मनोरञ्जन

लोकभाकाका गुमनाम पात्र खनाल

साउन २८, २०७६

    दमक : २०१८ साल माघमा पाँचथरको सिँबुवा पञ्चमीमा नर्वदा र धनपति खनालका एक छोरी र पाँच छोरा मध्येका कान्छा लक्ष्मीप्रसाद खनालको बाल्यकाल पहाडमै वित्यो। खेती किसानी परिवारमा जन्मिएका उनको बाल्यअवस्था वन-पाखा र दाउरा घाँसमै गुज्रियो। २०३० सालमा दमकको भालुखुँडीमा बसाई सरेर आएपछि मात्र उनको अक्षराम्भ भयो। 

    २०३१ सालमा चुलाचुली गाउँपालिकाको बाह्रकोठेस्थित विद्यालयमा एकै पटक कक्षा ३ भर्ना भएका उनले २०४० सालमा मधु मल्लाको मनोहर जनता माध्यमिक विद्यालय उत्तीर्ण भएपछि उनको औपचारिक शिक्षाले गति लियो। 

    इलामको महेन्द्ररत्न क्याम्पसबाट आइए, महेन्द्र मोरङ बिराटनगरबाट बीए र बिराटनगर डिग्री क्याम्पसबाट राजनीतिक शास्त्रमा स्नात्तकोत्तर गरेका उनको पहिचान भने शिक्षा भन्दा गीत संगीतबाट स्थापित भयो। सानैदेखि लोकभाका र गीत संगीतमा रुची राख्ने उनी हाल पूर्वी नेपालको स्थापित लोकगायकका रुपमा चिनिएका छन्।

    रेडियो नेपालबाट बज्ने लोकगीत सुनेरै हुरुक्कै भएका उनलाई थप ऊर्जा भने क्याम्पस तहमा प्रा.डा. गोविन्दराज भट्टराईसँगको निकटताले बढायो। २०६९ सालमा पहिलो पटक ‘पूर्वेली स्वाद-भाग १’ नामक एल्बम निकालेका उनका हालसम्म चार वटा एल्बम् बजारमा आइसकेका छन् भने १०० भन्दा बढी गीत रेकर्ड भएका छन्। 

    रेडियो सुनेर लोकभाकामा आकर्षण

    उनी सानैदेखि रेडियो र संगीत प्रेमी। रेडियो सुन्दै गाउने अभ्यास पनि गर्थे। तर जव नेपालमा अंग्रेजी र पाश्चात्य गीतहरू हावी हुँदै गयो, त्यसपछि भने नेपाली मौलिक गीत संगीत जोगाउनु पर्छ भनेर नेपाली गाउँघरका भाकाहरू संकलन र गायन शुरु गरेको उनी सुनाउँछन्।

    ‘अलिक बढी समय भने मैले एसएलसी पास गरेपछि दिन थालेँ। शुरुमा रेकर्ड गरिहाल्ने भन्दा पनि खोज अनुसन्धानतर्फ लागेँ’ उनले शुरुवाती दिनहरू सुनाए, ‘मेलवा देवी, मित्रसेन, दिलमायाँ खाती, झलकमान गन्दर्भ, हिरा वाइवा, लोकबहादुर क्षेत्री, मीरा राणा, तारादेवी, नारायण गोपाल, वच्चु कैलाश, लक्ष्मी जोशी जस्ताका गीत र भाकाले मलाई छोयो। उहाँहरूका गीतमा देशकै आवाज सुन्न सकिन्छ। यस्ता श्रष्टा र सिर्जनाले पनि मलाई यसतर्फ लाग्न प्रेरित गर्‍यो।’

    इतिहासको खोजी

    उनले गायनलाई मात्रै होइन, अध्ययन र अनुसन्धानलाई पनि महत्व दिएका छन्। उनको अध्ययनले भन्छ, ‘लोक गीतको ऐतिहासिक पृष्ठभूमि हेर्दा करिव ४० हजार वर्षअघि अफ्रिका बाट लोकवाजाको शुरुवात भएको पाइन्छ। हाल सम्मको अध्ययन अनुसार एउटा चराको हड्डीबाट बनाइएको चार प्वाल भएको बाँसुरीनै पहिलो बाद्यवादनको रुपमा लिइन्छ।’

    आफूले बिभिन्न देशको लोकभाकाको अध्ययन गर्ने र नेपालको अवस्थाका बारेमा समीक्षा पनि गर्दै आएको बताए। उनले अफ्रिकामा ढुंगा, मानिसका खप्परका बाजाहरू शुरुवाती समयमा प्रयोग भएको बारे अध्ययन गरिएकाे छ। युरोपतिर पनि ठूला नदीका किनारमा सिंगै रुखका बाजाहरूको इतिहास रहेको सुनाए। 

    भारतको सिक्किमतिर पनि भैँसीका सिंगबाट बाजा बनाएको पाइएको भन्दै उनले एसियाको इतिहास हेर्दा श्रीलंकाको हेला भन्ने प्राप्तमा करिव ३० हजार वर्ष अघि एकतारे बाजाबाट लोकबाजाको उपयोग शुरु भएको बताएका छन्। नेपालको सन्दर्भमा चाहिँ उनले भने, ‘करिव २ हजार वर्ष पहिलेदेखि नगरा, मादल, सारंगी, मेरदंगा जस्ता वाजाहरूको विकास भएको पाइन्छ।'

    औपचारिक रुपमा संगीतको इतिहास हेर्दा वि.सं.५६७ सालदेखि राजा मानदेवले शास्त्रीय संगीतको विकास गरेको पाइन्छ। त्यसपछि वि.सं.१९५६ मा राजा पृथ्वीविक्रम शाहाले दक्षिण एशियाली मुलुकहरूको संगीत सम्मेलन गरेको इतिहास पनि छ। त्यसलाई बगेडी जल्साको रुपमा चिनिन्छि। यो चाहिँ वीरगञ्जमा भएको थियो। यो सम्मेलनमा एशियाका प्रख्यात संगीतकारहरू ताँज खाँ र दुन्दे खाँ जस्ता उस्तादहरू सहभागी थिए। उनले आफ्नो अध्ययनलाई नेपाली गीत संगीतको आधुनिक युगसम्म ल्याए।

    ‘वि.सं.१९८५ मा चन्द्र शमशेरको दरवारमा प्रशिक्षक भएर बसेकी मेलवा देवीले दरवार छोडेर कलकत्तामा पुगेर ‘सवारी मेरो रेलैमा’ बोलको गीत रेकर्ड गरेकी थिइन्’ नेपाली गीत संगीतको आधुनिक युगबारे उनले भने,‘मेलवादेवी अघि पनि अनौपचारिक रुपमा नेपालको पश्चिम भागमा पं. जगन्ननाथ शर्मा, बहादुरसिं बराल, पं. रत्नाकारले समेत लोकगीत लेखन, संकलन तथा गाउँ गाउँमा प्रचार गरेर हिड्ने गरेको पाइन्छ। त्यसपछि २०१३ सालमा लोकगीत सम्मेलन भएपछि भने नेपालमा लोकगीत संगीतको आधुनिक विकास हुँदै आएको पाइएको छ।’ 

    के हो त लोकगीत?

    हरेक राष्ट्रका लागि लोकगीत संगीतको ठूलो महत्व हुने उनको तर्क छ। राष्ट्रलाई चिनाउने प्रमुख आधार भनेकै लोक साहित्य, लोकसंगीत नै हुन्, भन्छन् उनी। यदि राष्ट्रनै लोप भयो भने फेरि राष्ट्र ल्याउन सकिने तर लोकगीत संगीत तथा साहित्य-संस्कृति बाह्य प्रभाव वा अन्य कारणले लोप भयो भने कुनै पनि पुस्ताले फर्काएर ल्याउन नसकिने उनको दलिल छ। त्यसैले लोकसाहित्य, संस्कृति, गीतमा लागेकाहरूले यसबारेमा गम्भीर रुपमा सोच्न आवश्यक रहेको उनी बताउँछन्। 

    ‘आफ्नो पहिचानलाई संरक्षण गर्ने बाहेकको संगीत यदि विकास गर्छु कसैले भन्दा त्यो आयातीत हो। आयातीत गीत संगीत भनेको खहरे जस्तै हो। आउँछ जान्छ’ लोकगीतको मने महत्व छ' उनले थपे,‘तर लोकसंस्कृति, लोकभाका, लोकसाहित्य भनेको आफ्नोपन हो। मौलितकता हो। त्यसैले यी आफ्नोपनका आधारहरूको संरक्षणका लागि पनि सवैलाई आह्वान समेत गर्दछु।’

    सन्तुष्टिका लागि अध्ययन

    लोकगीतको संकलन, अनुसन्धान र अध्ययनमा लागेर पाएको सवै भन्दा ठूलो कुरा आत्मसन्तुष्टि ठान्छन् उनी।

    ‘म केही पाउँछु भनेर यस क्षेत्रमा लागेकै होइन। यो समाजलाई, समाजको मौलिकतालाई, संस्कृतिलाई कति सम्म जोगाउन सकेँ भन्ने मात्र मेरो कुरा हो’ उनले आफ्नो अभियानबारे भने,‘मैले थोरै मात्र भए पनि नेपाली लोकभाकाको संरक्षणको लागि योगदान गरेको आगामी पुस्ताले सम्झिदियो भने मलाई त्यसैमा सन्तुष्टि हुन्छ। कुनै लाभ, पुरस्कार वा अन्य केही कुराको आशाले म यस क्षेत्रमा लागेको होइन। त्यसैले जति सक्छु। म यो समाजलाई दिँदै जान्छु।’

गोपाल झापाली

झापाली थाहा खबरका झापाको दमकस्थित समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]