
पोखरा : स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले कागजात नियन्त्रणमा लिएको छ।
आर्थिक अनियमितता भएको उजुरीका आधारमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कागाजात नियन्त्रणमा लिएको हो। अस्पतालको एमआरआई मेशिन खरिदका क्रममा अनियमिता भएको उजुरीलाई आधार मानेर छानविनका लागि कागाजत नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।
केही दिन अगाडि मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको पनि उजुरी आएकाले सोको कागजपत्र समेत नियन्त्रणमा लिने भनिए पनि अस्पतालका भिसी बुद्धिबहादुर थापा काठमाडाैं रहेका कारण सोसम्बन्धी कागाजात लिन नपाएको उनले जानकारी दिए। ‘भिसी बुद्धिबहादुर थापा पोखरा आएपछि सोसम्बन्धी कागजात बुझाउन भनिएको छ’, उनले भने।
सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन समेत दिएका थिए। अस्पतालभित्र सामाजिक इकाई संचालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था बनाइएको छ।
अस्पताल व्यवस्थापन समितिलाई बेवास्ता गर्दै डिनको संयोजकत्वमा बनाइएको समितिमाथि आर्थिक चलखेल भएको उजुरी अख्तियारमा आएको थियो।
अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सपाेर्ट ग्रुप र टिम लिडर लोकल अर्गनाइजेसन समेतले आवेदन दिएका थिए।
अस्पतालमै कार्यरत कर्मचारीहरू रहेको गैह्रसरकारी संस्था असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिने निर्णय अस्पतालबारे उजुरी परेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।