फिचर

मायाको कैंची सम्बन्धविच्छेद : भाँडिदै परिवार, टाढिँदै माया, बिग्रिँदै सन्तान

दाइजो र अवैधसम्बन्धले महिला हिंसाको पिरलो

साउन ४, २०७६

    छोरो वयष्क बन्दै छ। उसका अनेकौं माग एउटी आमाले मात्रै पूरा गर्न सक्दिनन्। पछिल्लो पुस्तालाई ह्वात्तै प्रभावित पारेको स्मार्ट फोनको सेटबाट आफ्ना माग बुवासँग म्यासेज गर्छ। १३ वर्ष पुग्यो छोरो। 'ह्या ममी बाबाले केही रिप्लाई गर्नु भएन,' बुवाले माग पूरा नगरेको गुनासो सुन्नुबाहेक अर्को विकल्प छैन, चितवनकी पत्रकार गीता गुरुङसँग। छोराको माग न आमाले पूरा गर्न सक्छिन् न बुवाले।

    यसमा छोराको दोष छैन। बाआमाबीच बेमेल छ। त्यसको  पीडा भोग्दैछ छोरो। छोरामा भर्खर चञ्चले स्वभाव पैदा हुँदैछ। त्यसैले त दिनैजसो बुवालाई म्योसेज गर्छ, 'बुवा यो चाहियो, त्यो चाहियो,' छोराको म्यासेजको कुनै जवाफ छैन। आमा बुवा किन छुट्टछुट्टै भए? यसको लामै कथा उसका बाआमासँग छन्। जुन कथा छोरालाई थाहा छैन ।

    बाआमा छुट्टाछुट्टै हुँदा बालबालिकाको मनोविज्ञानबारे बालबालिका संरक्षणसम्बन्धी काम गरिरहेका गौरी प्रधान भन्छन्, 'अभिभावकले बेवास्ता गर्दा बालबालिका एकोहोरिने, टोलाउने, एकान्तमा रुने र कुलतमा फस्ने समस्या देखिन सक्छ।'

    सञ्चारकर्मीका नाताले समाजमा हुने अनेकौं घटनका साक्षी बन्छिन् गीता। 'दुई नयाँ परिवारबीचको नयाँ नाता, सामाजिक र कानुनी मान्यतासहित केटाकेटीबीच हुने सम्बन्ध नै विवाह हो। गीता यो कुरा बुझ्छिन्। त्यसैले आफ्नो भोगाई कुनै उपन्यासमा पात्रबारे गरिएको अख्यान जस्तै सरसर्ती भन्छिन उनी।

    एक वर्ष भन्दाबढी मायाप्रेममा भुले गीता र उनका श्रीमान बबी। गीताको घर सल्लाहले एक वर्षको मायाप्रेम विवाहमा परिणत भयो।तर, बबीको घरमा बुहारी अर्थात् गीता स्वीकृत भइनन्। अवसरको खोजीमा चितवनबाट बबी र गीता काठमाडौं हान्निए। केही समय आफन्त र डेरामा बसे। चितवन फर्किए। श्रीमानको घरमा नस्वीकारेकाले माइतीमा बस्नुको विकल्प थिएन।

    माइतमै गीताले विवाह भएको डेढ वर्षमा छोरो जन्माइन। छोरो भएको एक महिनापछि खुशीसाथ बबी सिंगापुर गए। नयाँ कम्पनी खोल्ने तयारीका साथ उनी केही समयपछि सिंगापुरबाट फर्किए। सहमतिमै कम्पनी खोलियो। खुशीका साथ हुर्कँदै गरेको छोरालाई हेर्दै घरगृहस्थी राम्रै चलेको थियो।

    जब, कम्पनी चल्दै गयो एकाएक किन हो ? बबी टाढिँदै गए। 'न आफ्नो, न छोराको कसैको वास्ता गर्न छोडे श्रीमानले।त्यसपछि मेरो मनमा चिसो पस्यो। फोन गर्दा बबीले काटिदिन्थे। को बोलेको हो ? अब फोन नगर भनेर थर्काउँदै फोन काट्थे,' अनुहारमा आक्रोशको भाव झल्काउँदै गीताले तीतो कथा सुनाइन्।

    आफ्नै श्रीमान् त हो नि ? निर्धक्कसाथत गीता तारन्तार फोन गरिरहन्थिन। एक दिन फोन उठ्यो। फोनमा श्रीमान सम्झेर'हेलो' भन्नासाथ केटीको आवाज आयो। ती केटीले सीधै भनि 'म बबीको श्रीमती।' आफ्नो श्रीमानलाई अर्कीले उसको श्रीमती हुँ भनेपछि गीताको मुटुको धड्कन तीव्र भयो। होसहवास उडेको जस्तो अनुभव गरिन्।

    त्यसपछि गीताले भोगिन् कानुनी झमेला। नाबालक छोरो हुर्काउन र कानुनी लडाईसँगै बेहोर्ने आर्थिक समस्या हल गर्न बोर्डिङ स्कुलमा पढाउन थालिन्। बल्लबल्ल चार वर्ष लगाएर २०६५ सालमा कानुनी रुपमा बबीसँग सम्बन्ध बिच्छेद् भयो। बबी यतिखेर अमेरिकामा बस्छन्। छोरो कुरा बुझ्ने हुँदैछ। 'छोरो हुर्कदै जाँदा बाबु खोज्दो रहेछ। उसका साथीहरु आफ्ना बासँग हिँडेको देखे एकोहोरिन्छ। कुरा गर्दा पनि बाबाको कुरा गर्न खोज्छ,' उनी सुनाउँछिन्।

    श्रीमानसँग सम्बन्ध बिग्रेपछि गीता के गर्ने कसो गर्ने अन्यौलमै थिइन्। 'काखमा छोरो राखेर बेस्सरी रुन्थेँ। तनाव धेरै भयो। स्कुल पढाउन छोडें। काम गर्न छोडेपछि मनमा झन् धेरै कुरा खेल्न थाले। त्यसपछि स्थानीय मिडिया हाउसमा काम गर्न थालें। अहिले माइत छु। जागिरसँगै छोरो हुर्काउँदैछु,' गीता आफ्नो जीवनको उतारचढावसँगै छोराको भविष्य जोडेर कथा सुनाउँछिन।

    आफूसँगको सम्बन्ध विच्छेद्पछि बबीले अन्य केटीहरुसँग सम्बन्ध बनाए। तर, सँगै बस्न सकेनन्। गीताजस्तै अरु एक दुई जनासँग सम्बन्ध राम्रो भएन। श्रीमानले आफूलाई छोड्नुका कारण अझै भेउ पाएकी छैनन् गीताले। बरु हाँसिखुशी भएर अचम्म मान्दै प्रश्न गरिन बबीलाई 'अहिले बबी अमेरिका छन्, म उनका लागि सुहाउने स्तरकी भइनँ कि ? किन छोडे अहिलेसम्म भेउ नै पाएकी छैन। तर, पींडा छोरोले बेहोरिराखेको छ।'

    ऋचाले पनि पाइन् धोका

    दशौं वर्ष श्रीमान् श्रीमती। तर, एकाएक नाटकीय सम्बन्ध विच्छेद्। एउटा यस्तै घट्नाकी पात्र हुन नवलपरासी, कावासोतीकी ऋचा (जसको नाम परिवर्तन गरिएको छ)। गत वेशाख १५ गते साँझ फोन आयो। श्रीमानको त्यो फोनले ऋचालाई एकाएक झस्कायो। श्रीमानले रुँदै दयाको भाव देखाएर ऋचालाई भने ‘अब तिमीले अन्तै बिहे गर्नु।’

    दश वर्षसम्म आफ्ना श्रीमानको अर्थात् प्रेमीको आनीबानी सबै थाहा थियो रिचालाई। उनलाई यति तत्कालै विश्वास लाग्ने कुरै भएन। राति फेरी कुरा भयो। आफूलाई क्यान्सर भएको र धेरै नबाँच्ने भएकाले ऋचालाई अन्तै बिहे गर्न सुझाए। 'जीवनमा लोग्ने मान्छे यति धेरै रोएको पहिलोपटक देखें,' ऋचाले भनिन्, 'उसले रुँदै यति धेरै कथा बनायो कि, मैले पत्याउनै सकिरहेकी थिइनँ। अहिले पनि पत्याउन सकेकी छैन।'

    ऋचाले पत्याउन नसकेको कथा पनि गजबकै रहेछ। ऋचाले सुनाइन 'आफूलाई क्यान्सर लागेकाले अमेरिका लगेर उपचार गरिदिने सम्झौतामा अर्की पीआर होल्डर केटीसँग वैशाख २३ गते बिहे गर्न लागेको छु भन्यो।' आफ्ना प्रेमी क्यान्सरले थलिएको। फेरि बिहेको कुरा? अवस्था बुझ्न ऋचाले पटक पटक काठमाडौं आउने इच्छा गरिन। तर, प्रेमीले आफ्नो अवस्था एकदमै नाजुक रहेकाले कसैसँग भेटघाट नहुने बहानमा ऋचालाई रोके।

    बिहे अर्कैसँग गर्ने भनेपछि ऋचा आफन्तको सल्लाहबिना काठमाडौं पुगिन। कलंकी पुगेर फोन गरिन्। तर, उठेन। काठमाडौंमा ठाउँ, ठेगाना पत्ता नलागेपछि उनी कावासोती फर्किइन्। कावासोती पुगेको भोलीपल्ट फोनमै सल्लाह भयो। र, उनी फेरि काठमाडौं आइन। आफ्नी बहिनीको डेरा बानेश्वरमा उसँग भेट भयो।

    पुरानै कुरा दोहोरिएपछि ऋचा कावासोती फर्किइन्। केटाको प्रेमी दाइ, साथीहरुले फोन गरेर उसलाई क्यान्सर लागेको र अर्कैसँग बिहे गर्न लागेको फेरि बताए। बरु उनका दाइले भने 'तिमीलाई पाँच वर्ष अघिदेखि भ्रममा राखेको थियो। उसको ५ बर्षअघि देखि नै अरुसँग सम्बन्ध थियो।' उसलाई क्यान्सर भएको र विवाह गरेको जात नमिलेकै कारण त होइन ?  ऋचालाई मनमा लागेको छ।

    ऋचाको अर्को बलियो तर्क छ। काठमाडौंको महंगो पार्टी प्यालेसमा प्रेमीको बिहे धुमधामसँग भयो। बिहेमा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीदेखि ठूला पत्रकार र नेतासम्मको उपस्थिति थियो। उनलाई म्यासेन्जरमा प्रेमीको धुमधामसँग भएको विवाह फोटा पुगे। क्यान्सर लागेर उपचारकै लागि बिहे गरेको भए किन यत्रो धुमधाम? ऋचाको मनभित्र शंका पैदा भयो।

    आफ्नो जीवनमा भएको यो घट्नाले ऋचालाई घोचिरह्यो। घटनाबारे कावासोतीमै एक पत्रकारलाई बेलिबिस्तार लगाइन्। र, लेख प्रकाशन गरिन्। लेख प्रकाशित भएपछि समाजकै गनेचुनेका व्यक्तिहरुको दबावमा अनलाइनबाटै हटाउन लगाइयो।

    पाल्पाबाट पढ्न रुपन्देही झरेकी थिइन् ऋचा। दश वर्षअघि दुईबीच प्रेम बस्यो। बिहे नै गर्ने सल्लाहमा उनीहरू सँगै बस्न थाले। दुम्कीबासमा पसल थियो। बुटवलको पढाई सकेपछि काठमाडौं गएर पढ्ने योजना बन्यो। ऋचाले खर्च नपुग्ने देखेपछि आफ्नो पढाइ रोकिन् र प्रेमीलाई काठमाडौं पठाउने निधो गरिन्। एमएससी पढ्न काठमाडौं छिरेका प्रेमी पत्रकारितामा होमिए।

    उनलाई चिन्नेले सोझो र इमान्दार ठान्छन्। ऋचा आफैं पनि अहिलेसम्म उसले यतिसम्म गर्न सक्ला भनेर विश्वास गरिरहेकी छैनन्। ऋचा कावासोतीमा पत्रकारिता गरेर बस्थिन्। उनका प्रेमी कावासोती जाँदा सधैं सँगै बसे। सामाजिक रीतअनुसार बिहे त भएको थिएन। तर, चिनेजानेका सबैले श्रीमान् श्रीमतीकै ठान्थे। ऋचाका प्रेमीले गत वैशाख २४ गते अर्कैसँग बिहे गरे। उसलाई क्यान्सर नभएको र झूट बोलेर आफूलाई फसाएको ऋचा दाबी गर्छिन। १० बर्षदेखि आर्थिक कारोबारसमेत सगोलमा गर्ने गरे। उनीहरुले कावासोतीमा सल्लाहले घर बनाउन लागेका थिए। ऋचाका यी सपना अब चकनाचुर भए। उनी यतिबेला अन्यायमा परेको भन्दै न्याय खोज्दैछिन्।

    दुर्गाको वेदना उस्तै

    'प्रेम र लडाइँ'मा सबथोक हुन्छ भन्ने उक्ति यतिबेला दुर्गा पण्डितको जीवनमा पनि लागू भएको छ। दुर्गाको विवाहको निर्णय बाआमालाई रुचेको थिएन। श्रीमानतिर ठीकठाक। एक दशकको प्रेमपछि २०६५ सालमा जुम्ला चन्दननाथकी दुर्गा र आचार्यवाडाका वसन्त आचार्यबीच प्रेम विवाह भयो। वसन्त जुम्लाबाट काठमाडौं आएर कीर्तिपुरमा डेरामा बस्थे। दुर्गाको माइती घर ललितपुर एकान्तकुनामा पनि थियो।

    वसन्तको घरपरिवार काठमाडौं आउँदा एकान्तकुनामा दुर्गाकै माइतमा बस्थे। वसन्तको जागिर काठमाडौंमा। बिहेपछि दुर्गालाई माइतीमै बसिरहन ठीक लागेन।  एकान्तकुनाकै खड्काटोलमा डेरामा बस्ने निधो गरिन्। तर, बिहेलगत्तै दाइजो र माइतीको सम्पति मागेर वसन्त र उनका परिवारले दुर्गालाई मानसिक तनाव दिन थाले। वसन्तले दुर्गालाई माइतीको अंश माग्न दबाब दिन्थे। दुर्गा आफ्नै कमाई खाने भन्दै खड्काटोलमै पसल गर्न थालिन्। माइतीबाट अंश नलिएको निहुँमा दिनहुँ वसन्तले दुर्गालाई तनाव दिन थाले।

    'दश वर्षदेखिको प्रेम भने पनि उसले खासमा हाम्रो काठमाडौंको घर र सम्पति हेरेको रहेछ। बिहेलगत्तै उसको व्यवहारले मलाई ठूलो पींडा दियो,' दुर्गाले भनिन्। विश्व खाद्य कार्यक्रमका कर्मचारी थिए वसन्त। उनको झापा सरुवा भयो। तीन वर्ष झापाको दमकमा बस्दा वसन्तले दुर्गाको वास्ता गर्न छोडे। दुर्गाले बाहिरी मान्छेबाट वसन्त झापामा अर्कै केटीसँग बस्ने गरेको सुनिन्। आफ्ना श्रीमानको चालचलन हेर्न उनी झापा हानिइन्। झापामा वसन्तको कार्यालयका हाकिम र घरबेटीबाट जुन कुरा थाहा पाइन्, त्यसले उनी झसङ्ग भइन्।

    वसन्तले अविवाहितत भनेर झापामा अर्की केटीसँग बस्दै आएको खुल्यो। त्यसबेला काठमाडौं आएर कुरा गर्ने भन्दै दुर्गालाई वसन्तले पठाए। त्यतिबेलासम्म दुर्गा र वसन्तको विवाह दर्ता भएको थिएन। 'जुम्ला गएर विवाह दर्ता गर्ने भन्दै मलाई प्लेनमा नेपालगञ्ज पठाएर उ फेरि झापा गयो,' दुर्गाले त्यो दिन सम्झिइन्। विवाह दर्ता हुँदै भएन।

    दुर्गा र वसन्तबीच सम्बन्ध लगभग टुटिसकेको थियो। २०७० सालमा दुर्गा न्याय माग्दै राष्ट्रिय महिला आयोग पुगिन्। अधिवक्ता तारा श्रेष्ठसँगको परामर्शमा वसन्त र दुर्गाबीच विवाह दर्ता र हेरचाहको कागजी सहमति भयो। 'अहिले सहमति कागजमै सीमित छ। न उसले त्यसपछि मलाई कुनै वास्ता गर्‍यो न विवाह दर्ता नै। अहिले विभिन्न व्यक्तिमार्फत तनाव दिन छोडेको छैन,' छोडपत्रका लागि दबाब दिइरहेको दुर्गाले बताइन्।

    'सुन्न त सुनेकी छु। वसन्त यहीँ कुसुन्तीमा दिदिको घरमा बस्छ भनेर। तर,मैले बुझेसम्म उनी त्यहाँ बस्दैन्।मोबाइल पनि परिवर्तन गरेको छ,' उनले भनिन। वसन्तले तनाव दिएपछि महानगरीय प्रहरी प्ररिसर कार्यालय ललितपुरमा पींडा पोख्न गइन् दुर्गा। तर, प्रहरीको महिला सेलले यसअघि आयोगले हेरेको केश उतै मिलाउनु भनेर फर्काइदियो। माइती पक्षबाट सम्पत्ति नलिएको निहुँमा वसन्तले आफूलाई छोडेक निश्कर्षमा पुगेकी छिन दुर्गा। कानुनी झमेला भने जहाँको तँही छ।

    शोकमाथिको रोग, सासू पनि मतियार

    बिहान उठ्नु, नियमित औषधी लिनु, दिउँसोको कार्यक्रमको तयारी गर्नु, भावी योजना बनाउनु। खाना खाइसकेपछि गाउँ गाउँमा गएर क्यान्सर र महिला हिंसासम्बन्धी सचेतनाको कार्यक्रम। क्यान्सर र श्रीमानको हिंसालाई पचाउँदै गरेकी राधा बस्यालको दैनिकी हो यो।  कावासोती नगरपालिका-४ की राधा २०७४ फागुन ३० गते कावासोती-३ कै अस्मिन भट्टराईसँग धुमधामसाथ वैवाहिक सम्बन्धमा बाँधिइन्।

    विवाहलगत्तै राधा ले दुईवटा डर लाग्दा विपत्तिसँग जुध्नु पर्ने भयो। सँगै मर्ने, सँगै बाँच्ने श्रीमान् एकाएक हिंश्रक बनेर आयो। त्यहीबेला राधाको शरीरमा क्यान्सरको भाइरसले कोर्पन थाल्यो। कावासोतीकै रेडियो मध्यविन्दुमा कार्यरत पत्रकार हुन् राधा। श्रीमानसँगको सम्बन्ध राम्रो नहुनुको मुख्य जड दाइजो थियो। दाइजो नल्याएको निहुँमा श्रीमानले हरेक दिन कुट्न थाले। सासूले पनि छोराको समर्थन गरिन्।  जति कुटपीट गरे पनि चुप लाग्न दबाब दिइन्। बिहे गरेको ३ महिनामा  उनमा क्यान्सर देखियो।

    श्रीमानको कुटाई त छँदै थियो। झन् क्यान्सरले च्याप्दै लगेपछि पानी पिउन दिनेसमेत कोही पनि भएनन्। उनको विकल्प एउटै रह्यो। माइतीकै शरणमा जाने। माइतीले नै उनको उपचार गरे। यतिबेला पहिलेकै लयमा जीवन फर्कँदैछ। क्यान्सर जितेकीमा उनको मनमा एउटा उत्साह छ। एक वर्षको अवधिमा राधाको विवाह दर्ता, औषधोपचार, सामान्य हेरचाह, बोलचाल श्रीमान् अस्मिनले गरेनन्। यतिबेला त झन् छोडपत्र गर्न दबाब दिइरहेका छन्।

    'श्रीमतीको हैसियतमा मैले माया, स्याहार सुसार, औषधोपचार केही पाएकी छैन। राजीखुसीमा बिहे गरेर जिम्मेवारी ननिभाउनेलाई म किन उम्कन दिउँ ?,' राधाले आफूलाई अधिकार चाहिएको कुरा प्रष्ट्याउँदै भनिन्, 'मेरो सचेतना फाउन्डेसन चलाउन पैसा दिन्छु। छोडपत्र दे भनेको छ मलाई पैसा होइन, अधिकार चाहिएको हो भनेर जवाफ दिएकी छु।'

    राधा मृत्युसँग लड्दै थिइन। माइती पक्षले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराए। आयोगसँगको छलफलमा अस्मिनले राधाको उपचार, हेरचाह र विवाह दर्ताको सहमति गरेर कागजमा हस्ताक्षर गरे। तर, त्यसपछि पनि अस्मिनको व्यवहारमा त्यस्तो भिन्नता आएन। राधालाई बेवास्ता गरिरहे। राधा अहिले अधिकारका लागि लडिरहेकी छन्। '

    म आफै पत्रकार, अधिकारकर्मी भएर अरुको लागि काम गर्ने मान्छे। आफू अन्याय सहेर चुप कसरी बसुँ ?', राधाले आत्मविश्वासका साथ भनिन।

    उल्लेखित पात्रहरुको जीवनमा भएका घट्नाले हाम्रो सामाज कतातिर गइरहेको छ भन्ने प्रतिनिधित्व गरेका छन्। सामाजिक रुपमा हुने विवाह। त्यस पश्चात्श्रीमान र लिभिङ टुगेदरका कारण प्रेमीबाट पीडित भएका महिलाहरुको घट्ना दिनै बढ्दै गएको तथ्याङ्क राष्ट्रिय महिला आयोगमा छ ।

    राष्ट्रिय महिला आयोगमा श्रीमान् वा प्रेमीले गर्दा पीडित भएका महिलाहरुको उजुरीलाई घरेलु हिंसा अन्तर्गत कारबाही अगाडी बढाइने गरिएको आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले बताए। कतिपय उजुरीलाई मेलमिलाप गरेर गए पनि सोही बमोजिम कार्यान्वयन नभएकाले फेरी मुद्दा दोहोरिएको घट्ना माथि उल्लेखित दृष्टान्तले थप प्रष्टाउँछ।

    कति छन्, महिला हिंसाका घट्ना ?

    अघिल्लो आर्थिक वर्षमा घरेलु हिंसामा १२ हजार २ सय २५ र बहुु विवाहमा ६ सय २ वटा उजुरी दर्ता भएको तथ्य प्रहरी प्रधान कार्यालय काठमाडौं अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले देखाएको छ। जबकी आर्थिक बर्ष २०७३÷७४ मा ११ हजार ६ सय २९ घरेलु हिंसाका र ४ सय ६४ बहुविवाहका उजुरी परेका थिए। गत वर्षको साउनदेखि २०७६ असार २९ सम्म राष्ट्रिय महिला आयोगमा १ हजार ४ सय ५५ उजुरी घरेलु हिंसा र महिला हिंसाका मुद्दाका उजुरी परेका छन्।

    तीमध्ये करिब २० वटा उजुरी लिभिङ टुगेदरको सम्बन्धमा रहेको, प्रेमीबाट पीडित भएका महिलाको तथ्याङ्क रहेको आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले बताए। यस्ता उजुरी अघिल्ला बर्षहरुमा नआउने गरेको उनको अनुभव छ। घरेलु हिंसा अन्तर्गत आएका उजुरी श्रीमानद्वारा पीडित महिलाहरुको भएको उनले बताए।यी तथ्यहरु केलाउँदा मुद्दाका केही प्रकृति भिन्नता छन्। तर, नेपाली समाजमा घरेलु हिंसा, पारिवारिक बेमेलको ग्राफ बढ्दो देखाउँछ।

    नेपाली समाज जुन ढंगले आधुनिकिकरणको सिको गर्दै गएको छ, त्यसको पनि गहिरो असर पर्ने संकेत प्रष्ट पारेको छ। लिभिङ टुगेदरको सम्बन्धले समेत हिंसा र कानुनी उपचार खोजेको तथ्य महिला आयोगको तथ्याङ्कले देखाउनु त्यसैको उदाहारण हो।

    २०७४ मंसिरदेखि २०७५ चैत सम्मको तथ्यांक केलाउँदा आयोगमा ३४ प्रतिशत मानसिक हिंसाका उजुरी परेका छन्। उजुरी दिएका महिलाले आफ्नो निर्णय गर्न नपाएको, गाली बेइज्जती भएको, दिनहुँ झगडा हुने गरेको घट्नाहरु बताएका छन्। ३० प्रतिशत आर्थिक हिंसा, २८ प्रतिशत शारिरिक र ८ प्रतिशत यौन हिंसाका उजुरीहरुमा उल्लेख गरिएको छ।

    आयोगमा दर्ता भएका उजुरीको संख्यात्मक हेर्दा १ हजार ४ सय ७२ महिलामाथि आर्थिक हिंसा, १ हजार ४ सय ४१ माथि भौतिक तथा शारिरिक हिंसा भएका छन्। ९ सय १८ जना महिलामाथि शारिरिक आक्रमण नै भएका छन्। ६४ महिलामाथि चारित्रिक रुपमा आरोप लगाई हिंसा भएको समेत घट्ना उजुरीपत्रमा उल्लेख गरिएको छ। यो अबधीमा विवाहपश्चात् कागजी र कानुनी उपचारको खोजी गर्दै ४ सय ८७ जना महिला आयोगमा सहायता माग्न पुगेका छन्।

    देवानी संहितापछि पनि महिलानै पीडित !

    गत वर्ष भदौ १ देखि नयाँ मुलुकी देवानी संहिता लागु भयो। नयाँ ऐनसँगै अदालतमा सम्बन्ध विच्छेद्को उजुरी दिने पुरुषको संख्या ह्वात्तै बढेको छ। यता अदालतमा श्रीमानले सम्बन्ध विच्छेद्को मुद्दा दर्तासँगै महिला आयोगमा नयाँ प्रकृतिको निवेदनको लर्को लाग्यो। पीडकले नै पहिला हिंसा पनि गर्ने र छोडपत्र पनि मागेको भनेर उजुरी दिने महिलाको संख्या आयोगमा बढ्यो। आयोग मुद्दा व्यवस्थापक शाखाकी बिमला खड्काले पछिल्लो समय हिंसामा परेका महिलाले उल्टै श्रीमानले छोडपत्र मागेको भनेर उजुरी परेको बताइन।

    चालु आर्थिक बर्षको बैशाख अन्त्यसम्म जिल्ला अदालत ललितपुरमा ४ सय २४ सम्बन्धविच्छेदका मुद्धामध्ये १ सय ३५ मुद्धा पुरुषका छन्   देवानी संहिता लागू हुनुपूर्व पुरुषको सम्बन्ध विच्छेदका मुद्दा नआउने गरेको जिल्ला अदालत ललितपुरले जनाएको छ ।

    कानुन प्रभावकारी नभएको गुनासो

    महिला अधिकारका क्षेत्रमा सक्रिय अधिवक्ता अनिता शर्माले महिलामाथि हुने हिंसाका उजुरीमा तत्काल सम्बोधन तथा न्याय निरुपणका लागि विशेष कार्यविधि प्रभावकारी नहुँदा समस्या बढ्दै गएको बताइन। महिलाहरुले सम्बन्धित निकायमा खुलस्त रुपमा समस्या राख्न नसक्दा, मुद्दा मामिलाका लागि खर्च जुटाउन नसक्दा र उजुरी गरिसकेपछि पीडकको प्रभाव तथा दबाबमा परेर छिटो न्याय पाउनबाट बञ्चित हुनु परेको उनले बताइन।

    राष्ट्रिय महिला आयोगकी खड्काले आयोगमा आएका उजुरीमा महिलाहरुले न्यायको प्रकृयालाई लामो र झन्झटिलो ठान्ने गरेको बताइन्। आयोगमा मिलापत्र गरेर गएका केशमा मिलापत्र अनुसार कार्यान्वयन नहुँदा र पुनः उजुरी गर्ने प्रवृत्ती नहुदाँ न्याय नपाएको गुनासो आउने गरेको बताइन्। मिलापत्र गर्न नचाहने पीडितले अदालतसम्म पुगेर कानुनी लडाँइ लड्ने आँट नगर्ने गरेको पनि उनले बताइन।

    पारिवारिक बेमेलबाट महिलाले भोग्ने पींडा, बालबालिकामा पर्ने असरसँगै सामाजिक दृष्टिकोणको हेपहा प्रबृतिले समाज झन् गहिरो खाडलतिर गएको उल्लेखित तथ्यले देखाउँछ। झन्झटिलो कानुन, आर्थिक संकट, छोराछोरीमा पर्ने असर, एउटी आमाले भोग्ने पींडाले असल समाज पक्कै निर्माण हुँदैन।

    समाजशास्त्री निर्मला ढकाल सम्बन्धविच्छेदको अहिलेको परिपाटी व्यक्तीगत स्वतन्त्रताको हिसाबले उपयुक्र्त मान्छिन्। तर, बिद्यमान सामाजीक संरचनामा यसले प्रभाव पार्ने उनको तर्क छ। विवाहत्तर सम्बन्ध महिला पुरुष दुवैको स्वार्थ र समझदारीमा सम्बन्ध स्थापित हुने र नेपालमा यस्ता सम्बन्धबारे कानुनमा प्रष्ट व्यवस्था नभएको हुँदा समस्या हुने गरेको ढकालले बताईन्। विवाह पछिको बेमेल होस् वा प्रेमपछिको असमझदारीलाई अन्ततः छरितो न्याय निरुपण, बालबालिकाको उचित शिक्षा, पालनपोषणको व्यवस्थामा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]