विचार

नाक र ल्यापटपमा जोडिएका पत्रकार अनि जनप्रतिनिधि
SHARES

जेठ ३२, २०७६

    उदयपुरः केही दिन अघिबाट सामाजिक सञ्जालमा चर्चाको शिखरमा पुगेको विषय हो, नाक र ल्यापटप काण्ड। उदयपुरको त्रियुगा नगरपालिकाकाले पत्रकारलाई प्रविधि हस्तान्तरण कार्यक्रममार्फत बाँडेको ल्यापटप। अनि सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्ववारिकलाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न दिएको धम्कीले सामाजिक सञ्जाल निकै तात्यो।

    मेयर द्वावारिक लाल चौधरीले नाकको हड्डी भाँच्न दिएको धम्कीको माफी मागिसकेको छन्। त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले एक महिनाअघि पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेको फोटोसहितको समाचार अहिले चर्चामा छ।

    तर, दुवै विषयलाई परिपूरक बनाएर व्यख्या गरियो। एकातिर पत्रकारको नाकको मूल्य तोकिएको  र अर्कोतिर पत्रकारलाई ल्यपटप दिएको घटना। दुवै काण्डलाई धेरै पत्रकार साथीहरूले सर्वसाधारणकै शैलीमा सामाजिक सञ्जालमा  प्रयोग गरेका शब्दा हेर्दा कुरीकुरी लाग्यो। म पनि ल्यापटप काण्डमा जोडिएको पत्रकार। यता, नाकको हड्डी भाँच्ने मेयरको रामकाहानीको केही जानकारी राख्नेमै परेँ। आज म त्यही दुई काण्डको जे देखेँ त्यही लेख्दै छु।

    पत्रकारितामा स्थायी मित्रु र शत्रु हुँदैन

    म उदयपुरको सदरमुकाम गाईघाटमा बसेर पत्रकारिता गरिरहेको छु। म स्थानीय सरकारप्रति आक्रमणरूपमा खबरदारी गर्नेमध्ये एउटा पत्रकार हुँ। एक वर्षअघि त्रियुगा नगरपालिका जनप्रतिनिधि र मबीच  विवाद सिर्जना भएको थियो। त्यो पनि समाचारकै कारण थियो। अहिले ल्यापटप पाउने उदयपुरको पत्रकारहरूबीचमा म पनि परेको छु। त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलगायत जनप्रतिनिधिले पीत पत्रकारिता गरेको भन्दै कारबाहीसमेत गर्न माग गरेका थिए। नेपाल पत्रकार महासंघ केन्द्रले प्रेस स्वतन्त्राप्रति प्रश्न उठाउँदै विज्ञप्ति पनि जारी गरेको थियो।

    जिल्ला र प्रदेश पत्रकार महासंघ समाचार लेख्न गल्ती गर्‍यो भन्दै चुपचाप बस्यो। आखिर नेपाल पत्रकार महासंघ पत्रकारहरूको हकहितको लागि बोल्ने संस्था हो। म पनि त्यही पत्रकार महासंघको जिल्ला कार्य समितिको खुल्ला सहसचिव हुँ। मलाई नै त्रियुगा नगरपालिकाका जनप्रतिनिधिले पत्रकारिता पेसाबाट बर्खास्त गर्न माग गर्दा जिल्ला र प्रदेश महासंघ नबोल्दा बाँच्नुको अर्थ छैन भन्ने पनि लागेको थियो।

    पत्रकार महासंघप्रति वितृष्णा पनि जाग्यो। दुनिया स्वार्थी छ। मलाई मेरै सहकर्मी साथीहरूले सहयोग गर्नुभएन। उहाँहरू सबै टाटी, पाटी, साथीसँग जोडिएका पत्रकारका नेताहरू हुनुहुथ्यो। त्यसैको अलिकति जिम्मा मैले पनि लिनैपर्छ। उहाँहरू र मेरो पार्टी लाइन मिलेन कि?

    आज त्यही खालको समस्या इटहरी उपमहानगरपालिका छ। त्यसैमा जोडिएर त्रियुगाको ल्यापटप काण्ड एकाएक बाहिर आयो। त्यसैले होला मलाई धेरै साथीहरूले किन ल्यापटप लिएको? तँलाई जुन मेयरले पत्रकारिताबाट बर्खास्त गर्न माग गरेको थियो। त्यही मेयरको ल्यापटप लिइस् भन्नुभयो। दुईदिनदेखि फोन, म्यासेन्जरबाट प्रश्नहरूको ओइरो लागेको छ।

    म र त्रियुगा नगरपालिकाबीच आएको समस्या पत्रकारमहासंघ केन्द्रको विज्ञप्ति आएपछि मैले सहज वातावरण पाउँदै गएँ। म पनि विभिन्न समाचारहरू प्रकाशन र प्रशारण गरिरहेको छु। मेरा प्रिय शुभचिन्तकहरू, मैले त्रियुगा नगरपालिकाको ल्यापट पाएपछि त्रियुगा नगरपालिकाको समाचार किल गर्ने, मेयरले भनेका मात्र समाचार लेख्‍नेगरी प्रतिबद्धता गरेर मैले ल्यापटप लिएको छैन।

    प्रमाण भेटेसम्म, नगरपालिकाकाले गरेका कमीकमजोरीको समाचार लेख्छु। विधि र प्रक्रिया पुर्‍याएर लिएको छु। मैले लुकाएर लिएको छैन। मैले धमक्याएर लिएको छैन। मैले थर्काएर लिएको छैन। म व्यावसायिक पत्रकार हुँ। जति अक्षर लेख्छु त्यही अक्षरले परिवारमा खुसी देख्छु। अक्षरको खेती गर्नेहरूको कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन। ल्यापटप दिएर नगरपालिकालाई मित्र बनाएको छैन। जुन समाचारमा विवाद भएको थियो। त्यो समाचारले त्रियुगा नगरपालिकाकाले सार्वजानिक जग्गामा धेरै सुधार गरेको छ। त्यो त्रियुगा बासीले महसुस गरेकै कुरा हो।

    सदैव शत्रु पनि पत्रकारले बनाउन सक्दैन। मित्र पनि पत्रकारले बनाउन सक्दैन। म त्रियुगा नगरपालिकाप्रति खबरदारी पत्रकारिता मेरो सास रहुन्जेल चल्नेछ। समाचार लेख्दिनँ भनेर मैले ल्यापटप लिएको होइन।

    योजनाबद्ध नाक र ल्यापटलाई एकै ठाउँमा

    गएको वैशाखमा पत्रकारलाई बाँडिएको ल्यापटपको चर्चा जेठमा गरिएको छ। त्यो पनि पत्रकार लोपार्ने र नाककको हड्डी भाँच्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वावारिकलाल चौधरीको घटनापछि। मेयर चौधरीविरुद्ध पत्रकारहरू आन्दोलित भइरहेका थिए। त्यही बेला त्रियुगा नगरपालिकाले पत्रकारलाई बाँडेको ल्यपटपलाई बीचमा ल्याइयो। यसरी ल्याउँदा केही अवसरवादी र अराजकवादी पत्रकारहरूकै योजनामुताविक ल्याएको भन्दा फरक पर्दैन।

    त्रियुगा नगरपालिकाकाले पत्रकारलाई बाँडेको ल्यापटप वैशाखमै सार्वजानिक गरिएको थियो। त्यही वेला उदयपुरमै बसेर ल्यापटप वितरणमा चित्त नबुझने साथीहरूले समेत समाचार लेखेको देखिएन। जब नाकको हड्डीको कुरा आएपछि ल्यापटपको काण्ड उठाएर पत्रकारहरू आन्दोलनलाई गैरपत्रकारहरुले प्रश्न चिह्‍न खडा गरिदिएका त, होइनन्?

    यसमा पत्रकार महासंघ केन्द्र, प्रदेश, सम्बन्धित जिल्ला शाखाले गहिरो अनुसन्धान गर्न जरुरी छ। इटहरीका पत्रकारको नाकको हड्डी भाँच्न मेयरले दिएको धम्कीका विरुद्ध उदयपुरका पत्रकार पनि एकजुट छन्। म र त्रियुगा नगरपालिकाबीच भएको विवादको घटना दोर्‍याउदिनँ। मैले अघि नै भनेको छु, व्यावसायिक पत्रकारको स्थायी शत्रु र मित्रु हुँदैन।

    त्यसैले म भन्छु, ल्यापटप र नाकलाई एकै ठाँउमा राख्ने गैरपत्रकारको खोजी गरौँ। एक महिनाअघि बाँडिएको ल्यापटपलाई किन पत्रकारको नाकको मूल्य तोकिएको बेला ल्याइयो। यो गम्भीर विषय छ। त्यसमा पत्रकारहरूका संघ संस्थाहरूले सचेत हुनुपर्ने बेला आएको छ। पत्रकारिता क्षेत्रमा पत्रकार र गैरपत्रकारको दुई कित्ता रहेको जगजायरै छ।

    ल्यापटप लिनुहुँदैन भनेर कहाँ लेखेको छ?

    उदयपुरमा मात्रै होइन देशैभरीका नगरपालिका, महानगरहरूले पत्रकारिता क्षेत्रको महत्व बुझेर पत्रकारिताको विकास र प्रवर्द्धनका लागि बजेट छुट्याउने गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिकाले २०५४ सालदेखि नै विभिन्न शीर्षकमा पत्रकारिताको विकासका लागि बजेट छु्ट्याउँदै आएको थियो। यस आर्थिक वर्षमा भवन निर्माणको लागि करिब १२ लाख र प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ल्यापटप वितरण गर्ने गरी १२ लाख रुपैयाँ बजेट पुनः विनियोजन गरेको थियो।

    पारदर्शीरूपमै बजेटको व्यवस्था गरेर पत्रकारहरूले प्राप्त गरेको ल्यापटपलाई कसरी गलत ढंगले लिन सकिन्छ? त्यसो भए अर्को एक प्रश्न पनि उठाउन सकिन्छ के त्यसो भए पत्रकारले धम्काएर लिएको भए वा टेबुलमुनिबाट लिएको भए वा समाचार किल गर्ने सर्तमा लिएको चलन चाहिँ उत्तम हो त? सबैले एकपटक ध्यान दिएर सोचौँ।

    प्रेस काउन्सिलले बाँड्ने प्रविधिगत सुविधाबारे पत्रकारसाथीहरू जानकार छैनन्? त्यस्तो सुविधा उपभोग गर्ने सबै सरकारका मुकपत्र भएका छन् त? लोककल्याणकारी विज्ञापन प्राप्त गर्नेहरू सबै मूकपत्र हुन् त? ‘आचारसंहिताको दफा ५ को उप दफा १३ अनुसार ‘पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पार्नेगरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक, प्रतिष्ठान, संघसंस्था, वा व्यक्तिगतबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार, वा सम्मान, वा पिशेष सुविधा लिनुहुँदैन।’

    यो कुरा सबैले मान्नैपर्छ। यही बुँदाको उलंघन भएको छ त? बजेटमै व्यवस्था गरी क्रमागत कार्यक्रमअन्तर्गत व्यवस्थित गरिएका कार्यक्रमहरूलाई यस्तो श्रेणीमा राख्न सकिन्छ? त्यस्तो हो भने पत्रकार महासंघले पाउने अनुदान, सञ्चार संस्थाहरूले सञ्‍चार उपकरण, कागजलगायत सामग्री आयात गर्दा पाउने छुट पाउने जति सबै मूकपत्र हुने भए होइन र?

    हिमाल आरोहण, विदेश भ्रमण, कार्यक्रमहरूमा लिइने चन्दा सहयोग, कार्यक्रममा बाँडिने प्रायोजकका सामग्रीलगायत चिजबिजलाई के भन्ने? उपहार वा दान वा सम्मान वा समाचार किल गर्ने सर्तमा लिइएको चिज हुन त? मोफसलको पीडा नबुझ्ने गरी दुई महिनाअघिको बासी समाचारलाई अहिले उठान गर्नुपछिको नियत के हो? यो सबै गैरपत्रकारहरूले प्रपोकाण्ड मात्र हो।

    विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको गुणगान गाउँदै भत्ता पचाउन हिँड्ने पत्रकारलाई चाहिँ के भन्ने? प्रश्न धेरै छन्। मै हुँ भन्ने पत्रकारहरू एजेन्सी चलाएर जिल्लाजिल्लामा भिडियो डकुमेन्ट्री निर्माण गर्न हिँड्दा चाहिँ पत्रकार आचारसंहिता उल्लंघन हुने कि नहुने?  तसर्थ नगरपालिकाहरूले पत्रकारिताको विकास र प्रवर्द्धनका लागि विभिन्न शीर्षकमा छुट्याएको रकम उपहार ठान्ने भूल नगर्दा राम्रो हुन्छ।

    पत्रकारको संस्कार बिग्रेकै हो?

    पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल दाजुले सोमबार फेसबुकमा यस्तो स्टाटस पोष्ट गर्नुभयो। ‘कानुनी उपचारमा नजाने, जथाभावी कुन्ठा पोख्ने, पत्रकार सस्थामा उजुरी नदिने, फेसबुकका कुरालाई पत्रकारिताम जोड्ने, पत्रकार भएर ठेक्कापट्टा गर्ने, अरू व्‍यवसाय गर्ने, मौका पर्दा चुनाव उठन जाने अनि पत्रकार हुँ भन्दै महासंघ अर्को जिल्लाको आन्दोलन तुक छैन भन्दै सार्वजनिकरूपमा फेसबुक मा आलोचना गर्ने? आफ्नो ठाउँ बाट सुदृढ हुने प्रयत्न गरौँ, महासंघ प्रदेश समिति पनि सचिन अग्रसर छ, पत्रकारबाट पीडा भए उजुरी दिन फेरि पनि आह्वान छ।’

    यसरी पत्रकार महासंघ प्रदेश-१ का अध्यक्षले जुन आह्‍वान गर्नुभएको छ। त्यो उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारलाई बाँडेको ल्यापट र सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाच्न १ करोड छुट्याएको भनेर दिएको धम्कीप्रति आन्दोलित बनेका पत्रकार र ल्यपटप लिने पत्रकारको रामकहानी प्रस्‍टै थाहा पाइन्छ।

    त्यसकारण मैले बुझेअनुसार प्रत्रकार महासंघ १ प्रदेशलाई भन्छु, ल्यापटप र नाकको हड्डी भाँच्ने घटनाको गम्भीररूपमा अनुसन्धान गर्नुपर्‍यो। अध्यक्ष महोदय हजुरले भने जस्तै सच्चिन र पत्रकारहरूको संघसंस्थाहरूमा उजुरी गर्ने चलन नभएकै हो। जथाभावी लेख्ने र कुण्ठा पोख्नेहरुलाई प्रदेश-१ मै भए पनि खोजी गर्नुपर्‍यो। अनि गैरपत्रकारलाई पेसा शुद्धीकरण गरेर पाखा लगाउनुपर्‍यो।

    जनप्रतिनिधि र पत्रकारबीच किन विवाद?

    अहिले स्थानीय तहका जनप्रतिनिधि र पत्रकारबीच धेरै विवाद हुने गरेको छ। नयाँ व्यवस्थामा पुरानै शैलीमा काम गर्ने जनप्रतिनिधि, कर्मचारी अनि तिनै जनप्रतिनिधिका आसेपासकै कारण आउने विवादमा पत्रकार पर्नु राम्रो होइन।

    पत्रकार पनि आफूलाई देशको संवैधानिक आयोगजत्तिकै अधिकार छ भन्न रुचाउनु र जनप्रतिनिधि स्थानीय सिंह बनेर बस्नु पक्कै राम्रो होइन। म र त्रियुगा नगरपालिकामा भएको विवादको प्रकृति पनि यस्तै थियो। आखिर इहटरीमा भएको विवाद पनि त्यस्तै नै भएको पाएँ।

    सुरक्षाको कारण पनि भित्री पाटो लेख्न सक्ने अवस्था छैन। मैले लेख्नै मिल्दैन। त्यो मेरो व्यत्तिगत सुरक्षाको कारण पनि भित्री पाटो खोज्न एउटा पत्रकार महासंघले एउटा कार्यदल बनाउनुपर्छ। पत्रकारहरूले पनि कसरीले बाइट लिने, कसरी लेख्ने, आफूले लेख्दा अरूले पचाउनुपर्छ भन्ने। अनि अरूले लेख्दा पनि पत्रकारले पचाउन नसक्नु चाहिँ समस्या बनेको छ। पत्रकार र जनप्रतिनिधिबीच भएको विवादको मुख्य कारण पत्रकारका संघसंस्थाले पत्ता लगाएर पत्रकारलाई पनि सच्याउने र जनप्रनिधिलाई सुधार्ने कोसिस गर्नैपर्छ। पत्रकारकार नेताहरू भोलिका दिनका देशकै नेता पनि हुन्।

    इटहरीमा र त्रियुगामा त्यही भएको थियो भन्न खोजेको होइन।  तर, त्यहाँ के भएको भन्ने कुरा पत्रकार महासंघले खोजी गर्नुपर्छ भन्न खोजेको हुँ। पत्रकार पनि सबै राजनीतिक दलप्रति आस्था राख्ने नागरिकनै बनेका छन्। तिनै दलमा कोही न, कोही नेतासँग जोडिएका छन्। जनप्रतिनिधिहरूको पनि काम गर्ने शैली तिनै जनप्रनितिधिका पार्टी कोही गुटका नेतालाई मन नपरेपछि पत्रकार लगाउने परिपाटी छ।

    पत्रकारहरू राजनीतिक पार्टीबाट अलग हुन सक्छन् होला। म पनि सक्छु, तर, मेरो हजारौं साथीहरूले सक्दैनन्। म सत्ताधारी दल नेपाल कम्युनिष्ट पाटी(नेकपा) मा आस्था राख्ने पत्रकार हुँ। म पार्टीको कुनै पनि संगठनमा छैन। तर, मलाई त त्यो पार्टीको नेता भनेर व्यवख्या गरिएको छ।

    पत्रकार महासंघले केन्द्र र प्रदेशले जिल्लाका पत्रकारहरूमा आउने विवादको कारण पत्ता लगाएर भोलिका दिनमा त्यही प्रकारको विवाद आउने वातावरण रोकिदिनुपर्‍यो। यसका लागि विभिन्न दलसँग आबद्ध पत्रकार संगठन, अनि विभिन्न संघ संस्था र महासंघले पहल गर्नु जरुरी छ। नत्र पत्रकार जनप्रतिनिबीच विवाद निरन्तररूपमा चलिरहन्छ।

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]