विचार

'हरेक युवाले सोच्नुपर्छ, म बनाउँछु मेरो देश'

हाम्रो यात्रा आधुनिकतातर्फको हो

जेठ २३, २०७६

    विभिन्न क्षेत्रमा मुलुकको विकास कसरी हुन्छ भन्नेबारे युवाहरूले राम्रो आत्मविश्वास आर्जन गरेको मैले ठानेको छु। कसैले पनि समस्या छैन भन्दैन, समस्या छ। समाधान हुँदैन पनि भन्दैन. समाधान हुन्छ। समाधान गर्न सकिन्छ। समाधानका उपाय छन्। ती उपायमा आफ्ना तर्फबाट केही प्रेस्क्रिप्सन (सल्लाह, सुझाव) पनि दिन्छन्। कैयौँ कुराहरू गर्न सकिन्छ।

    धेरै अगाडिदेखि मैले जोड दिएर हाम्रा युवाहरूको ध्यानाकर्षण गर्दै आएको छु। २०७२ फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर मैले उद्घोष गरेको थिएँ - मै बनाउँछु मेरो धरहरा!

    ‘म बनाउँछु मेरो देश’ भन्ने भावना जबसम्म मनमा हुँदैन, अठोट हुँदैन तबसम्म हामी देश बनाउन सक्दैनौँ। देश किन बनेन भनिन्छ। मैले गर्नुपर्छ भनेर नलिँदा यस्तो भयो।

    धेरै मञ्चमा शिशिर योगीको एउटा लोकप्रिय गीत मैले बोल्नुभन्दा अगाडि गाउने गरिन्थ्यो। उहाँ गाउनुहुन्थ्यो- यो देशमा म एउटा मानिस खोजिरै'छु। शिशिरजी देश बनाउने मान्छे खोजी गरेर गीत गाउनुहुन्छ। एक दिन उहाँले गीत गाइसकेपछि मैले भनेँ, ‘शिशिरजी, आज म तपाईँलाई तपाईँले खोजेको मान्छे चिनाउँछु।’

    ‘तपाईँले खोजेको मान्छे तपाईँभन्दा दाहिनेपट्टि जो छ, त्यसको देब्रेपट्टि बसेको मान्छे हो। तपाईँले खोजेको मान्छे तपाईँभन्दा अघिल्लो सिटमा जो छ त्योभन्दा ठ्याक्कै पछि बसेको मान्छे हो। तपाईँले खोजेको मान्छे तपाईँभन्दा ठिक पछाडिको सिटमा जो छ त्योभन्दा ठिक अगाडिको सिटमा बसेको मान्छे हो। तपाईँले खोजेको मान्छे तपाईँको देब्रेपट्टि जो मान्छे बसेको छ त्यसको ठिक दाहिनेतिर बसेको मान्छे हो।‘

    हामी हरेकले सोच्नुपर्छ म भन्दा दाहिनेपट्टि जो बसेको छ त्यसको देब्रे पट्टी बसेको मान्छे देश बनाउने मान्छे हो। म हाम्रा युवाहरूलाई भन्न चाहन्छु तपाईँको दाहिनेपट्टि बसेको जो छ त्यसको देब्रे पट्टी र देब्रे पट्टी बसेको जो छ त्यसको दाहिनेपट्टि बसेको मान्छे देश बनाउने मान्छे हो।

    यो शिशिरजीका लागि मात्रै भनेको होइन, हरेकका लागि हो। देश तपाईँ हामीले बनाउने हो। हामी हरेकले सोच्नुपर्छ म भन्दा दाहिनेपट्टि जो बसेको छ त्यसको देब्रे पट्टी बसेको मान्छे देश बनाउने मान्छे हो। म हाम्रा युवाहरूलाई भन्न चाहन्छु तपाईँको दाहिनेपट्टि बसेको जो छ त्यसको देब्रेपट्टि र देब्रेपट्टि बसेको जो छ त्यसको दाहिनेपट्टि बसेको मान्छे देश बनाउने मान्छे हो। अर्थात् त्यो मान्छे तपाईँ हो। तपाईँले आफैँले सोच्नुपर्छ कि- म बनाउँछु मेरो देश।

    यदि काठमाडौंको जनताले ‘म बनाउँछु मेरो काठमाडौं’ भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गर्‍यो भने काठमाडौं बन्छ। कुनै पनि देश अरूले आएर बनाइदिँदैन। आफैँले बनाउनुपर्छ। कुनै पनि देश, साना हुन् वा ठूला।

    मैले धेरै ठाउँमा भन्ने गर्छु। अहिलेभन्दा ४०-५० वर्षअघि मात्रैको कुरा हो चीनजस्तो विशाल भूगोल भएको, विशाल जनसंख्या भएको, गरिबीमा चुर्लुम्म डुबेको त्यस्तो देश जसलाई एक छाक दुनियाँका कसैले खुवाउन सक्दैनथ्यो। यति ठूलो जनसंख्या छ, लगभग एक अर्ब ४० करोड। त्यत्रा मानिसलाई एक छाक खाना खुवाउनु साधारण कुरा होइन। १० डलरमा खाना खुवाउने हो भने पनि १५ अर्ब डलर खर्च हुन्छ, एक छाकमा। यो भनेको हाम्रो १५ खर्ब रुपैयाँ भयो। अहिले हाम्रो राष्ट्रको सिंगो बजेट। हाम्रो अर्थमन्त्रीले अस्ति पेस गरेको बजेटले मात्रै एक छाक खान पुग्छ। कसैले खुवाउँदैन।

    चिनियाँहरूलाई थाहा भयो- हाम्रो जनसंख्या यति ठूलो छ, कतै कचौरा पसारेर, थाल थापेर केही हुनेवाला छैन। कसैको आश गरेर केही हुनेवाला छैन। आफैँले गर्नुपर्छ। यो बुझेर काम थालेपछि अहिले चीन दुनियाँको दोस्रो ठूलो र सबल अर्थतन्त्र भयो। अरूसँग नभएको पैसा ऊससँग छ। यति धनी भयो। हुँदो रहेछ।

    सन् १९४७ मा बनेको इजरायल, बालुवै बालुवाको देश। दुई प्रतिशत मात्रै जनसंख्या कृषिमा संलग्न छ। जसले सम्पूर्ण जनसंख्यालाई खान पुर्‍याएर त्योभन्दा बढी बाहिर बेच्छ। सन् १९८० तिर म जेलमा थिएँ। एन्टेपे विमानस्थलमा एउटा अपहरण गरेर लगिएको विमान थियो। त्यहाँ इजरायली सेना गएर 'रेस्क्यु' गरिएको थियो। त्यो रेस्क्यु गर्ने सैनिक नेपाल आएको थियो। कारणवश ऊ जेलमा पर्‍यो। जेलमा हामी दुई छाक खाना खान्थ्यौँ. ऊ एक छाक मात्रै खान्थ्यो। ऊसँग पैसाको कमी थिएन। ऊ भन्थ्यो, ‘हाम्रो दुई छाक खाना खाने बानी छैन। इजरायलमा अन्न फल्दैन। बाहिरबाट ल्याउनुपर्छ।’ यो सन् १९८० अगाडिको कुरा हो। आज दुई छाक होइन उनीहरू चार छाक खान्छन्। अनि खानेभन्दा दुई गुना बढी बाहिर निर्यात गर्छन्।

    गर्न खोज्यो भने मरुभूमि हराभरा भएका छन्। मरुभूमिमा त्यत्रो उत्पादन छ। हाम्रो जनसंख्याको दुई तिहाइ कृषिमा अल्झिएको छ। त्यसको उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा योगदान बहुत कम छ। पुरानो खालको कृषि छ। हामीलाई हरेक क्षेत्रमा आधुनिकता चाहिएको छ। हामीलाई आधुनिक प्रविधि चाहिएको छ।

    उनीहरूको देश बन्यो १९४७ मा, त्यो पनि बालुवै बालुवाको देश। पिउने पानी छैन, समुद्रको पानीबाट नुन छुट्ट्याएर पिउनुपर्छ। हाम्रोमा यस्ता हिमाल छन्। यस्ता पहाड, नदीनाला, झरना छन्। त्यो देशमा समुद्र थियो। त्यो दुनियाँको आश्चर्यलाग्दो ठाउँ हो। समुद्री सतहभन्दा मुनिको देश। त्यस्तो देश यति उत्पादन गर्दछ।

    आज हाम्रा युवाहरूलाई बताऊँ कि हामी पनि इजरालयबाट अलिकति एग्रिकल्चरल टेक्नोलोजी (कृषि प्रविधि) ल्याउन खोज्दै छौँ। कृषिको सुरुवात यहाँबाट हजारौँ वर्ष अगाडि भएको थियो तर अस्ति बनेको त्यो देशबाट हामी सहयोग लिएर ‘एग्रिकल्चर एक्सलेन्ट सेन्टर’ स्थापना गर्न खोज्दै छौँ। गर्न खोज्यो भने मरुभूमि हराभरा भएका छन्। मरुभूमिमा त्यत्रो उत्पादन छ। हाम्रो जनसंख्याको दुई तिहाइ कृषिमा अल्झिएको छ। त्यसको उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा योगदान बहुत कम छ। पुरानो खालको कृषि छ। हामीलाई हरेक क्षेत्रमा आधुनिकता चाहिएको छ। हामीलाई आधुनिक प्रविधि चाहिएको छ।

    अरू देशमा एउटा चिज छ। तेल भएका ठाउँमा तेल छ अरुथोक केही पनि छैन। हाम्रोमा तेल पनि छ। फलाम पनि छ। सुन पनि छ। तामा पनि छ। पानी पनि छ। काठ, घाँस पनि छ। जडीबुटी पनि छ। यहाँ त ढुंगा शिलाजित हुन्छ, औषधि। आस्था हुनेलाई ढुंगा शालिग्राम हुन्छ, विष्णुको अवतार। यहाँ माटो सिम्रिक हुन्छ।

    म तिब्बत जाँदा सानो सीसीमा अलिकति झोल पदार्थ ल्याएर दिए, लेक लागेको निको हुन्छ भनेर। अल्कोहल नखाने भएको हुनाले ‘यो के हो?’ भनेर सोधेँ। उनीहरूले बुझे- अल्कोहोलिक त होइन भन्ने। उनीहरूले भने- गुराँसको रस हो। औषधि मानेर मैले खाएँ। हाम्रोमा त डाँडाभरि गुराँस हुन्छ। लेक लाग्न नदिने औषधि रहेछ, गुराँसको फूल पेलेर निकालेको रस। त्यै रहेछ औषधि। त्यसरी हामीकहाँ फूल पनि औषधि। तुलसी धर्ममा विश्वास भए पूजा गरे भयो। सुक्यो भने कण्ठको माला लगाए भयो। पात टिपेर पकाएर खाए, सुकेको पात खाए जे गरे पनि औषधि भयो। घाँटी सफा गर्छ। झार पलाउँछ अनौठो, त्यै जीवको रूपमा पनि हुन्छ, त्यै वनस्पतिको रूपमा पनि हुन्छ- यार्सागुम्बा।

    यस्तो प्रकृति भएको देश छ। हिमाल, पहाड, तराई भएको देश छ। डाँफे, मुनाल पनि यहीँ छ। एकदम राम्रो प्वाँख फिजाएर नाच्ने मयुर पनि यहीँ देशमा छ। रेडपाण्डा र हिमभालु पनि यही देशमा छ र हात्ती, गैँडा पनि यही देशमा छ।

    म धेरै ठाउँमा भन्ने गर्छु हामी यति धनी छौँ हरेक कुरामा। हाम्रो कला, संस्कृति यति पुरानो र गौरवपूर्ण छ। चाँगुनारायणले १८०० वर्षदेखि हेरिराखेका छन् धर्तीको परिवर्तन- पेरिस कसरी उठ्यो र कसरी बन्यो? लन्डन कसरी उठ्यो र कसरी बन्यो? अमेरिका आजको शक्तिशाली देश पत्ता कसरी लाग्यो? चाँगुनारायण हेरिराख्या छन्। एसिया कसरी पछाडि पर्‍यो? अगाडि थियो यो। हजारौँ वर्ष पहिले यहाँ कला, साहित्य, शास्त्रीय धुन, गान, वाद्यवादन थिए। वास्तवमा खानेकुरामा ८४ व्यञ्जन भन्छन् नि! हामीकहाँ मात्रै हो हुने। सानो कुरा होइन यो। मौसम र चाडअनुसारका गीत, धुन, बाजा हाम्रो देशमा छन्, यो सानो कुरा होइन।

    हामीकहाँ नभएको एउटै कागजको नोट हो। अरू सबै कुरामा धनी छौँ, नोटमा गरिब छौँ। नोट यस्तो चिज हो जो यसै छाप्दा हुँदैन। नोट त्यति मात्रै छाप्न पाइन्छ जति तपाईँसँग पुँजी छ, सम्पत्ति छ। तपाईँले बजारबाट त्यत्ति सामान पाउनुहुन्छ, जति पैसा छ। नोट त्यस्तै हो। यसले गर्दा हामी सबै चिज भएर पनि गरिब भयौँ।

    हामीकहाँ नभएको एउटै कागजको नोट हो। अरू सबै कुरामा धनी छौँ, नोटमा गरिब छौँ। नोट यस्तो चिज हो जो यसै छाप्दा हुँदैन। नोट त्यति मात्रै छाप्न पाइन्छ जति तपाईँसँग पुँजी छ, सम्पत्ति छ। तपाईँले बजारबाट त्यत्ति सामान पाउनुहुन्छ, जति पैसा छ। नोट त्यस्तै हो। यसले गर्दा हामी सबै चिज भएर पनि गरिब भयौँ। किनभने हामीले समयअनुसार त्यसलाई बुझ्न गर्न सकेनौँ।

    हाम्रा युवाहरूले चिन्तन गर्नुपर्ने, आधुनिक प्रविधि कसरी विकास गर्ने र कसरी भित्न्याउने भन्ने हो। हामी सबै कुरा विकास मात्रै गर्दैनौँ किनभने विकास मात्रै गर्दाखेरि ढिलो हुनसक्छ। मोबाइल कसरी बनाउने भनेर यहाँ अहिले सोच्न थाल्यो भने ढिलो हुनसक्छ। अहिले उपलब्ध मोबाइल किनेर ‘हाइ-हेलो’ गरे भइहाल्यो। त्यसमा हामीले धेरै टाउको दुखाउनु परेन। जे उपलब्ध छ त्यसको प्रयोग गर्छौँ र जे छैन त्यो ल्याउँछौँ। हाम्रो जुन ऐतिहासिक ज्ञान छ, त्यसलाई आधुनिकीकरण गर्न जरुरी छ। त्यसकारण हाम्रो नारा हुनुपर्दछ, 'पुरानोको हिफाजत गर, नयाँको निर्माण गर।' हाम्रा पुराना ऐतिहासिक धरोहरको संरक्षण गर्नुपर्दछ। फेरि त्यसमै अल्झिने होइन, आधुनिक निर्माण पनि गर्नुपर्दछ। हाम्रो यात्रा आधुनिकतातर्फको हो।

    हाम्रा युवा अलमलिने, बरालिने होइन। हाम्रा युवा अफवाहका पछाडि कुद्ने होइन। हाम्रा युवा समय बर्बाद गर्ने होइन। सबैभन्दा 'किमत' भएको समय हो। मलाई के लाग्छ भने आजका युवाहरूको जस्तै मेरो उमेर भइदिएको भए नेपाल त यस्तो बनाउँथे नि मैले! मेरो उत्साह हुनु बेग्लै कुरा हो। मेरो उमेरले, अनेक कुराले मलाई त्यो 'इजाजत' दिँदैन। यो भ्रम नपरोस् फेरि कि उमेर धेरै भएको भए तानाशाह भएर ५०औँ वर्ष शासन गर्ने मन रहेछ, त्यो चाहिँ होइन। देश बनाउने उपाय र युक्ति महत्त्वपूर्ण हो। को सरकारमा बस्छ त्यो महत्त्वपूर्ण होइन।

    क्यालकुलेट योर टाइम। समय क्यालकुलेट गरेर अधितम सदुपयोग गर्नुस्। जमिन, बुद्धि सबै चिजको सदुपयोग गर्नुस् त्यो भन्दा बढी, सबैभन्दा बढी समयको सदुपयोग गर्नुस्। हरेक समय सोच्नुस् कि अहिले जे गरिरहनुभएको छ त्यो ठिक गरिरहनुभएको छ?

    म युवाहरूलाई सुझाव दिन चाहन्छु- क्यालकुलेट योर टाइम। समय क्यालकुलेट गरेर अधितम सदुपयोग गर्नुस्। जमिन, बुद्धि सबै चिजको सदुपयोग गर्नुस् त्यो भन्दा बढी, सबैभन्दा बढी समयको सदुपयोग गर्नुस्। हरेक समय सोच्नुस् कि अहिले जे गरिरहनुभएको छ त्यो ठिक गरिरहनुभएको छ? अहिले व्यतीत गरिरहनुभएको समय ठिक कुराका लागि गरिरहनुभएको छ? अथवा योभन्दा बढी उत्पादनशील अरू केही हुन सक्छ?

    कामको आनन्द त्यसमा भिज्यो भने आउँछ। अलि मिहिनेत पर्छ, दुःख हुन्छ। अलि झन्झटिलो काम त्यसमा भिजेर गर्नुपर्छ। युवाहरूलाई सचेत गराउन चाहन्छु कि हेर्दाहेर्दै चुसुक्क कपाल फुल्छ। एउटा फुलेको देखिन्छ। अलि पछाडि अर्को फूल्छ। अलि पछाडि अर्को फूल्छ। सुरुसुरुमा साथीले भन्छ- टिपेर फाल। एउटा टिप्यो दुईटा टिप्यो, अलि पछि टिपेर फाल्न नसकिने भइसकेको हुन्छ। त्यो समयको गति हो। त्यसले भनिराखेको हुन्छ तपाईँहरूलाई- समय जाँदैछ है, जे गर्नु छ छिटो गर। राम्रो गर। अधिकतम सदुपयोग गर समयको। आफ्ना लागि, देशका लागि,परिवारका लागि समय लगाऊ। 'इनोभेटिभ' सोचका लागि समय लगाऊ।

    (काठमाडौं महानगरपालिकाले बुधबार राष्ट्रिय सभागृहमा  आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)

केपी शर्मा ओली

ओली नेपालको प्रधानमन्त्री हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]