खेलकुद

आर्मीका निर्विकल्प फुटबलर विवेक
SHARES

चैत १५, २०७५

    इलाम : इलामले फुटबलमा धेरै प्रतिभा जन्मायो। राष्ट्रिय स्टारहरू उत्पादनमा अग्रणी इलामको काखमा नै हुर्किएका प्रतिभा मध्येमा पर्छन् विवेक बस्नेत। अहिले विभागीय टिम नेपाल आर्मीका निर्विकल्प स्टारका रूपमा उदाएका विवेकले १३ वर्षअघि इलामको ठूलो टुँडिखेललाई आफ्नो गन्तव्यको पहिलो पाठशाला बनाए। हरेक दिन बिहान प्रशिक्षक दर्शन भक्तराज महिलाहरूलाई फुटबल सिकाउन टुँडिखेल पुग्दा सँगसँगै मैदानमा विवके पनि पुग्थे। विवेक एक कुनामा बसेर फुटबल हेर्थे, तर गुरु भने मैदानमा चेलीहरूलाई फुटबल सिकाउँथे। एक कुनामा बसेर फुटबल हेर्ने विवेकको लगावलाई प्रशिक्षक भक्तराजले पहिचान गर्न धेरै समय लगाएनन् अनि मिसाए महिला फुटबलकै टिममा र सिकाए फुटबल कौशल।

    छरितो र साहशिक विवेकको प्रदर्शनले भक्तराजलाई विश्वास त दिलायो तर यी फुच्चेले विभागीय टिमको प्लेमेकरमा आफूलाई प्रमाणित गर्ला भन्नेचाँहि उनले सायदै सोचे। भक्तराज सम्झन्छन्, ‘कुनामा बसेर बल हानेको हेर्थ्यो। त्यही लगाव देखेर उसलाई फुटबल स्कील सिकाउनका लागि मैदानमा बोलाएँ। मैदानमा बोलाउँदाको विश्वासलाई उसले प्रमाणित गरेको छ र आज इलामले गर्व गर्न लायक स्टार बनेको छ।’

    इलामका अन्य स्टार जस्तै विवेक पनि ग्रास रुटबाटै उदाए। अनि सुरु भयो दुखदुखैमा फुटबल यात्रा बुट किन्ने क्षमता नहुँदा धेरै पटक खाली खुट्टाले नै बल नचाए। १० वर्षअघिको घटना सम्झँदै विवेक भन्छन्, ‘घरको अवस्था खानका लागि सङ्घर्ष गर्नुपर्ने थियो। फुटबल बुट किन्ने त रहर मात्रै हो।’ तर उनमा तीव्र महत्वकांक्षा थियो। फुटबलर बन्ने। सोही संकल्प नै उनका लागि खेल जीवनको कोसेढुंगा बन्यो। अनि सुरु भयो फुटबलको औपचारिक यात्रा।

    किशोर अवस्थामै एन्फा प्रवेश

    आत्माविश्सवालई अवसरले पछ्याउँछ भनेझैँ भयो विवेकको जीवनमा। नेपाली फुटबल हेर्ने सर्वोच्च सरकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०६५ मा देशभरबाट  यु–१२  उमेर समूहका खेलाडी छनोट सुरु गर्‍यो। साेही छनोटका दौरान उनले पनि ट्रायल दिए।

    प्रतिभाका धनी विवेकले १९ सय प्रतिस्पर्धीमा उत्कृष्ट १२ मा आफूलाई राख्दै एन्फा एकेडेमीको यात्रा तय गरे। यद्धपि जिल्लामा उनको छनोट भने निर्विरोध रहेन। तत्कालीन जिल्ला फुटबल सङ्घका अध्यक्ष मंगेश बस्नेत र इलामका प्रशिक्षक दर्शन भक्तराजले उनलाई जिल्लाबाटै क्षेत्रीय छनोट नगराई सोझै एन्फामा पठाएको आरोप लाग्यो। कतिपयले दर्शनको विरोधमा कालो झन्डा समेत देखाइएको सम्झना विवेकको मानसपटलमा ताजै छ।

    विवेक भन्छन् ‘दर्शन गुरुले मेरो क्षमता बुझेर छनोट खेलाउनु भएको थियो। त्यो समयमा क्षेत्रीय छनोट नखेली उत्कृष्टले सोझै मौका पाउँथे।’ तर कतिसम्म भयो भने उनको सोही निर्णयले कार्यालयमा तोडफोड समेत भयो। आँखै अगाडि तमासा देखेका विवेकले त्यसलाई जीवनको ठुलो प्रेरणाका रूपमा लिँदै अघि बढे।

    उमेर समूहमा अब्बल

    ५ वर्ष एन्फा एकेडेमीमा रहेर उमेर समूहका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका विवेक त्यसपछि क्लब करिअरमा धकेलिए। उमेर समूहमा एन्फा प्रवेश गरेकै साल सन २००९ मा इरानमा यु–१२ एएफसी रिजनल फुटबलमा डेब्यु गरे। तत्कालीन समयमा उपविजेता बनेको नेपाली किशोर टोलीमा उनको डिफेन्सको भूमिकाको खुलेर प्रशंसा भएको थियो।

    पहिलो अन्तर्राष्ट्रिय सहभागिता सम्झँदै विवेक भन्छन्, ‘धुलाम्मे मैदानमा खेलेका हामी एक्कासि घाँसे मैदानमा छिर्दा बेग्लै आनन्द र जोस थियो।’ किशोर उमेरमा जोश पनि स्वाभाविक हुने नै भयो जोसअनुसार उनीहरूको प्रदर्शन उच्च रह्यो र उपविजेता बन्दै फर्कियो। लगतै उनले २००९ मा नै भारतमा १४ वर्षमुनिको सुव्रतो मुखर्जी कप समेत खेले। त्यस्तै २०११ मा पहिलो यु–१६ साफ च्याम्पियनसिपमा डिफेन्सको भुमिकामा नै छाए। तर सेमीफाइलनमा भारतसँग पराजित भएपछि उपाधि होडमा पुग्न भने नेपाल असफल भएको थियो।

    इन्जुरीले छोट्ट्याएको करिअर

    उमेर समूहमा एकपछि अर्को राष्ट्रिय प्रतियोगिता खेले पनि २०६९ मा १६ वर्षको उमेर विवेक एन्फाबाट रिलिज भए । लगतै उनले ए डिभिजन क्लब जावलाखेलको डिफेन्स सम्हाले। भर्खर युवा स्टार भएकाले उनले टिममा मिश्रित रूपमा खेल्ने अवसर पाए। तर, बिस्तारै उनले आफूलाई नियमित प्लेइङ सिटमा अब्बल बनाए। तर, उनले किशोर अवस्थामा नै फुटबलमा नमिठो भोगाइको साक्षी बन्नुपर्‍यो। साफ यु–१६ एएफसी च्याम्पियनसिपको क्लोज क्याम्पमा प्रशिक्षणका दौरान उनको खुट्टा भाँचियो। त्यस समयमा उपचारको सबै खर्च एन्फाले व्यहोर्‍यो।

    विवेकले जीवनको अँध्यारो पाटो सुरुवात भएको महसुस गरेर लागे इलाम तिर घरको आर्थिक अवस्थामा खासै सुधार थिएन। विवेक भन्छन्, ‘जीवनको नमिठो यात्रापछि मेरो जिवनले नै नयाँ मोड लियो। घरको अवस्था सुधार्न मैले जे भएनि काम गर्नुपर्ने अवस्था आयो।’ उनी भन्छन्, ‘अनि सुरु गरेँ मिस्त्रीहरूसँग घर बनाउने, टायल लगाउने काम गर्न।’ अनुहारलाई भावविहीन बनाउँदै विवेक भन्छन्, ‘महेन्द्र रत्न बहुमुखी क्याम्पको टायल छ नि त्यो मैलै लगाएको हो।’ उनी भन्छन्, ‘तर मैले हिम्मत हारिनँ, फुटबलमा फर्किन्छु कि भन्ने लाग्थ्यो। तर खुट्टाको समस्या सम्झँदा फुटबलको वर्षौको लगानी अन्त भएको महसुस पनि हुन्थ्यो।’ उनले यु– १९ टोलिमा सन् २०१४ मा पुनरागमन गर्दै पुनः फुटबलमा उपस्थिति जनाए। उनको करिअर सरल रेखामा अघि बढ्न भने सकेन।

    १९ वर्षको उमेरमा सम्पन्न गुरुङसँग उनको विवाह भयो। ख्यालख्यालमै विवाह भएको सम्झँदा अहिले पनि उनी रोमान्चीत हुन्छन्। विवाह भएको चार वर्ष बिते पनि अहिलेसम्म सिँदुर पोते भने उनको बाँकी नै छ। विवेक भन्छन्, ‘दशैँको विदामा घर आइन्छ समय पनि थोरै भएकाले सिँदुर पोते गर्ने अवसर मिलेको छैन।’ ठट्यौली पारामा विवेक ससुराली जाने गरेको भने स्वीकार्छन।

    आर्मीबाट सुरु भएको व्यावसायिक करिअर

    फुटबलमा इन्जुरी र सफलतालाई सँगसँगै लगेका विवेकले वैवाहिक जीवनसँग पनि साक्षात्कार गरिसकेका थिए। तर, परिवार धान्नका लागि उनले पुन पुरानै घर बनाउने कामलाई निरन्तरता दिए। तर उनका लागि टर्निङ प्वाइन्टका रूपमा भने तत्कालीन जिल्ला फुटबल सङ्घका अध्यक्ष निरोज खड्गी रहे। खड्गीको पहलमा उनले २०७१ को चैतमा आर्मीमा भर्ती हुने मौका पाए। ९ महिनाको तालिमपछि उनी नेपाली सेनाको जागिरे बने। ‘आर्मीको जागिरे भएपछि मेरो फुटबलले फेरि निरन्तरता पायो।’ उनले नेपाली सेनाको गणभित्र हुने बाहिनी, पृतना हुँदै खेललाई अगाडि बढाए। २०७२ सालमा भएको प्रतियोगितामा जगदल गणबाट उत्कृष्ट हुँदै विवेकले विभागीय टिम त्रिभुवन आर्मीबाट खेल्ने अवसर पाए। २-३ वटा प्रतियोगितामा बेञ्चमा बसेपछि उनले आर्मीको सेटमा अवसर पाए। टेकबहादुर बुढाथोकी मिसनमा गएपछि उनको स्थानमा विङ्गरको जिम्मेवारी सम्हाल्ने मौका पाए विवेकले। त्यसपछि उनी टिमका नियमित सदस्यजस्तै रहेका छन्।

    फुटबल खेलेर बाँच्ने अवसर

    फुटबलमा भविष्य नदेखेर पलायन हुने सोच बनाएका विवेक अहिले भने खेलाडीको भविष्य उज्ज्वल देख्छन्। ‘सुरुमा फुटबल खेल्दा २-३ वटा बाहेक टुर्नामेन्ट हुन्थेन, अहिले आएर देशभर हुने उत्कृष्ट गोल्डकपहरू खेलेर बाच्न सकिन्छ भन्ने लाग्छ।’ उनी भन्छन्, ‘एन्फाले पनि सर्पोट गर्छ। ग्रासरुट भनेर ६-७ वर्षकै उमेरबाट फुटबल सिकाइन्छ। अहिले त लिग पनि सुरु भएको छ। जसले सकारात्मक ऊर्जा प्रदान गरेको छ।’ यद्यपी उनी प्रतियोगिता हुनु राम्रो भए पनि अनियमित प्रतियोगिताले खेलाडीलाई चुनौती थप्ने आशङ्का गर्छन्। ‘खेलाडीको अवस्थालाई हेरेर प्रतियोगिता गर्नु पर्छ। एन्फाले यसमा नियमन गर्नै पर्छ।’ नेपाली यु-२३ मा बहराइन विरुद्ध विङ्गर खेलेका विवेक म्याच एक्सपोजरको कमीका कारण नेपालको खेल स्तर नबढेको बताउँछन्। निरन्तर अन्तर्राष्ट्रिय अनुभव बटुल्ने हो भने नेपाली फुटबलले समेत फड्को मार्ने उनको विश्वास छ।

    फुटबलमा आरोह र अवरोहलाई नजिकबाट झेलेका विवेकको अबको तत्कालीन लक्ष्य आठौँ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीलाई गोल्ड मेडल जिताउने हो। प्रदेशका टिमहरू बलियो नभएको कारण प्रतिस्पर्धा विभागीय टिमबीच नै हुने उनको अनुमान छ। फुटबलमा कहिले पनि थकाइ नमान्ने विवेक आफ्नो प्रेरणाको स्रोत फ्रेन्च स्टार थिएरी हेनरी रहेको बताउछन।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]