विचार

विध्वंशले पनि पखालेन हाम्रो सोच
SHARES

बैशाख ५, २०७६

    समय र काल कहिल्यै हाम्रो बन्दी बन्न सक्दैन। तर, काल–परिस्थितिले कहिले अति मीठो अतीत सुम्पिएर जान्छ त कहिले दु:खका भवसागर तर्न बाध्य बनाउँछ। आफ्नै ताल र चालमा एकसुरले अघि बढिरहने यही समय कति बेला हाम्रो जीवनलाई अन्धकार गुफाझैँ कहालीलाग्दो बनाइदिन्छ, अनि कहिले आकाशमा चम्कने ताराझैँ झिलमिल। भन्न सकिँदैन।

    केही दिनअघि मात्र एक ज्योतिषसँग भलाकुसारी भयो। भन्दै थिए ‘यो २०७६ साल पनि २०७२ सालझैँ कठिन हुनसक्ने देखिन्छ।’ पत्यार लागिरहेको थिएन तर, त्यो बिहानी नै लुक्लामा विमान दुर्घटनाको समाचारबाट सुरु गर्नुपर्‍यो। मन नै नमीठो भयो। कतै उनले भनेको साँचो पो हो की भन्ने लाग्नु स्वाभाविकै थियो। अनि त्यो वर्ष व्यहोरेका पीडाहरू आँखामा तैरिन पुगे। कुनै रजतपटमा चलचित्र बगेझैँ।

    हुन पनि २०७२ साल मेरा लागि मात्र होइन। सारा नेपालीका लागि दुख–सुखका समिश्रण बनेको थियो। कहिलेकाहीँ काँडाको बिझाइले पनि कालान्तरसम्म चुभनको आभास दिलाइ नै रहन्छ कि? त्यस्तै रह्यो वर्ष २०७२ मेरा लागि। 

    त्यो वर्ष वैशाख १ गते नै हाम्रो काठमाडौँ बाहिरिने योजना बन्यो। वीपी राजमार्ग भर्खर बनेको थियो। त्यो बाटो नापेकाहरूले सामाजिक सञ्जालमा पोस्टिने फोटाहरूले मेरा मनमा पनि एक पटक सेल्फी डाँडा हेर्ने हुटहुटी चलाइरह्यो। बाटोमा पर्ने सिन्धुलीगढी चहार्ने मन पनि लाग्यो। अवसर मिल्यो, हामी पनि हिड्यौं। पहिलो गन्तव्य बनाइयो, जनकपुरधामलाई। वास्तवमा मनमोहन लाग्यो, त्यो बाटो त्यति बेला। तर, अहिले त हरेक यात्रासँगै त्यो बाटोको कुरुपता पनि बढ्दो छ। उचित मर्मत सम्भारको अभाव त पहिलो कारण भइहाल्यो। त्यसमाथि काठमाडौंमा निर्माण हुने भवनहरूका लागि निर्माण सामग्री बोक्ने ट्रिपरहरूले पनि आजकाल त्यही बाटोमा यात्रा गर्दा रहेछन्। अनि त सक्किगो नि!

    एक त कम चौडाइको बाटो त्यसमाथि अगाडि पछाडि टिपरका बथान। आजकाल साँझपख त्यो बाटोमा सकुशल यात्रा गर्नु सक्नु भनेको मृत्युदण्डबाट बचेर फर्किएझैँ हुँदो रहेछ। चिलको झम्टाइबाट बचेको परेवाझैँ।

    उराठलाग्दो गर्मीमा उराठलाग्दै देखिने जनकपुरको धार्मिक यात्रापछि श्रीमतीजीलाई खोटाङको हलेसी महादेव जाने इच्छा जागेछ। भर्खर नयाँ वर्षका एकाध सूर्योदय मात्र सकिएका थिए, त्यस्तो अवसरमा पत्नीको इच्छा कसरी मार्नु? त्यसमाथि म जस्ता पत्नीधर्मीले त्यस्तो कार्य गर्न पनि सक्दैन। मान्नै पर्‍यो उनका हठ। मानियो पनि, एक–दुई जनासँग बाटोको जानकारी लिएपछि सिन्धुलीको खुर्कोटबाट हलेसी जाने निधो गरियो।

    खुर्कोटमा सोधखोज गर्दा पनि बाटो राम्रै छ भन्ने प्रतिक्रिया पाइयो। स्यान्ट्रो कारमा हामी ५ जना थियौँ। म, पत्नी, छोरी, भतिजी र छोरा। खुर्कोटमा खाजा खाने होटेलमा दुईजना महिलाले घुर्मीसम्म जान लिफ्ट मागे। हुन त उनीहरू बसको प्रतीक्षामै थिए। मैले हुन्न भन्न सकिनँ। तर, छोरी र भतिजीले ठाडै हुँदैन भनिदिए। मेरी पत्नी मुर्मुराउँदै थिइन्। ‘त्यति सहयोग माग्दा पनि गर्न नहुने? आजकालका केटीहरू साह्रै चढेका, नकचरीहरू!! भन्दै। तर, घुर्मीसम्म नै यस्तो बाटो रहेछ कि के भन्नु। मेरा छोरी–भतिजीले पछिसम्म त्यही कुराले आमालाई जिस्काइरहे। पत्नी भने फिसिक्क हाँस्नबाहेक के नै गर्न सक्थिन् र।

    कार चलाउन लायकको थिएन, घुर्मीसम्मैकै बाटो। तर, अब त राम्रो बाटो आउला कि! भन्ने आस गर्दागर्दै घुर्मी त पुगियो। कति खोला र नदीमा पुलहरू बन्न बाँकी नै रहेछन्। नदीको बालुवा र चट्टानसँग बच्दै अगाडि बढ्नुपर्ने। कतै दोबाटो आउँदा सोधखोज गर्न पनि मानिस नभेटिने। आफैँ अनुमान लगायो, अगाडि बढ्यो। कतै गाडी फस्यो भने सहयोग पाउने सम्भावना छैन बराबर थियो। कतै मानिस देखिएका थिएनन्। त्यही पनि गाडीको मायाले विस्तारै–विस्तारै अगाडि बढियो। गाडी बिग्रिएको भए कति ‘टेन्सन! हुन्थ्यो होला? अहिले पनि म सिरिंग हुन्छ। 

    फेरि अर्को दुख आइलागि नै हाल्यो। भगवानको वासस्थान भनेर के भन्नु। पानीको निकै अभाव रहेछ, त्यहाँ। शायद महादेव पानीभन्दा पनि अरू खानपिनका बढी सौखिन भएर पनि होला। त्यसमाथि आफैँले वरदान दिएका भस्मासुरसँग लुक्न रोजेका रहेछन्, महादेव त्यो स्थानमा। अनि त्यस्तो बेला खाना–पानीको पिर कसरी परोस् उनलाई?

    थप ती दुईलाई लिफ्ट दिएको भएको बढी वजनले अगाडि बढ्ने सबै सम्भावना बिच बाटो मै बन्द हुन्थ्यो। अथवा उनीहरूलाई त्यो अनकंटारमा ओरालेर हामी अगाडि बढ्नु पथ्र्यो। त्यो पापबाट भने बचियो। कहिलेकाहीँ अरूलाई सहयोग नगर्दा पनि भलो गरेको अनुभव हुँदो रहेछ। त्यो पनि जानियो। पढेरभन्दा पनि परेर जानिन्छ भन्थे बुढापाका, त्यसै भनेका होइन रहेछन्।

    अहिले त निकै राम्रो बनिसक्यो रे त्यो बाटो भन्ने सुनेको छु। घुर्मीमा एउटा होटेलमा चिया–नास्ता खाँदै अगाडिको बाटोका बारे सोध्यौँ। ‘आँट गर्ने हो भने जान्छ! अस्ति नै एकजनाले पनि कार लिएर गएका थिए।’

    त्यो वचन सुनेपछि मन नै हुँडलियो। ३ विकल्प अघि आए। एउटा घरतिर फर्कने, अर्को सार्वजनिक यातायात चढेर हलेसी जाने र अनि तेस्रो जे पर्ला, त्यो टर्ला भन्दै आफ्नै कारमा जाने। त्यो केही क्षण मेरो मस्तिष्क बर्सिन नसकेर आकाशमै मडारिरहेको बादल झैँ बन्यो। आफूसँगै अरू ४ ज्यान पनि आफ्नै हातमा थियो। के भए त बितिहाल्यो नि भन्ने भयले पनि मनमा कतै खेलिरहेकै थियो। केही क्षण मन र दिमाग सुन्न बन्यो, अनिर्णयको बन्दी बन्यो। अन्तिममा निष्कर्ष निकालेँ, अनि आँट गरेँ, ल जाऊँ त आफ्नै कारमा भनेर बढियो अगाडि। जे पर्ला देखा जाएगा भनेर। घुर्मी आइपुग्दा र अगाडि बढ्दा बाटोको दुर्गतिमा त्यति फरक पाइएन। झन् बिग्रिएको थियो। हामी जाँदा दूधकोसीमा पुल पनि बनिसकेको थिएन। त्यहाँ एउटा ठाडो डाँडोमा कार चढाउन निकै कठिन हुन्छ कि जस्तो लाग्यो। ठुला गाडिले बनाएका ट्रयाकमा कार फस्ने सम्भावना निकै थियो। त्यसमाथि पूरै मसिना रातो माटोले पुरिएको बाटो। त्यही भएर ट्रयाकबाट नभएर त्यसको माथिबाट गाडी चलाउने निधो गरेँ। योजना सफल भयो, दुख–सुख रात परेपछि मात्र हलेसी पुगियो। खराब बाटोलाई धिकार्दै।

    फेरि अर्को दु:ख आइलागिहाल्यो। भगवानको वासस्थान भनेर के भन्नु। पानीको निकै अभाव रहेछ, त्यहाँ। सायद महादेव पानीभन्दा पनि अरू खानपिनका बढी सौखिन भएर पनि होला। त्यसमाथि आफैँले वरदान दिएका भस्मासुरसँग लुक्न रोजेका रहेछन्, महादेव त्यो स्थानमा। अनि त्यस्तो बेला खाना–पानीको पीर कसरी परोस् उनलाई? हुन त त्यो स्थान बौद्धमार्गीहरूका लागि पनि त्यति आस्थाको केन्द्र रहेछ। छिमेकी मुलुकमा दिनहुँ बाबरी मस्जिद र राम मन्दिरको किचकिच सुनिरहँदा वास्तवमा हामी नेपालीले सबै धर्मलाई सम्मान गर्न सक्ने आकाशभन्दा विशाल छाती बोकेका रहेछौँ भन्ने लाग्यो नै।

    खास कुरो त, त्यहाँ आची धुने पानीसमेत २ रुपैयाँ प्रतिलिटरका दरले किन्दा रहेछन्, होटेल व्यवसायीले। खुट्टामा केही समस्या भएकाले म ‘प्यान’ मा बस्न नसक्ने अनि दुई जनाभन्दा बढीलाई होटेलवालाले ‘कमोड’ भएको कोठा दिनै नमान्ने। पैसा बढी दिन्छु भन्दा पनि पटक्कै टेरेनन्। रिस पनि उठ्यो। कारण रहेछ, जति धेरै जना ‘ट्वाइलेट’ गयो, त्यति नै बढी फ्लस गर्छन् र पानी बढी खपत हुन्छ भन्ने। साना छोरा–छोरीलाई आफूभन्दा भिन्न कोठामा सुताउने आँट पनि आएन। बाध्यता नै बन्यो, त्यसैले ‘कमन रुम’ लिइयो। कोठा बाहिरै गएर शरीरभित्रका फोहर फालियो।

    वैशाख १२ गते पौडीका प्रशिक्षक ईश्वर कार्कीले उनको पुर्खौली घर सिन्धुपाल्चोकको लामोसाँघु जान निम्तो दिएका थिए। कुनै खेलको फाइनल थियो, त्यो दिन त्यहाँ। मैले हुन्छ त भने तर ११ गते रातिदेखि नै जान मन लागेन। कारण थियो, त्यो १२ गतेको ठ्याक्क १६ वर्ष अगाडि पविताजी र म विधिवत् पति–पत्नी बनेका थियौँ। त्यसैले उसलाई एक्लै छाडेर जान मन लागेन, गइन। बाँच्न लेखिएको रहेछ। सिन्धुपाल्चोक गएको भए दुर्भाग्यले अरू केही लेख्थ्यो कि?

    भोलिपल्ट मन्दिर दर्शन गर्न जाँदा हामीले कुनै चमत्कार गरेर आए झैँ गरेर सबैले हेरे। अनि कतिले सोध्न पनि भ्याए, ‘यही कारमा आएको?’ साह्रै कमले मात्र त्यति बेलासम्म कारबाट त्यो स्थानमा टेक्ने आँट गरेका रहेछन्। त्यो पनि थाहा पाइयो। फर्कने बेला मलाई पनि लाग्यो चाहिनेभन्दा बढी नै आँट गरेरै त्यस्तो बाटोमा कार चलाइएको रहिएछ भन्ने। त्यसमाथि फर्कने बेला घुर्मी काटेपछि एक त कारको ब्याट्रीले धोका देला जस्तो भयो। अनि लगत्तै आकाश पनि कालो–निलो भएर आयो। कति बेला पानी दर्कला भन्ने भय पलाउँदा नपलाउँदै भीषण पानी नै दर्कियो। अरूभन्दा कतै पहिरो जला र बिचल्लीमा परिएला भन्ने डर बढी थियो, मलाई। आफूले त जसो तसो समय कटाइला तर त्यस्तो बेला बालबच्चाको बढी पिर हुँदो रहेछ। पहिरोमा फसियो भने खाने बस्ने व्यवस्थासमेत हुन नसक्ने लोकमार्ग रहेछ, त्यो। सहयोग माग्न सक्ने कोही भेटिनै मुस्किल नै थियो। तर, धन्य जोगाए हलेसी महादेवले सकुशल खुर्कोट पुगियो। त्यहाँ नपुग्दासम्म त मन अत्तालि नै रहेको थियो। एक किसिमले २०७२ सालको सुरुवात नै नजानिंदोबाट भयबाट भयो।

    वैशाख १२ गते पौडीका प्रशिक्षक ईश्वर कार्कीले उनको पुर्खौली घर सिन्धुपाल्चोकको लामोसाँघु जान निम्तो दिएका थिए। कुनै खेलको फाइनल थियो, त्यो दिन त्यहाँ। मैले हुन्छ त भने तर ११ गते रातिदेखि नै जान मन लागेन। कारण अर्को पनि थियो, त्यो पनि अति महत्त्वपूर्ण। त्यो १२ गतेको ठ्याक्क १६ वर्ष अगाडि पविताजी र म विधिवत् पति–पत्नी बनेका थियौँ। त्यसैले उसलाई एक्लै छाडेर जान मन लागेन, गइन। पविताजीको मनको कुन कुनाको चुम्बकले मेरो मनलाई तान्यो, त्यो दिन पत्तै भएन। जसरी १६ वर्षअघि पनि तानिएको थिएँ। बाँच्न लेखिएको रहेछ। सिन्धुपाल्चोक गएको भए दुर्भाग्यले अरू केही लेख्थ्यो कि?

    शनिवारको दिन, त्यो पनि म्यारिज एनिभर्सरी। परिवार नै बाहिरतिर घुम्न र खान जाने तयारी गर्दै थियौँ। मेरी ममी भने धार्मिक यात्रापछि काठमाडौँ बाहिरबाट फर्कँदै थिइन्। त्यही वीपी राजमार्गको बाटो भएर। म, छोरी र छोरा बाहिर जान तयार बनिसकेका थियौँ। मैले त जुत्तासमेत लगाइसकेको थिएँ। महिलाको स्वाभाविक गुण अनुसार नै पत्नीजी तयार हुन केही ढिलो गर्दै थिइन्। घरको ४ तल्लामाथि उनी तयार हुँदै थिइन्, हामी बाँकी तीन जना टिभी हेर्दै गफ्फिदैं थियौँ। अचानक घर हर्लियो। एक–दुई झट्का त के भयो भन्ने सोच्नमै बित्यो। पत्नी र छोरा–छोरी तल भाग्न खोज्दै थिए। मैले उनीहरू सबैलाई पिलर समात्न लगाएँ, अनि आफूले पनि समाएँ। त्यो पजि बल्लतल्ल, सकिनसकि। भुइँमा खुट्टा जमाउन नै निकै गाह्रो भइरहेको थियो। घर बाहिर भाग्न त भागियो तर, भुइँचालो रोकिएपछि मात्र। गन्तव्य बन्यो, घर नजिकैको चौर। हामी त्यहाँ पुगेपछि अरूहरू पनि आउन थाले। कतिपय त सार्वजनिक यातायातबाट ओर्लिएर पनि आए। मेरै घर नजिकै एउटा अपार्टमेन्टमा बस्ने कलाकारले त हतार–हतारमा बुढी आमालाई माथि नै छाडेर भागिछन्। पछि हाँसी मजाकमा त्यस्ता कुरा पनि सुनियो।

    उता लामोसाँघु पुगेका ईश्वर दाइ भने भुइँचालोबाट बल्लतल्ल बचेछन्। भुइँचालो आउँदा उनी तीनतिर घर भएको चोकमा रहेछन्। सबै घर भत्किएछन् तर, उनी उभिएभन्दा विपरीत दिशामा ढलेछन्, ती सबै घर। उभिएको ठाउँको एउटै घर पनि उनी भएतिर भत्किएको भए ज्यानकै जोखिममा पर्न सक्थे। तर पनि, ढुङ्गाहरू उछिट्टिएर उनका खुट्टामा घाउ बनाउन बिर्सिएनछन्। धन्य म उनीसँग गइनँ। नत्र कहाँ भइन्थ्यो, के गरिरहेको हुइन्थ्यो। के थाहा? त्यो भुइँचालोले सोत्तर बनाएको स्थानमध्ये एक थियो, लामोसाँघु। मर्न पनि लेखेको हुनुपर्छ भन्ने प्रमाण बने ईश्वर दाइ अनि मलाई पनि त्यो मुस्किलमा नफस्न लेखिएकै रहेछ।

    यता हामी बसेको चौर पनि लगातारको परकम्पका कारण हल्लिरह्यो। हरेक झट्कासँगै मनमा नजानिँदो भयले जन्म लिइहाल्दो रहेछ। तर पनि, केही बेर चौरमा बिताउन कठिनाइ भएन। केही क्षण धन सम्पत्ति, भौतिक वस्तु केहीको सम्झना भएन। आकाशमा बस्ने हुन् वा जमीनमा सबैको एउटै घरातल हुन्छ भन्ने पाठ पनि त्यही भूकम्पले पढायो। तर, हामीले त्यो पाठलाई मनमा गुथ्न सकेनौँ। अहिले त ती दिनका चोट शायद धेरै बिर्सी पनि सके होलान्। त्यसैले होला केही बेरपछि नै म झसङ्ग भएँ। गाडी त घरभित्रै पो छ? अनि निकालेर सडकमा राखे। अनि केही बेरपछि घर नजिकको अस्पतालमा आएका बिरामी हेर्न पुगेँ। त्यतिबेलासम्म स्वयंसेवकको कमी नहुने अवस्था आइसकेको रहेछ। कपन ध्वस्त भएको छ भन्ने हल्ला आयो। त्यता पनि गएँ। कपनको नाम चलेको सात तल्ले भवन नाममा मात्र सीमित भएको रहेछ। भत्केको घरभित्रबाट चित्कारहरू आउँदै थिए। राहतका अत्याधुनिक उपकरणको अभावमा बचाउन सक्ने पनि कति मरे होलान्, त्यहाँ। गोंगबुतिर गइयो, अवस्था झन् दर्दनाक। अनि शहिदगेट पुगेर आकाशतिर हेरेँ धरहरा देखिन। मनै अमिलो बन्यो।

    हुन त चक्रपथ कै छेउमा घर भएकाले पनि होला, आपतकालीन अभ्यासका नौटंकी धेरै देखियो। सरकारी निकायले बेला–बेला भूकम्प आउँदा अपनाउनुपर्ने आकस्मिक उपायका अभ्यास गरेको, अनि सडकमा एकै पटक दर्जनौँ एम्बुलेन्स दौडिएका। तर, नाटक र वास्तविकतामा निकै फरक हुँदो रहेछ। त्यस्ता ‘रिहर्सल’हरूले त्यो दिन कुनै काम गरेनन्।

    सुखद कुरा गर्ने हो भने ढुङ्गामा हल अड्किए झैँ अड्किएर बसेको हाम्रो संविधान जारी हुन त्यही भूकम्प प्रमुख सहयोगी बन्यो। भारतीय नाकाबन्दीले हामीमा राष्ट्रियताको भावनालाई झनै दरिलो बनायो। मुलुकलाई एक बनायो। फेरि एक पटक प्राचीन युगमा फर्काउँदै दाउरा बालेर भात पकाउन पनि सिकायो। वास्तवमा भन्ने हो भने बाध्यता नै सही हामीलाई मितव्ययी बन्न पनि सिकायो।

    १२ गते जुन कोठामा थिएँ २९ गते अर्को ठुलो भुइँचालो आउँदा पनि हामी त्यही थियौँ। पछि हाँसो पनि उठ्न थाल्यो, दुई ठुला भुइँचालोले नभत्केको घरबाट स–साना पराकम्प आउँदा पनि बाहिरतिर भाग्ने हामी कस्ता मूर्ख? भनेर। भय भन्ने कुरा अजीब कै हुँदो रहेछ। १२ गते त रातभरि जुत्ता लगाएरै सुतेको थिएँ। सुतेको त के भन्नु पराकम्पका कारण भागेको भागै गरिएको थियो, रातभरि। सबैको नियति नै त्यही रह्यो होला पनि।

    हुन त २०४५ सालमा एकाबिहानै आएको भूकम्प पनि भोगिएकै थियो। त्यो बेला पनि ममी घरमा थिइनन्। बिरामी भएर शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। बाबा र म एउटा कोठामा सुतेका थियौँ। बाँकी अर्को घरमा। भुइँचालो आएपछि सबै घरबाहिर निस्किए। बाबालाई मैले बाहिर निस्कन दिइन। मेरी हजुरआमासमेत घर बाहिर निस्किएर राम नाम जपिरहेकी थिइन्। तर, केही वर्षअघि मात्र बनाएको घर भत्कदैँन भन्ने विश्वासले मलाई कोठाबाट भाग्न दिएन। बाबालाई समातेर नै बसेँ, बाहिर जान दिइन।

    यस्ता दुखद क्षणपछि केही हास उठ्दा कुराहरूले बजार पचया पसल तताउँछन्। चाबहिलकै एउटा घरमा भाडामा बस्ने पति–पत्नी हतार हतार निर्वस्त्र बाहिर भागेर आएछन्। २०४५ सालमा। भुइँचालोको त्रास अलि कम भएपछि कसैले सिरक ल्याएर दिएपछि मात्र उनीहरू झसङ्ग भएछन्। अनि लाजले भुतुक्क हुँदै भित्र भागेछन्। कहिलेकाहीँ मानिसको लाज्जाशरम्लाई पनि भयले जित्छ भन्ने उदाहरणका प्रतिनिधि पात्र मात्र हुन्, तिनीहरू। अनि हामी जस्ता कच्चा उमेरका गफाडीका लागि समय–समयमा पेटको किरा मार्ने खुराक पनि।

    त्यस्ता भूकम्पले धेरैलाई महलबाट सडकमा ल्यायो भने २०७२ सालको भूकम्पले त कति टाठा–बाठालाई सडकबाट महलमा पनि पुर्‍याइदियो। राहतका नाममा चन्दा संकलन गरेर आफ्नो ढुकुटी भर्नेहरू पनि देखिए। आफ्नो गाँस काटेर सहयोग गर्नेहरू पनि देखिए। तर, भुइँचालोपछि पुनर्निर्माणमा सरकार जति उदासीन देखिएको छ, त्यसले काठमाडौँको कुरूपता झनै बढाउँदै।

    त्यो भूकम्पले क्षति पुगेका कतिपय गाउँहरू अहिले आधुनिकरुपमा ठडिइसके। त्यति ठुलो भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकले पुनर्निर्माणमा प्रशंसायोग्य कार्य गर्दैछ तर राजधानी जहाँको त्यहीँ छ। धुर्मुस–सुन्तलीले आफ्नो परिचय नै परिवर्तन गर्न पाए। तर, काठमाडौँ भत्काउन तँछाड–मछाड गर्नेहरूले निर्माणमा ध्यान दिन सकेनन्। दीर्घकालीन सोचबिना पुनर्निर्माण थालिएको काठमाडौंलाई त्यो भूकम्प झनै अभिशाप बन्यो। सुखद कुरा गर्ने हो भने ढुङ्गामा हल अड्किए झैँ अड्किएर बसेको हाम्रो संविधान जारी हुन त्यही भूकम्प प्रमुख सहयोगी बन्यो। भारतीय नाकाबन्दीले हामीमा राष्ट्रियताको भावनालाई झनै दरिलो बनायो। मुलुकलाई एक बनायो। फेरि एक पटक प्राचीन युगमा फर्काउँदै दाउरा बालेर भात पकाउन पनि सिकायो। वास्तवमा भन्ने हो भने बाध्यता नै सही हामीलाई मितव्ययी बन्न पनि सिकायो।

    भनिन्छ, विनाशले विकास निम्त्याउँछ । तर, हामीले त्यो भनाइलाई यथार्थमा भने भोग्न पाएनौँ । हुन त २०४५ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको धरान सहर नयाँ स्वरूपमा उदाहरण बनेर उभियो । विदेशको हकमा कुरा गर्ने हो भने सन् १९८५ मा ९ रेक्टर स्केलको भूकम्पको मारमा परेर ध्वस्त बनेको मेक्सिकोले अर्को वर्ष अर्थात् सन् १९८६ मा विश्व कप फुटबलको आयोजना गरेर संसारलाई चकित पारिदियो । तर, हामी भने रानीपोखरी कसरी पुनर्निर्माण गर्ने भन्ने झगडा मै ४ वर्ष बिताउन लागिसक्यौँ । उभिइसक्नुपर्ने धरहरा भर्खर बन्न सुरु भएको छ । काठमाडौँ, भक्तपुर र पाटनका क्षतिग्रस्त पुरातात्विक महत्त्वका संरचनाहरू अहिले पनि टेकोको भरमा छन् । 

    त्यही भूकम्प र नाकान्दीलाई माध्यम बनाउँदै राष्ट्रियताको प्रदर्शन गरेर दुई–तिहाइको सरकार बनाउने अवसर पाएका पार्टीले समेत जनताको दुख बिर्सिए कि जस्तो लाग्नु स्वाभाविक बनिसक्यो । त्यो विनाशकारी वर्षबाट हामीले केही सिकेको हो कि जस्तो गरेका थियौँ । आखिर ती सबै मिथ्या रहेछन् । जे जति बदलिए पनि हाम्रो स्वभाव बदल्न सकेनछ, लोभमा लगाम लगाउन सकेनछ, त्यो महाविध्वंशले । त्यो विध्वंशले पनि पखाल्न नसकेको हाम्रो माटोप्रति कर्तव्यबोधको सोच अब केले नै पखाल्ला र खै?

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]