फिचर

‘हक्की’ छोरी, संघर्षशील राजनीतिज्ञ

‘विवाह र बालबच्चाले रोकिँदैन राजनीति'

भदौ १६, २०७६

    काठमाडौं : प्रदेश-३ बाट राष्ट्रियसभामा निर्वाचित सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ को राजनीतिक यात्रा प्रेरणादायी छ। २०३५ सालमा चितवनको साबिक चैनपुर-९ मा जन्मिएकी रावलको परिवारका कोही पनि राजनीति गर्दैनथे।

    ११/१२ वर्षको उमेरमा रावलले गाउँठाउँमा राम्रै राजनीतिक चहलपहल देखिन्। २०४६ सालको आन्दोलनताका गाउँमा चहलपहल बढ्यो। त्यसपछि भएको चुनावमा वामपन्थी दलले मिलेर प्रतिस्पर्धा गरेका कारण गाउँमा कम्युनिष्टको चहलपहल बढी नै थियो। त्यतिबेलासम्म घरमा राजनीति गर्ने कोही नभए पनि मतदाता भने कम्युनिष्टकै  थिए।

    पार्वतीका बाबुआमा सामान्य खेतीकिसानी गर्थे। ४ वर्ष जेठी दिदी थिइन्, लीला। उनको सानैमा बिहे भयो। दिदीले पढाइ बीचैमा छोडिन्। पार्वतीलाई याद छ, उनी जान्ने बुझ्ने हुँदादेखि नै बुबा बिरामी हुनुहुन्थ्यो।

    त्यसैले पनि दुई भाइहरूको जिम्मा उनैको काँधमा आयो। घुमफिर र साथीभाइसँग खेल्न त्यति धेरै पाइनन्। भनौँ उनलाई त्यसतर्फ मनै गएन। सानैबाट घरव्यवहारमा लागेका कारण उनी गाउँमा हक्की स्वभावकी भनेर चिनिन्थिन्।

    ६/७ कक्षामा पढ्दादेखि नै ट्याक्टर/ट्रकमा बसेर भरतपुर  र नारायणगढमा राजनीतिक दलका आमसभामा भाषण सुन्न आएको याद छ उनलाई। आफूभन्दा ठूला दाइदिदीले राजनीतिक कार्यक्रममा सहभागी गराइरहने हुँदा पञ्चायती व्यवस्था र बहुदलबारे धेरथोर बुझेकी थिइन्। २०४८ सालको चुनावमा गाउँगाउँमा भोट माग्न जाने नेता कार्यकर्तासँग पनि घुलमिल हुने मौका पाइन्। चितवनका तीनवटै क्षेत्रमा वाम तालमेल थियो।

    १ नम्बर क्षेत्र पूर्वी चितवनमा जेपी भेटवाल र २ नम्बरमा भीमबहादुर श्रेष्ठ र ३ नम्बरमा अमिक शेरचन वाम गठबन्धनका उम्मेदवार थिए। आफ्नै क्षेत्रमा उठेका जेपी अर्थात् जागृत भेटवाल र पार्वतीको घरपरिवारबीच पहिलेदेखि नै चिनाजानी थियो। जेपी पञ्चायतकालमा पनि जनपक्षीय उम्मेदवार थिए। त्यसकारण कम्युनिष्ट पार्टीतर्फ रावलको झुकाव बढ्यो।

    २०५२ सालमा एसएलसी दिएर शहीद स्मृति कलेजमा भर्ना भएपछि भने पार्वती तत्कालीन नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भइन्। विद्यार्थी राजनीति र घरव्यवहारका कारण पार्वती विवाह नगर्ने सोचमा थिइन्। आइए पढ्दा पार्वती सहप्राकको अध्यक्ष र प्राकको अध्यक्ष हुँदै पार्टीमा पनि जोडिइन्।

    उनी २०५५ सालमा पार्टीको सदस्य मात्र बनिनन् वडाकै सचिव हुने मौका पाइन्। त्यसपछि गाउँकमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै उनले संगठनतर्फ पनि जिम्मेवारी बहन गरिन्।

    पछिल्लो समय उनी निर्वाचित जिल्ला सचिव भएर काम गरिन्। अखिल, अनेमसंघ र युवासंघको महत्वपूर्ण जिम्मेवारी बहन गरेकी उनी युवासंघकी पहिलो महिला जिल्ला अध्यक्ष हुन्। यसैकारण पार्टीले उनलाई सम्मान पनि गर्‍यो। २०६४ देखि २०६६ सम्म उनी युवा संघकी अध्यक्ष रहँदा २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीले चितवन क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाएको थियो।

    तत्कालीन एमालेका लागि कमजोर क्षेत्र मानिएको चितवन क्षेत्र नं ४ रावलका लागिसमेत नयाँ थियो। पहिलो पटकमा सफलता हात लागेन। पार्टीले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनैलाई उम्मेदवार बनायो।

    कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला बलिया प्रतिद्वन्द्वी थिए, अर्कोतर्फ २०६४ का निर्वाचित सांसद चित्रबहादुर श्रेष्ठ। उक्त निर्वाचनमा कोइरालाका लागि चितवन– ४ दोस्रो निर्वाचन क्षेत्र थियो। दुवै क्षेत्रबाट निर्वाचित भएका कोइरालाले कांग्रेसका लागि बढी नै सुरक्षित क्षेत्र ठानेर चितवन– ४ छाडे।

    त्यहाँ उपनिर्वाचन हुने भयो। उपनिर्वाचनमा पनि एमालेले रावललाई नै उम्मेदवार बनायो। त्यसपटक उनले आफ्नो भोटमा निकै सुधार गरिन्, जीत भने सम्भव भएन। जनविश्वास बढाउन उपनिर्वाचन निकै महत्वपूर्ण सावित भयो।

    संविधानसभा निर्वाचन र उपनिर्वाचनमा समेत हार व्योहोरे पनि उनले कहिल्यै हार मानिनन्। राजनीति र पार्टीको काममा सक्रिय नै रहिन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र खुम्चिएर ३ वटामा झारियो। साबिक ४ नम्बर क्षेत्र ३ नम्बरमा कायम भयो।

    यसपटक चुनावका लागि नयाँ परिस्थिति बनेको थियो। देशका ठूला दुई वाम दल एकसाथ चुनावमा होमिएका थिए। चितवन–३ तत्कालीन माओवादी केन्द्रको भागमा पर्‍यो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बने र जिते पनि।

    चितवनमा पार्टीका लागि गरेको योगदानको कदर त्यतिबेला फेरि एकपटक भयो जतिबेला पार्टीले उनलाई संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका लागि उम्मेदवार बनायो। अन्ततः उनी जनताको प्रतिनिधि (सांसद) निर्वाचित भएरै छाडिन्।

    विवाह र राजनीति

    सानैदेखि घरव्यवहार र राजनीतिमा होमिएका कारण पार्वती विवाह गर्ने मनस्थितिमा थिइनन्। गाउँलेले पनि छोराजस्तै भनिदिने हुनाले उनको मनमा दिदीको झैँ आफूले पनि चाँडै बिहे गर्नुपर्छ भन्ने सोच थिएन। राजनीतिमा होमिएका कारण गाउँलेका कुरा नसुनेकी होइनन् उनले तर ती कुरालाई वास्ता गरिनन्।

    घरमा अरू कसैले राजनीति नगरेका कारण कसैले नाक खुम्च्याउँथे तर धेरैले राम्रो भनेर हौसला पनि दिन्थे। उनी हौसलालाई मात्र सम्झिन्थिन् र घरबाट निस्किन्थिन्।

    क्याम्पस पढ्दै गर्दा पार्टीबाट नै विवाहको प्रस्ताव आयो। चितवन मंगलपुरका दिनेशकुमार थापाको कुरा पार्टीका नेताहरूबाटै आएपछि उनले विवाह नगर्ने सोच बदलिन्।

    थापाको परिवार राजनीतिक रूपमा ज्ञान भएको परिवार, उनका ससुरा रामशरण थापा आफैँ राजनीतिमा सक्रिय भएका कारण पनि उनलाई बिहेका लागि त्यति असहज भएन। पार्टीबाट कुरा आए पनि परम्परागत रूपमै उनको विवाह भयो।

    घरकी एक्ली बुहारी रावल परिवारकै सल्लाहमा झनै सक्रिय राजनीतिमा लागिन्। जागिर र राजनीतिको निरन्तरतामा कुनै कमी आएन। विवाह भएर पश्चिम चितवनमा आए पनि उनको सक्रियता पहिलेदेखि नै जिल्लाभर भएका कारण पार्टीले उनको आवश्यकता महसुस गरेको थियो।

    चुनाव जित्नुभन्दा पनि नेतृत्व स्थापित गर्ने रणनीतिमा पार्टी थियो। हाल अध्यक्ष प्रचण्डले पाएको प्रचण्ड जितका लागि कम्युनिष्ट पृष्ठभूमिका मतदाता तयार पार्नमा उनको निकै ठूलो भूमिका छ।

    बालबच्चाले गर्दा राजनीति रोकिँदैन

    २०६२/०६३ सालको आन्दोलनताका उनको पहिलो सन्तान गर्भमा थियो। बच्चा जन्मिसकेपछि पनि उनी रातदिन नभनी पार्टीको काम र कार्यक्रममा जान्थिन्। घरबाट यथेष्ट सहयोग पाएका कारण उनको २०६४ सालको निर्वाचन यात्रा सन्तोषजनक बन्यो। २०७४ सालको स्थानीय तहको चुनावको बेला उनी अर्को बच्चाको आमा बन्ने तयारीमा थिइन्।

    स्थानीय तहको चुनावमा पार्टीलाई बलियो बनाउन जसरी पनि खट्नु थियो। उनी त्यतिबेला पार्टी जिल्ला सचिव थिइन्। गर्भावस्थामा चुनावको माहोल कमजोर हुन नदिन उनी निरन्तर लागिन्।

    साउनमा दोस्रो बच्चा जन्मेपछि उनले प्रयाप्त सुत्केरी आराम गर्न पाइनन्। लगत्तै मंसिरमा चुनाव भएकाले उनलाई थप जिम्मेवारी पनि थियो। पार्टीले राष्ट्रियसभा सदस्यका लागि रावललाई टिकट दियो। १० वर्ष अघिदेखिको चुनावी लडाइँ यसपटक भने फाप्यो। उनी राष्ट्रियसभा सदस्य भएको ५ महिनामा राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति बनिन्।

    पार्वतीको एउटा मान्यता छ, ‘जति धेरै व्यस्त त्यति राम्रो व्यवस्थापन’ काखे छोरा भएका कारण समस्या भएको छैन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विवाह बालबच्चा भएका कारण समस्या भयो, गाह्रो भयो भन्ने हो भने त जिम्मेवारी निभाउन कसरी सकिन्छ र? मानवीय स्वभाव नै हो, जति धेरै व्यस्त भइन्छ उती धेरै र झनै राम्रो व्यवस्थापन हुन्छ। बाबु मसँगै हुन्छ कुनै समस्या हुँदैन।’

    दुई वर्षका उनका छोरा कहिलेकाहीँ उनीसँगै सिंहदरबार पुग्छन्। कपनमा अमाजु दिदीकोमा बसाइ छ पार्वतीको। छोरा प्रायजसो फुपू अथवा पार्वतीकै सवारी चालकसँग भुल्छन्। सवारी चालक सुजन निरौलालाई उनी मामा भन्छन्। पार्वतीले भाइ भनेरै तिहारमा टीका पनि लगाइदिन्छिन् र एउटै घरमा बस्छन्। जेठो छोरासहित परिवार चितवनमै बसोबास गर्छन्।

    दुई वर्षका छोरालाई उनले अहिलेसम्म एक रात पनि काख छोडेकी छैनन्, ‘कसरी सम्भव हुन्छ संसद, समिति, पार्टी छोरा सबै मिलाउन?’ जवाफमा मुस्कानसहित उनी भन्छिन्, ‘परिस्थितिसँग आत्तिनुभएन सबै सम्भव हुन्छ।

    म जिल्लातिर अथवा राजधानीबाहिर जानुपर्‍यो भने सँगै लिएर जान्छु। ऊ अरू मानिसहरूसँग पनि छिटो घुलमिल हुन्छ। फेरि उसको मामा (चालक सुजन) सँगै भएपछि खुसी हुन्छ। उनीहरू प्यारो मामा, प्यारो भाञ्‍जा नि त’ पार्वती हाँसेर जवाफ दिन्छिन्।

    संसदीय समितिमा नेतृत्व

    निर्वाचित भएको करिब पाँच महिनामा उनले राष्ट्रिय सरोकार तथा समन्वय समितिको नेतृत्व पाइन्। समितिले देशैभरका राष्ट्रिय सरोकारका विषय, आयोजना, काम र प्रगति, अध्ययन अनुगमन गर्ने र आवश्यक कुरामा सरकारलाई निर्देशन दिन्छ।

    हालसम्मका बसेका ३७ वटा बैठकमा कुनै पनि विषयमा संसदीय समितिमा विवाद र समस्या देखिएको छैन। उनी भन्छिन्, ‘समितिमा प्रमुख प्रतिपक्षी दलका साथीहरूको पनि उत्तिकै साथ हुन्छ।’

    हाल थपिएका दुईसहित २३ वटा राष्ट्रिय गौरवका आयोजनामा उनी समितिका सदस्यसहित अनुगमनमा हुन्छिन्। 'सरकारका पाँच वटा मन्त्रालयसँग जोडिएका यी राष्ट्रिय आयोजना बिसौँ, पच्चिसौँ वर्ष हुँदा पनि सम्पन्न हुन सकेका छैनन्, सुरुवातमै हामीले यसैमा केन्द्रित रहेर आयोजनाका अवस्था बुझ्यौं, स्थलगत अनुगमन गर्‍यौँ' एक वर्षको अवधिमा समितिले दुईवटा स्थलगत र वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गरेको छ।

    उनी भन्छिन्, 'हामीले सरकारलाई प्रष्ट भनेका छौं राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका साथ अघि बढ्नुपर्छ, बजेट, नीतिगत समस्या के के छन् त्यो केलाएर निर्देशन दिएका छौं।'

    समितिले सातै प्रदेशका तहगत राज्‍य संरचनाका विषयमा गर्ने कार्यक्रमा उनी सातवटै प्रदेश पुग्‍न भ्याएकी छिन्। राष्ट्रियसभामा कहिलेकाहीँ उनलाई फरक जिम्मेवारी पनि आइ लाग्‍छ। अध्यक्ष र उपाध्यक्षले नभ्याउँदा हाउस चलाउने तीन सदस्‍यमध्ये उनी पनि एक हुन्। 

    एलएलबी पढ्दै

    समाज शास्त्रमा स्नातकोत्तर अध्ययन सकेकी सांसद रावल अहिले कानुन विषय अध्ययन गर्दै छिन्। एलएलबी भर्ना भएकी उनी भन्छिन्, ‘सांसद र समितिमा भइसकेपछि धेरै कानुनी ज्ञान पनि हासिल गर्नुपर्ने रैछ, फेरि अध्ययन सिकाइ भन्ने कुराको कुनै अवधि हुने कुरा भएन।

    त्यसैले क्याम्पस भर्ना भएँ।’ रावल कलेज पुगेर पढ्न पाउँदिनन्। कहिलेकाहीँ परीक्षाकै दिन संसद बैठक र समितिको बैठक पनि पर्छ। तर, दुवैतिर उनी जसरी पनि मिलाउँछिन्। ‘सांसद भइसकेपछि कानुन निमार्णमा होमिँदा कानुनी भाषा, ज्ञान, प्रावधान सबै ज्ञान हुनु अनिवार्य हो जस्तो लागेर पनि शुभचिन्तकको सल्लाहअनुसार पढाइ सुरु गरेँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]