मनोरञ्जन

संगीतले मात्रै नहुने बुझेर गायनतर्फ लागेँ

असार २०, २०७६

    झन्डै एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत राजेन्द्र भट्ट (मिस्टर आरजे) का पछिल्ला केही गीत चर्चामा आएपछि नयाँ रचनामा उनी हौसिएका छन्। बम्बैको लाहुरे, साली भनौला, डबल माया, नौटंकी माया, सुनका बाला, हे बरैलगायत गीत चर्चामा छन्। चलचित्र ‘कृ’ को  ‘यति यति पानी’ गीतको बीच/बीचमा भरेको र्‍यापका कारण धेरै युवाले उनलाई रुचाएका छन्।

    उक्त गीतमा शब्द संगीत पनि उनकै छ। शब्द–संगीत मिस्टर आरजेकै रहेको ‘तिमी हिँड्ने पिच गर्दिन्छु रोड’ गीतले युट्युबमा २ करोडभन्दा बढी भ्युज पाउन सफल भएको छ।

    निशान भट्टराईले गाएको ‘भुन्टी’ नामक गीत पनि मिस्टर आरजे ले नै तयार गरेका हुन्। दर्शक श्रोताले उनको गीत त रुचाएका छन् नै स्वर, शब्द, संगीत र म्युजिक एरेन्जसमे आफैँले गरेपछि गीत संगीतमा रुचि राख्ने युवाहरूको नजरमा समेत उनी परेका छन्। उनका अधिकांश गीतमा आफूले नै अभिनय गर्दा पनि उनी थप चिनिने मौका पाएका छन्।

    जसले गर्दा कलाकार भट्टलाई अहिले नयाँ गीतका लागि भ्याई नभ्याई भएको छ। व्यस्तताकैबीच देश विदेशमा सांगीतिक कार्यक्रममा प्रस्तुति दिन पनि उनी बेलाबखत पुग्छन्।

    टेलिभिजनका स्क्रिन र स्टेजमा निकै फूर्ति र खुसीका साथ गीत गाउँदै अभिनय गर्ने भट्टका संघर्षका कथा कहालीलाग्दा छन्। मिस्टर आरजेसँग ईश्वरी बरालले गरेको कुराकानीको सम्‍पादित अंश :

    सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

    बाल्यकालदेखि गीत संगीतमा निकै रुचि थियो तर कसरी प्रवेश गर्ने भन्ने थाहा थिएन। सिधै सांगीतिक क्षेत्रमा प्रवेश गर्ने उपाय र पहुँचसम्म पुग्न नसकेपछि सञ्चार माध्यमबाट यस क्षेत्रमा जोडिने उपाय रोजेँ। रेडियोबाट गीत संगीतको क्षेत्रमा प्रवेश गर्न पनि सपना देखेजस्तो र सोचेजस्तो सजिलो भएन। झन्डै १२ वर्षअगाडि गृह जिल्ला कञ्चनपुरको शुक्लाफाँटा एफएममा कार्यक्रम चलाउन गएँ।

    केही समय इन्टर्नसिप गरेर काम सिकेपछि म्यानेजमेन्टले सुरुमा २५ हजार रुपैयाँ धरौटी राखेर मात्रै रेडियोमा जागिर दिने सर्त तेर्सायो। निम्नवर्गीय परिवारको मलाई २५ हजार रुपैयाँ धरौटी राखेर रेडियोमा जागिर खानु आकाशको फल आँखा तरी मर भने जस्तै भयो। रेडियोमा जागिर नपाउँदै बाहिरिनुपरेको पीडाले होला रेडियोमा काम गर्ने भोक झन् धेरै जाग्यो।

    मैले कन्चनपुरकै नागरिक रेडियोमा काम सुरु गरेँ। उक्त रेडियोबाट पनि बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले बढो होसियारपूर्वक काम गरेँ। तर मैले सोचेजस्तै रेडियोमा काम गरेर कलाकारहरूसँग संगत गर्न र सहयोग भने पाइनँ।

    म रेडियो नागरिकमा रहेर काम गर्दैगर्दा साथीहरूसँग मिलेर गुगलबाटै डाउनलोड गरी विभिन्न धूनहरू मिक्सिङ गरेर म्युजिक ट्रयाक तयार पारेर मेरो रचना र संगीतमा गीत रेकर्ड गरेको थिएँ।

    आफ्नो पहिलो गीत रेकर्ड हुँदा कस्तो अनुभूति गर्नुभयो?

    मेरो पहिलो गीत २०६७ सालमा 'जब अरू कोही बोल'को गीत रेकर्ड भएको हो। गीतमा मेरो शब्द र संगीत रहेको छ। फाइनल गीत एकजना साथीले मलाई झमझम पानी परेको साउन महिनाको राति २ बजे पठाएको थियो।

    साथीले पठाएको गीत राति नै मोबाइलमा डाउनलोड गरेर धेरैपटक सुनेँ। मलाई मेरो गीत एकदम राम्रो लाग्यो। बिहान हुनेबित्तिकै रेडियोमा पुगेर ठूलो साउन्डमा कतिबेला सुन्न पाउँछु होला भन्ने हतारोमा रात कटाएँ।

    गीत निस्किएको खुसीले रातभर निदाउन पनि सकिनँ। कतिबेला भोलि बिहान होला र साथीभाई र चिनेजानेकालाई गीत सुनाउन पाइएला भन्ने व्यग्र प्रतीक्षामा बसेँ। बिहान रेडियोमा पुगेर गीत आफू सुनेँ र अरूलाई पनि सुनाएँ। गीत राम्रो छ भन्ने सबैतिरबाट प्रशंसा पाएँ।

    उक्त गीत रेडियोकै स्टुडियोमा रेकर्ड गराएको भन्ने कुरा हामी दुईचारजना साथीबाहेक कसैलाई पनि थाहा भएन। जिल्लाका अन्य रेडियोमा काम गर्ने साथीहरूले पनि गीत मन पर्‍यो रेडियोमा बजाउँछौँ भनेर बजाउन थाले। जिल्लातिर धेरैले चिन्नुहुन्थ्यो, सम्झिएर खुसी लाग्छ। हामीले यसरी अरू दुई/तीनवटा गीत पनि रेकर्ड गर्यौँ। सबै गीतमा मेरो शब्द र संगीत छन्। आवाज साथीहरूले भरेका छन्।

    यसरी दुःख गरेर गीत रेकर्ड गरेको मान्छे र्‍यापतिर चाहिँ किन लाग्नुभयो?

    केही गीतमा रचना र संगीत गरेपछि मलाई गीतहरूमा र्‍याप भर्न मन लाग्यो। शब्द र संगीतले मात्रै दर्शक श्रोतामाझ चिनिन सकिँदैन रैछ भन्ने बुझेपछि म र्‍यापतर्फ  आकर्षित भएको हुँ। आफूले रचना गरेर संगीत भरेका गीतले गायक गायिकालाई मात्रै चिनाउने र आफू ओझेलमा परेको जस्तो मलाई अनुभव भयो।

    गीत गाएर ख्याति कमाउन मन लाग्यो। म राम्रो काम गरेर चिनिन खोजेको भएर होला सधैँ नाम कमाउने  भोक लागिरहन्छ। सपना कसले देखायो भन्नुभन्दा पनि म आफैँले सपना देखेको हुँ। सपनालाई मलजल गर्नुमा मेरी दिदीको ठूलो सहयोग छ।

    काठमाडौँलाई कर्मथलो बनाएर संघर्ष सुरु गरेपछि सपनाबाट विचलित हुनुभयो कि भएन?

    पक्कै पनि आफ्नो गाउँठाउँमा गरेजत्तिकै थोरै संघर्ष र मिहिनेतले काठमाडौंमा पुग्ने कुरै थिएन। ठूलो ठाउँ, सांगीतिक क्षेत्रमा अस्वस्थ प्रतिपस्‍पर्धा, आर्थिक अभावजस्ता समस्याले एकैपटक गाँजेको बेला अन्य पेसा व्यवसाय गर्न मन लाग्थ्यो र अहिले पनि म त्यही संघर्षमै छु।

    पैसा नहुँदा ग्यास किन्न नसकेर चार दिनसम्म भोकै बसेको छु। केही पनि खान नपाउँदा मसँगै एउटै कोठामा बसेको भाइ बिरामी भएको थियो र उसलाई उपचार गराउने पैसा नहुँदा गीत संगीतमा कहिल्यै पनि लाग्दिनँ भन्ने लागेको थियो। अहिलेसम्म यो क्षेत्रमा समय खेर फालेकोमा पनि निकै पछुतो लागेको थियो।

    वास्तवमा म विदेश जाने सोच बनाएर कञ्‍चनपुरबाट काठमाडौं आएको थिएँ। विदेश जाने प्रक्रिया एकातिर गर्दै थिए भने काठमाडौंमा आएपछि फाट्टफुट्ट गीत गर्ने अवसर पाएकाले त्यसको पनि सदुपयोग गरिरहेको थियो। भाग्यले भन्नुपर्छ मेरा केही गीतहरू चल्दिए। गीतका भिडियोमा पनि आफैँ देखिएपछि युवा पुस्ताले मलाई रुचाउनुभएको रैछ।

    फलो गर्नुभएको रैछ। विस्तारै स्टेजतिर मलाई अफर आउन थाल्यो। विदेशमा पनि स्टेज पर्फम्स गर्ने अवसर जुट्यो। गीत चल्दै जाँदा विदेश जाने मोह पनि कम भयो प्रक्रिया पनि मिलेन। मैले प्रक्रियाबारे चासो पनि दिन छाडेँ। गीतको धून यति सारो लाग्यो कि मैले कलेजको पढाइ पनि बिट मारिदिएँ। बिबिएससम्मको अध्ययन पूरा गरेर बसेको छु। बाँकी पढ्न सकिरहेको छैन।

    श्रोता दर्शकले तपाईंकै गीत किन सुन्ने?

    मनोरञ्‍जनका लागि सुन्ने। म बिल्कुल रमाइलोका लागि गीत गाइरहेको छु। तपाईंलाई बोर लाग्यो भने युट्युवमा मिस्टर आरजे सर्च गरेर मेरा गीतहरू हेर्नुस्/सुन्नुस् मुड फ्रेस हुन्छ।

    कलाकारितामा नाम हुन्छ दाम हुँदैन भनिन्छ तपाई रहरकै पछि मात्रै दोडिनुभएको छ कि आर्थिक क्षेत्रमा पनि लाभ लिन सुरु गर्नुभएको छ?

    सुरुका दिनहरूमा भन्दा केही कमाउन थालेको त छु तर सोचेजस्तो कमाई छैन। युट्युव र स्टेजबाट कहिलेकाहीँ पारिश्रमिक पाउँछु।

    तपाईंका आगामी योजना के छन्?

    नयाँनयाँ गीतहरू क्युमा छन्। धेरैको रोजाइका गीत ल्याउने योजनाका साथ हिँडिरहेको हुन्छु दिनहुँ। त्योबाहेक आर्थिक पाटो सशक्त बनाउनका लागि आफ्नै व्यवसाय सुरु गर्दै छु।

ईश्वरी बराल

थाहा सञ्चार नेटवर्कमा आवद्ध छिन्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]