स्वास्थ्य

तनहुँमा बढ्दै डेंगुका बिरामी
SHARES

साउन २५, २०७६

    तनहुँ : केही दिनअघि परेको वर्षापछि तनहुँमा डेंगुका बिरामी बढ्दै गएका छन्। वर्षात्पछि बढेको गर्मीसँगै तराईका विभिन्न भागमा पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग डेंगुका बिरामी तनहुँमा पनि फैलिन गएको छ। व्यास नगरपालिका–१० खहरेका १७ वर्षीय एक किशोरको स्वास्थ्य परीक्षण गराउँदा डेंगुको संक्रमण भेटिएको व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।

    उनका अनुसार दमौली अस्पतालको प्रयोगशालामा किशोरको विभिन्न चरणको स्वास्थ्य परीक्षण गर्दा शुक्रबार डेंगुको संक्रमण देखिएको हो। अस्तालको रिपोर्टअनुसार डेंगु देखिएको न्यौपानेले बताए। संक्रमित बिरामीको झुलको प्रयोग गरी दमौली अस्पतालमा बेड भर्ना गरी थप उपचार भइरहेको उनले बताए।

    यसअघि बिहीबार पनि व्यास नगरपालिकाका एक युवामा डेंगुको संक्रमण देखिएको उनको भनाइ छ। ‘ती युवा जिल्ला बाहिर बसोबास गर्ने र तत्काल यो रोग नदेखिने भएकाले यहाँ आएको बेलामा डेंगु देखिएको हो,’ उनले भने ‘उनीहरू तराईतिर नै बसोबास गर्ने भएकाले उतैबाट संक्रमण भएर आएको हुनसक्ने अनुमान गरिएको छ।’

    छ महिनाको अवधिमा तनहुँमा डेंगुका चार जना बिरामी फेला परिसकेका छन्। यसअघि भीमाद नगरपालिकाका एक बिरामीमा डेंगुको भाइरस भेटिएको थियो। राष्ट्रिय महामारी केन्द्रमा समेत डेंगुका बिरामी भेटिएको जानकारी गराइसकिएको छ।

    जिल्लामा डेंगुका बिरामी बढेसँगै स्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहहरूले डेंगुबाट बच्ने उपायसम्बन्धी सचेतना कार्यक्रमलाई प्राथमिकता दिने स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार यसको संक्रमणबाट स्थानीयवासीहरूलाई बचाउन सशक्त भएर सरसफाइका सचेतना कार्यक्रमलाई छिटो गर्नुपर्नेछ। 

    यो रोग मुख्यतः स्त्री जातिका लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ।  पानी जम्ने ठाँउ, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको ठाउँ, पुराना टायर, फूलका गमला, नारिवलका खोस्टा लगायतका स्थानमा लामखुट्टेले फुल पारेर यो रोग फैलने सम्भावना हुने चिकित्सकको भनाइ छ। उक्त प्रजातिका लामखुट्टेको बासस्थान मुख्यतः सफा पानीमा हुने भएकोले फोहोर नालीहरू भएको ठाउँहरू भन्दा घर र घर आसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने र फैलने सम्भावना हुन्छ।

    घर, आँगन राम्रोसँग सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथाम भएको चिकित्सकहरु बताउँछन्। यसको टोकाइबाट बच्न झुलको प्रयोग गर्नु सबैभन्दा उचित उपाय भएको चिकित्सको सुझाव छ। डेंगु भएमा छाला, पेट, आन्द्रा जस्ता शरीरका भित्री भागमा रक्तश्राव हुने चिकित्सकहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]