फिचर

जसले महिला फुटबलको जग बसाइन्
SHARES

बैशाख २, २०७६

    इलाम : जतिबेला पुरुष फुटबल नै संघर्षपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो ठ्याकै त्यही समयमा उनले महिला फुटबलमा आफूलाई स्थापित गराइन्। उनी अर्थात् पूर्वकप्तान कमला हिराचन। वि.स २०३० को दशकमा हिराचनले घरको कामधन्दालाई भन्दा खेल करिअरलाई महत्त्वपूर्ण सम्झिइन्। अनि सुरु गरिन् र पछ्याइन् सोही लक्ष्यको एकल एजेन्डालाई।

    पुरातनवादी समाज अझ छोरीहरू पढ्दा नै बिग्रन्छन् भन्ने मानसिकता थियो। खेल्दा त झन् उनीहरू अपराधीसरह नै मानिन्थे। त्यही समाजमा उनले आफ्नो एक्लो चुनौती प्रस्तुत गरिन्। अझ विद्रोही बनिन्। हिराचन सम्झन्छिन् ‘छोरीलाई घरबाहिर पठाए बिग्रन्छन् भन्ने मान्यता थियो। तर, आफ्नो खेल्ने प्‍यासनलाई रोक्न सकिनन्।’ त्यसो त हिराचनले सुरुवातमै फुटबललाई अँगालेकी भने होइनन्। उनको करिअरको सुरुवात भने भलिबलबाट भएको थियो। हिराचन भन्छिन्, ‘विद्यालय तहमा भलिबल खेलेर अञ्चलस्तरीय टिममा पुगेको थिएँ। तर मेरो लगाव र ज्यानलाई हेरेर शिक्षकहरूले फुटबलमा लाग्ने प्रेरणा दिनुभयो।’ अनि सुरु भयो उनको फुटबल कथा।

    भलिबलबाट फुटबलको यात्रा

    भलिबलमा राम्रो प्रगति भइ नै रहेको थियो। त्यसैले पनि परिवारबाट फुटबलमा नलाग्ने दबाब थियो। खेल क्षेत्रमै नलाग्न परिवारले दिएको दबाबलाई भलिबलमा भएको प्रदर्शनले शान्त बनाएको थियो तर उनले बाँकी करिअर फुटबलमै समर्पित गर्ने अठोट बनाएसँगै फेरि एकपटक उनमा पारिवारिक दबाब बढ्ने नै भयो। हिराचन भन्छिन्, ‘भलिबल त खेलिस् अब केटाहरूले खेल्ने फुटबल नखेल भनेर परिवारबाट दबाब आयो। तर, मेरो अठोटका अगाडि उहाँहरू हार्नुभयो।’ परिवार जितेर अघि बढेपछि हिराचनले सायदै पछि फर्किनुपर्‍यो। उनी नेपालमा महिला फुटबलको जग बसाउने थोरै खेलाडीहरूमा आफ्नो नाम लेखाउन सफल भइन्। अझ फुटबल पुरुषहरूले मात्र खेल्छन् भन्ने मान्यता भत्काइन्। उनी जतिसमय नेपाली फुटबलमा रहिन् त्यतिसमय महिला फुटबललाई सनसनीपूर्ण बनाइरहिन्।

    त्यसो त भलिबलबाट फुटबलमा छलाङ मार्नु आफैँमा कठिन निर्णय थियो। हातका पञ्‍जामा भलिबल नचाएको बानी खुट्‍टामा बल नचाउने अवस्थामा पुग्दा उनलाई पनि गाह्रो महसुस भएको थियो। त्यसो त आफ्नो कठिनाइसँगै प्राविधिक कठिनाइ पनि सतहमै थियो। हिराचन भन्छिन् ‘घरनजिकै विद्यालयको खेलमैदान त थियो तर बल किन्ने अवस्था थिएन।’ कपडाको बुट लगाएर उनले विद्यालयको बलमै अभ्यास गर्न थालिन्।

    ‘एन्फाले पासपोर्ट, ट्रयाकसुट, साडी र ब्लाउज त दियो तर जर्सी दिएन। हामीसँग जर्सी हुनु अनिवार्य थियो। अनि नेपाल–११ का दाइहरूसँग फिर्ता गर्ने सर्तमा जर्सी मागेर पहिलो अन्तर्राष्ट्रिय खेलका लागि हङकङ लाग्यौँ।

    विद्यालयस्तरको प्रतियोगिताले बुटवलमा उनको ख्याति बढ्दै गयो। रुपन्देही जिल्ला र लुम्बिनी अञ्चलमा समेत आफ्नो कौशल देखाउँदै उनले राष्ट्रिय खेलाडी बन्ने लाइनमा आफूलाई पुर्‍याइन्। सेन्ट्रल डिफेन्समा जमेकी हिराचन विस्तारै बढ्दै गएको फुटबल माहोलमा थप परिचित भइन्।

    फुटबलमा सुरु भएको उपाधि यात्रा

    २०३९ सालमा काठमाडौंमा भएको प्रथम बडामहारानी कप फुटबलमा उनी सम्मिलित लुम्बिनी अञ्चलले उपाधि जित्यो। त्यस्तै, २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक सहभागी गराइएको महिला फुटबलमा पनि हिराचनले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखिन्। व्यक्तिगत रूपमा उनी चर्चित बनिन्। नेपालमा त्यससमय लायन्स कप, बडामहारानी कपलगायत सीमित प्रतियोगिता हुन्थे। फुटबल प्यासन भएकाले व्यावसायिकभन्दा पनि घुम्न पाउने रहरका कारण उनी सीमापारि भारतको लखनउ, हरियानालगायत क्षेत्रमा प्रतियोगितामा आफ्नो टिम लिएर जान्थिन्।

    पहिलो अन्तर्राष्ट्रिय सहभागिता

    १८ वर्षे किशोरी अवस्थामै हिराचनको नाम नेपाली फुटबलमा चिरपरिचित बनेको थियो। नेपाली टोलीको रक्षापंक्तिमा निर्विकल्प बन्दै गएकी हिराचनले १९८६ को विश्वकपलाई नजिकबाट हेरिन्। विश्वकपमा चर्चित लिजेन्ड म्याराडोनाको खेल हेरेर फुटबलमा उनको लगाव थप बढ्यो। सोही वर्ष पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रदर्शनको मौकाको प्रतीक्षामा थिइन् उनी।

    सन् १९८६ मा एएफसी वुमन एसियन कपको छैटौँ संस्करण हुने भएसँगै राष्ट्रिय टिम बनाउने तयारी सुरु भयो।  सोही प्रतियोगिताको छनोटको आधारका रूपमा २०४३ सालको राष्ट्रिय प्रतियोगितालाई लिइयो। देशभरबाट छानिएका २५-३० खेलाडीलाई काठमाडौंमा दुई साता प्रशिक्षण दिइएको सम्झना उनमा ताजै  छ। तत्कालीन समयमा प्रत्येक अञ्चलबाट ३/३ जना खेलाडी छनोट गरियो। नेपालको टिम तयार भयो तर महिला टिमका लागि जर्सी भने थिएन। हिराचन पहिलो अन्तर्राष्ट्रिय सहभागिता सम्झँदै भन्छिन्, ‘एन्फाले पासपोर्ट बनाइदिनुका साथै ट्रयाकसुट, साडी र ब्लाउज त दियो तर जर्सी दिएन। हामीसँग जर्सी हुनु अनिवार्य थियो। अनि नेपाल–११ का दाइहरूको फिर्ता गर्ने सर्तमा जर्सी मागेर  लगेका थियौँ’ त्यसबेला १६ खेलाडी चयन गर्दै नेपाली राष्ट्रिय टिम हङकङ पुगेको थियो।

    पहिलो सहभागितामा निराशाजनक नतिजा

    १४ डिसेम्बर १९८६ नेपाली महिला फुटबलको इतिहासमा स्वर्णिम मिति हो। किनकि नेपाली महिला टिमले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्‍यु गरेको थियो। आयोजक हङकङविरुद्ध मैदानमा उत्रँदा नेपाली चेलीहरू विल्कुलै नौलो महसुस गरिरहेका थिए। घरेलु धुलो मैदानमा खेलेको नेपाली टिमलाई आयोजकविरुद्ध कृत्रिम मैदान (आर्टिफिसियलर्टफ) मा प्रदर्शन गर्न निकै असहज भएको थियो। त्यतिबेला नेपाली टिमको कप्तानको जिम्मेवारीमा रमा सिंहले समाल्दा उनी उपकप्तान थिइन्। हङकङसँग डेब्यु खेलमा पराजित नेपालले थाइल्यान्डसँग ५–० र इन्डोनेसियासँग ६–० को हार भोग्यो। तर, नेपाली महिला टिम निराश बनेन। किनकि नेपाली महिला फुटबलको त्यो अभावबीचको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। 

    कप्तानी भोगाइ

    नेपाली महिला फुटबल टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा निकै कमजोर थियो। किनकि देशमा महिला फुटबलको वातावरण आफैँमा कमजोर थियो। रमा सिंहपछि उनले कप्तानको जिम्मेवारी निभाइन्। राष्ट्रिय टोलीकी दोस्रो कप्तान बनेपछि हिराचनको नेतृत्वमा नेपालले सन १९८९ मा हङकङमा एसियन कपको सातौँ संस्करण र १९९० मा भारतको त्रिवेन्द्रममा आयोजित फेडेरेसन कपमा समेत खेल्यो। १ महिना तयारीपछि एसियनकपका लागि हङकङ पुगेको नेपाली टिम फराकिलो गोल अन्तरले पराजित भएर समूह चरणबाटै घर फर्कियो। ‘नियमित प्रशिक्षण गरेका टिमविरुद्ध अभावका बीच खेलेको हामीले कसरी जित्थ्यौँ र?’ पुरानो अवस्था सम्झँदै उनले भनिन्, ‘तयारी अवधि सुनेपछि विपक्षीले हाम्रो खेलको तारिफ गरेका थिए।’ 

    फुटबलबाट पलायन

    नेपालमा खेलेर बाँच्ने आधार अहिले पनि राम्रो बनिसकेको छैन। उनको पनि फुटबल सनले मात्र जीवन  कति दिन चल्थयो र? हिराचनको भोगाइ पनि त्यस्तै रह्यो। २०४६ सालमा उनले करिअरमा ब्रेक लगाउने निर्णय गरिन्। उनी खेल छोड्दाको समयबारे भन्छिन् ‘प्रतियोगिता नै हुँदैनथे, जीवन चलाउने समय भएको थियो, कुहिन केही गरेर अघि बढ्नुपर्थ्‍यो त्यसैले विवाह गरेर जापान जाने निर्णय गरेँ।’ फुटबल खेलेर जागिर पाइयोस् भन्ने उनको अपेक्षा थियो तर बढ्दो उमेर र व्यावसायिकता नहुनु विदेश पलायन हुन बाध्यता बनेको तीतो यथार्थ अहिले पनि विद्यमान छ। उनी मात्र होइन त्यस समयमा अधिकांश खेलाडी फुटबल छाडेर गृहस्थी जीवनमा फर्किए। जसको प्रत्यक्ष असर नेपाली महिला फुटबलमा लामो समयसम्म परिरह्यो। झन्डै एक दशक नेपाली महिला फुटबल गुमनाम रह्यो। 

    फुटबलमा पुनरागमन

    लामो विदेश बसाइपछि २०७४ को अन्त्यमा हिराचन नेपाल फर्किइन्। नेपाल आउँदा महिला फुटबल पुनरागमनको प्रयासमा थियो। तर, हिराचनलाई आफू पुन फुटबल क्षेत्रमा फर्किन्छु भन्ने थिएन। कसैले वास्ता गर्ला भन्ने नसोचेकी उनलाई अखिल नेपाल महिला फुटबल संघकी सहकोषाध्यक्ष नन्दकला थापाले पुन फुटबलमै लाग्नुपर्ने अडिग गरिन् र ‘मिसन टुगेदर’ नाममा हिराचनलाई फुटबलमा फर्काइछाडिन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले महिला टिमको व्यवस्थापनको जिम्मा उनलाई दिएपछि उनमा थप जिम्मेवारी बढ्यो। एन्फाले देखाएको सम्मानले हिराचनलाई ३ दशक अघिको फुटबल अनुभवलाई युवामाझ बाँड्ने मौका मात्र मिलेन आफ्नो पुरानो फुटबल लगावलाई नयाँ जोससमेत दियो। अहिले उनी महिला फुटबलको ब्यागबोनका रूपमा रहेकी छिन्। उनी भन्छिन्, ‘मैले फेरि एकपटक महिला फुटबललाई परिवारभन्दा माथि राखेको छु। त्यही भएर २–३ महिना घरपरिवारसँग नहुँदा पनि अत्यास लागेको छैन।’ 

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]