरण पनि तयार गर्ने।’

    पर्यटन क्षेत्रका विज्ञ श्रेष्ठले नेपाल र गण्डकी प्रदेशको प्रचारको लागि संसारकै सबैभन्दा ठूलो ट्राभल वेभ साइट ट्रिप एडभाइजरमार्फत् प्रचार गर्न सुझाब दिएका छन्। जुन साइटमा ३१ करोड ५० लाख भन्दा धेरै सदस्य र ५० करोडभन्दा धेरै रिभ्यूज रहेका छन्।

    पर्यटनमैत्री नीति

    नेपालको पर्यटन विकासमा अर्को स्थापित नाम हो आङकाजी शेर्पा। उनका अनुसार नेपालका पर्यटन नीति नै परिमार्जन नगरी सोचेजती पर्यटक नेपाल भित्रिन नसक्ने बताए। ‘सबैभन्दा पहिले हाम्रो पर्यटन नीति नै परिमार्जन गर्नुपर्छ,’ उनले भने, ‘यहाँको सबै संस्कृतिलाई उत्तिकै स्थान दिने, विदेशी पर्यटकलाई तालिम प्राप्त गाइडको साथमा मात्र ट्रेकिङ पठाउने पोखरा जस्तो ठाउँमा कम्तीमा पाँच हजार मानिस अट्ने सभाहल बनाउने। अन्तर्राष्ट्रियस्तरको सेमिनारलाई पनि गण्डकी प्रदेशले आफ्नो कार्ययोजनामा राख्नुपर्छ।’

    हिमाली पर्यटकका लागि अहिलेसम्म गतिलो तथ्यांक कहीँ नभएको भन्दै उनले भने, ‘यहाँ रहेका सबै हिमाल र टाकुराहरूको विवरण खुल्ने गरी तथ्यांक लिने र एउटा आधिकारीक वेबसाइटमा राख्न सके अहिलेको भन्दा धेरै पर्यटक नेपाल ओर्लने छन्।’ उनले प्रदेश सरकारलाई मनास्लु क्षेत्रमा लगाइएको रेष्टिकेटलाई फुकुवा गर्नसमेत आग्रह गरेका छन्। बर्सेनि ८० हजारभन्दा धेरै विदेशी पर्यटकले मनास्लु जान चाहने तर, रेस्टिकेट क्षेत्र रहेकोले जान नपाएको उनको गुनासो छ। उनले भिजिट नेपाल २०२० सफल पार्न मनास्लु फुकुवा गर्नैपर्ने बताए।

    प्रदेशमा धेरै पर्यटक पुगेका स्थलहरू

    गण्डकी प्रदेशका अन्नपूर्ण राउण्ड र मनास्लु क्षेत्र नै मुख्यतः पर्यटकीय गन्तव्य हुन्। पर्यटनमा टेवा पुर्‍याइरहेका केही धार्मिक क्षेत्रहरूलाई गण्डकी सरकारले रेखांकन गरेको छ। मुक्तिनाथ, दामोदर कुण्ड, कागबेनी, गलेश्वर मन्दिर, भकिम्लीको स्वर्गाश्रम, जगन्नाथ मन्दिर, पौलस्त्य पुलहाश्रम, वाग्लुङ कालिका, मोदीवेणी, पञ्चकोट, विन्ध्यावासीनी, तालबाराही, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव, शान्ति स्तुपा, त्रिवेणी धाम, मौलाकालिका, गोरखनाथ, गोरखकाली मन्दिर, मनकामना मन्दिर, चण्डीकालीका, आलम देवी, श्रवणकुमार समाधी क्षेत्र, बन्दीपुर,  देवघाट, छाब्दीबाराही, छिम्केश्वरी लगायतका क्षेत्र प्रदेश सरकारले विभिन्न हिसाबले धार्मिक पर्यटनको लागि रेखांकन गरेका क्षेत्र हुन्।

    गण्डकी प्रदेशका १८ नयाँ पर्यटकीय गन्तब्य

    सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गण्डकी प्रदेशको १८ वटा नयाँ स्थललाई पर्यटकिय गन्तव्य स्थलका रुपमा छनोट गरेको छ ।

    – गोरखाको चुमनुब्री गाउँपालिकाको चुमभ्याली,

    –लम्जुङको काउलेपानी

    –तनहुँको कालिका शहिद तथा शान्तिपार्क र सिद्ध गुफा भिमाद

    –कास्कीको मौजा होमस्टे, सिक्लेस

    –मनाङको नारफु टे«ल

    –मुस्ताङको लोमान्थाङ दरबार क्षेत्र

    –पर्वतको दुर्लुङ, क्यानोनिङ, केभिङ र होमस्टे तथा महाशिला 

    –स्याङ्जाको सतौँ चण्डीकालिका, आलमदेवी क्षेत्र

    –बाग्लुङको भकुण्डे भैरवस्थान गाजाका दह ढोरपाटन आरक्षण क्षेत्र

    –म्याग्दीको घोरेपानी, रसुंगाको रुइसेडाँडा देखि धौलागिरी आइसफल सम्मको क्षेत्र

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]