विचार

नेपालमा बुद्धिजीवीको खाँचो

साउन १२, २०७६

    दौरा लगाएर अथवा कोट पाइन्टसँग (क्रुसिफिकेसनको प्रतीक) ‘टाई’को गाँठो घाँटीमा कसेर कोही वौद्धिक हुँदैन।  वौद्धिक हुनुको अर्थ हुन्छ अध्ययन, अनुसन्धान, नयाँ-नयाँ विषयको खोजी। नेपालमा यस्तो  वौद्धिक समुदाय छ ? मैले भएजस्तो पाइरहेको छैन। पिएचडीको घण्टी बाँधेका दर्जनौंलाई मैले राजदूत अथवा संस्थानका कार्यकारी प्रमुखको निवेदन च्यापेर बालुवाटारमा अलमलिइरहेको भेटेको छु।

    कतिपय स्वाभिमानी विद्धानको चित्त दुख्ला। उहाँहरुसँग म बेलैमा माफी माग्छु। तर सयमा ९० जना जागिर खोज्न मन्त्री र तिनका नातेदारको घर वा निवासतिर। नेपालजस्तो मुलुकमा अध्ययन अनुसन्धानको काम पनि हुनसक्छ भनेर कसरी आस गर्न सकिन्छ र! राजनीतिक प्रणाली फेरिए पनि मुलुकको प्रगति नहुनुको एउटा कारण यो।

    पुर्खाको ‘जीन’ शताब्दीऔंपछिको सन्तानमा पाइन्छ? यो एउटा जिज्ञासा हो। संसार जित्ने बेलायती साम्राज्यवादसँग यो सानो नेपाल कसरी काँधमा काँध जुधाएर लड्न सक्यो? अमरसिंह थापा र बलभद्र कुँवरका सन्तान कतै छैनन् नेपालमा? जसलाई विस्तारवादी हेपाहाको ताल देखेर आफ्नो रगत तातेको ज्ञान होस्। सरदार भक्ति थापाको इतिहास अल्मोडाको माटोमा बिलाएकै हो ?

    नेपालीहरु कायर हुनुपर्ने कुनै कारण भेट्दिन म। कायर हुनुको अर्थ हो–मृत्युको भय र भयबाट उन्मुक्ति पाउन मालिकको दयाको खोजी। नेपाली आफ्नै खाद्यान्न खाएर बाँच्न सक्छन्। पशुधन पनि उनीहरुसँग पर्याप्त छ। न्यानो लुगा लगाउने कच्चा पदार्थको पनि अभाव छैन। 

    इण्डियाबाट भारत भए पनि हिन्दीले भारतलाई भाषाको सूत्रमा बाँध्न सकेन। अंग्रेजी सम्भ्रान्तहरुको भाषा भइहाल्यो। हिन्दी गरिबको भाषा पनि हुन सकेन। हिन्दी भन्दा समृद्ध, उर्दु, बंगाली, तमिल मलायम जस्ता भाषाहरुले हिन्दीको स्वामित्व स्वीकार गरेनन् अब गर्ने सभावना पनि देखिँदैन।

    र, पनि किन नेपाली शासकहरु विस्तारवादको विरोधको त अहिले कल्पना पनि नगरौं असहमति पनि जनाउन सक्दैनन्? हाम्रो जडीबुटीलाई क्वारेन्टाइनको सीमामा सडाएर राख्ने अनि उताको विषादीयुक्त सागसब्जी र फलफूलचाहिँ हामी जबरजस्ती खानै पर्ने? किन हाम्रा राजनेताहरु, ब्यवहारमा बराबरीको संबन्धको कुरा उठाउन सक्दैनन्?

    भारतले नेपालप्रति जस्तो व्यवहार गर्छ नेपालीले किन त्यसो गर्न पाउँदैनन्? भारत नरहे पनि नेपाल रहिरहन्छ। यो इतिहास मात्र होइन, वर्तमान र भविष्य पनि हो। तर नेपाल नरहे भारतलाई बाँच्न गाह्रो हुन्छ। किनभने बाकसमा सैनिकको लाश नआए पनि भारतीय सिमानामा मारिएका सयौं गोर्खाहरु आत्महत्या गर्न त कारगिलतिर गएका होइनन् क्यार !

    मैले फेसबुकमा एउटा कथा (कथा नहोस यो) पढेको थिएँ मैले। शायद पूर्वपश्चिम राजमार्ग निर्माण थाल्दाको समय थियोे त्यो। दिल्लीमा नेपालका राजा महेन्द्र  र भारतीय प्रधानमन्त्रीको वार्ता भएको कथा हो। इन्दिरा गान्धीले राजा महेन्द्रलाई नमिठो पाराले भनिछन्–हामीसित निहुँ खोजेको? हाम्रो शक्ति थाहा छैन तपाईंलाई भनेर सोध्दा राजा महेन्द्रले ढोकामा उभिइरहेको गार्ड तिर हेरेछन्। गार्ड गोरखा बहादुर नै रहेछन्। त्यसपछि इन्दिरा गान्धीले आफ्नो निजी सुरक्षाबाट गोरखाली सैनिकलाई हटाइछन्। विचरी गोरखालीको बदला जसलाई उनले पत्यार गरेर आफ्नो निजी सुरक्षामा ल्याएकी थिइन्, अन्तिममा उनी तिनैको गोली खाएर मरिन्।

    यो कथै होस् तर यो कथामा पनि एउटा कटु सत्य लुकेर बसेको छ। नेपालीको बीरता बुद्धु होला बेइमान छैन। यस्तो इमान्दार जाति भारतले अन्त कतै पाउँछ ?नेपाल र भारतकाबीच धेरै असमानता छन्। भारत कहिल्यै एकीकृत रहेन। बेलायती उपनिवेश हुँदा भरतमा चार सय भन्दा बढी राज्यहरु थिए। ती सबैलाई बेलायती सेनाले एकपछि अर्को गर्दै कोलकोताको उपनिवेशमा समावेश गराउँदै गए।

    औपनिवेशको भारतको राजधानी लामो समयसम्म कलकत्ता नै रह्यो। राजधानी दिल्ली सारिएको त सन् १९३६ तिर हो। बेलायती शासनले एकीकृत भारतको निर्माण गर्न चाहेको पनि थिएन। भारतको ‘स्वाधीनता’ राज्य राज्यबीचको अन्तरविरोधसँगै जन्मिएको हो। आफ्नो उपनिवेश स्वाधीन भएपछि आफू भन्दा कमजोर भनेर भारतलाई किन बलियो बनाइरहन चाहन्थ्यो। त्यसैले आफूले एकीकरण गरेको भारतलाई धर्मको नाममा चिराचिरा बनाइदियो। स्वाधीनताको नाममा लाखौं हिन्दु, मुसलमान, शिखलगायतको जनसंहार भयो।

    यो कुनै आकष्मिक कुरो थिएन। आफूले छोडेर गएको इण्डियालाई बेलायतले हिन्दुस्तान र पाकिस्तानको नाउँमा स्थायी रुपमा विभाजित गरेर दक्षिण एसियालाई स्थायी अशान्त क्षेत्र बनाउने काम गरेको छ। तर त्यतिबेलाका हिन्दुस्तान र पाकिस्तानका नेताहरुले बेलायतले तिनीहरुको शासन क्षेत्त्रमा बलियो विषवृक्ष रोपेको पत्तो पाएनन् कि पाउन चाहेनन्। किनभने विभाजित इण्डियाका दुबै मुलुकका नेताहरु बेलायती ब्यारिस्टर थिए र तिनीहरुको मन पनि अंग्रेजी नै थियो।

    त्यसैले गोर्खाको विजय अभियान उपत्यकाको जीवित देवीको सम्मान गरेका कारण उपत्यकाबासीका लागि ग्राह्य भएको हो। हाम्रो युद्ध त्यहाँको राजासँग हो, रैतीहरुसँग होइन चेत भएका हुनाले नेपालको एकीकरणले नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता राष्ट्रका रुपमा उभिन सकेको हो।

    तर नेपालमा त्यस्तो भएन। पृथ्वीनारायण शाहको एकीकरणमा तिनले तत् तत् स्थानका राजाहरुको अधिकार खोसेर आफ्नो हातमा लिए, तर उनले जनताको संस्कृति र परम्परामाथि आक्रमण गरेनन्। त्यसैले गोर्खाको विजय अभियान उपत्यकाको जीवित देवीको सम्मान गरेका कारण उपत्यकाबासीका लागि ग्राह्य भएको हो। हाम्रो युद्ध त्यहाँको राजासँग हो, रैतीहरुसँग होइन चेत भएका हुनाले नेपालको एकीकरणले नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता राष्ट्रका रुपमा उभिन सकेको हो। भानुभक्तको रामायणले भाषाका माध्यमबाट नेपालको एकीकरणमा ठुलो सहयोग पुगेको हो।

    इण्डियाबाट भारत भए पनि हिन्दीले भारतलाई भाषाको सूत्रमा बाँध्न सकेन। अंग्रेजी सम्भ्रान्तहरुको भाषा भइहाल्यो। हिन्दी गरिबको भाषा पनि हुन सकेन। हिन्दी भन्दा समृद्ध, उर्दु, बंगाली, तमिल मलायम जस्ता भाषाहरुले हिन्दीको स्वामित्व स्वीकार गरेनन् अब गर्ने सभावना पनि देखिँदेन। किनभने भारतका सबै प्रान्तहरुमा मातृभाषापछि अंग्रेजीलाई ब्यवहारिक मान्यता दिइएको छ। वर्षैपिच्छे भाषिक आधारमा नयाँ नयाँ प्रान्तहरु थपिँदा छन्। यो एउटा अन्तहीन श्रृंखला हो भारतका लागि। विघटन त भन्दिन म यसलाई, तर दिल्लीका शासकहरुले व्यवस्थापन गर्न जानेनन् भने  बेलायतको इण्डिया फेरि हैदरावाद, नागाल्याण्ड जस्ता धेरै काश्मिरहरु भएको भारत बन्न बेर छैन।

    भारतमा पनि धेरै राम्रा र अध्ययनशील वुद्धिजीविहरु छन्। दिल्लीले उनीहरु राय परामर्शको आधारमा संघीय सरकार चलाउनुु पर्छ। यो दिल्ली होइन, बंगाल, पंजाव, केरलाकै राज्य हो भनेर दिल्लीले जनतालाई बुझाउन सकेन भने भारत एउटा अन्तहीन द्धन्दमा फस्नेछ। नेपालमा त्यस्तो नहोस भन्ने मेरो अनुरोध नेपालका वुद्धिजीवीलाई, पहिले नेपाली बनौं, त्यसपछि जात धर्म जस्ता थाङ्ने कुरामा लागौं। वुद्धिजीवी साँच्चैको वुद्धिजीवी भएको राम्रो सिङ वा पुच्छर भएको भएको होइन। 

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]