विचार

नेपालको स्थिरता र अस्थिरता चाहनेको संघर्ष
SHARES

जेठ २६, २०७६

    नेपालको अवस्था कस्तो छ भनेर कसैले सोधेमा सबैका फरकफरक धारणा आउँछन्। जो जो सत्तामा छन्, तिनको धारणा र सत्ताबाहिर जो जो छन्, तिनको फरक आउने गर्छ। अरू त अरू सत्ताधारीमध्ये पनि कतिको धारणा विपक्षीको भन्दा पनि कडा आउनेछ। यसो हुनुमा कसको दोष?

    दोष त कसैको होइन तर परिस्थिति नै यस्तो छ कि एउटै धारणा बन्नै सक्दैन। सत्तामा हुँदा देशलाई हेर्ने आँखा र सत्तामा नहुँदाका आँखामा किन फरक परेको होला? यसबारे सायदै नेपालमा शोध भएको होला। मुलुकमा गणतन्त्र आउनुमा जजसको देन रह्यो, तिनीहरूमा पनि मुलुकलाई हेर्ने  एउटै धारणा छैन। अहिले गणतन्त्र ल्याउन कसको बढी योगदान रह्यो भन्नेमा पो विवाद सुरु भएको छ। कोही गणतन्त्र ल्याउन माओवादीको मात्र ठूलो देन रहेको भनेर थाकेका छैनन् भने कोही तत्कालीन एमालेको प्रयासले मात्र सम्भव भएको मान्ने पनि निस्किएका छन्।

    नेपाली कांग्रेसको दाबी झन् कस्तो छ भने सातसालदेखिको आफ्नो संविधानसभाको चाहना पूरा हुनका लागि गणतन्त्रसम्मको यात्रा सम्भव भएको हो। अनि यसो भन्ने पनि छन्-गणतन्त्र ल्याउन सबैभन्दा ठूलो योगदान त तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट बढी नै रह्यो किनभने राजाले समयको माग र राजनीतिको जोड घटाउ नै नबुझेर २०१७ सालको पुरानै समयको राग अलापे। त्यही तुलसी गिरी र उनै कीर्तिनिधि विष्टलाई समयसँग जुध्‍न खटाउन थाले। 

    नेपाली कांग्रेसमा अझै माओवादी 'जनयुद्ध'बाट भएको क्षतिप्रति गुनासो छ जबकि माओवादीलाई आजको मूलधारमा ल्याउन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष अगुवाइ रहेको कुरा भनेर तत्कालीन 'जनयुद्ध'का सर्वोच्च कमान्डर प्रचण्ड अहिले पनि थाक्दैनन्।

    अचानक पाएको सत्तालाई  बाँदरको हातको नरिवलझैँ खेलाउन थाले। वास्तवमा तत्कालीन माओवादी 'जनयुद्ध'को उद्देश्य प्रजातन्त्रको पुनस्‍र्थापना किन पनि थिएन भने राजाको लोलीमा बोली मिलाउँदै तत्कालीन संस्थापनविरुद्ध सशस्त्र युद्ध नै थियो। सायद परिणामको त्यति धेरै वास्ता गरिएको थिएन किनभने मुलुकमा संक्रमणकालको कृत्रिम अवस्था यसैगरी सुरु गरिएको थियो।

    यही चालु संसदमा पनि नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल र नेकपाका नेता प्रभाकरका बीचमा जुहारी चल्यो यसै विषयमा। त्यसले के देखाउँछ भने नेपाली कांग्रेसमा अझै माओवादी 'जनयुद्ध'बाट भएको क्षतिप्रति गुनासो छ जबकि माओवादीलाई आजको मूलधारमा ल्याउन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष अगुवाइ रहेको कुरा भनेर तत्कालीन 'जनयुद्ध'का सर्वोच्च कमान्डर प्रचण्ड अहिले पनि थाक्दैनन्।

    त्यसैले माओवादी 'जनयुद्ध'बाट मात्र नेपालमा अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो कि होइन भन्नेबारे विवाद कायमै छ र पनि एउटा सत्य के हो भने गणतन्त्रलाई नाराको रूपमा लिएर अघि बढेको र संविधानसभालाई गन्तव्य मानेर हिँडेको चाहिँ माओवादी पक्ष नै हो भनेर भन्नैपर्छ। कांग्रेसको साथमा  माओवादीको 'जनयुद्ध' र एमालेको साथमा माओवादीको रणकौशलसँगै राजाको मुढे बलले धेरै काम गरेको थियो।

    जसरी पनि समयले मागेको कुरा आयो र आज गणतन्त्रात्मक राज्य छ जहाँ संसदीय प्रजातन्त्रको शासन प्रणाली लागू गरिएको छ। यो पनि संशोधनीय हुनसक्छ किनभने संसारमा केही कुरा पनि अपरिवर्तनीय छैन। लागेको थियो, राजनीतिलाई फोहोरी खेलबाट गणतन्त्रात्मक अवस्थामा सुधार गरिनेछ। नेपालमा हुने प्रजातान्त्रिक सुधारले संसारलाई नै पाठ सिकाएको छ र यसले दिने शिक्षा भनेको जनता जब उठ्नेछन्, कसैको केही लाग्दैन।

    हालै ओस्लोमा भएको ओस्लो फ्रिडम फोरमको समारोहमा मिश्रका ती स्वतन्त्रता सेनानी संगीतज्ञ रामी एस्समको भनाइ कस्तो घतलाग्दो थियो कि प्रजातन्त्र स्थापनामा जनताको जुन अपूर्व सहयोग प्राप्त हुँदो रहेछ,त्यो प्रजातन्त्र टिकाउन र प्रवर्द्धन गर्न पनि हुन सके मात्र प्रजातन्त्र टिकाउ हुनेरहेछ।

    हाल उनी मिश्रबाट निकालिएका छन् र फिनल्यान्डमा निर्वासनमा छन्। उनको दोष भनेको होस्नी मुबारकको शासनविरुद्ध लाखौँ मानिसलाई तहरिर चोकमा जम्मा गराएर प्रजातन्त्रको गीत गाए। लाखौँ मानिसहरू एस्समको गीत सुनेर बलिदान दिन तयार भएका थिए। बलिदान दिए।  

    हामीले मुलुक बनाउने क्रममा आफूमा सहिष्णुता आवश्यक छ। अरूलाई मात्र दोष दिनुभन्दा आफूलाई आफैँले स्वमूल्यांकन गर्ने बानी बसाउन जरुरी छ। कोही पनि सधैँ न त बाँच्छ, न त सधैँ सत्तामै रहन्छ। अहिलेको सत्ताको समीकरण न त सधैँ कायम रहन सक्छ, न त सत्ताबाट बाहिर आउनैपर्छ भन्ने नै छ। नयाँनयाँ विचार आउँदै छन्, नयाँ नयाँ धारणाले समाजमा आफ्नो ठाउँ लिँदै छन्।

    लाखौँ मानिसहरू कायरोको सडकमा उत्रिए, छातीमा गोली थाप्न तयार भए। होस्नी मुबारकको शासन ढल्यो, प्रजातन्त्र आयो तर प्रजातन्त्र धेरै दिनसम्म टिकेन। प्रजातन्त्रको आडमा आएको निर्वाचित सरकारले उनलाई फेरि पनि प्रजातन्त्रका पक्षमा गीत गाउँला भनेर देश निकाला गर्‍याे।

    उनलाई थाहा छैन किन शासकहरू प्रजातन्त्रको आडमा जितेर पनि प्रजातन्त्रको विपक्षमा अडान राख्छन्। के तेस्रो विश्वको यही नै नियति हो र? त्यसोभए नेपाल अमूर्त कला हो त जसले जस्तो पनि देख्ने? या सम्पन्न पनि देखिने, विपन्न पनि देखिने एकछिनमा। अनि सत्ताबाहिर गएपछि सबै लथालिंग देखिने।

    सत्तामा पुृगेपछि सबै कुराको ज्ञाता भइने अनि यही नमुनाले हाम्रो देश विकास होला? समृद्ध नेपाल बन्ला? खुसी नेपाली हुनका लागि अहिलेको सूत्रले नै सधैँ काम देला? लागेको थियो-प्रजातन्त्रको पुनर्स्थापनापछि र राजतन्त्रको बिदाइ गरेपछि सबै मिलेर समावेशी सिद्धान्तमा राज्य सञ्चालन होला।

    हुन त हामीले बनाएको संसदीय राज्यप्रणालीमा धेरै स्थान पाउने दलले सरकार बनाउने हो, तर नमुनाको प्रजातन्त्रको नमुना खोइ त हामीले प्रस्तुत गर्न सकेको? हामीमा रहेको असहिष्णु व्यवहारको एउटा सामान्य उदाहरण-राजदूतहरू फिर्ता र नयाँ नियुक्ति। विभिन्न आयोगहरूमा भएका नियुक्तिको अवस्था तथा तिनको भागबन्डाको स्थिति। तत्काल जवाफ आउँछ-पहिले कस्तो थियो नि? हो पहिले यस्तै गल्ती भएर त प्रणालीमा परिवर्तन गर्नुपरेको हो?

    समावेशी सिद्धान्त भनेको जातको मात्र, धर्मको मात्र, लिंगको मात्र समावेशी होइन, बहुमत र अल्पमतको पनि समावेशी भनेर बुझ्‍नुपर्छ। पहिलेको सरकार पनि नेपाल सरकार नै हो र अहिलेको सरकार पनि नेपाल सरकार नै हो। हामी राणाले गरेका, भीमसेन थापाले गरेका सम्झौतामा अहिले पनि बन्धित छौँ  भने हालैको अहिलेको जस्तै सरकार अझ अहिलेका सरकारमा हुनेले नै गरेका कामको पनि खारेजीमा लागेका छौँ। 

    जनताले सबैलाई मत दिएका छन्। न्यूनतम मत ल्याएर राष्ट्रिय दल ल्याएर भएका दलहरूको साझा धारणा किन बन्न सक्दैन राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा? हामी आपसमा बसेर त्यति पनि गर्न सक्दैनौँ? हिजो ज्यानको बाजी थापेर संघर्ष गर्न सक्ने, कतिपय प्यारा साथीहरूले सहादत गरेको आँसु झारेर खप्नसक्ने तर आपसमा

    बसेर छलफल गर्न नसक्ने? संविधान बनाउँदा हामीले अत्यन्त दक्षिण अफ्रिकाको कुरा गरेका थियौँ समावेशीको नमुनाका लागि। अनि संविधानको कार्यान्वयनमा किन हामीले त्यो समावेशी सहकार्यमा ध्यान दिन सकेका छैनौँ ? 

    नमुना प्रजातन्त्र भनेको कामले हुन्छ, अहंकार र दम्भले हुँदैन। म मात्र ठूलो, म मात्र जान्ने, म मात्र अहिलेको राजनीतिमा सर्वमान्य हुँ भन्न‍े सोच्‍दा झन् राजनीति जटिल बन्दै जानेछ। प्रजातन्त्र भनेको सहिष्णुता हो, स्वतन्त्रता हो, मानवअधिकारको प्रत्याभूति हो र आफूमा सबैप्रतिको समान व्यवहार गर्ने भावनाको प्रवर्द्धन हो।

    पहिले व्यक्तिमा सुधार हुनुपर्छ अनि समाजलाई सुधार गर्न सहज हुन्छ। एकपटक यक्ष र युधिष्ठिरका बीचमा भएको भनिएको वार्ता अहिले पनि संसारभर प्रशिद्ध छ। यक्षले सोध्यो-संसारमा सबैभन्दा अचम्मलाग्दो कुरा के हो? युधिष्ठिरले भने-संसारमा जतिबेर पनि मान्छे मरिरहेका छन्, मान्छे यो संसारमा आएपछि मर्नैपर्छ भन्ने पनि थाहा छ। तर पनि किन झुठो बोल्छन्। खराब काम गर्छन् र धन सञ्चयतिर लाग्छन्। यो भनाइ जहिले पनि जहाँ पनि लागू हुन्छ। 

    हामीले मुलुक बनाउने क्रममा आफूमा सहिष्णुता आवश्यक छ। अरूलाई मात्र दोष दिनुभन्दा आफूलाई आफैँले स्वमूल्यांकन गर्ने बानी बसाउन जरुरी छ। कोही पनि सधैँ न त बाँच्छ, न त सधैँ सत्तामै रहन्छ। अहिलेको सत्ताको समीकरण न त सधैँ कायम रहन सक्छ, न त सत्ताबाट बाहिर आउनैपर्छ भन्ने नै छ। नयाँनयाँ विचार आउँदै छन्, नयाँ नयाँ धारणाले समाजमा आफ्नो ठाउँ लिँदै छन्।

    यता, केही समयदेखिको नेपालको राजनीतिक विकासक्रमले संक्रमणकाललाई मलजल नै पुगेको देखिन्छ। धमिलो पानीमा खेल्न रुचाउनेका लागि त यो ठीकै होला, तर नेपालको स्थायित्व चाहनेका लागि भने यसले चिन्ता नै बढाउँछ। अब नेपाली जनताले चिन्ने बेला हुन लागेको छ को हो अस्थिरता चाहने र को हो स्थिरता चाहने नेपाली राजनीतिमा? 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]