विचार

आधुनिककालका भीष्म पितामह गिरिजाबाबु
SHARES

असार १७, २०७६

    नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म विक्रम सम्बत् १९८१ साल असार १८ गते भएको थियो। नेपालको इतिहासमा प्रधानमन्त्री भएका कारणले मात्र उहाँको सम्झना गरिएको होइन। उहाँले अत्यन्त जटिल मोडमा पुगेको नेपाली राष्ट्रियतालाई शान्ति प्रक्रियाको नयाँ अध्याय थपेर सहजीकरण गरेर भिरमा पुगेको देशको राजनीतिक अवस्थालाई पार लगाउनु भयो।

    भनौँ, महाभारतमा भीष्म पितामहले गरे जस्तै आफै‌ंमा ताप बोकेर पनि अरुलाई शान्तिको बाटोमा डोर्‍याउनु भयो। जस्तो कि भीष्म पितामहले आफू शय्यामा सुतेर पनि हस्तिनापुरलाई पाण्डवको हातमा सुम्पिनु भएको थियो। 

    नेपालको उत्तर आधुनिककालका, नेपाली राजनीतिका भीष्म पितामह मनिनु भएका गिरिजाप्रसाद कोइरालाको महाप्रयाण भएको पनि नौ वर्ष पुगेछ। २०६६ साल चैत्र ७ गते उहाँको महायात्रा सुरु भएको थियो। त्यसैबेलाको सेरोफेरोदेखि नेपालको राजनीतिले गलत बाटो लिन सुरु गरेकोमा अझैसम्म पनि त्यसले सही बाटो लिन सकेको छैन । 

    के थियो त गिरिजाबाबुमा त्यस्तो चमत्कारिक क्षमता जसले उहाँलाई यस युगको एक युगान्तकारी नेताको रुपमा स्थापित गर्‍यो? किन अरु समसामयिक नेताहरूले उहाँलाई भीष्म पितामहको रुपमा स्वीकार गर्नुपर्‍यो? यी प्रश्नका उत्तरहरू नेपाली राजनीतिमा अब एउटा अनुसन्धानको विषय भएको छ र यसलाई अनुसन्धान गर्न पनि समसामयिक नेपाली राजनीतिको केन्द्रविन्दूलाई पहिल्याउनु जरुरी छ ।

    नेपाली राजनीतिको केन्द्रविन्दू पहिल्याउन आधुनिक नेपाली इतिहासको विवेचनात्मक र विस्तृत अध्ययन पनि जरुरी छ। गिरिजाबाबुलाई राम्रोसँग विवेचना गर्न नेपाली राजनीतिको सतही विवेचना र हलुका अध्ययनले सम्भव छैन । 

    गिरिजाबाबुमा एउटा दृढता थियो लोकतन्त्रप्रति र विश्वास थियो लोकतान्त्रिक परिपाटीमा। उहाँ जस्तोसुकै अवस्थामा पनि लोकतन्त्रप्रतिको आफ्नो विश्वासमा कतै आँच आउन दिनु हुन्थेन। अरु त अरु, लोकतन्त्रको विरुद्धमा तत्कालीन अवस्थामा जो जो  लागे, ती सबैलाई उहाँले लोकतन्त्रका पक्षमा लाग्न प्रेरित गर्नुभयो र त्यसमा प्रतिबद्धता जनाउनसमेत मौका दिनुभयो।

    जुन जुन आस्थामा जो जो भए पनि, जो जो लोकतन्त्रका पक्षमा देखिए वा रुपान्तरित भए, ती अहिले पनि मूलधारको राजनीतिमा लोकतान्त्रिक प्रक्रियामा देखिएका छन्, बरु तिनको गति मझौला भए पनि । 

    राजतन्त्रलाई समेत लोकतन्त्रका पक्षमा लाग्न रुपान्तरित हुन मौका दिँदा आफ्नो मुढेबलका आधारमा, संविधानमा बाँधिएको भनिएको राजतन्त्र असंवैधानिक रुपमा प्रस्तुत हुँदा राजतन्त्र नेपाली राजनीतिबाट सदाका लागि विदा भयो। तर फ्रान्समा जस्तो राजतन्त्रका पक्षधर वा राजा वा राजपरिवारलाई सखाप नगरी मुलुकको राजनीतिलाई अघि बढाउनु भएको थियो ।

    आजको तेस्रो विश्वमा त्यस्तो नेता अहिलेचाहिँ देखिएका छैनन्। नेपालमा उहाँको कमी अहिले सवैलाई महसुस भइरहेको हुनुपर्छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उहाँको नेतृत्व नेपाली राजनीतिको पछिल्लो काल खण्डको कुरा हो र उहाँको जीवनको उत्तरवर्ती कालको कुरा हो । 

    उहाँको राजनीतिक जीवनको मूल्यांकन गर्दा २००३ सालदेखि नै गर्नु पर्दछ। प्रजातन्त्रको स्थापनाको मजदुर संघर्षदेखि महायात्राको समयसम्म अनवरत लोकतन्त्र र लोकतान्त्रिक परिपाटीका लागि लडिरहने नेताको रुपमा उहाँलाई लिनु पर्दछ। लामो समयसम्म नेपालको प्रधानमन्त्रीको पदमा रहँदा नेपाललाई आधुनिक युगमा लैजानका लागि गरेको योगदान पनि नेपाली इतिहासमा कोसेढुंगाका रुपमा लिइन्छ।

    शिक्षा, सञ्चार, अर्थ तथा विकासका लागि उहाँको समयलाई आधारभूत विकासको समयको रुपमा लिइन्छ र नेपाललाई विश्वको प्रतिस्र्धात्मक आर्थिक आयाममा पहिचानसहित लिएर गएको यश उहाँलाई दिनसकिन्छ। यसमा उहाँको दल नेपाली कांग्रेस, नेपाली जनता र लोकतन्त्रप्रति आस्था राख्ने यो संसारका जो कोहीले पनि  उहाँप्रति गर्व गर्न सक्दछन् । 

    खासगरी यो समीक्षकको उहाँसँगको लामो संगत प्रजातन्त्रमा शिक्षा र शिक्षकको भूमिकाको  विषयमा भएको थियो। नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा आज देखिएका जे जति विकास र पूर्वाधारको सुदृढ जग छ। ती सबै २०४८ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री भए पछिका विकास हुन्।

    पञ्चायती कालमा रहेका निरंकुश तन्त्रलाई सहयोग गर्ने जे जति कानुन थिए, तिनलाई प्रजातान्त्रिक संविधानअनुसार बनाउने जिम्मा उहाँकै सरकारमा  थियो र त्यो सहजताका साथ यसकारणले पूरा भयो कि सबै मन्त्रीहरूलाई उहाँले पूर्ण स्वायत्त अधिकार दिनु भएको थियो आफ्नो आफ्नो मन्त्रालयको विकासका लागि। त्यस्तैमा थियो शिक्षा मन्त्रालयको सुधार पनि। 

    २०४९ साल असारमा बुझाइएको राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले औल्याएका कुरालाई उहाँले तत्काल गर्नका लागि तत्कालीन मन्त्रीलाई अह्राउनु भयो जसले गर्दा आज वहु विश्वविद्यालयहरू देख्न पाइन्छ र शिक्षामा भएको जुन लगानी हो, त्यसलाई उहाँको पालामा पूरा बजेटको १७ प्रतिशतसम्म पुर्‍याइएको देखिन्छ। 

    विद्यालय शिक्षकको वृत्ति विकासका लागि सघन तालिमको व्यवस्था, उपादान, पेन्सन, औषधि खर्च, शिक्षक सेवा आयोग जस्ता ऐतिहासिक उपलब्धि उहाँकै बेलामा भएका थिए। प्रत्येक विद्यालयमा एक जना महिला शिक्षकको व्यवस्था अनिवार्य गर्ने  र विद्यालय व्यवस्थापनमा अनिवार्य रुपमा अभिभावकको नेतृत्वको व्यवस्था गरिएको पनि उहाँकै पाला र उहाँकै प्रत्यक्ष निर्देशनमा भएको थियो। अहिले अभिभावकमध्ये नै व्यवस्थापन समिति गठन गरिन्छ ।

    स्थानीय समुदायलाई उत्तरदायी बनाउने उहाकोे अठोटले नै समुदायमा विद्यालयको व्यवस्थापन सम्भव भएको हो। विश्व विद्यालयलाई व्यवस्थित गर्ने काममा त्यो बेलामा धेरै काम भए। जसरी अपजस पाउँछ कुनै शासकले भने राम्रा कामको पनि जस दिन सक्नुपर्छ र मात्र त्यो समाज कृतज्ञ ठहरिन्छ। आजको स्वास्थ्य शिक्षाको पहुँचको आधारशिला उहाँकै बेलामा भएको थियो। 

    कतिपय कामहरू सरकारमा बस्नेले सुरु गर्ने हो। तिनले ल्याउने विकृतितर्फ कार्यान्वयन गर्नेहरू सतर्क भएर र इमान्दार भएर गरे भने त्यो परिणाममुखी हुन्छ। त्यस्तै भयो सामुदायिक शिक्षाको अवस्था। सामुदाियक विद्यालयको अवस्था। दरबन्दी सिर्जना गरिए शिक्षकको, विद्यालयमा विद्यार्थी कम भए। अहिले विद्यार्थी छैनन् पनि भनिएको छ र दरबन्दी पनि कम भयो भनिन्छ। त्यसको दोष नीति निर्मातालाई मात्र दिनुभन्दा नीति कार्यान्वयन गर्नेहरूको इमान्दारितामा पनि भर पर्ने रहेछ ।

    जस्तो कि सामुदायिक विद्यालयको नीति बनाउने र कार्यान्वयन गर्नेहरूका सन्तान भने निजी व्यवस्थापनका विद्यलयमा छन् भन्ने सामूहिक गुनासो सुन्नुपरेको छ। शिक्षाको नयाँ गोरेटो खन्नका लागि गिरिजाबाबुको प्रधानमन्त्रित्व काल नै सुनौलो युगको रुपमा लिन सकिन्छ किनभने उदार समयमा शिक्षा कस्तो हुनुपर्छ भनेर नयाँ नयाँ नीतिहरू तयार भए जुन आज पनि उत्तिकै महत्वपूर्ण छन्। 

    एक प्रकारले पञ्चायतपछिको समयलाई वहुदलीय समाजको रुपमा बदल्ने काम गिरिजाबाबुकै समयमा भयो जुन आजसम्म पनि मानकको रुपमा लिनु पर्छ। अहिले पनि समाज संसदीय प्रजातन्त्रकै हो। समावेशी अलि बढी छ जुन उहाँकै पालामा आएको अन्तरिम संविधानले स्थापित गरेको थियो। 

    हामी कृतज्ञ नेपालीले गिरिजाबाबुको सम्झना गर्दा एउटा साहसी, दृढ निश्चयी, आफ्नो विश्वासमा सदैव अटल र लोकतन्त्रका एक महासेनानीको रुपमा लिनु पर्दछ। आजको आधुनिक नेपालमा उहाँको नेतृत्व नभएको भए के हुन्थ्यो भन्ने कुरो चाहिँ इतिहासको जिम्मा लगाउनु नै श्रेयस्कर हुने छ। शान्ति, संविधान र त्यसपछिको स्थिर समावेशी लोकतान्त्रिक नेपालको चाहना नै गिरिजाबाबुको चाहना थियो र त्यो चाहना पूरा गर्नका लागि आपसमा एक भएर सहमतिका साथ अघि बढ्नुको कुनै विकल्प थिएन र छैन।

    आज हामीले उहाँलाई सम्झने भनेको नै त्यसैप्रतिको आफ्नो आस्था एवं विश्वासलाई पुनः ताजा गराउनु हो। उहाँप्रतिको सम्मान भनेको नै लोकतन्त्रप्रतिको आस्था र सम्मान नै हो। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्रमात्र हो जसलाई गिरिजाबाबुले सप्रमाण चरितार्थ र कार्यार्थ गरेर देखाउनु भएको थियो।

    एक कर्मशील अनि प्रजातन्त्रप्रति सदैव समर्पित एक क्रान्ति पुरुषप्रति शब्द श्रद्धा सुमन!

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]