समाज

हराउँदै गाउँमा हाट, लाग्ने ठाउँमा पनि छैन पहिलेजस्तो रौनक
SHARES

फागुन १७, २०७५

    धनकुटा  : पहिले पहिले स्थानीय ठाउँमा हप्ता, १५ र महिना दिनमा हाटबजार लाग्थ्यो। ताजा तरकारी, फलफूललगायत आवश्यक सामान किनबेच गरिन्थ्यो। तर यातायातको सहज पहुँच र बजार विस्तारका कारण अचेल हाटबजार हटेका छन्। लाग्ने हाटमा पनि पहिलेजस्ताे रौनक पाइन छाडेको छ।

    चौबिसे गाँउपालिकामा रहेको राजारानीमा साप्ताहिक रूपमा बुधवार हाटबजार लाग्दै आएको छ। पहिले निकै ठूलो बजार लाग्ने गरेको ठाँउमा अहिले यातायातको साधन गाँउघरसम्मै पुग्न थालेपछि हाटबजारमा मानिस कम आउन थालेको स्थानीय भगेन्द्र लिम्बुले बताए। चौबिसे गाँउपालिका–६ वस्ने ७२ वर्षीय पवित्रा चेम्जोङका अनुसार पहिले यो ठाँउमा हरेक औँसी र पूर्णिमामा ठूलो बजार लाग्ने गरेको थियो।

    ‘गाँउका सबै मानिसहरु बजार भर्न आउथे रमाइलो हुन्थ्यो’, उनले भनिन्, ‘आफ्नो खेतबारीमा फलेको सागपात, आलु, गोलभेँडा, फलफूल, कोदो, मकै, चामल लिएर आउथ्यौँ। बेचेर घरमा नभएको आवश्यक सामानहरु किनेर लिएर जान्थ्यौँ। अहिले त बजारै लाग्न छाड्यो।’ भर्खरै बारीबाट टिपेको ताजा तरकारी फलफूल ल्याएर बेच्ने हुनाले ताजा खानेकुरा खान पाइने गरेको चेम्जोङले बताइन्। 

    हाटबजार नलाग्दा अहिले त ताजा तरकारी र फलफूल खान पाउनै छाडेको स्थानीयको भनाइ छ। राजारानीमा पन्ध्र दिन हुँदाहुँदै केही समयपछिबाट हप्तामा बुधबार बजार लाग्न थाल्यो। चार पाँच वर्षअघिसम्म त बजार भर्न धेरै मान्छे आउँथे तर अहिले हाटबजारै लाग्न छाडेको छ। पहिले दैनिक आवश्यकिय सामग्री स्थानिय स्तरमै उपलब्ध गराउन हाटबजार लाग्ने गरेको थियो। पछिल्लो समय यातायातको सुविधाका कारण नेपालका धेरै हाटबजार बन्द हुँदै आईरहेका छन्।

    स्थानीय हाट बजारमै ताजा तरकारी, फलफूल किनेर खान पाइने भएकोले धनकुटाको विभिन्न ठाँउमा यस्ता हाटबजारको महत्त्व पहिलेजति नै  छ। यातायातको साधान गाँउघर सम्म पुगेपछि कृषिजन्य वस्तु किनबेच गर्न सहज हुने र समयको पनि बचत हुने भए पनि ताजा वस्तु खान नपाइने स्थिति आएको स्थानीयको भनाइ छ। 

    राजारानीकै कुमारी लिम्बुका अनुसार कुनैबेला हाटबजार गाँउ देखि शहर बजारका बासिन्दालाइ भेट गराउने स्थल पनि थियो। गाँउमा उत्पादन भएका कृषिजन्य वस्तु लिएर दैनिक उपभोग्य सामाग्री खरिदको लागि गाँउ–गाँउबाट मानिसहरु बजार सम्म पुग्ने गर्दथे। अझै पनि बजारको उत्तीकै महत्व रहेपनि हाटबजार हराएको लिम्बुको भनाइ छ। 

    गाउँका बासिन्दा उत्पादित कृषिजन्य वस्तु लिएर बजारसम्म जाने त्यस्तै बजारतिरका बासिन्दा उद्योगबाट उत्पादित सामा लिएर हाटबजार पुग्ने भएकोले सामान खरिद बिक्री गर्न हाटबजारले सहज बनाएको थियो। त्यस्तै हाटबजारले स्थानिय स्तरको कलासंस्कृतिसँग जोडिएका सामग्री समेत पाउने भएकाले स्थानिय कलासंकृतिको संरक्षण र प्रवर्धन गर्न सहयोग गरेको स्थानीय विनोद याम्फूले बताए। 

    यस्ता हाटबजार धनकुटा जिल्लामा राजारानी, मौनाबुधुक, मुढेवास, छ नं बुधबारे, धनकुटा सदरमुकाम, हिले, छिन्ता, सिधुवा, आँखिसल्ला, काजिमाने फलामेटार सहित जिल्लाका दुई दर्जन भन्दा बढी स्थानमा साप्ताहिक हाट लाग्ने गरे पनि मानिसको चहलपहल कम हुने गरेको छ। ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय हाटबजार पूर्वाधार अभावका कारण खुल्ला स्थानमै सञ्चालन हुनुपर्ने बाध्यता छ। जसका कारण ग्रामिण क्षेत्रमा बाह्रै महिना हाटबजार लगाउन सकिने अवस्था पनि नभएको स्थानीय बताउँछन। ताजा तरकारी, फलफूल र स्थानीय उत्पादन पाइने यस्ता हाटबजारको संरक्षण गर्न स्थानीय तहले कदम चाल्नुपर्ने  याम्फूले बताए।


     

ईश्वर थापा

थापा थाहा खबरका धनकुटा समाचारदाता हुन्। ईमेल : ishwor.press@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]