फिचर : फोटो फिचर

धार्मिक आस्थाको केन्द्र ‘उग्रतारा भगवती’ (फोटो फिचर)
SHARES

साउन २६, २०७६

    डडेल्धुरा : उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब पाँच किलोमिटर पश्चिममा छ। यो मन्दिरलाई सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरुमा एक मन्दिर मानिन्छ।

    उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ। उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन। तर पनि उग्रतारा भगवती मन्दिरो उत्पतिको किंवदन्ती भने रोचक छ।

    डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमतर्फ विशाल, रमणीय फाँटमा अवस्थित छ।

    सुन्दर फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न भक्तजनले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानु पर्दछ। अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी-८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ। यहाँ दिनहुँ भक्तजनहरु पूजा गर्न आउँछन्।

    यस्तो छ किंवदन्ती

    धेरै वर्ष पहिले उग्रतारा भगवती नजिकै लटाउली गाउँमा साँकी जातिको बसोबास रहेको थियो। जुन कुरा त्यहाँको हाल रहेको भूबनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ। हाल रहेको उग्रतारा भगवती मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कर्म गर्दथे।

    एक दिन तिनै साँकी जातिका एक किसानले जोतिरहेको अवस्थामा हलोको फाली सिलामा गढेर त्यसबाट निरन्तर रगतको धारा बगिरह्यो। त्यही अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा गरे तर रोकिएन। रगत धेरै आउँदा रगतको खोलो बग्न शुरु भयो। हाल पनि यो खोलो यहीँ मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ।

    यसरी बग्दै रहेको रगत रोक्न तीनै किसानले आफूलाई खान ल्याएको खिचडी (मासबाट बनेको) त्यही सिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो। त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो।

    ती किसान नै त्याहाँका पूजारी भए। उनका सन्तानहरु पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्री भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरीर सुती करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिरभित्रको सानो झ्यालबाट भित्र छिरिसकेर अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागी भगवतीको पूजामा रहनु पर्ने प्रचलन छ।

    यसरी पुजारी अवतार नभएको अवस्थामा मन्दिरको बाहिरी शिलाभन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ। यिनै पुजारीबारे अर्को किम्वदन्ती पनि छ।

    एक समय उग्रतारा माताको पुजारीको वृद्ध हुँदा पनि सन्तान नभएकाले सन्तान पाउँ भनी आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भन्दा उसले सन्तानको ढिपी गरिरहेर छोरो भयो। छोरो ठूलो भएपछि पुजारीको सबै घर व्यवहार छोराले सम्हाल्थे। तर एक वर्ष उग्रताराको मेला हुने अघिल्लो दिन त्यस गाँउमा थुप्रै पाहुनाहरु आए।

    जो आज पनि यथावत छ। पाहुनाहरुको सत्कार गर्न त्यो गाउँका मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन्। त्यही आधारातमा पाहुनाकै सत्कारमा ती वृद्धाको छोरा बुहारीको समय बित्यो। त्यस अवधिमा आफ्नो कुनै वास्ता नगरेकोले वृद्ध पुनः आक्रोशका साथ उग्रतारा मन्दिरमा गइ पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस् भन्दा भोलीपल्ट मेलाका दिन दिउँसो ठीक १२ बजे छोराको मृत्यु भएको किम्वदन्ती सुन्न पाइन्छ।

    हरेक वर्ष ‘देहिजात’ मेला

    उग्रताराको महिमाबारे अर्को किम्वदन्ती पनि छ। कार्तिक पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खाबाट लडाकुहरुले वीरताका साथ लडाइ गर्दा रगतको खोला बग्ने गरेपछि जसलाई त्यहाँ न्वाखोलाको रुपमा नामकरण गरिएको छ। देहिजातको रुपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्दछन्।

    हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला सुरु हुन्छ।

    पण्डित भोजराज भट्टकाअनुसार बिहान ४ बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा आदि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा सुरु हुने गर्दछ।

    बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ। अष्टमीमासमेत पूजाआजा गरिने मन्दिरमा राँगाको बली दिने प्रचन छ।

    उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रुपमा प्रख्यात छ। हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरा लगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ।

    स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा बिक्री गर्ने पूर्व योजनाका साथ स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन्। मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाइ बिक्री गर्छन्।

    वेद विद्याश्रम सञ्चालनमा

    अहिले उग्रतारा मन्दिर परिसरमा वेद विद्याश्रम पनि सञ्चालनमा ल्याइएको छ। यहाँ २५ जना विद्यार्थी अध्यपन गरिरहेका छन्। डडेल्धुरासहित बैतडी, डोटी र बाजुराका विद्यार्थीहरु यहाँ पढ्छन्।

    यससँगै गौशाला निर्माण गरिएको छ भने मेला बाहेक अन्य समयमा पनि आन्तरिक श्रद्धालु भक्तजन लगायत अवलोकनका लागि अधिकांश व्यक्ति पुग्ने भएकाले पिकनिक स्पोटहरु पनि निर्माण गरिएका छन्। ब्रत विवाहका मुहर्तहरूमा निकै भीड बढ्दै जान थाले पनि मण्डपहरु पनि निर्माण गरिएको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादु साँकीले जानकारी दिए।

    उग्रताराको गुरु योजना 

    उग्रतारा मन्दिरको गुरु योजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ। उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरु योजना निर्माण गरिएको हो।

    उग्रतारा क्षेत्र विकास समिती अध्यक्ष तेजबहादुर साँकीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोष र पर्यटन कार्यालय नेपालगञ्जको सयुक्त रकमले गुरु योजना निर्माण गरिएको बताए।

    गुरु योजना अनुसार भवन निर्माण गरी मन्दिर परिसरमा वेदविद्याआश्रम र गौशाला सञ्चालनमा रहेको उनले बताए। पर्यटन कार्यालय नेपालगञ्जको बजेटले खुल्ला रहेको मन्दिर परिसर घेरवार गरी खुल्ला चरिचरन बन्द गरिएको अध्यक्ष साँकीले बताए।

    १०८ भागवत पूजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब तीन सय जना अटाउने क्षमताको प्रवचन हल निर्माण गरिएको छ। शहरी विकास कार्यालय डोटी र अमरगढी नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा नौं वटा सोलार बत्ती जडान गरिएका छन् भने समितिको आन्तरिक आमदानीबाट सिसी क्यामेरा जडान गरी सञ्चालनमा आएको अध्यक्ष साँकीले बताए।

    २०६४ सालसम्म मन्दिरमा ४ आना मात्रै सुन रहेको थियो। उनकाअनुसार अहिले साढे सात तोलाका गहना छन्। समितिका कानुनी सल्लाहकारको सहयोगमा उग्रतारा मन्दिर क्षेत्रको १ सय ७७ रोपनी जमिन दर्ता गर्न गुठी संस्थानले शर्त आदेश गरी मालपोत कार्यालयमा पठाइएको छ। २०३३/०३४ सालको  सर्वे नापीमा फिल्ड बुक कायम रहेको छ।

    अहिले मालपोत कार्यालयले नापि विभागबाट आदेश माग गरेको छ। आदेश आउने वित्तिकै जमिन उग्रतारा माताको नाममा दर्ता भइ लालपुर्जा प्राप्त गर्ने अध्यक्ष साँकीले बताए।

     

     

     

     

     

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]