विचार

अठ्ठाइस काँटावाल एक्लाएक्लै, एक्लो रूपचन्द्र हुलका हुल

असार ६, २०७६

    मकवानपुरमा जन्मिएका थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट (वि.सं. १९९०-२०५६) सचेत विद्रोहीमात्रै थिएनन्, सच्चा जनप्रतिनिधि पनि थिए। आजीवन मान्छे जगाउने यात्रामा होमिएका उनी ठान्दथे, प्रजातन्त्र छाप्रोमा सुतिरहेको छ। उनले तिनै छाप्रोहरूका लागि राजनीति गरे। 'श्रमिकको राजनीति पुँजिपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन', उनी भन्थे, 'आफ्नो राजनीति आफैँले गर्नुपर्छ। त्यसका लागि जाग्नुपर्छ, जाग्नका लागि थाहा चाहिन्छ।'

    रूपचन्द्रले मानिसलाई जगाउन थाहा आन्दोलन चलाए। भित्ताभित्तामा थाहा लेख्दै हिँडे, मान्छेको चेतनामा विद्रोहको बत्ती बाल्ने कोसिस गरे। राष्ट्रिय पञ्चायत सदस्यका रूपमा पञ्चायती व्यवस्थाको केन्द्रमा छिरेर 'कु-व्यवस्था'माथि धावा बोले। शासक र शोषकलाई आफ्ना तिखा शब्दहरूले घोचे, थर्कमान बनाए, बेथितिविरुद्ध अथक जुधिरहे।

    तिनै रूपचन्द्र जीवनको उत्तरार्धमा नराम्ररी थाके। निराशामा चुर्लुम्म डुबे। जाने बेलामा भने, 'मान्छे या त जाग्दै जागेनन्। जे जति जागे, जालीफटाहालाई काम लागे। अब मेरो कुनै काम रहेन…बाँच्नुपर्ने कुनै कारण रहेन।' उनको २०५६ असार ७ गते काठमाडौँको वीर अस्पतालमा निधन भयो।

    उनै थाहा अभियन्ता रूपचन्द्रको २० औँ स्मृति दिवसका अवसरमा हामीले 'रूपचन्द्र विष्ट स्मारक समिति'का अध्यक्ष तथा सांसद रामनारायण बिडारीससँग 'जनप्रतिनिधिका रूपमा रूपचन्द्र'को सम्झना बाँड्न अनुरोध गर्‍यौँ। जनमुखी राजनीतिमा करिब २ दशक रूपचन्द्रसँग बिताएका बिडारीले उनलाई यसरी सम्झिए–

    अहिले राजनीति भनेको ठगी खाने भाँडोजस्तो भएको छ। मान्छेहरू यसलाई फोहोरी खेल भन्छन्। हामीले गाउँघरतिर सुन्छौँ, कसैले बेइमानी गर्‍यो भने यसले राजनीति गर्छ भनिन्छ। कसैले बदमासी गर्‍यो भने यो मान्छेले खुब राजनीति जानेको छ भन्ने चलन छ। अर्थको अनर्थ भएको छ।

    यस्तो चलनको अभ्यास भइरहेको बेलामा रूपचन्द्र त्यस्ता पात्र थिए, जसले राजनीति फोहोरी खेल होइन भनेर प्रमाणित गरे। राजनीति भनेको जनताको हित खोज्ने नीति हो भनेर सर्वसाधारणलाई बुझाए। 'राजनीति मूल नीति हो, राजनीति ठीक भयो भने अर्थनीति, धर्मनीति, व्यापारनीति सबै नीति ठीक हुन्छ', रूपचन्द्रको व्याख्या यस्तो हुन्थ्यो। उनले व्याख्या मात्रै गरेनन्, हामीलाई पनि राजनीतिमा लाग्ने प्रेरणा दिए। अहिलेका नेता देख्दा म छक्क पर्छु। रूपचन्द्रलाई झलक्क सम्झन्छु। रूपचन्द्र पनि नेता, यी पनि नेता!

    काठमाडौंको कालिमाटी वडा सदस्यका रूपमा वि.सं. २०१५ सालबाट जनप्रतिनिधि बनेर उनको राजनीतिक यात्रा शुरु भयो। त्यसपछि उनी मकवानपुरको शिखरकोटमा वडाअध्यक्ष बने। त्यहीँ प्रधानपञ्च पनि बने र त्यही ठाउँबाट २०२८ सालमा स्नातक प्रतिनिधिका रूपमा राष्ट्रिय पञ्चायत सदस्य बने। २०३८ निर्वाचन कांग्रेससहितका दलहरूले बहिष्कार गरेका थिए। तर रूपचन्द्र एकमात्र त्यस्ता नेता थिए, जसले चुनावी घोषणापत्र अघि राखेर चुनाव लडे र जिते पनि। बालिग मताधिकार बहिस्कार गर्न हुन्न भन्ने उनको मत थियो।

    त्यो चुनावमा रूपचन्द्रको घोषणापत्र पञ्चायतविरुद्ध लक्षित थियो। निर्दलको विपक्षमा थियो, राजतन्त्रको विपक्षमा थियो। चुनाव जित्दैनन् भन्ने निष्कर्ष निकालेर त्यसबेलाको व्यवस्थाले रूपचन्द्रलाई नजरअन्दाज गर्‍यो। तर उनले चुनाव जिते।

    राष्ट्रिय पञ्चायत समितिको बैठकमा गएर रूपचन्द्रले भने, 'म ४४ लाखे प्रतिनिधि हुँ। २० लाख बहुदलवादी, २४ लाख निर्दलवादी। यहाँ ममात्र ४४ लाखे प्रतिनिधि हुँ, अरुले २४ लाखको मात्र प्रतिनिधित्व गर्छन्।' अन्य रापसहरूबाट उनको भयंकर विरोध भयो। उनले दिएको जवाफ मलाई सम्झना छ, 'कम्युनिष्ट र कांग्रेसको छुट्टै सदन कहाँ छ मलाई देखाइदेऊ, म त्यहीँ गएर भाषण गर्छु!  होइन भने घोषणा गर, यो पञ्चायतले बनाएको नीति बहुदलवादीलाई लागू हुने छैन। यदि यसले बनाएको नीति बहिष्कारेहरूलाई पनि लागू हुन्छ भने मैले उनीहरूको प्रतिनिधित्व गर्न पाउनुपर्छ।'

    रूपचन्द्रलाई त्यसै जनताले रुचाएका हैनन्। उनको दर्शन, राजनीति, चरित्र र व्यवहारले भुइँका मान्छेहरूलाई खिच्यो। जनता जस्तो लुगा लाउँछन्, उनको लुगा त्यस्तै। जनता जस्तो खाना खान्छन्, उनको खाना त्यस्तै। जनता खेतबारीमा कसरी खटिन्छन्, उनी त्यसैगरी खट्थे।

    अहिलेका जनप्रतिनिधि देख्दा मलाई अचम्म लाग्छ। चुनावमा जाने झुटा कुरा बोल्ने। पुरा नहुने कुराको बाचा गर्ने। गुण्डा फटाहलाई चुनावमा प्रयोग गर्ने। त्यही होइन अहिलेका नेताको चरित्र! त्यो बेलामा पनि त्यस्तो हुन्थ्यो, नहुने होइन। तर रूपचन्द्र त्यस्तो हुलमा टाढैबाट छुट्टिन्थे। उनले कहिल्यै झुटो आश्वासन दिएनन्। मतदातालाई उनी प्रष्टसँग भन्थे, 'मलाई भोट दिनुस् वा मेरो विरोधीलाई दिनुस्, जनताको कल्याण हुनेवाला छैन। जसलाई भोट दिएपनि तपाईंहरूको कल्याण हुनेवाला छैन। यो कल्याणकारी व्यवस्था नै होइन। मलाई भोट दिँदा फरक के छ त! मलाई भोट दिनुभयो भने शोषक, सामन्ती, अपराधी, शासकहरूले माथि के–के गर्छन्, म तपाईंहरूलाई हुबहु सुनाउँछु। मेरो विरोधीलाई भोट दिए माथिका जम्मै कुरा गुपचुप राख्छ र तपाईँहरूलाई झुक्याउँछ। फरक यति हो।'

    मतदाता ध्यान दिएर सुन्थे। रूपचन्द्र भन्दै जान्थे, 'राम्रो–नराम्रो, ठीक–बेठीक, धेरै–थोरै जे जसरी बोले पनि वा बोल्दै नबोले पनि मैले मेरो तलब पाउँछु। तर जनताले केही पाउँदैनन्। यो व्यवस्थाबाट इन्साफ र विकास खोज्नु गोरुको टाङमुनि छिरेर दूध दुहुन खोजेजस्तै हो।

    रूपचन्द्रको भिन्दै तरिका थियो। उनी जनतालाई यसरी सुसूचित गराउँथे। रापसको अधिवेशन हुनुअघि गाउँगाँउ डुल्थे। जनमत बुझ्थे, 'म तपाईंहरूको प्रतिनिधि! अधिवेशनमा के कुरा राखूँ?' जनमत धारो-पानी वा बाटो–कुलोको कुरामा होइन, नीति र सिद्धान्त कस्तो चाहिएको छ भनेर बुझ्थे।

    यसरी उनी जनमत बोकेर रापस बैठकमा छिर्थे र हुबहु जनताको कुरा सुनाउँथे। उनको भाषणै गजबको हुन्थ्यो, 'मुलुकमारा, बजेटमारा, गरिवमाराहरू! जनताको कुरा यस्तो छ, एउटा चेपाङको कुरा यस्तो छ। म के खाएर बाचूँ? पशु भएको भए घाँस खाएर बाँच्थें। अरु जीव भएको भए अरु नै कुरा खाएर बाँच्थेंँ मान्छेको जुनी भयो, जीवन धान्न धौ–धौ भयो, के खाएर बाचूँ भनिराखेका छन् मान्छेहरू। यो सरकार दरबारमा बसेको अपराधीले चलाउँछ। रोग लाग्छ भनेर नेपालको पानी नखाने, विदेशबाट झिकाएर खाने! तर त्यस्तो छ जनताको हालत! के गर्ने हो, थाहा चाहियो।'

    रापस अधिवेशन सकिएपछि रूपचन्द्र फेरि गाउँ जान्थे। प्रतिवेदन सभा भनेर अर्को सभा गर्थे र रापसमा भएका कुरा हुबहु सुनाउँथे, 'ल सुन्नुस्, अपराधीहरूले आफ्नो शासन अझै पक्का गर्न कस्ता–कस्ता नीति र कानुन बनाए....।'

    रूपचन्द्र कम्युनिष्ट दर्शनबाट ओतप्रोत थिए। पूर्वीय दर्शनलाई पनि जनहित अनुकूल व्याख्या गर्थे। सामूहिक बसाई, सामूहिक खेती आदिका कुरा गर्थे। पालुङमा अहिले पनि किसानहरूले धान रोप्दैनन्, तरकारी खेती गर्छन्। त्यो सबै उनैले सिकाएको हो। रूपचन्द्रले दामन र पालुङलाई समेटेर पालुङ विकास समिति गठन गरेका थिए। उनी त्यसको अध्यक्ष थिए। दुवै गाउँ पञ्चायतका अध्यक्ष त्यसका सदस्य थिए।

    उक्त समितिमार्फत रूपचन्द्रले स्थानीय तहमा सामूहिक खेतीको अभ्यास गरे। जनतालाई मर्का नपर्ने गरी कर उठाएर स्कुल चलाए। कोहीकोही बटारिन्थे, 'मेरो छोरो स्कुल पठाम् कि नपठाम् तिमीलाई के मतलब! भन्थे।' त्यस्तालाई रूपचन्द्र हपार्थे, 'हामीलाई मतलब छ। तेरो छोरो नपढेर भोली चोर भयो भने समाजलाई अप्ठ्यारो पर्छ कि पर्दैन?' छोरी नपढाउने बाउआमा मुर्दावाद भन्ने नारा लगाइन्थ्यो। यसरी उनले पुरातन् अन्धविश्वासलाई चिर्ने कोसिस गरे। ३८ वटा त बिहानी कक्षा चल्थे त्योबेला। स्कुलमा 'श्रीमान् गम्भीर नेपाली...' गाइदैँनथ्यो, भिन्दै जनमूखी गाना थियो।

    विरोधीहरूले उनको यो अभियानलाई सहन सकेनन्, प्रशासनमा उजुरी हाले। खासगरी पञ्चेहरू उनको घोर विरोधी थिए। त्यतिखेर २८ जना आलुव्यापारी, जसलाई काँटावाल भनिन्थ्यो, रूपचन्द्रको विरोधमा उत्रिएका थिए। तर जनता रूपचन्द्रको साथमा थिए। त्यतिखेरको एउटा प्रसिद्ध नारा थियो, 'अठ्ठाइस् काँटावाल एक्लाएक्लै, एक्लो रूपचन्द्र हुलका हुल!' तर प्रशासनले विरोधीको कुरा सुन्यो, समानान्तर सरकार चलाउन खोजेको आरोपमा रूपचन्द्रलाई राजकाज मुद्दा लगाएर जेल हाल्यो।

    अहिले धेरै चिज बद्लिएको छ। एउटा नेता गाउँ जाँदा हर्रर्र मोटरमा तामझामसहित जान्छ। खसी काट्छ, भोज लगाउँछ। मान्छे पनि त्यस्ताकै पछि लाग्छन्। रूपचन्द्रको पालामा त्यस्तो थिएन। गाउँ जाँदा हामी कार्यकर्ताले आफ्नै गोजीबाट प्रतिदिन १० रूपैयाँ खर्च गर्नुपर्थ्यो। जनताको त्यसै खान पाइँदैनथ्यो, जनताको खेतबारीमा श्रमदान गर्थ्यौं। अहिलेका नेता त जिल्ला जाँदा जग्गा दलाल, तस्कर र अपराधीको घेराबाट उम्कनै सक्दैनन्। त्यसैले रूपचन्द्र धेरै अर्थमा भिन्न थिए।

    यो सबै बेथिति र विकृतिको जरो भ्रष्टाचारसँग जोडिएको छ। हाम्रा नेताहरूको दिनचर्या हेर्ने हो भने धेरै कुरा बुझ्न सकिन्छ। आयस्ताको स्रोत केही छैन, तर तामझाम चर्को! नेताले भ्रष्टाचार गर्छन् भन्ने कुरा तलका कार्यकर्तालाई थाहा छ। उनीहरू पनि विभिन्न बहानामा माथिका नेतालाई दोहन गर्ने कोसिस गर्छन्। तस्करसँग लिएको अथवा दलालसँग लिएको पैसा नेता र उसको परिवारलाई मात्र किन खान दिने! यही सोचेर कार्यकर्ताले पनि विभिन्न तरिकाले भाग खोज्छन्। छोरा बिरामी भयो भन्छ, छोरी विरामी भई भन्छ, र नेतासँग पैसा माग्छ। कार्यकर्ताको दिमागमा ड्याम्मै पसेको छ, हाम्रो नेताले घुस खान्छ।

    दोषी को त? रूपचन्द्रको एउटा नारा नै छ।

    केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी,

    सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी,

    अनि यथार्थमूखी कर्तव्यमूखि बाहेक, पछुवा, भगुवा सारा दोषी!

    रूपचन्द्रका केही हरफमात्रै पढ्ने हो भने उनीबारेमा धेरै कुरा बुझ्न सकिन्छ। रूपचन्द्रको नारा थियो, 'निष्पक्ष सक्रियताको अभ्यास।' कुनै मान्छे निष्पक्ष छ तर सकृय छैन भने त्यो काम छैन। सकृय छ तर निष्पक्ष छैन भने त्यो पनि काम छैन। समाज राम्रो बनाउन 'निष्पक्ष सकृयताको अभ्यास' गर्ने मान्छेहरू चाहिन्छन्।

    यसरी रूपचन्द्रबाट जनप्रतिनिधि, नेता वा हामी सबैले सिक्नुपर्ने कुरै धेरै कुरा छन्। पहिलो त श्रम गर्ने कुरा। हातले भुइँमा काम गर्नुपर्‍यो, काम नगरी खान भएन। त्यसबाहेक उनको इमान्दारी र नैतिकता हामी सबैका लागि अनुकरणीय छ।

रामनारायण विडारी

वरिष्ठ अधिवक्ता बिडारी हाल राष्ट्रियसभा सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]