विचार

कहिल्यै भूकम्प नजाओस्, जमिन र मनमा
SHARES

लमजुङकी एक युवती र काठमाडौंको रैथाने युवकको कथा

बैशाख ११, २०७६

    जमिन र मनमा कहिले भुइँचालो जान्छ, विज्ञानले समेत पत्तो पाउन सक्दैन। हामी साधारण मनुष्यको यसको गहिराइ बुझ्ने हिम्मत नै के? आजभन्दा ४ वर्ष अगाडि गोरखाको बारपाकमा विनाशकारी भूकम्प जानुभन्दा एक क्षणअघि पनि कसलाई थाहा थियो र, धेरैको सर्वश्वहरण हुँदै छ भनेर। भूकम्प गयो, हजारौँ–लाखौँ पीडित बने। आज मेरो विषय त्यो ४ वर्षअघि गएको भूकम्प होइन। त्योभन्दा १६ वर्षअघि मेरो मनमा अनि मेरो जीवनमा गएको भूकम्पको झट्काको हुनेछ। जसरी हिजो बुधबार एकाबिहानै मन थर्काउने गरेर गएको भुइँचालो पनि अहिले मेरो विषय रहेन।

    त्यही गोरखालाई भूगोल र इतिहासले जोडेको लमजुङकी एक युवती र काठमाडौंको रैथाने एक युवकको कथा हो, यो। जातले कुमाइ बाहुन र बाहुनीको। पिता गोविन्दबाबु तिवारी राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुँदा उसको बासस्थान पनि पिताको सरुवासँगै बदलिरहन्थ्यो। कहिले त्यही लमजुङ, कहिले गोरखा त कहिले चितवन। अनि कहिले काठमाडौं। नागरिकता लिंदा लमजुङको चिती स्थायी बसोबास उल्लेख गरेकी पविता तिवारीको जन्म भने विराटनगरमा भएको रहेछ।

    त्यही युवती आजभन्दा ठ्याक्कै २० वर्षअघि मेरो घरमा भित्रिइन्, मेरो पत्नी बनेर। वैशाख १२ गते। जीवन उतार–चढावको पुस्तक हो। हरेक पानासँगै नयाँ अध्यायले जन्म लिने। मैले जीवनमा भोगेका अधिकांस उतार–चढावको उनी साक्षी हुन्। मेरो आँसुको, मेरो हाँसोको। कहिले मेरो हाँसोमा

    हाँसो मिलाइन्, कहिले आँसुमा आँसु। अनि कहिले म रुँदा उनी हाँसिन्, म हाँस्दा उनी रोइन् पनि। अचम्मको कहानी लेखिँदो रहेछ, पति–पत्नीका जीवनलाई खोतल्ने हो भने। पिताको सरुवाहरूको प्रभाव नै कारण हुनुपर्छ, अहिले पनि एकै ठाउँमा बसिरहन उनलाई दिक्कार लाग्छ। कहिले कता त कहिले कता जाउँ भनेर किचकिच गरिहन्छिन्। म पनि चुपचाप मानी नै रहन्छु।

    २० वर्षभन्दाअघि मेरा सासू–ससुराको घरमा बस्दा उनी कस्ती थिइन्, म कसरी भनुँ? तर, सबैका पत्नी झैं छिन्, मेरी पत्नी पनि। बेला–बेलामा ठुस्कीने, बेला–बेलामा मुस्काउने। तर, पनि सुन्छु, अहिले जस्ती छन्, त्यस्तै नै थिइन् रे मेरी बुढी। पुल्पुलिएकी। नकचढी ! तर, पनि राम्री नै थिइन्, छन्। यतिसम्म भन्नुपर्ने हरेक पतिको बाध्यताभित्र पनि पर्छ। नत्र भरे भान्छामा पाक्ने भात काँचो रहन कुनै आइतबार कुर्नुपर्दैन।

    जब उनको र मेरो बिहे हुने पक्का भयो, मेरो पहिलो भनाइ थियो, ‘तिमी मेरा अतीतका बारे सोधीखोजी नगर्, म तिम्रो गर्दिन्।’ मलाई थाहा थियो धेरै घरहरू, वर्तमानभन्दा विगतका कथामा उनिएका धमिराहरूले भत्काएका थिए भन्ने। आजलाई बिर्सिएर हिजोलाई बहाना बनाएर धेरै घर टुटेका पनि देखेकै थिएँ। उनी राजी भइन्। तर, अहिले लाग्छ, उनको त्यो सहमति झूठो रहेछ। आजभोलि मेरा विगत खोतल्न उनलाई साह्रै रमाइलो लाग्छ। तर, त्यही कारण घर टुटेको छैन, भत्केको छैन। 

    जसरी यो संसारका सारा पति आफ्नी पत्नीसँगको जोडिएको सम्बन्धका बारेमा चितामा नसुत्दासम्म अन्यौलमा रहन्छन्, त्यसरी नै। कहिले लाग्छ, बिहे गर्नु आफ्नै गला रेट्नुबराबर हुँदो रहेछ अनि कहिले आफ्नै गलामा सुगन्धित माला पहिरिन पाए झैं। सधैं दोधारमा रहनुपर्ने अनौठोको सम्बन्ध, अनौठो कथाको शृंखला।

    पविताजी (मेरी अर्धाङ्गीनी) भन्दा अघिको चिनापर्ची हो, मेरो उनकी दिदी कुमुदा (पन्त) दिदीसँग मेरो परिचय। उनी मार्फत नै चिनियो, पविताजीलाई पनि। यहाँ पविताजीको पछाडि जी लगाउनुको पनि कारण छ। उनलाई सबैले बोलाउने नाउँ पप्पु हो तर उनलाई यो नाम सार्वजनिक गरिदिएको मन पर्दैन। त्यसैले उनको नाम पछाडि जी लगाउनु आजको बाध्यता पनि हो। माफी पाउँ।

    कुमुदादिदीसँगको चिनापर्ची मेरालागि वरदान बन्यो की श्राप अहिलेसम्म पत्ता लगाउन सकेको छैन। जसरी यो संसारका सारा पति आफ्नी पत्नीसँगको जोडिएको सम्बन्धका बारेमा चितामा नसुत्दासम्म अन्यौलमा रहन्छन्, त्यसरी नै। कहिले लाग्छ, बिहे गर्नु आफ्नै गला रेट्नुबराबर हुँदो रहेछ अनि कहिले आफ्नै गलामा सुगन्धित माला पहिरिन पाए झैं। सधैं दोधारमा रहनुपर्ने अनौठोको सम्बन्ध, अनौठो कथाको श्रृंखला।

    मेरी पत्नीलाई कपाल काट्न औधी मनपर्ने। अनि मलाई लामो कपाल। पहिलो भेटमा आँट गरेर भनें, ‘कपाल पाले त अझै राम्री देखिन्छौ कि?’ भनेर डराइ–डराइ सोधेँ। उनको उत्तर सहज थियो, ‘पाल्दिन।’ सक्किगो नि। पत्नीको लामो कपाल सुम्सुमाउँदै यस चोपडाका फिल्मका गीत गाउने चाहनाहरू। कुनै सिसा टुटे झैं, मनमा झर्‍याम्मको आवाज गुन्जियो नै। अनि एकतर्फी सम्झौता गरियो। कालान्तरमा पो थाहा लाग्यो, वैवाहिक जीवन भनेको त एकतर्फी सम्झौताका पहाड पो हुँदोरहेछ भन्ने। कहिले मेरो भागमा त कहिले उसको। जति चढेपनि कहिल्यै चुचुरो नभेटिने। त्यसैले अरुलाई लाज लाग्ला, मलाई लाग्दैन। संसारमा मसहित हरेक विवाहित पुरुष पत्नीभक्त हुँदा रहेछन् भनेर दाबी गर्न।

    कपालको कथालाई थाँती राख्दा पनि उनी प्यारी नै लागिन्। उनीसँगै जीवन कटाउन मन लाग्यो। ती दिनमा म रेडियो सगरमाथामा काम गर्थेँ। उनीसँग जति गफ हुन्थ्यो, त्यहीको टेलिफोनबाट हुन्थ्यो। घरमा बस्ने समयको यकिन भए पो।

    जब हामी दुई जनाको कुरो मिल्यो अनि बाबालाई भने। ‘बाबा, अब बिहे गर्नु पर्‍यो।’ मेरा बाबा अति रमाइला, दुई घुट्को जीन लगाएपछि त झनै प्यारो लाग्ने। ‘नगर!’ आदेश दिए।

    ‘किन?’

    ‘मेरो दुख देखेर पुगेको छैन?’

    अनि म फिस्स हाँसे।

    ‘को हो?’

    हेर्न जाउँला नि ! हेरेपछि जे भनेपनि हुन्छ तर नाइँ भन्न पाइँदैन नि !’ मेरो सहज आग्रह थियो।

    केटी पनि हेरे मेरा माता–पिताले। संसारका हरेक आमा–दिदी झैं मेराले पनि खोट त निकाले नै। तर बाबा मौन बसे। रमाए नै। गक्षले भ्याएसम्म धुमधामले गरिदिए दिए, मेरो बिहे। २०५६ सालको वैशाख १ गते नै कुरो छिनियो अनि १२ गते बिहे। बाबाको रहर थियो, यस्तो उत्सव हतारमा टुंगाउन हुँदैन, त्यसैले वैशाखको २४ गते मात्र प्रीतिभोजको आयोजना गरियो। भूकम्पपछि बिस्तारै बिस्तारै जाने परकम्प झैं। त्यो क्रममा हनीमुन भने ‘मीस’ गरियो। अहिले चुकचुक लाग्छ।

    के थाहा मेरो बिहे १६ वर्षपछि नेपालमा जाने भूकम्पको प्रारम्भिक धक्का थियो भन्ने। मेरो जिन्दगीमा आइन्, पविताजी भूकम्प बनेर, मसँगै हाँसेर जीवन बिताइरहेकी छन्, परकम्प बनेर। शायद कति मीठा अनि कति तीता अनुभव बाँड्न। तर, पनि हाँसेर बाँच्ने कोसिस गरिन्छ। सधैं सफल भइँदैन रहेछ। आँसु र हाँसो भनेको गुलाफ र काँडा झैं नजिकका नातेदार हुँदा रहेछन्। एउटाले अर्कोको गरिमाको सधैं रक्षा गरिरहने। त्यसैले उनी र म एकसाथ धेरै हाँसेका छौं, रोएका छौं, पीठ थपथपाएका छौं।

    बिहेअघि नै हामीले भ्यालेन्टाइन डे पनि मनायौं, उनको जन्मदिन पनि। उपहार पनि दिइयो। त्यो बेला गर्लफ्रेन्ड थिइन्, उपहार पनि सम्झनै लायक दिइयो। अर्को वर्षदेखि उपहारको त्यो प्रथा दोहराइएन, आजसम्म सरापाइ सुन्नुपरेकै छ। फिस्स हाँस्यो, ती दिनलाई बिर्सिदियो। हुनपनि राति एक बजे पनि सम्झिन्थिन्, उनी मलाई। रेडियो सगरमाथाको टेलिफोनमा राति १ बजे फोनको घण्टि बज्दा अर्कोतिरबाट उनकै मधु्र आवाज सुनिन्थ्यो। रेडियो सगरमाथाका तत्कालीन स्टेसन मेनेजर रघु मैनालीलाई एक घण्टा उमाउँदै उनीसँग गफ्फिँदा जति रमाइलो लाग्थ्यो, वर्णन गरि साध्य छैन। दिउँसै भोलि कतै घुम्न जाउँ भनेर आग्रह गर्दा पहिले सीधैं नाइँ भनेर जवाफ दिन्थिन्। अनि मन बद्लिदों रहेछ क्यारे, राति फोन गरेर जाने भए जाउँ न भन्थिन्। उनको त्यो चकचकेपनमा पनि रमाइलो नै लाग्थ्यो। आजकाल केही कुरामा एकपटक नाइँ भनिन् भने म दोहराएर हुन्छ भन्दा पनि मान्दिन। त्यति फरक हुँदा रहेछन् बिहेअघि र पछिका पति। अनि ८ नबज्दै उनले कतिबेला घर आउने भनेर सोध्दा भने कहिले काहीँ पट्यार लाग्दो रहेछ। उनीसँग हैन, समयसँग। प्रेमिका र पत्नीबीच हुने फरक पनि उनैबाट सिकेँ।

    ढुंगामा कुँदिएका भगवानका अगाडि पलेँटी कसेर उनी जसरी चाख दिएर नमन गर्छिन्, त्यो बेला म पनि गरिदिन्छु। घीन लाग्दैन। किन हो किन मलाई ज्युँदा भनाउँदा भगवानभन्दा ढुंगाका भगवानमाथि श्रद्धा बढी छ। उ मेरो यो सोचमा चिढिन्छिन् तर, आजकाल भन्न छाडिसकेकी छन्। उनकै मन राख्न मैले केही रकम त्यस्ता ज्युँदा भगवान कहाँ पनि पुगेकै छुँ। जीवनमा गरिएका खर्चमा त्यस्ता खर्च गर्दा सधैं चित्त दुख्छ, मेरो। तरपनि, उनको मन राख्न कै लागि उनको पछाडि लुरुलुरु हिँड्छु।

    बिहेअघि उनी निकै राम्री लाग्थिन्। झूठै बोल्दा अहिले पनि लाग्छिन् नै। बिहेपछि जति थर्काउँछिन्, बिहेअघि त्यति नै थर्कन्थिन् मसँग। कतै घुम्न जाँदा हात समात्दा पनि मुखै रातो पार्थिन्, के के न गरिदेला भनेर होला शायद। चुमिदिउँ झैं लाथ्यो, उनको त्यो अदालाई। तर, रगत चुहिएला झैं देखिएको गालामा चुम्दिँदा आँखाबाट आँसु वर्षाउलिन् भन्ने सोचेर नै ती चाहनालाई मनभित्रै लुकाएर राख्थेँ। तर, जुन दिन कुरा छिन्न गइयो, त्यो दिन जति नराम्री मैले उनलाई जीवनलाई कहिल्यै देखिन। शायद धेरै राम्रो बन्ने कोसिसमा होला, श्रृंगारले नै नराम्रो बनाइदिएको थियो। गालाका लालीहरू कतै हराएका थिए। ओठका मुस्कानहरू लिपिस्टिकको कृत्रिमतामा कतै हराएको थियो। छन्द न बन्दको कविता झैं। कतिले भने पनि ‘कति नराम्री स्वास्नी छानेछ, चेतनले’ भनेर। मेरो एउटै जवाफ रह्यो, ‘हेर्दै जाउ, थाहा पाउलाउ।’ नभन्दै बिहेको दिन उनी निकै राम्री देखिइन्। खुशी लाग्यो।

    मलाई लाग्छ, जसले आजसम्म दुख भोगेको छैन भन्छ, उ पूर्णरूपमा झुठ बोल्दै छ। दुख र सुख भनेको पनि त्यही गुलाफ र काँडा जस्तै हुन्छ। एउटाको मनलाई अर्कोले सधैं उल्लासमा राख्न कोसिस गर्ने, संरक्षण दिने। हामीले पनि एकसाथ त्यो संरक्षणको अनुभव गरेका छौं। सुखमा हाँसेका छौं, दुखमा रोएका छौं। तर, सकेसम्म उनका रहरलाई मार्न कहिल्यै सकिन।

    प्रतिशतका आधारबाट बहुमतमा नास्तिक म। उनकै आग्रहमा मन्दिर घुम्छु। स्वदेशी र विदेशी ज्युँदा भगवानका पाउ छुन्छु। आफैँलाई घीन लागेर आउँछ, त्यस्ता पाउहरूको स्पर्शमा। तर, ढुंगामा कुँदिएका भगवानका अगाडि पलेँटी कसेर उनी जसरी चाख दिएर नमन गर्छिन्, त्यो बेला म पनि गरिदिन्छु। घीन लाग्दैन। किन हो किन मलाई ज्युँदा भनाउँदा भगवानभन्दा ढुंगाका भगवानमाथि श्रद्धा बढी छ। उ मेरो यो सोचमा चिढिन्छिन् तर, आजकाल भन्न छाडिसकेकी छन्। उनकै मन राख्न मैले केही रकम त्यस्ता ज्युँदा भगवान कहाँ पनि पुगेकै छुँ। जीवनमा गरिएका खर्चमा त्यस्ता खर्च गर्दा सधैं चित्त दुख्छ, मेरो। तरपनि, उनको मन राख्न कै लागि उनको पछाडि लुरुलुरु हिँड्छु।

    उनी पनि त हिंडेकी छन्, मेरा पागलपनका पछाडि कति पटक। एकपटक रहर गरेर पारिवारिक धरोहर नयाँ समाजलाई साप्ताहिकका रुपमा निकालेँ। उनले अथाह सहयोग गरिन्। मसँगै पाइलामा पाइला मिलाएर हिडिन्। मेरो त्यो अभियान असफल भयो। उनले चित्त दुखाइनन्। डुबेको रकमको हिसाब सोधिनन्।

    उनी अहिले कुनै कर्पोरेट हाउसको माथिल्लो पदमा कार्यरत छिन्। न आजसम्म मैले उनको कमाइको बारेमा सोधेको छु, नत उनले मेरो। यस्ता कुरामा हामी आफ्नो ‘करियर’ को बाटोमा नितान्त एक्लै हिँडिरहेका छौं। त्यहाँ पनि हामीले एकअर्कासँग हिसाबकिताब मागेका छैनौं। जीवनमा गरेका राम्रा–नराम्रा कामको पनि हिसाब–किताब राखेका छैनौं।

    तरपनि, पविताजी राख्छिन्, केही हिसाब–किताब। मसँगै चुहाएका आँसुको, मसँगै हाँसेका हाँसोको। अनि रिस उठ्दा भन्छिन्, ‘तिमीले आँसु बाहेक के नै दिएका छौं र!’ रमाएको बेला भन्छिन्, ‘तिमीबाहेक मेरो को नै छ र?’ त्यसै माया लागेर आउँछ, उनको दोधारेपन देखेर।

    उनीबाट मैले केही नै पाइन भनेर कहिल्यै गुनासो रहेन। उनले दिएका दुई अनमोल उपहार मेरो जीवन कटाउने धुन बनेका छन्, स्वाति र स्वस्तिक। मेरा छोरी र छोरा। त्यही भएर आजकाल प्रार्थना गर्न थालेको छुँ। अब कहिल्यै भूकम्प नजाओस्, मेरो देशको जमीनमा र मेरो मनमा। ह्याप्पी म्यारिज एनिभर्सरी माई डियर!

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]