समाज

बिक्नै छोडे काठका सामग्री, संकटमा चुदारा पेशा
SHARES

भदौ २५, २०७६

    म्याग्दी : १० पाथे काठको ठेंकीमा घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य पछिल्लो समय दुर्लभ हुन थाल्यो। ठेंकी र मदानीले दही मथेर मही पार्ने र घट्घट्ी पिउने चलन पनि हराउँदै गयो।

    कुनै समय थियो, गोठमा रहेका पशुधन र ठेंकी हेरेर त्यस घरको हैसियत आँकलन गरिन्थ्यो। ती सबै साधन रैथाने सीप प्रयोग गरेर जंगलका काठबाट बनाइन्थ्यो। तर, समय फेरियो। मही पार्ने चलन हराउँदै गयो। गाउँघरमा कतै कतै मही पारे पनि प्लाष्टिकका ठेंकीको प्रयोग हुन थाल्यो। रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापित गर्‍यो। 

    कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यावसायीहरु पनि संकटमा पर्न थाले। व्यवसाय नै परिवर्तन गर्ने अवस्थासम्म आइपुगे। काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायीहरु संकटमा परेका हुन्।

    वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले काठ कुद्ने पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बताउँछन्। १०/१२ वर्षको उमेरदेखि बाबु बाजेले अँगाल्दै आएको पेशा आफूले पनि सम्हालेको बताउने विश्वकर्माले यतिन्जेलसम्म यही पेशाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकोमा चिन्ता व्यक्त गरे।

    खासगरी काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस नै खप्पिस छन्। ठेंकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेशा भन्ने गरिन्छ। उनले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायतका ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको उनको भनाइ छ। केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५/३० हजार रुपैयाँसम्म आम्दानी गर्ने विश्वकर्माले  पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताए। अहिले मुस्किलले मासिक ५/७ हजार रुपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै उनले भने, ‘प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन।’

    बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ। मिहिनेत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेशा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन्।

    विशेष गरेर काठका ठेंका, ठेंकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटो लगायतका समानहरु बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन्।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]