समाज

तमोर करिडोरको धनकुटा खण्डमा चल्‍न थाल्‍यो बस
SHARES

चैत २२, २०७५

    धनकुटा : धनकुटाको कर्णाली भनेर चिनिने चौबिसे गाउँपालिकाको फलामेटारमा पहिलोपटक बस पुगेको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै चैबिसे गाउँपालिकाको फलामेटारमा बस पुगेको हो। गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली मनाएका छन्।

    मुलघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म ट्रयाक खनिएको तमोर कोरिडोरको सडकको मुलघाट-फलामेटार खण्डमा सञ्चालन भएको पूर्व सांसद हेमराज भण्डारीले बताए। करिब ६ अर्बको लागतमा निर्माण भइरहेको तमोर करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। करिडोरमा विभिन्न चार खण्डमा काम भइरहेको छ। तमोर करिडोरको मुलघाट-फलामेटार खण्डमा बस सञ्चालनको पूर्व सांसद भण्डारीले उद्घाटन गरे। फलामेटारमा धरानदेखि फलामेटारसम्म नियमित बस सेवा सुरु भएको हो। सिमान्तकृत माझी जातिको बसोबास रहेको भैंसे क्षेत्रसम्म बस सञ्चालन गर्न सडक व्यवस्थापन कार्य भइरहेको भण्डारीले बताए। तमोर करिडोरमा यातायात सञ्चालन आएसँगै स्थानीयवासी खुशी भएका छन।

    पूर्वी पहाड हुँदै छोटो दूरीबाट चीनको तिब्बतसम्म जोड्ने करिडोरको तमोर नदीको किनारमा यातायात सञ्चालनमा आएसँगै स्थानीयवासी खुसी भएका हुन। पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्तर्गत पाँचथरको सदरमुकाम फिदिम बजारदेखि धनकुटाको मुलघाटसम्म साना सवारी साधन सञ्चालनमा आएको भने एक वर्ष बढी भइसकेको छ। तीन घण्टाभन्दा बढी पैदल यात्रा गरेर मात्र सवारी चढ्न पाउने स्थानीयवासीको घर छेउबाटै सवारी सञ्चालन भएसँगै स्थानीयस्तरमा उत्पादित तरकारी, फलफूललगायतका वस्तु बजारसम्म पुर्‍याउन समेत सहज भएको फलामेटारका महेन्द्र न्यौपानेले बताए। 

    चालकलाई पैसाको माला

    फलामेटारमा पहिलो पटक बस पुर्‍याउने चालक भीम राईलाई पैसाको मालासहित अबिर र फूलमालले स्थानीयले स्वागत गरे। गलाभरि पैसाको माला पहिरिएका राई कच्ची सडकमा मुस्किलले बस पुर्‍याएको भए पनि स्थानीयको खुसीले ऊर्जा मिलेको बताए। धरानबाट करिव ५० किलोमिटर दूरीमा रहेको फलामेटारमा करिब तीन घण्टा लगाएर बस पुर्‍याएको उनले बताए। यता यातायात व्यवसायी नन्द लम्सालले सडकको रुटपरमिट मिलाउन र यातायातको सुरक्षामा सबैले ध्यान दिनुपर्ने बताए। लम्सालले बसमा भाडा नतिर्ने प्रवृत्ति रहेको भन्दै सबैलाई तोकिएको भाडा तिरेर यात्रा गर्न अनुरोभ गरे।   

    निर्माणको काम अन्तिम चरणमा

    धनकुटाको मुलघाटदेखि चीनको सिमानामा रहेको ताप्लेजुङ ओलाङचुङगोला सम्मको तमोर करिडोर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। धनकुटाको मुलघाटदेखि २०६५ सालबाट सुुरु गरिएको तमोर करिडोर अन्तर्गतको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। धनकुटाको साँगुरीगढी गाउँपालिका २ मा रहेको मुलघाटदेखि शुरु भई पाँचथरको लुबुघाट-माझीटार-ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्मको सडकको लागि ट्रयाक खोल्ने कार्य अहिले पनि जारी छ। तमोर करिडोर सडकलाई ब्लक-ब्लक छुट्याएर धनकुटा, पाँचथर, ताप्लेजुङ तीनै जिल्लाबाट टेण्डर प्रक्रियामार्फत काम अगाडि बढाइएको छ। जसले गर्दा काम छिटो सक्न सहज हुने छ।

    धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ पूर्व सभासद भण्डारीले २०६५ सालमा सांसद विकास कोषको ८ लाख रुपैयाँ रकम छुट्याएर कुरुलेतेनुपा-बुढिमोरङ उपभोक्ता समिति गठन गरी सर्वे गरी काम सुरु गरेका थिए। त्यसपछि डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला एक करोड ५० लाख रुपैयाँ रकमान्तर गरी बजेट छुट्याउन सफल भएपछि सडक डिभिजन कार्यालय धनकुटाले त्यो सडकको विस्तृत सर्भे गरी काम अगाडि बढाएको पूर्व सभासद भण्डारीले बताए।

    २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारले त्यो सडक आयोजनालाई राष्ट्रिय योजनामा समावेश गरी राष्ट्रिय योजना अन्तरगत कार्य अगाडि बढी रहेको भण्डारीको भनाई छ। अहिले मुलघाटदेखि ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्मको सडक निर्माण आयोजना ताप्लेजुङ ओलाङचुङगोला सडक योजना ताप्लेजुङले हेर्दै आएको छ। यता मुलघाटदेखि चतरासम्मको सडक आयोजना भने मध्यपहाडी आयोजना पूर्वी खण्डले हेर्दै आएको सडक योजना ताप्लेजुङका प्रमुख रामबहादुर गुरुङले बताए। 

    तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गसँग पनि जोडिएको छ। तमोर करिडोर सडक ओलाङचुङ गोलादेखि धनकुटाको मुलघाटसम्म १ सय ८० किलोमीटर रहेको छ भने प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको रानी भन्सारसम्मको दूरी २८० किलोमिटर रहेको छ। अहिले मध्यपहाडी आयोजना पूर्वी खण्डले हेर्दै आएको सडक मध्ये १ सय ४० किलोमिटर सडकको चौडा निर्माण गरी ग्राभेल गर्ने कार्य भइरहेको छ। बाँकी सडक निर्माणको लागि पनि टेण्डर आब्हान गरी आवश्यक प्रक्रिया अगाडि बढाई काम भइरहेको छ।

    तमोर करिडोर सडकखण्डअन्तर्गत साना ठूला गरी करिब १० वटा पुल निर्माण हुने भएका छन। तमोर करिडोरलाई सुरुमा मुलघाटदेखि ओलाङचुङगोलासम्म जोड्ने लक्ष्यका साथ अगाडि बढाएको भए पनि अहिले त्यसलाई विस्तार गरेर मुलघाटबाट छिन्ताङको त्रिवेणी हुँदै अरुण नदीमा पुल निर्माण गरेर दुधकोशीको किनारै किनार उदयपुरको घुर्मी जोड्ने लक्ष्य राखिएको छ। त्यसो गर्न सकिएमा पूर्वी पहाडी ७ जिल्लालाई तमोर करिडोरले जोड्ने छ। सोही योजना अनुरुप तमोर करिडोर ओलाङचुङगोला-मुलघाट-बराहक्षेत्र सडक आयोजनाको कामलाई अझ अगाडि बढाउन केही समय अगाडि ताप्लेजुङका सासद योगेश भट्टराईको नेतृत्वमा एक समिति बनेको छ। जसमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका सांसदहरू र पूर्व सभासदहरू छन। 

    तमोर करिडोर सडक निर्माण अन्तर्गत गत साल ३ करोड ८७ लाख रुपैयाँ बजेट आएको र त्यसले पहिले ट्रयाक चौडा गर्ने, चार वटा कलबर्ट बनाउने काम भइरहेको गुरुङले बताए। तमोर करिडोर सडकले ओलाङचुङगोला जोड्न २४ किलोमिटर बाकी रहेको छ। चीनतिरबाट पनि ओलाङचुङगोलासम्म ट्रयाक आइसकेकाले गत वर्ष नै जोडिने भनिए तापनि भीर पहराको कारण ढिलाई भएको बताइएको छ।

    धनकुटाको मुलघाटदेखि पाँचथरको सुवाङसम्म ११५ किलोमिटर सडकको विस्तृत सर्वेक्षण डिपीआर र वातावरणीय मुल्यांकन प्रभाव इआइएको काम सकिएको र पाँचथरको सुवाङदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म ४० किलोमिटरको विस्तृत सर्वेक्षण डिपीआर र वातावरणीय मूल्यांकन प्रभाव इआइएको काम भइसकेको गुरुङले बताए। उनले त्यो काम सकिएकपछि कति रकम लाग्ने भन्ने यकिन हुने बताए। 

    तमोर करिडोर सडक र भारत जोड्ने नेपालकै छोटो दूरीको सडक मार्ग बन्नेको छ। तमोर करिडोर सडक निर्माण भएपछि पूर्वी पहाडी ४ जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई २० किलोमीटर दूरीको आसपासमा जोडिन्छ। त्यति मात्र हाेइन, काठमाडौं आवतजावतको लागि पनि छोटो दूरी पर्दछ। भारतको जोगवनी र चीनको तिब्बतमा रहेको रियू व्यापारिक केन्द्रलाई यस सडक मार्गले जोड्ने छ। दुई ठूला देशबीच नेपालको बाटो हुँदै प्रत्यक्ष व्यापार सेवा सञ्चालन भए पनि नेपालको आर्थिक बृद्धिदरमा पनि टेवा पुर्‍याउने पूर्व सांसद भण्डारीले बताए। 

    यसरी बन्यो तमोर करिडोरको योजना

    धनकुटाको चौबिसे गाउँपालिका ३ कुरुलेतेनुपामा जन्मिएका हेमराज भण्डारीले धनकुटा सदरमुकाम आउनु पर्दा त्यही तमोरको किनारै किनार आएर याक्चना घाटको घिर्लिङ तर्नु पर्थाे। उनले सयाैपटक तमोरको किनार छिचोले। उनी पूर्व मसालमा रहँदा पनि कुशल संगठक मानिन्थे। जब उनी २०५६ मा दिनानाथ शर्मासँगै माओवादीमा प्रवेश गरे, त्यसपछि उनका लागि त्यो तमोरको किनार बाच्ने प्रिय साथी नै बनेको उनी बताउँछन।

    दश वर्षे युद्धको समयमा माओवादीलाई जोगिन छोटो र सुरक्षाकर्मी नपुग्ने बाटो चाहिन्थ्यो। उनी प्रायः त्यही बाटो प्रयोग गर्थे। कयौपटक त्यही किनारबाट आफ्ना जनमुक्ति सेनालाई हिडाएँ। त्यति मात्रै होइन, नदी किनार आसपासमा बसोबास गर्ने आम नागरिकको दैनिकी पनि देख्थे। उनी जनयुद्धको समयमा त्यही तमोर नदीको किनारलाई साक्षी राखेर ताप्लेजुङको दोभानदेखि काभ्रे जिल्लाको शिरसम्मै यात्रामा निस्किएका बताउँछन। त्यही भोगाईले उनले मनमनै तमोर करिडोरको खाँका कोरेको बताउँछन। त्यसबेलाको मनको खाँका अहिले पूरा हुनै लागेको उनको भनाई छ।

    संगठनका काममा लाग्दा पनि सुरक्षाकर्मीको आँखा छल्ने माध्यम त्यही किनार थियो। सुरक्षाकर्मी सवारी साधन चल्ने ठाउँमा पुग्ने भएकाले तमोर नदीको किनार सडकबाट निक्कै टाढा हुनाले सुरक्षाकर्मीको आँखा छल्न सजिलो पनि थियो। त्यही भएर नदी किनारको बाटो रोज्नु बाध्यता रहेको थियो। जब उनी तमोर नदीको किनारमा पुगेपछि उनलाई यो किनारमा कहिले गाडी गुड्ला भन्ने कुरा मनमा पसेको उनी बताउँछन। चर्काे घाम र असुविधा भोग्दा उनीलाई यो किनारमा अवस्य पनि एक दिन गाढी गुडाएरै छाड्छु भन्ने लागेको उनको भनाई छ। नभन्दै माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो निर्वाचनमा उनी तत्कालीन धनकुटा क्षेत्र नं. १ बाट उम्मेदवार बने। अत्याधिक मत पाएर विजयी पनि भए।

    सभासद भएपछि उनको मनमा उत्साह थपियो। त्यतिवेला संसदीय विकास कोषको रकम सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउँथे। उनले त्यही मौकामा तमोर नदीको किनारै किनार बाटो खोल्ने संकल्प गरे। उनले ०६५ सालमा धनकुटाको मुलघाटबाट तमोर नदीको किनारै किनार बाटो खोल्न ८ लाख रुपैयाँ लगाउने योजना बनाए। त्यसैअनुरुप जिल्ला सडक कार्यालय, जिल्ला विकास समिति लगायतका निकायसँग अनुरोध गरे। तर ती निकायले नमानेपछि उनले जवरजस्ती एउटा उपभोक्ता समिति बनाएर ८ लाख रुपैयाँ बजेट विनीयोजन गरेर सडकको ट्रयाक खोल्न सुरु गरे।

    २०६६ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला १ करोड ५० लाख विनियोजन भयो। त्यो पैसामा उनले चलाख्याइँ गरे। धनकुटाको मूलघाटबाट सडक बनाउन आएको पैसा पाँचथरका सांसदको हातमा सुम्पिए। पाँचथरका सांसदहरुले पाँचथरको जोरसालबाट मुलघाटतर्फ बाटो खन्न थाले। जतिसक्दो छिटो पाँचथरबाट मुलघाट बाटो जोडियोस भन्ने उनको चाहना थियो। त्यही भएर ५० लाख रुपैयाँ धनकुटालाई राखेर १ करोड रुपैयाँ पाँचथरका सांसदको हातमा सुम्पिएको उनले बताए।

    तमोर करिडोरको निर्माण पूरा भएपछि तमोर जलविद्युत आयोजनाको काम पनि छिटो हुने भण्डारीको बुझाई छ। उनले तमोर करिडोरलाई धेरै सम्भावना बोकेको करिडोरको रुपमा लिएका छन। उनको बुझाईमा पूर्वका विभिन्न जिल्लालाई काठमाडौं र हेटौडा जोड्ने सबैभन्दा उत्तम मार्ग बन्छ भन्ने छ। ‘यो सडक भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो मार्ग पनि बन्नेछ भन्ने लाग्छ’ उनले भने, ‘यसले धेरै सम्भवना बोकेको छ, यो १ नं. प्रदेशको प्रमुख मार्ग बन्न सक्छ।’ 

ईश्वर थापा

थापा थाहा खबरका धनकुटा समाचारदाता हुन्। ईमेल : ishwor.press@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]