विचार

भाषाको भेउ नपाउँदा...
SHARES

Photo: mandegar.info
जेठ २५, २०७६

    ‘तातोपानी तताएर ल्याउ त बुढी मेरा मित्रलाई’, मित्रका घर जाँदा उनले सत्कार गर्न श्रीमतीलाई अह्राए। म हेरेको हेर्यै भएँ। पानी तातै भए फेरि किन तताउनु? चिसो भए पो तातो पार्न तताउनु। 

    ‘भात पाक्यो’ जवाफ के होला ? कि पाक्यो कि पाकेको छैन। तर जवाफ दिने र प्रश्न सोध्नेले विचार गरेका छौँ, भात पाक्यो भने के हुन्छ? चामल पो पकाउने होला त। भात पकाउन थाले। यस्तो दुस्साहस गरे दुई कुरा होला। कि डढ्ला, कि खोले होला।

    छिमेकी मित्रले एकदिन आँगनमा घाम ताप्दै गर्दा सानी छोरीलाई बोलाएर भने, ‘नानु जाऊ त बा मेरो टोपी ल्याइदेऊ।’ छोरी दौडेर भित्र गइन् र ढाकाटोपी ल्याइदिइन्। मित्रले हाँस्दै भने, लाटी यो त! अर्को क्या, अर्को। क्याप टोपी। ओहो ! यहाँ नयाँ शब्द आयो क्याप टोपी। क्याप भनेकै टोपी टोपी भनेकै क्याप। किन क्याप टोपी भने मित्रले बुझ्न सकिन सायद छोरीले बुझुन् भनेर होला। ‘क्याप ल्याऊ’ भनेको भए ल्याउँथिन् कि !

    अस्ति भर्खर टेलिभिजनमा एउटा समाचार सुनिएको थियो ‘मृत अवस्थामा शव फेला।’ लौ शव पनि मृत अवस्थामा फेला पर्न थाल्यो अचेल? सोध्न मन लाग्यो, त्यसोभए जिउँदो अवस्थाको शव फेला परेको समाचार किन दिँदैनन् त यिनीहरू? 

    कुनचाहिँ टेलिकम (सञ्चारसेवा प्रदायक) को विज्ञापन हो, यस्तो देखेको छु मैले, ‘रिचार्ज कार्ड यहाँ पाइन्छ।’ दुई चार दिनपछि अर्को पसलमा जान्छु। त्यहाँ पनि यही लेखेर टाँसेको रहेछ। के हो के ? नबुझेर सामान किन्ने पसल सबै चहारेँ। केहीलाई छोडेर अधिकांशमा छ ‘रिचार्ज कार्ड यहाँ पाइन्छ।’ सबै ठाउँमा पाइने भएपछि त ‘यहाँ रिचार्ज कार्ड पाइन्छ’ भनेको भए हुने। पसलमा टाँसिएका सूचनाले त त्यहाँ मात्र पाइने, अन्यत्र नपाइने भन्ने अर्थ पो लाग्यो त। 

    प्रहरीले प्रयोग गर्ने एउटा शब्द रहेछ ‘चेकजाँच’। चेक पनि जाँच पनि। अनि हाम्रा सञ्चारमाध्यमहरू पनि प्रहरीले पठाएको समाचार त्यसैगरी छाप्छन्। पढ्छन्, चेकजाँचका क्रममा लागूऔषध फेला। अंगे्रजी शब्द ‘चेक’को अर्थ नेपालीमा जाँच हुन्छ। जाँचलाई अंग्रेजीमा चेक भनिन्छ। त्यसैले कि चेक गरेको भन्नु कि जाँच गरेको भन्नु। शुद्ध नेपाली बोल्ने लेख्ने भए जाँच नै भन्नु। भाषालाई खिचडी बनाउने भए चेक गरेको भन्नु। तर चेकजाँच गरेको नभन्नु।

    ताजा खसीको मासु, ताजा कुखुराको मासु भन्ने विज्ञापन कति देखिन्छ कति। खसी र कुखुरा ताजा हो कि मासु ताजा हो छुट्याउनै गाह्रो पर्ने। पशुको अगाडि ताजा विशेषण लगाएर कयौं दिनको बासी मासु बेच्नेको बिगबिगी छ। अस्ति भर्खर टेलिभिजनमा एउटा समाचार सुनिको थियो त्यसको शीर्षक थियो, ‘मृत अवस्थामा शव फेला।’ लौ शव पनि मृत अवस्थामा फेला पर्न थाल्यो अचेल? सोध्न मन लाग्यो, त्यसोभए जिउँदो अवस्थाको शव फेला परेको समाचार किन दिँदैनन् त यिनीहरू? 

    भाषाको प्रयोग गर्दा मानिस कुन क्षेत्रको हो भनेर पनि विचार पुर्याउनु पर्दो रहेछ। देशको पश्चिम भेगतिर ‘कण्डो’ शब्द सहजतापूर्वक प्रयोग गर्दा रहेछन्। यही शब्द मध्य र पूर्वतिर प्रयोग गर्दा अश्लील बनिदिन्छ। यहाँ यो शब्द परिवार वा सार्वजनिक स्थलमा प्रयोग गर्दा लाजमर्दो हुन्छ\कुटाइ खाइने डर हुन्छ। के रहेछ त यसको ठेट अर्थ भनेर बुझ्न नेपाली बृहत् शब्दकोश पल्टाएँ– कण्डो– (नाम) १. भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग, गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ–बायाँको अवयव, पिठिउँ, कण्ढो २. गुदद्वारका दुवैतिरका मांसल, पुट्ठो, पुठो, चाक ३. स्त्रीयोनि।

    अब बुझ्नुस् पश्चिम भेगतिर १ नम्बरमा दिएको अर्थका रूपमा प्रयोग हुने रहेछ। मध्य र पूर्वतिर २ र ३ नम्बरको अर्थको रूपमा बुझिने रहेछ। त्यसो त भानुभक्त आचार्यले करिब पौने दुई सय वर्षअघि नै आफ्नो कवितामा यो शब्द प्रयोग गरेका थिए।

    खाजा खाने क्रममा एक मित्रले भनिन्, ‘चाउमिन बनाउँदा तेल धेरै नलगाइदिनुस् है!’ तेल नलगाउने ? दंग परेँ। खानेकुरा पकाउँदा तेल हाल्ने पो हो। कहाँ लुगाजस्तो लगाउने हो र ! हामी मध्यतिर बस्नेहरू तरकारीमा धेरै ‘तेल नहाल’ भन्छौँ। तर झापा, इलामतिर 'नलगाऊ' भन्दा रहेछन्। भाषाको भेद कामको सिलसिलामा पनि पर्छ। अनलाइनमा सहकर्मी (पूर्वतिरका) भन्छन्, ‘सर त्यो समाचार मैले लगाएँ है।’ म भन्छु, ‘होइन सर मैलै हालिसकेँ।

    मिठो फल केरालाई ‘केरा’ भन्नुहुन्न रे झापातिर। मार्छन् रे! कोला भन्नुपर्छ रे। हेर्नुस् त ठाउँअनुसार भाषा प्रयोग गर्न जानेन भने कति दुःख पाइने रहेछ।

    २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रविन्दु बनाएर भूमि कम्प भयो अर्थात् हल्लियो। गोरखादेखि सिन्धुपाल्चोकसम्म विनाश गर्‍यो। तर अझै पनि भूकम्प आएको हो कि गएको भन्ने धेरैलाई अन्योल छ। कोही भूकम्प आयो भन्छन्। कोही गयो भन्छन् तर, भूकम्प (भू कम्प) त भएको हुनुपर्ने होइन भन्या? नगरप्रमुख नभनेर हामीलाई मेयर भन्ने बानी परेको छ। मेयर त भन्यौँ, भन्यौँ उप थपेर उपमेयर किन बनाउनु परेको होला ! उपप्रमुख भने त भइहाल्यो। 

    हालै टीभी, यूट्युबमा सुनिएका, पत्रिका, अनलाइनमा पढिएका केही उदाहरण– सहोदर जेठाजुले भाइबुहारीको हत्या गरे। सहोदर मामाले भाञ्जीलाई\सहोदर काकाले भतिजीलाई बलात्कार गरे। सह उदर अर्थात् एउटै पेटका। एउटै आमाबाट जन्मिएका। होइन यी जेठाजुबुहारी, मामाभाञ्जी, काकाभतिजी कैले एउटै आमाका सन्तान भएछन् बुझ्नै नसकिने भन्या!

    अन्तिम दाहसंस्कार गरिएको छ भनिएको पनि सुनियो, सञ्चारमाध्यममा। हैन यो दाहसंस्कार पनि बारम्बार गरिँदो रहेछ भन्या मान्छेको? कि अन्तिम संस्कार भन्नु। कि अन्त्येष्टि भन्नुु। कि दाहसंस्कार भन्नु। किन विशेषणको थुप्रो लगाएर अर्थको अनर्थ बनाउनु। श्रद्धाञ्जली दिने पठाउनेले दुःखद मृत्यु भने\लेखेको पनि पाइयो। अरे, मानिसको मृत्यु त दु:खद त हुन्छ। कहीँ मानिसको मृत्यु सुखद भएको थाहा पाउनुभएको छ? नभए मृत्युमा किन दुःखद मिसाएको होला। दुःखद दुर्घटना भएको छ भन्ने समाचार त कति सुनिन्छ कति। दुर्घटना आफैंमा दुःखद होइन र हजुर !

    हाम्रो सञ्चारमाध्यम विशेषण दिन खप्पिस छन्, त्यो पनि नातामा। हालै टीभी, यूट्युबमा सुनिएका, पत्रिका, अनलाइनमा पढिएका केही उदाहरण– सहोदर जेठाजुले भाइबुहारीको हत्या गरे। सहोदर मामाले भाञ्जीलाई\सहोदर काकाले भतिजीलाई बलात्कार गरे। सह उदर अर्थात् एउटै पेटका। एउटै आमाबाट जन्मिएका। होइन यी जेठाजुबुहारी, मामाभाञ्जी, काकाभतिजी कैहिले एउटै आमाका सन्तान भएछन् बुझ्नै नसकिने भन्या!

    केही दिनअघि काम परेर एउटा सरकारी कार्यालयमा पुगियो। काम नसक्दै भित्तामा टाँसिएको सूचनामा आँखा पुग्यो, ‘कृपया तपाइँको काम सकियो ? अब हामीलाई काम गर्न दिनुस्।’ म त अकमक्क। यो ‘कृपया’ उडेर किन यति अगाडि आइपुगेको होला। ‘...कृपया अब हामीलाई काम गर्न दिनुस्’ भन्नुपर्ने। धेरै औपचारिकता देखाउन खोज्दा खुस्केछ भनेर बुझौँ।

    पुरानो नेपाली चलचित्र कुसुमे रुमालमा एउटा गीत छ, उदितनारायण र दीपाले गाएको–मायाको बारीमा...। गीतको शुरुमा गायकले सिकाउँदै गर्दा गायिकाले गल्ती गर्छिन्। भन्छिन्, ‘...पिरतीको फूल।’ गायक सच्याउँछन्, ‘पिरती होइन प्रीतिको फूल।’ हेर्नुस् त प्रीतिलाई पिरती भन्दा अर्थमा कति फरक पर्ने रहेछ। हामीले भाषाको यो भेउ बुझ्ने कहिले होला?     

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]