फिचर

‘मेरो महिनावारी, मेरो गर्व’

भदौ १०, २०७६

    काठमाडौं : रिसेप्सन छोडेर भर्‍याङ। माथि चढ्दै गर्दा भित्तामा महिनावारीका बेला प्रयोग गरिने प्याडका तस्वीर। ती तस्वीरमा तिनै प्याड समातरे मुस्कुराइरहेका दुई व्यक्ति। यो देख्दा सामान्य मान्छेलाई के गरेको होला भन्ने कहुतुहल्ता उब्जिन्छ।

    यो तस्वीरमा देखिएका दुईमध्ये एक ताइवानी पुरुष फेङ यी चु हुन्, अर्की नेपाली चेली अस्मिना रञ्जीत। उनीहरूले प्याड समातेको त्यो तस्वीरमा लुकेको सन्देश हो, ‘महिनावारी गर्वको विषय हो।’

    ललितपुरको बखुल्डोलमा रहेको नेक्सस क्याफे पुग्दा देखिएको दृष्य हो यो। तस्वीरमूनि अंग्रेजीमा यी दुई सोधकर्ताको विवरण पनि लेखिएको छ। त्यही विवरणमा उनीहरूले महिनावारीबारे विश्वव्यापी धारणा परम्परा र यथार्थबारे दिन खोजेको सन्देश लेखिएका छन्।

    महिनावारीको सन्देश दिन महिला मात्र सक्रिय छैनन्, पुरुषले पनि उत्तिक सक्रियता देखाइरहेका छन्। छजना समूहमा तीन पुरुष र तीन महिला छन्। उनीहरू भन्छन्, 'शरीर, वनावट, प्रकृति वा कुनै पनि बहानामा विभेदपूर्ण व्यवहार न्यून गर्नु हाम्रो उद्देश्य हो।'

    अस्मिनाले ताइवानकी फेङ यी चुसँग मिलेर ‘लसाना’ नामक संस्थामार्फत विश्वभरी नै महिनावारी मात्र होइन् शरीर, संस्कार, धर्म, राजनीतिलगायतका विषयमा सन्देश फैलाउने प्रयास गरेकी छन्। नेक्सस क्याफेमा शनिवारदेखि यस्तै सन्देशको कला प्रदर्शनी जारी छ।

    दुई पाइला मात्र उक्लेपछि प्याडको संरचना र रगत सोस्ने प्रकृयाबारे अर्को फोटो छ। प्याडलाई नियालेर हेर्ने हो भने त्यहाँ अंग्रेजीमा लेखिएको छ, ‘मेरो महिनावारी, मेरो गर्व।’

    अझै एक खुड्किलो माथि पुग्दा ताइवानका फोटोग्राफर सिन वाङले आफ्नो मुलुक र नेपाललाई चिन्ने बुझ्ने प्रयास मात्र गरेका छैनन्, प्रकृति, इतिहास र मान्यताहरू कसरी फेरिँदै जान्छ भन्ने देखाउन खोजिरहेका छन्। सुनेकै इतिहास र कथन अपरिवर्तनीय नहुने उनको भनाइ छ।

    'मेरो देश पनि हिमालयको मुलुक भनेर चिनिन्छ। नेपालमा आउँदा पनि थुप्रै हिमाल देखेँ। हिमाली मुलुक भन्दैमा हिमालमा नै बस्नु पर्छ भन्ने छैन' उनी भन्छन्।

    त्यस्तै पाकिस्तानी कलाकारले पनि उक्त प्रदर्शनीमा सहभागिता जनाएका छन्। पाकिस्तानी कलाकार तेह्रिम हसनले 'मेरो शरीर मेरो अधिकार' भन्ने सन्देश बुझाउन ६ वटा चित्र प्रदर्शनीमा राखेकी छन्। ‘मेरो शरीर मेरो अधिकार भन्ने सन्देश बुझाउनु नै मेरो पहिलो उद्देश्य हो,' उनी भन्छिन्, 'मलाई हेर्ने स्वतन्त्रता बुझ्ने स्वतन्त्रता र मेरो शरीरका हरेक अंगबारे निर्णय गर्ने अधिकार मलाई मात्र हुनुपर्छ भन्ने भन्ने वर्कसपको मुख्य ध्येय हो।’

    यो प्रर्दशनीमा तस्वीर मात्रै राखिएको छैन्। नेपाली कलाकार सिद्धान्त पुडासैनीले आफ्ना आफन्त तथा घरपरिवारका सदस्यसँग गरेको कुराकानी गरेको अडियो रेकर्ड पनि त्यहाँ राखेका छन्। अडियोमा महिलाहरूले कसरी महिनावारीलाई शुद्ध वा अशुद्धका रूपमा बार्दै आए? धर्मशास्त्रबारे उनीहरूको बुझाई के हो? भन्नेबारे छलफल छ।

    ‘हाम्रो हजुरआमा, आमाहरूले दाइ, बुवालाई छुनुहुन्थेन त्यही देखेर नै हामीले पनि छुँदैनौँ,’ अडियोमा आवाज सुनिन्छ, ‘सबै ठाउँमा सबैसँग बार्न त सकिन्न, जस्तो गाडीमा सार्वजनिक स्थलमा हिँड्दा। तर, सम्भव हुने ठाउँमा बार्ने त हो।’

    अडियोमा कलाकार पुडासैनीले महिनावारी नबार्दा के हुन्छ वा धर्मका नाममा महिनावारीमा अलग्गै नबस्दा के हुन्छ जस्ता जिज्ञासा राखेका छन्। जसको उचित जवाफ उनीहरूसँग हुँदैन।

    प्रदर्शनीमा ताइवानकी याओ जुई ल्यानले भिडियो राखेकी छन्। आफ्नो मुलुकमा धर्मबारे फरक अनुभव संगालेकी उनले नेपालमा भगवान् बारेको आस्थालाई भिडियोमा कैद गरेकी छन्।

    ‘मेरो देशमा भगवान् मन्दिरलाई हामी टाढैबाट नमस्कार गर्छौं। यहाँ सिधैँ छोएर ढोगिने रहेछ। त्यहाँ जनावरहरूले फोहोर गरेको झिंगा भन्केको देखिन्छ। तर, मानिसमा त्यो फोहोरभन्दा बलियो आस्था छ’ भिडियोमा कैद भएको मन्दिरको दृष्य देखाउँदै उनले भनिन्।

    खोजकर्ता अस्मिना र फेंग यी चुकै प्रयासमा ताइवान र पाकिस्तानका यी कलाकार नेपाल आएर सन्देश फैलाउने जमर्को गरेका हुन्। उनीहरूले विभिन्न देशमा महिनावारी र यसका मान्यताबारे भ्रम चिर्ने प्रयास गरेका छन्।

    ‘चोखो र जुठो भन्ने कुरा केले निर्धारण गर्ने हो, हाम्रो जस्तो मुलुकमा राजनीति, धर्म, परम्परा भनेकै शक्तिशालीले शक्तिहीनमाथि शासन गर्ने एउटा हतियार हो। धर्म भनेको त पहिलेको संविधान जस्तै हो। कसैले कसैमाथि नियन्त्रण गर्न वा अधिपत्य जमाउन गरिएको कुरा हो,' सोधकर्ता रन्जितले भनिन्, 'यस्ता कुरा बुझाउन हामी सबैजनाले प्रयास गरेका छौँ। सबैजनाले पहिचानको विषयलाई प्राथमिकता दिनुभएको छ।’

    सामाजिक संस्था लसानामार्फत रन्जित र चुले विभिन्न देशमा सन्देश फैलाउने र विभेद हटाउने दुरगामी सोच लिएका छन्। ‘हामीले ५ जनालाई मात्र सम्झायौँ भने पनि उहाँहरूले अर्को पाँच सयजनालाई यो कुरा बुझाउ सक्नुहुन्छ। यस्तै उहाँहरू पाँच सयजनाबाट अर्को थप पाँच हजारजनामा सन्देश पुग्न सक्छ’ उनले भनिन्, ‘यो आजको भोलि नै परिवर्तन भइहाल्ने भन्ने होइन्, समय लाग्न सक्छ। यो अभियान हो, आजभन्दा भोलि कति हुन्छ, भोलिभन्दा पर्सि कति हुन्छ त्यो महत्त्वपूर्ण कुरा हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]