काठ तस्करसँगको साँठगाँठले विवादित थिए

डडेल्धुराः अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसको तीन लाख २६ हजार रूपैयाँसहित एकजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव-डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो।
विषेश सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन लाख २६ हजार नगद बरामद गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन्।
‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा हाल्न भनेछन्। ठेकेदारले पैसा हालिदिएको भेटियो,’ उनले भने, ‘अरु पैसा निकालेर खर्च गरिसकेको रहेछ। हाम्रो टोलीले तीन लाख २६ हजार रूपैयाँ बरामद गरेको छ।’
विष्टका अनुसार अख्तियारमा कार्यरत नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सधैँ विवादमा
सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन्। विगतमा भएका वन फँडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो।
डडेल्धुरामा रहँदा उनले तत्कालीन जिल्ला वन अधिकृत कृष्ण भट्टमाथि हातपातसमेत गरेका थिए। डिसी लामो समयदेखि डोटी र डडेल्धुरा जिल्लाको राजमार्ग जोडिएका क्षेत्रमा जिम्मेवारी लिएर बसेका थिए।
अन्यत्र सरुवा भएपनि उनी माथिल्लो तहमा मिलाएर यसै क्षेत्रमा बस्ने गरेका थिए। उपभोक्तादेखि काठ तस्करसँग पनि काम गरिदिए बापत उनले रकम असुल्ने गरेको सूचना पटक-पटक आउने गरेको थियो।
घुससहित पक्राउ परेका सहायक वन अधिकृत डिसी
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।