खेलकुद

दाफिन्सलाई माईभ्याली गोल्डकपको उपाधी, शेर्पा पराजित
SHARES

चैत ५, २०७५

    इलाम : हिमालयन शेर्पालाई हराउँदै पाहुना टोली क्यामरुनको दाफिन्स फेमिली क्लबले इलाममा जारी माईभ्याली गोल्डकपको उपाधी जितेको छ। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दाफिन्सले हिमालनको चुनौती २–० गोल अन्तरले पन्छाएको हो।

    खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले खेलको ८ औ मिनेटमा अग्रता कायम गरेको थियो। हिमालयनका निरज बस्नेतलाई छक्याउँदै यान्निक ओवानाले गोल गरेका थिए। खेलमा पछि परेको अवस्था १९ औँ मिनेटमा शेर्पाले दोश्रो गोल खान पुग्यो। मेजुकेको कर्नर प्रहारलाई पेटाङ्गाले हेडर गोल गदै अग्रता दोब्बर बनाए। उपाधीसँगै दाफिन्सले नगद ७ लाख प्राप्त गरेको छ। भने उपविजेता शेर्पाले ४ लाख रुपैयाँ प्राप्त गरेको छ। खेलको ६५ औ मिनेटमा डेडी वाम्बा दोहोरो पहेलो कार्ड पाउँदै मैदानमा बाहिरिएपछि शेर्पा १० खेलाडीमा सीमित भएको थियो।

    खेलमा पाएका अवसरहरू सदुपयोग हुन नसक्दा सिजनमा दोश्रो पटक शेर्पा उपविजेता भएको थियो। यसअघि दोश्रो विशाल मेमोरियल गोल्डकपमा त्रिभुवन आर्मीसँग पराजित बन्दै शेर्पा उपविजेता भएको थियो। माईभ्यालीसँगै दाफिन्सले सिजनमा ४ वटा उपाधी जितेको छ। दाफिन्सले पोखरा कप, बूढासुब्ब गोल्डकप र तिलोत्तमा गोल्डकप जितेको थियो। खेलमा विद्यागततर्फ दुवैले बराबर पुरस्कार पाएको छ।

    खेलको म्यान अफ दि म्याच उपविजेता टिमका बिसन गुरुङ घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। त्यसैगरी उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो जाङ्गा, उत्कृष्ट डिफेन्डर दाफिन्सका ओको बोटा, मिडफिल्डर शेर्पाका त्रिदेव गुरुङ, स्ट्राइकर दाफिन्सका पेटाङ्गा र प्रशिक्षक वाम्बा घोषित हुँदै जनही २५ हजार प्राप्त गरे।

    प्रतियोगितामा ह्रयाट्रिकसहित ४ गोल गरेका शेर्पाका स्ट्राइकर सुनिल खड्का सर्वाधिक गोलकर्ता चुनिदै नगद ३५ हजार प्राप्त गरे।  शेर्पाका गोलरक्षक किशोर गिरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदै अपाची १६० सिसीको बाइक पाएका थिए।

    विजेता टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । समापन समारोहको अवसरमा फुटबल क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै पूर्व राष्ट्रिय खेलाडी मंगेश बस्नेतलाई प्रमुख अतिथी सुनार र विशेष अतिथी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए।

    सबै स्थानीय तहमा व्यवस्थित रंगशाला निर्माण : मन्त्री विश्वकर्मा

    समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री बिश्वकर्माले देशका सवै ७५३ स्थानिय तहमा नै व्यवस्थित रंगशाला निर्माण गर्ने बताए।  सरकारले यसअघि नै सबै स्थानीय तहमा व्यवस्थित रंगशाला निर्माण गर्न प्रारम्भिक कार्य अगाडि बढाइसकेको उनले बताए। समृद्ध नेपाल निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले खेलकुदलाई समाजले हेर्ने दृष्टिसमेत परिवर्तन हुँदै गएको बताए। युवालाई दक्ष र स्वरोजगार बनाउँदै समृद्ध नेपाल निर्माणमा समेत उनीहरुलाई लगाउने मन्त्री विश्वकर्माको उद्घोष थियो।

    त्यसैगरी, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले इलाममा चाडै नै फुटबल एकाडेमी निर्माण गरिने बताए। उनले पूर्वी पहाडका खेलाडीलाई लक्षित गरेर इलाममा एकेडेमी निर्माणको प्रक्रिया अगाडी बढेको बताए।

नमीन ढकाल

ढकाल थाहाखबरका इलाम संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]