स्वास्थ्य

ज्यानै जान सक्छ विषालु च्याउ खाँदा, कसरी जोगिने?

विश्वका खतरनाक विषालु च्याउ र हाम्रो अन्धविश्‍वास

साउन ६, २०७६

    इलाम : बर्षायाम सुरु भएसँगै च्याउ खाएर ज्यान गुमाएका समाचार आउन थालेका छन्। हिमालदेखि तराईसम्म पाइने विषालु च्याउ खाएर ज्यान गुमाउनेहरु दिनदिनै बढ्दैछन्। उस्तै रंग र आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातिहरूमा खानयोग्य र बिषालु छुट्याउन समस्या हुन्छ। 

    खानयोग्य र अयोग्य छुट्याउन परम्परागत ज्ञानको प्रयोग हुँदै आएको छ। तर कतिपय अवस्थामा अकालमा ज्यान गुमाएका उदाहरण धेरै छन्। बर्षा सुरु भएपछि जंगलमा उम्रने च्याउले जोखिम बढाएको हो। आइतबार दाङको घोराही उपमहानगरपालिका-१७ भैसाही एकै परिवारका ३ जना विरामी परे। सोमबार चितवनमा पनि च्याउ खाएर तीनजना विरामी भए।

    शनिवार उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी भए। त्रियुगा नगरपालिका-९ राजाबासमा एक परिवारका पाँचजना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका सातजना बिरामी भए। 

    त्यसैगरी गत महिना पाल्पाको  निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी ११ मध्ये ६ जनाको ज्यान गयो। ३ वर्षअघि पाँचथरमा १० दिनको अवधिमा च्याउ खाएर १५ जनाले ज्यान गुमाएका थिए। 

    जंगलमा जथाभावी पाइने च्याउमा लोभिँदा ज्यान गुमाउनेको संख्या बढ्दो छ। बर्खा लागेपछि जताततै पलाउने च्याउ बिषालु भए नभएको वास्ता नगरी खाँदा विरामीको संख्या बढेको हो। 

    हेर्दा सफा रंगिन र आर्कषक देखिने च्याउ विषालुसमेत हुन्छन्। बिषालु च्याउ खाँदा बान्ता, पखाला, टाउको दुख्ने र रिंगटा लाग्छ। यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्न सक्छ। तर बिषको असर केही क्षण पछाडि पुन: देखिन थाल्छ। 

    कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तीन दिनपछि मात्रै कलेजो र मृगौलामा असर देखाउन थाल्छ। जसको दुई हप्ता भित्र मानिसको मृत्यु हुन सक्छ। यसैले च्याउ खाएको केही समयभित्र माथि उल्लेखित लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्

    संसारकै १० बिषालु च्याउ 

    डेथ क्याप:  सबैभन्दा विषालु मानिएको यो च्याउ बिशेष गरी अमेरिका र युरोपको जंगलमा ओकको रुखमुनि पाइन्छ। अष्ट्रेलियन नेशनल बोटानिकल गार्डेनका अनुसार डेथ क्याप विशेष गरेर क्यानाबेरा प्रान्तको ओक रुख नजिकै धेरैजसो पाइन्छ। 

    यो एसियाली मुलुकका परालमा पाइने च्याउसँग मिल्दो जुल्दो छ। यो च्याउको ३० ग्राम मात्रै खाँदा एउटा हृष्टपुष्ट मानिसलाई मृत्युको मुखमा पु¥याउन पर्याप्त हुन सक्ने एक अध्ययनले देखाएको छ। 

    यसको प्रयोगबाट रोमका शासक क्लाउडियस, पोप क्लिमेन्ट सातौँ, रुसी जार लगायतको मृत्यु भएको कुरा अंग्रेजी विकिपिडियामा उल्लेख छ। यो च्याउ खाएको मानिसको अंग ट्रान्सप्लान्ट गर्न सकिँदैन।

    डिस्टोइङ्ग एन्जल:  निख्खर सेतो र छाता जस्तो देखिने यो च्याउको खाएर अन्य च्याउबाट भन्दा विश्वमा मृत्यु हुनेको सबैभन्दा बढी हिस्सा ओगेटेको छ। यसको प्रयोगले मानिसको बोली लर्खराउने, वान्ता हुने, झाडा पखाला हुने लक्षण देखिन्छ। विशेष गरी यो च्याउ कोणधारी जंगलमा पाइन्छ। यो च्याउ खाएको मानिसलाई बचाउने एउटै उपाय लिभर परिर्वतनमात्रै हो।

    फल्स मोरेल: मानिसको दिमाग जस्तो देखिने यो च्याउ काँचै खाने मानिस लगायत अन्य जीवजन्तुलाई बचाउन सकिने सम्भावना अत्यन्त न्युन छ। मज्जाले नपाकेको अवस्थामा यो च्याउ खाँदा समयमा उपचार नपाए ज्यान जाने खतरा हुन्छ। एसियामा नपाइने यो च्याउ युरोप र उत्तर अमेरिकामा पाइन्छ।

    एटम स्कुल क्याप : यो च्याउ उत्तरी अन्र्टाटिकादेखि अष्ट्रेलियासम्म विश्वका सबै मलुकमा पाइन्छ। हेर्दा महले भरिएको चाका जस्तो देखिने यो च्याउ कुहिएको काठमा चाँडो उम्रिने गर्दछ।

    डेड्ली वेभ क्याप : पाउरोटी जस्तो देखिने यो च्याउ खाने मानिसको मृगौलामा असर पर्छ। चर्चित लेखक निकोलस इभान्स, उनकी श्रीमती र दुई अतिथिले झुक्किएर यो च्याउ खाएपछि उनीहरु सबैको मृगौला डायलसिस गर्नुपरेको थियो।

    कोनोकाइभ फिलारिस : यो च्याउ अमेरिकी घाँसे मैदानमा अधिकांश पाइन्छ। मानिसलाई आर्कषित गर्ने भएकाले यसलाई जादु च्याउसमेत भनिन्छ। एमाटोक्सिन एसिड हुने भएकाले यसले कलेजोमा असर पुर्‍याउने देखिन्छ।

    पोडोस्ट्रोमा कोरनु डामाइ : यो च्याउ हेर्दा रातो रंगको मानिसको औला जस्तो देखिन्छ। यसलाई खाने मानिसको अनुहारमा असर, कपाल झर्नुको साथै रक्तअल्पताको पनि उच्च सम्भावना हुन्छ।

    डेड्ली डेपरलिङ्ग : यसमा एमोटोक्सिनको मात्रा उच्च रहनाले लिभर कुहिएर मानिसहरुको मृत्यु हुने गर्दछ।

    एन्जल हुइङ्ग : हेर्दा सेतो परीको पखेटा जस्तो देखिने यो प्रजातिको च्याउको खाँदा सन् २००४ मा जापानमा बिरामी ६० मध्ये १७ जनाले एकै पटक ज्यान गुमाएका थिए। यो च्याउ खाएपछि किड्नी र मष्तिस्कमा असर पुग्ने गरेको देखिन्छ।

    फ्लाइ एग्रिक : रातो डल्लोमाथि सेतो थोप्ला हुने यो च्याउ खाएको १ घण्टादेखि नै असर देखिन थाल्छ। मस्किमोल र इवाटोनिक एसिड हुने हुनाले स्नायु प्रणाली असर भइ मानसिक सन्तुलन गुम्न पुग्दछ।

    च्याउ खाएर नै संसारबाट विश्वविख्यात व्यक्तिहरुको मृत्यु भएको पाइन्छ। तापक्रम नाप्न प्रयोग हुने फरेनहाइटका प्रतिपादक डेनियल गेवरियल फरेनहाटको मत्यु १४ अगष्ट १७०१ मा च्याउ खाएर भएको पाइन्छ। 

    रोमन सम्राट चाल्र्स छैटो र रुसी जार एलेक्सि प्रथमकी जरिना नातालिया नारास्किको मृत्यु विषाले डेथ क्याप खाएपछि भएको विश्वास गरिदै आएको छ। त्यसैगरी गौतम बुद्धको मृत्युसमेत इशापूर्व ४७९ मा च्याउ खाएरै भएको बताइन्छ। तर पनि यो कुरालाई लोकले नमानेको अंग्रेजी विकिपिडियामा उल्लेख गरिएको छ।

    तीन हजार आठ सय किसिमका च्याउ

    लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन्। तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन। 

    तीमध्ये पनि ६ किसिमका च्याउ अद्धितिय गुणले भरिपूर्ण छन। च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसर्किभक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।

    धेरै प्रजातिहरू खान योग्य च्याउहरूलाई प्राकृतिक रुपमा नै उत्पादन भएका हुन्छन् जसलाई रोपेर उत्पादन गर्न सकिदैन। त्यसैले यस्ता च्याउ जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ। 

    तर खानयोग्य च्याउहरू पनि कुनै कुनै अवश्थामा बिषालु बन्न पुग्छन। खान योग्य र पहिले खाएका च्याउहरू नै पनि कुहिन थालेपछि बिषालु बन्छन्। त्यस्तै कतिपय च्याउ कुनै अर्को खानेकुरासँग खानु हँुदैन। जस्तै कोपरिनस प्रजातिका च्याउ मदिरासँग खाएमा बिषको काम गर्छ। 

    सामान्यत: गाउँघरको चलन अनुसार च्याउलाई खानयोग्य र अयोग्य अर्थात् विषालु भनिँदै आएको छ। तर कतिपय च्याउबारेमा गाँउघरमा गलत धारणा विद्यमान रहँदा ज्यान गुम्ने खतरा बढी छ। धेरै खानयोग्य च्याउ चम्किला, उज्याला हुने भए पनि केही बिषालु च्याउमा पनि यो गुण हुने गर्छ। 

    धेरै बिषालु च्याउहरू सेतो रंगका हुन्छन। एमानिटा प्रजातीको बिषालु च्याउ एमानिटा म्युस्कारिया चम्किलो रातो तथा पहेलो हुनेगर्छ।

    च्याउबारेका उक्ति

    किराले बिषालु च्याउ खाँदैन?

    सामान्यत: हाम्रो समाजमा किराहरूले बिषालु च्याउ खाँदैनन वा किराले खाएको च्याउ बिषालु हुँदैन भन्ने धारणा छ। तर कुनै बिष यस्ता पनि हुन्छन्, जसले निश्चित जीवजन्तुलाई मात्रै हानी गर्छन्। एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन्। तर यो मानिसका लागि बिषालु हुन्छ।

    बिषालु च्याउले चाँदी कालो बनाउँछ

    बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ भन्ने भ्रम पनि छ। धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन्। तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन। यसको मतलब च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन नहुन पनि सक्छ।

    बिषालु च्याउ स्वादिला हुँदैनन्?

    बिषालु च्याउ स्वादिला हुँदैनन। धेरै मानिसहरू खानयोग्य च्याउहरूमात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्राे या वेस्वादिलो हुने भन्दै आएका छन्। एमानिटा च्याउलाई मिठो मानेर पकाएर खानेहरुको जीवन उपचारपछि बँचेको छ। 

    राम्ररी पकाए विष जान्छ?

    हाम्रो समाजमा बढी तापमा मेहनतले पकाएपछि बिष नष्ट हुन्छ भन्ने धारणा विद्यमान छ। तर कतिपय च्याउ यस्ता पनि छन् जसलाई जति पकाएपनि बिष रहिरहन्छ। अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन्। यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन्।

    बिषालु च्याउले भात रातो बनाउँछ?

    बिषालु च्याउले भातलाई रातो बनाउँछ भन्ने अन्धविश्वासले मानिसहरु मृत्युको शिकार भएका छन्। यदि रातो हुने भए भातमा लाग्नेबितिकै रंग परिर्वतन हुने थियो र बर्षेनि दर्जनौँ मान्छेले अकालमा ज्यान गुमाउनुपर्थेन। नेपालमा च्याउ खाएर बिरामी भएकाले पनि च्याउसँग सेतो भात नै खाएका थिए। 

    बिषालु च्याउको टुप्पो तिखो?

    एमानिटा फालोइड्स प्रजातिको च्याउको टुप्पो वयश्क अवस्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ। धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुँदैन। त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ। डेथ क्याप नामक च्याउ बयस्क भएपछि टोपीको आकार लिने गर्छ।

     (एजेन्सीको सहयोगमा) 

नमिन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]