फिचर

नारायणहिटी खुल्यो, रत्नमन्दिर पनि खुल्ने आशा

फेवा किनारमा टहलिन्थे राजा महेन्द्र, वीरेन्द्रको पनि रोजाइ पोखरा

साउन १२, २०७६

    पोखरा : अहिले पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाइको गन्तव्‍य हो। तालैतालको शहर, उत्तरमा खुलेका सेतै हिमाल, शान्त वातावरण यै भएर नै पोखरा घुम्ने मानिसहरू ओइरिन्छन्।

    अहिले स्वदेशी तथा विदेशी पर्यटकहरू जसरी पोखरालाई आफ्नो प्रमुख रोजाइको गन्तव्‍य बनाउँछन् त्यसरी नै राजाको पालामा राजाहरूले पनि पोखरालाई आफ्नो रोजाइको प्रमुख गन्तव्‍य मान्थे। अहिले नेपालमा राजसंस्था छैन। जति राजा भएर तीनका सन्तानहरू सबै पोखरा आएकै हुन्थे। पोखरा घुमेकै हुन्थे।

    फेवा किनारमा टहलिन्थे महेन्द्र

    तत्कालीन राजा महेन्द्रको स्वदेशमा सबैभन्दा मनपर्नै थलो थियो पोखरा। मनपर्ने भएर नै उनी पोखरा आइरहन्थे। ‘राजा महेन्द्रलाई औधी मनपर्ने ठाउँ थियो पोखरा,’ इतिहासविद् दिनेशराज पन्त भन्छन्, ‘धेरैपटक नै पोखरा आउजाउ हुन थालेपछि उनले आफू र आफ्नो परिवार बस्न मिल्ने ठाउँको खोजी गरे। २०१५ साल तिर फेवातालको छेवैमा टाँसेर रत्नमन्दिर र आफूलाई बस्ने आवास पनि बनाउन लगाए।’

    २०१५ सालमा महेन्द्रले बनाउन लगाएको मन्दिरमा अहिलेसम्म सर्वसाधारणको लागि खुल्ला गरिएको छैन। राजतन्त्र ढालेपछि नारायणहिटी दरबार सर्वसाधारणको लागि खुल्ला गरिए पनि पोखराको रत्नमन्दिर भने अझै खुल्ला हुन सकेको छैन। तत्कालीन बेलैमा महेन्द्रको निर्देशनमा बनेको कटेज शैलीको बंगाल बनेको छ। त्यसलाई उनले आफ्नी कान्छी रानी रत्नको नाम राखिदिए।

    वीरेन्द्रको पनि रोजाइको थलो हो पोखरा

    महेन्द्रले आफ्नी रानीको नाममै मन्दिर र बंगालहरू स्थापना गरे। महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो पोखरा र ‘रत्न मन्दिर’। त्यसपछि त पोखरा आउँदा राजपरिवारको बासै रत्नमन्दिरमा हुन थाल्यो। महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्र शाह राजा हुँदा समेत रत्नमन्दिर आउजाउ बढ्दो थियो। दरबार हत्याकाण्ड हुँदा ज्ञानेन्द्र शाह रत्न मन्दिरमै थिए। ज्ञानेन्द्रले ०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए। उनी पोखराको सुन्दरतामा रमाइरहेका थिए।

    अनि टुट्यो राजदरबार र रत्नमन्दिरको आउजाउ

    राजदरबार हत्याकाण्ड पछि विस्तारै सेलाएको राजखान्दानको पोखरा आउजाउ अहिले ठप्प जस्तै छ। अझ फेवा किनारको रत्नमन्दिरमा राजाको आउ–जाउ त्यतिबेला टुट्यो, जतिबेला राजसंस्थाको जनतासँग सम्बन्ध टुट्यो। ज्ञानेन्द्र नै ‘रत्न मन्दिर’मा रमाउने अन्तिम राजा बने।

    २०६२/०६३ को जनआन्दोलनपछि त वीरेन्द्रको नाममा रहेको रत्न मन्दिर पनि सरकारले आफ्नो नाममा लियो। ०६४ साल असोज २१ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय गरेको थियो।

    मन्दिर खोलौँ, पर्यटकको बसाई र राजस्व बढाऔँ’

    पोखरामै जन्मे हुर्केका पर्यटन व्‍यवसायी हरि भुजेल रत्नमन्दिर नखुल्दा राज्यलाई धेरै घाटा भइरहेको बताउँछन्। ‘रत्न मन्दिर नखुल्दा राज्यलाई घाटा धेरै छ,’ टान पश्चिमाञ्चलका अध्यक्षसमेत रहेका उनले भने, ‘खोल्यो भने राजाहरू कसरी बस्थे यहाँ आउनेहरूले जानकारी पाउँथे। अर्को महत्वपूर्ण कुरा के छ भने रत्नमन्दिरको एकछेउबाट माथी पामे र तल ड्यामसाइड सम्मको भ्यू देखिन्छ।

     पोखरा र लेकसाइडको सुन्दरता थप हुन्छ। राज्यले राजस्वबाट पनि राम्रो आम्दानी बढाउँछ। पर्यटकहरूको बसाई लम्बिन्छ।’ पोखराका अर्का पर्यटन ब्यवसायी धर्मराज पन्थी। पनि अरु सर्वसाधारण नागरिकको जस्तै रत्न मन्दिर खोल्नुपर्ने मत राख्छन्।

    ‘अहिले रत्नमन्दिर बन्द भएर कसैले पनि बेनिफिट लिन पाएको छैन,’ टान पश्चिमाञ्चलको द्धितिय उपाध्यक्ष समेत रहेका उनले भने, ‘यसलाई राज्यले संग्राहलयको मोडेलमा लगेर खोल्नुपर्छ। राजस्व हुने, पोखरा आउने पर्यटकहरूको बसाई लम्बिने, गन्तब्य थपिने धेरै तबरबाट फाईदा छ नी।’ साधारण दस्तुर लिएर प्रवेश गर्नदिनुपर्ने उनको तर्क छ।

    उनले पोखरामा भइरहेका साइड सिनको लागि नयाँ गन्तब्य थप हुनेपनि बताए।  राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएका जनताले रत्नमन्दिर कस्तो छ ? अझै हेर्न पाएका छैनन्। ‘रत्न मन्दिर’ को पूर्वमा महेन्द्रका माइला भाई हिमालय वीरविक्रमका नाममा बनेको हिमागृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ। 

    संग्रहलय बनाएर खुलाइन्छ : पर्यटनमन्त्री

    आन्तरिक भ्रमण वर्ष मनाइरहेको गण्डकी सरकारका पर्यटनमन्त्री विकास लम्साल पनि रत्नमन्दिर सर्वसाधारणको लागि पनि खोल्ने तयारी भएको बताउँछन्।

    ‘रत्नमन्दिर सबैको लागि खुल्छ यसको लागि संघीय सरकारसँग समन्वय भइरहेको छ,’ मन्त्री लम्सालले भने, ‘राजसंस्था अन्त्यभइसक्यो। राजाको दरबार नै रहेको नारायणहीटी दरबार खुलीसक्यो भने यो त उनीहरू आउँदा बस्ने रमाउने ठाउँ हो। यसलाई खोलेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ। त्यो छिटै हुन्छ।’ राजसंस्था अन्त्य भएपनि उनीहरूले पोखरा आउँदा खेल्ने मैदान, सुत्ने कोठा, प्रयोग गर्ने सामाग्री हरेक कुरा ऐतिहासिक महत्व राख्ने तर्क पर्यटनमन्त्रीको छ।

    ११४ रोपनी क्षेत्रफलको मन्दिर

    पोखरामा रहेको रन्तमन्दिर ११४ रोपनी क्षेत्रफलमा फैलीएको छ। ‘रत्नमन्दिरको जम्मा जग्गा ११४ रोपनी छ,’ नेपाल ट्रष्ट इकाइ कार्यालय, रत्न मन्दिरका भीमप्रसाद गौडेलले भने, ‘यहि भित्र प्रशासनिक भवन र फेवातालसँगै जोडिएको ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ'  उनले जानकारी दिए। मुल भवनमा ११ वटा कोठा छन् यिनै कोठामा राजाहरू आउँदा सुत्ने आराम गर्थे। रत्नमन्दिरको सुरक्षाको जिम्मा अहिले नेपाली सेनालाई दिइएको छ।

सन्तोष अधिकारी

अधिकारी समसामयिक राजनीति र खेलकुदबारे रिपोर्टिङ गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]